14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

दुर्लुङकोटमा संरक्षण कविता आन्दोलनः धवलागिरी यात्रा

नियात्रा राजेन्द्र पहाडी March 5, 2014, 2:03 am
राजेन्द्र पहाडी
राजेन्द्र पहाडी

नेपाली बाङ्मय क्षेत्रका अग्रगन्य साहित्यकार सरुभक्तको अगुवाइमा आरम्भ गरिएको संरक्षण कविता आन्दोलन (२०५५) को मर्मबाट प्रभावित भएर आजभन्दा तीनवर्ष (२०६८) अघि पर्वत साहित्य सङ्गमले संरक्षण कविता आन्दोलन ः धवलागिरी यात्राको अवधारणा सुरुवात गरेको थियो । सदरमुकाममा मात्र केन्द्रीत साहित्यिक गतिविधिलाई ग्रामीण तहसम्म पु¥याउने र तत्स्थानीय रुपमा रचनाहरु सिर्जना गरेर त्यहीँको समुदायको उपस्थितिमा तिनलाई वाचन गर्ने अभिप्रायले यो कार्यको थालनी भएको हो । ओझेलमा रहेका स्रष्टाको पहिचान, तिनका सिर्जना संकलन र मोफसलको साहित्यलाई होस्टेमा हैसे गर्नु पनि यो अभियानको अन्तर्य थियो ।

बागलुङको जैदी, पर्वतको खानीगाउँ, थापाठाना र चित्रे हुँदै हाम्रो यात्राले एक फन्को घुम्दी मार्दै आएको थियो । यसरी अघि बढिरहेको धवलागिरी यात्राको पाँचौ यात्रा पर्वत जिल्लाको दुर्लुङ गाविसमा अवस्थित दुर्लुङकोट मन्दिर परिसरमा सम्पन्न गर्ने निधो भएपछि त्यहाँ पुग्ने उत्सुकताले मन भित्रभित्र कुत्कुताएको अवस्था थियो । सम्वत् २०७० माघ ११ गते विहान पर्वत साहित्य सङ्गम, कुश्मा पर्वतको आयोजनामा संरक्षण कविता आन्दोलन ः धवलागिरी यात्राको पाँचौ श्रृङ्खला तथा मासिक साहित्य चौतारीको ४९ औं बिसौनी सम्पन्न गर्ने लक्ष्यका साथ कुश्माको दुर्लुङचोकबाट हाम्रो यात्रा सुरु भयो ।

अघिल्लो दिन नै सरसल्लाह भएअनुसार पर्वत साहित्य सङ्गमका संरक्षक इन्द्रकुमार विकल्पसँग टेलिफोन सम्पर्क पछि म छोरा अतितलाई साथमा लिएर घरबाट तयारीका साथ यात्राका लागि निस्केँ । दुर्लुङचोकमा विहान ८ बजे भेट्ने सहमती अनुसार नै इन्द्र विकल्प सर र म जम्मा भयौं । केही क्षणमा सङ्गमका अध्यक्ष इन्द्रमान खत्री पनि आइपुग्नुभयो । तर हामीलाई दुर्लुङसम्मको यात्रा तय गराउने गाडी अझैसम्म आइपुगेको थिएन । यात्रामा सहभागी हुने अन्य मित्रहरु पनि एकपछि अर्को गर्दै भेला भैरहनुभएको थियो । तर गाडी अझै पनि आएको थिएन । मौकाको फाइदा उठाउँदै केही साथीहरुले आफूले सिर्जना गरेका साहित्यिक रचनाहरु एक–अर्कामा सुनाउने र साहित्यिक भलाकुसारी गर्ने सुरसार कस्नुभयो । लक्ष्मीप्रसाद शर्मा, गोविन्द भुषाल, डीआर शर्मा, सरस्वती जिज्ञासु लगायतका स्रष्टाहरु आ–आफ्ना कुराकानीमा जुटेका थिए ।

