14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

यसरी म बुढी भएँ

कविता श्रवणकुमार ढुंगाना March 13, 2014, 2:53 am
श्रवणकुमार ढुंगाना
श्रवणकुमार ढुंगाना

जब म सुन्दर थिएँ

ईश्वरले मेरालागि

१०,००० दैत्य पठायो,

(ती फूलका भवंरा थिएनन्

र म फूल पनि थिइन)

अनि यसरी म

उमेर छंदै बुढी भएँ ।

कोही मैले प्रीयतम खोज्दै हिड्दा भेटिए

कोही प्रियतमा खोज्नेले मलाई भेट्टाए

मलाई फूलको भ्रम दिए

मलाई जुनको भ्रम दिए

( म भ्रमित भएँ ) ।

म कुनै जुलुसको मसाल

म कुनै जिन्दावाद/मुर्दावादको नारा

म कुनै सम्बन्धको उत्तेजना

बालियो, निभाइयो

उफारियो, पछारियो

तताइयो, पगालियो

म फगत एक प्रयोग भइसकेको

कन्डम !

ती फूलका भवंरा थिएनन्

र म फूल पनि थिइन

तर, आउँदा ऊनिहरु

फूलमा भवँरा जस्तै आए

र जांदा, बेश्याको कोठीबाट

ग्राहक जस्तै गए !

लाठे प्रहरीको एक झुन्डले फाँडेको जुलुस जस्तै

हिंस्रक बाघ्ले चिथरेको सिकार जस्तै

बलात्‍कृत महिलाको च्यातिएको आभुषण जस्तै

म फूल्नु र ओइलाएर झर्नुको नियति भन्दा टाढा

म रगताम्य पछारियें, लतारियें र फ्याकिएँ !

ऊत्तेजना चरम सुख अगावै स्खलित भयो

सपना जाग्रिती अगावै भंग भयो

अनि म बुढी भएँ ।

कि त प्रेमपत्र लेख्न सिकियो

कि त भाषण लेख्न सिकियो

कि भिंडमा कतै ऊभिएर ताली बजाउन सिकियो

कि त कतै ओझेल परेर आनन्दको खोजीमा हराइयो

बहसका ठुला ठुला अभ्यासहरु पनि

'स्कर्ट' का लम्बाइ भन्दा धेरै टाढा गएनन्

(म अपवादहरुको कुरा गरिरहेको छैन )

धुमधाम प्रगतिका ऊचाइहरू पनि

भवनका अग्लाई भन्दा धेरै माथि गएनन्

कहिले धोबी घाटमा लुगाको रामधुलाई जस्तो

कहिले जलेर सकिएको चुरोटको ठुटो जस्तो

जिन्दगी !

अन्तत: दुई गास अन्न, दुई घुड्की पानी

र केही क्षणको न्यानो नै जिन्दगीको सर्बस्व भयो!

अनि म बुढी भएँ !

दैत्यहरू-

जस्को उद्धेस्य प्रेम थिएन

भोग थियो

दैत्यहरू-

जस्को उद्धेस्य रक्षा थिएन

रजाइँ थियो

दैत्यहरू-

जस्को स्वभाव नै

श्रीजना थिएन विनास थियो

उनिहरूको मुख मा अमृत थियो

( र भोजन मा बिष थियो )

उनिहरूको शैलीमा कला थियो

( र कर्ममा काँडा थियो )

जब म बुढी भएँ

अन्तत: हामी बिच कुनै सम्बन्ध रहेन

कुनै आकर्षण रहेन

( जसले उनिहरुलाई पठायो

बरु उसैको गण विरुद्ध उसैलाई गुहारिरहें )

र श्रवण, तिमीले ढिलो गरी आएर सोधेको

प्रश्नको जवाफ यत्ती हो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।