19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नवराज सुब्बाको ‘चीत्कार’ले सम्प्रेषण गरेका सन्देशहरू

कृति/समीक्षा दधिराज सुवेदी March 13, 2014, 7:55 am

नवराज सुब्बा नेपाली वाङ्मय मन्दिरका असल र सफल पुजारी हुन् । उनका कलममा गीत, गजल, कविता, मुक्तक, कथा, निबन्ध, नाटक र लेख आदि लेख्ने सामथ्र्य छ । उनी जातले लिम्बू भए पनि आचरण र व्यवहारले संस्कारयुक्त ब्राह्मण मानिन्छन् । उनका जीवनमा रिस, राग, द्वेष, कलह, विकार, विकृति र नकारात्मक सोचले बास गर्ला जस्तो लाग्दैन, उनको आकृति जति सुन्दर छ, मन पनि त्यत्तिकै उदार र पवित्र छ । त्यसैले मलाई उनी अजात शत्रुवर्गका मानिस हुन् भन्न मन लाग्छ ।

नेपालीमा एम.ए., जनस्वास्थ्यमा एम.पी.एच. र हाल विद्यावारिधिको लागि तयारी गर्दैरहेका यी साधकले ‘जीवन मेरो शब्दकोशमा’ कवितासङ्ग्रह (२०६३), ‘मनको मझेरी’ निबन्धसङ्ग्रह (२०६४), ‘बीच बाटोमा ब्यूँझेर’ कवितासङ्ग्रह (२०६५), ‘सहिदलाई सलाम’ गीतसङ्ग्रह (२०६७), ‘यात्रा आधा शताब्दीको’ कवितासङ्ग्रह (२०६८), ‘चीत्कार’ मुक्तकसङ्ग्रह (२०६९) जस्ता शिल्प र सौन्दर्यले सुसज्जित कृतिहरू लेखेर वाङ्मय भण्डार भर्न मद्दत पु¥याउनुका साथसाथै आफूलाई पनि साधनाको शिखरतर्फ अभिमुख गर्दै लगेका छन् । उनी बहुमुखी प्रतिभा सम्पन्न विचारका धनी स्वाभिमानी मानिस मानिन्छन् । उनका प्रत्येक धड्कनमा राष्ट्र, राष्ट्रियता, स्वाभिमान, सहिष्णुता, जातीय सद्भाव र देशभक्तिहरू अग्रसर भएर रहेका पाइन्छन् । ‘सेवाहि परमो धर्मः’ उनका जीवनको मूल ध्येय हो ।

अनलाइन विश्व वेभक्याम कविता प्रतियोगिता (२०६४) का प्रथम विजेता यी वरिष्ठ साहित्यकारले दर्जनभन्दा बढी मानसम्मान र पुरस्कारहरू पनि ग्रहण गरिसकेका छन् । उनको गीत लेख्ने कला र गाउने गला पनि छ । आजसम्म उनका ‘देशको माया’ देशभक्तिपूर्ण गीति एल्बम (२०६६), ‘लुकेको रहर’ गजल एल्बम (२०६७), ‘अमूल्य जीवन’ गीति एल्बम (२०६८) र ‘हामी पहिले नेपाली’ देशभक्तियुक्त गीति एल्बम (२०६९) र नवराजको प्रतिबिम्ब भाग १, २, र ३ भिडियो श्रव्यदृश्य सन्सारमा छाइसकेका छन् । उनको अनमोल जीवनको मूल्य जानेर यसलाई सदुपयोग गरिरहेका छन् । उनी नेपाली उपवनका फूल हुन् । अनेकौं तुषाारापात सहेर पनि फुल्नु उनको धर्म हो ।