गाडीको बन्दोबस्त गर्ने जिम्मा लिनुभएका युवा सर्जक अन्तिम गुरुङ आइपुगेको लगभग आधा घण्टापछि गाडी पनि आइपुग्यो । ९ बजेसम्ममा त कसै गरी हिँडिन्छ होला भनेको यताउता गर्दागर्दै विहानको ११ बजिसकेको अवस्था थियो । अग्रभागमा यात्राको व्यानर झुन्डाएपश्चात हामी सबैजना हतारपतार गाडीमा उक्ल्यौं । जम्मा ४५ जना बस्न मिल्ने गाडीमा हामी भने धेरै यात्रुहरु भएछौं । यसैले कोही सिटमा बसेर त कोही उभिएरै भए पनि करिब १ घण्टाको यात्रा तय गरियो । बसभित्र नमुना आवासीय उच्च मावि, आदर्श आवासीय मावि, कालीगण्डकी एकेडेमी र राष्ट्रिय बाल शिक्षा सदनका विद्यार्थी छात्र छात्राहरुले विभिन्न गीत सङ्गीतको माध्यमबाट रमाइलो गरिरहेका थिए । यस अघि नै गुरुकुल एकेडेमीका ५०–५५ जना विद्यार्थीहरु पैदलै हिँडेर विहान सवेरै दुर्लुङकोटका लागि बाटो तय गरिसकेको खबर हामीलाई प्राप्त भएको थियो । यसपटकको यात्रामा कुस्मास्थित विभिन्न निजी विद्यालयका विद्यार्थी भाइ बहिनीहरुको उल्लेख्य सहभागिता रहेको थियो । साहित्यिक विकास र नयाँ पुस्ताको यसका प्रतिको आकर्षण बृद्धि गर्न यस्तो पहलले सकारात्मक भूमिका खेल्न सक्छ भन्ने हामीलाई विश्वास लागिरहेको थियो ।

दिउँसोको करिब १२ बजे हामी दुर्लुङकोट मन्दिर परिसरमा पुग्यौं । हामीलाई स्वागत गर्न त्यहाँ स्थानीय आमा समूहका दिदीबहिनी र स्थानीय गुरुङ समुदायका दाजुभाइहरु फूलमाला, खादा र अविर सहित उपस्थित हुनुहुन्थ्यो । मन्दिरको पहिलो प्रवेशद्वारदेखि नै उहाँहरुले हामीलाई भव्य स्वागत गर्नुभयो । सबै साहित्यिक यात्रीका गलामा पहेँला माला, खादा र हातमा सगुनस्वरुप फूलका गुच्छाहरु थमाइएका थिए । हामी दङ्ग पर्दै मन्दिर परिसरमा छि¥यौं । केही समयको पर्खाइ र मन्दिरको दर्शनपछि कार्यक्रम औपचारिक रुपमा सुरु भयो । सदरमुकाम कुश्मा स्थित विभिन्न निजी विद्यालयहरुसँगको सहकार्य तथा दुर्लुङ गाविसमा रहेका दुईवटा सरकारी उच्च मावि, आमा समूहहरु र भुमेकोट व्यवस्थापन समितिसँगको साझेदारीमा कार्यक्रम सम्पन्न गरिएको थियो । सधैंजसो धार्मिक गतिविधि सञ्चालन हुने कोट मन्दिर परिसरमा साहित्यकारहरुको लर्को देखेर स्थानीयहरु पनि अचम्मित र उत्सुक देखिन्थे । सानो बाबु अतित पनि नयाँ ठाउँको भिन्दै परिवेश देखेर दङ्ग परिरहेको थियो ।

