19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हकर

कविता मनोज पन्त March 13, 2014, 7:45 am

ताल बेताल

सडकको पेटी-पेटीमा

दगुरिरहन्छ

घाँटीको नशा फुल्ने गरि

चर्को चर्को स्वरमा

कुर्लिरहन्छ।

पढेलेखेको छैन उ

तर पढन्दासहरुको

खोजि गर्दै हिडछ

दुई रुपैयामा

पच्चीस पैसा नाफा निकालेर

दैनिक गुजारा गर्छ

बीच सडकमा

भुवन केसीको हत्या

भुवन केसीको हत्या

भन्दै चिच्याउदै हिडछ

चूरो कुरो त

चलचित्रको शूटिंगको

दृश्यमा पो भुवन केसीको

हत्या भएको हुन्छ

यसरी नै

पढेलेखेकालाई दैनिक जसो

बलिको बोको बनाई दिन्छ

कोही उ जस्ता

देशका प्रतिष्ठित

पत्रकार बनेका छन्

कोही उ जस्ता

साहु महाजन भएका छन्।

बिहानीपख

प्रभातकालीन

दिउँसो तिर

मध्यान्हकालिन

त्यसै गरी

साँझपख

सन्ध्याकालीन

अंकहरु बोकेर

उ कहिले पुतलीसडक

कहिले बागबजार

कहिले न्युरोड

कहिले बानेश्वर

त कहिले रत्नपार्कमा

अविछिन्न्न गतिमा

दगुरिरहन्छ

दगुरिरहन्छ

बस दगुरिरहन्छ

अनि,

त्यसरी नै चिच्याईरहन्छ।

कालिका एफ एम ,चितवन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।