सङ्गमको सचिव भएकाले कार्यक्रम सञ्चालन गर्ने जिम्मा मेरै भागमा पर्ने पक्कापक्की नै थियो । तर पनि स्थानीयस्तरमा कार्यक्रमको संयोजन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका युवा पुस्ताका सशक्त सर्जक अन्तिम गुरुङलाई प्रारम्भिक कार्यक्रमको उद्घोषण गर्ने जिम्मा सुम्पिइयो । उनले बढो सुन्दर ढंगले कार्यक्रमको सञ्चालन गरेर आफ्नो कौशलता प्रस्तुत गरे । पर्वत साहित्य सङ्गमका अध्यक्ष इन्द्रमान खत्रीको अध्यक्षता तथा भुमेकोट व्यवस्थापन समितिका बरिष्ठ सदस्य धिर बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न साहित्यिक रचनावाचन कार्यक्रममा साहित्यिक स्रष्टाहरुले स्थानीय बिम्ब, प्रतिक तथा स्थानविशेषको बारेमा सिर्जना गरेका रचनाहरु प्रस्तुत गरेका थिए । अधिकांश सिर्जनाहरुमा देशले र नागरिकले भोग्नुपरेका पीडा, वेदना र अभिसप्त नियतिका बारेमा चासो राखिएको पाइन्थ्यो भने समाजको आमूल परिवर्तन र रुपमान्तरणका लागि सकारात्मक सुझावहरु प्रस्तुत गरिएको भेटिन्थ्यो । साहित्यकार इन्द्रकुमार विकल्प, इन्द्रमान खत्री, राजेन्द्र पहाडी, सरस्वती शर्मा जिज्ञासु, डीआर शर्मा, लक्ष्मीप्रसाद शर्मा, गोविन्द भुसाल, लगायतका स्रष्टाहरुले आफ्ना रचनामार्फत वर्तमान समयको कुरुपता, सुन्दरता र भावी सम्भावनाहरुको उत्खनन् गरिएका सिर्जना सुनाए । सुन्दर हिमाल, पाखापखेरा, छाङ्गाछहरा, रुखविरुवा, गाउँबस्ती, संस्कारसंस्कृति आदि विषयहरुले साहित्यिक सिर्जनाहरुमा मनग्गे स्थान पाएको सुनिन्थ्यो ।

कार्यक्रममा प्रस्तुत गरिएका अधिकांश कविता, गजल, मुक्तक, गीत आदि रचनाहरुले नेपाली समाजमा विद्यमान सबल पक्षहरुका बारेमा जमेर वकालत गरेका थिए भने खस्कँदो राजनीति, सामाजिक–साँस्कृतिक विषमता, आर्थिक शोषण, अन्याय, अत्याचार र समग्र सामाजिक कुरुपताप्रति कसेर प्रहार गरेका थिए । यसरी समसामयिक विषयवस्तुमा रचना प्रस्तुत गर्ने अन्य सर्जकहरुमा सुवेदार सुक बहादुर गुरुङ, नवराज गिरी रिदम, पवित्र खत्री, अन्तिम गुरुङ, चुडामणि दाहाल, शिवप्रसाद संकल्प, आनन्द पौडेल, मनोज पौडेल, हिरा गिरी, भोजराज तिवारी, सर्मिला गुरुङ, पूर्ण बहादुर गुरुङ, रामचन्द्र गुरुङ, दीपक गुरुङ, पार्वती गुरुङ लगायतका थिए ।

कुश्मास्थित नमुना आवासीय उच्च माविका विद्यार्थीहरु अर्विन्द्रराज पौडेल, उपहार सापकोटा, आदर्श पौडेल, मनिताकुमारी हमाल, कृति लामिछाने, रश्मी श्रेष्ठ, विपना थापा, प्रगति केसी, खिमा राना, आस्था गुरुङ, आशा पुन, पुष्पा तामाङ, गान्धी शर्मा, जानकी खत्री, चेतना सुवेदी लगायतले आ–आफ्ना साहित्यिक सिर्जना तथा वक्तृत्वकला प्रस्तुत गरेका थिए भने आदर्श आवासीय माविका विद्यार्थीहरु अनिल क्षेत्री र अनिल पौडेलले आफ्ना कविता प्रस्तुत गरेका थिए । विद्यार्थीहरुका रचनाले आफ्नो भविष्यप्रतिको चिन्ता र चासो जाहेर गरेको प्रष्ट बुझ्न सकिन्थ्यो । उनीहरुले आफ्ना मनका उच्छवासहरुलाई कलात्मक भावभङ्गीमा मिलाएर प्रस्तुत गरे । उनीहरुले बेइमान राजनीतिज्ञहरुलाई लल्कारे, धुर्त अगुवाहरुलाई खबरदारी गरे र आफूले निर्भिकतापूर्वक लेख्न, पढ्न र शान्तिसँग बाँच्न पाउनुपर्ने कुराको दृढतापूर्वक वकालत गरे ।

उक्त कार्यक्रममा कालीगण्डकी ऐकेडेमीका विद्यार्थी मुस्कान झाले आफ्नो उत्कृष्ठ वक्तृत्व प्रस्तुत गरेकी थिइन् भने राष्ट्रिय बाल शिक्षा सदनका मनोज पौडेल, सुशान्त रिमाल, नीविका शर्माले आफ्ना साहित्यिक रचनाहरु सुनाए । यसैगरी कुश्माबाट ५५ जनाको संख्यामा दुर्लुङ पुगेका पर्वत गुरुकुल ऐकेडेमीका विद्यार्थीहरु मध्ये सनम क्षेत्री र रञ्जना गिरीले कविता प्रस्तुत गरेका थिए । सदरमुकामबाट गएका भाइबहिनीहरु र स्थानीय भाइबहिनीहरुका बीचमा एक ढंगको सानिध्यता विकास भैरहेको थियो । पाहुनाको जोशिलो, फूर्तिलो र झरिलो प्रस्तुती देखेर, सुनेर स्थानीय विद्यालयका छात्रछात्राहरु पनि आफूलाई विस्तारै दृढ र आँटिलो बनाउँदै लगेको कुराको भेउ पाइँदै थियो ।

सुरुमा आफ्ना रचनाहरु प्रस्तुत गर्न आनाकानी गरिरहेका स्थानीय विद्यालयका भाइबहिनीहरुले पनि विस्तारै विस्तारै आफूलाई खुलाउँदै गए र थुप्रै उत्कृष्ठ रचनाहरु प्रस्तुत गरे । दुइजना विद्यार्थी भाइहरुले त अत्यन्त प्रभावकारी रोल प्ले गरेर देखाए । उनीहरुको प्रहशनमा नेपालमा देखापरेको विकृति, विसंगति र राजनैतिक अन्यौलताका बारेमा जोडदार व्यङ्ग्य गरिएको थियो । यी ग्रामीण छात्रछात्राहरुको गम्भीर प्रस्तुती हेर्दा र सुन्दा लाग्दथ्यो अवसर पाउने हो भने गाउँ पनि शहरसँग राम्रै ढंगले प्रतिष्पर्धा गर्ने हैषियत राख्दछ ।

कार्यक्रममा वाचन गरिएका रचनाहरुमा उत्कृष्ठ ठहरिएका तीन जना विद्यार्थीहरु क्रमशः अर्विन्द्रराज पौडेल, मुस्कान झा र उपहार सापकोटालाई श्री काफलचौर उमाविका पूर्व प्रधानाध्यापक तथा शिक्षासेवी काशीराम पोखरेलले आफ्नो व्यक्तिगत तवरबाट जनही दुईसय रुपयाँका दरले पुरस्कार प्रदान गरेका थिए । उक्त कार्यक्रममा आफ्नो मन्तब्य राख्दै विभिन्न वक्ताहरुले यस्ता साहित्यिक कार्यक्रमहरु शहरबजारमा मात्र केन्द्रीत नभई गाउँ–गाउँसम्म आउनु ज्यादै प्रशंसनीय काम भएको र यस्तो कामको थालनी गरेकोमा पर्वत साहित्य सङ्गमको उच्च प्रशंसा गरेका थिए । सबैजसो वक्ताहरुले यस प्रकृतिका कार्यक्रमले दुर्लुङ र दुर्लुङकोटको प्रचारप्रसारमा समेत सहयोग पुग्ने कुरामा विश्वास व्यक्त गरेका थिए । यसरी आफ्ना विचार राख्नेहरुमा शिक्षासेवी काशीराम पोखरेल, काफलचौर उमाविका प्राचार्य नारायण शर्मा, प्रगति आमा समूहका अध्यक्ष धनमाया गुरुङ लगायतका व्यक्तिहरु थिए ।

पर्वत साहित्य सङ्गमका सदस्य, शिक्षक, विद्यार्थी र स्थानीय गरी करिब ३५० जनाको सहभागितारहेको उक्त कार्यक्रममा उपस्थित महानुभावहरुलाई उन्नती महिला विकास समूह, दुर्लुङका अध्यक्ष हिरा थापाले स्वागत मन्तब्य राखेकी थिइन् । कार्यक्रमको प्रारम्भमा पर्वत साहित्य सङ्गमका अध्यक्ष इन्द्रमान खत्रीले साहित्यिक यात्राको पृष्ठभूमि र उपादेयताको बारेमा प्रकाश पारेका थिए । दिउँसो करिब ४.३० बजे कार्यक्रम समापन गरियो । बिहान खाना पनि नखाई मेरो साथ लागेको अतितले पनि दिनभरी भोकभोकै बसेर पनि कुनै गुनासो गरिरहेको थिएन ।

कार्यक्रम औपचारिक रुपबाट सम्पन्न भएपछि स्थानीय महिला समूहका सदस्यहरुले साहित्यिक यात्रीहरुलाई खाना खुवाउने प्रयोजनका लागि जनिकैको गुरुङ बस्तीमा आमन्त्रण गरेअनुसार यात्रीहरुको लर्को त्यतातर्फ बढ्यो । आँगनमा बसेर भुटेका मकै, भट्टमास र मोही खाँदै भोक मेट्ने काम भयो । चिसो मोही र ताता मकै खाँदाको स्वादले दिउँसोको साहित्यिक स्वादलाई अपत्यारिलो चुनौती पस्किरहेको थियो । सबैजना यात्रीहरु मोही, मकैमा रमाइरहेका थिए । अतितले पनि मीठो मानेर मोही र मकै चबायो । यसै बीचमा तातो चिया पनि पिउने भन्ने प्रस्ताव आयो । मोही पिएकै गिलासमा चिया पनि खाँदाको मज्जा बेग्लै हुँदोरहेछ भन्ने अनुभव पनि गर्न पाइयो । कति साथीहरुले त खाइनसकेका मकै आ–आफ्ना खल्तीमा पनि राखे र पछि गाडीमा यात्रा गर्दै गर्दा मुख चलाउने मेसो मिलाए ।

खाजा खाने उपक्रम समाप्त भएपछि स्थानीय आमा समूह र संयोजनको भूमिका निर्वाह गरेका साथीहरुसँग विदावादी भएर हामीहरु कुश्मा फर्कने प्रयोजनका लागि गाडी रोकिएको स्थानमा आइपुग्यौं । विस्तारै गाडीले आफ्नो बाटो लियो । बसभित्रका हामी यात्रुहरु दिउँसोको कार्यक्रमको समीक्षा गर्दै, गीत गाउँदै र अनेक तरहले रमाइलो गर्दै गफियौं । साँझ ६.३० बजे गाडीले हामीलाई दुर्लुङ चोकमा ल्याइपु¥यायो । एक–अर्कामा विदाइको हात हल्लाउँदै सबै जना यात्रीहरु आ–आफ्नो गन्तब्यतर्फ लाग्यौं । अतितले भने एक निद्रा गाडी भित्रै पु¥याइसकेको थियो ।

कुश्मा, पर्वत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।