फूल स्वभावैले सुन्दर हुन्छ । आफ्नो रस, पराग, सौन्दर्य र सुवास छरेर लोकको कल्याण गर्न उसले जानेको छ । ऊ बाँचुन्जेल निःस्वार्थ सेवामा लागिरहन्छ । उसले कसैसँग केही माग्न जानेको छैन । फुल्नु परोपकार गर्नु मात्र आफ्नो कर्तव्य ठान्दछ । सायद नवराज सुब्बाको गुरु प्रकृति नै हो । त्यसैले समर्पित भावले वाङ्मय सेवामा समर्पित रहेका पाइन्छन् । मलाई लाग्छ— फूल र सुब्बाका जीवनमा धेरै सादृश्यता रहेको पाइन्छ । फूल कहिले फुल्छ कहिले फुल्दैन, साधक नवराज सुब्बा सधैं फुलिरहन्छन् ।

मूलतः कविता, गीत, गजल र मुक्तक लेखेर आफूलाई कविका रूपमा उपस्थित गराउन चाहने यी कविको ‘चीत्कार’ नामक पछिल्लो कृति लोकलाई अर्पण गरेर आफूलाई मुक्तककारका रूपमा प्रस्तुत गर्ने सफलता प्राप्त गरेका छन् । जसभित्र समसामयिक चिन्तन गरिएका, युगबोध र जीवनबोध गराउने सामथ्र्य अटाइएका आधुनिक शैलीका चार हरपे एकसय एक मुक्तकहरू समावेश गरिएका छन् । सुन्दर कलेवर, आकर्षक छपाई, गहन विचार र काव्यसौन्दर्यहरूद्वारा सुसज्जित यस मुक्तकसङ्ग्रहले कवि नवराज सुब्बाको काव्यात्मक गरिमा अझ समुन्नत बन्न पुगेको अनुभव भएको छ । उनी कवि मात्र होइनन् कलाकार पनि हुन् त्यसैले यस कृतिभित्र उनको कलात्मक वैशिष्ट्य पनि मुखरित बन्न पुगेको छ ।

अध्येता एवं अनुसन्धाता डा. कुमारबहादुर जोशीका अनुसार नेपाली साहित्यको प्रारम्भ सँगसँगै नेपाली मुक्तक लेखनको शुभारम्भ भएको हो । सामान्यतया दुई हरफदेखि सात हरफसम्ममा लेखिने मुक्तकमा कविका मनका भावहरू अभिव्यक्त भएका हुन्छन् र यसमा पूर्वापर सम्बन्ध हुँदैन । यसले कविताकै गुण–धर्म र प्रवृत्ति अँगालेको हुन्छ । यो कविताको लघुत्तम रूप हो । यो आफैमा पूर्ण हुन्छ । यसले पाठक वा श्रोतालाई आकर्षित गरेर मन्त्रमुग्ध तुल्याउँछ । मुक्तक छोटो, मीठो र प्रभावशाली हुन्छ । यी सम्पूर्ण गुण–धर्महरू कवि नवराज सुब्बाका चार हरफे मुक्तकहरूमा पाइन्छन् र नै उनका सबै मुक्तकहरू चोटिला रहेका पाइन्छन् ।

“एकता टुटेको छ जसरी त्यो बल्ब फुटेको छ

बिजुलीको तार पनि बीचमा कतै छुटेको छ

हाम्रो चोकमा रातदिन बलिरहने त्यो बत्तीको

स्वीच चोरेर कुनै पापी यतै कतै लुकेको छ ।”

जसरी एकता टुटेर समाज छिन्नभिन्न हुन्छ, बिजुलीको बल्ब फुटेर टुक्रा टुक्रामा परिणत हुन्छ त्यसरी नै हाम्रो सामाजिक परिवेश, राष्ट्रिय वातावरण र देशको अर्थनीति आदि छिन्नभिन्नको अवस्थामा पुगेको छ । हामी हाम्रो राष्ट्रलाई प्रज्ज्वलित गर्ने हाम्रो र राष्ट्रको अस्मिता लोप हुन थालेको छ, सधैं बलिरहने बिजुलीको तार, बल्ब र स्वीच कुनै पापीले चोरेर छेउछाउमै लुकेको छ भन्दै कविले प्रथम पृष्ठको एक नम्बर मुक्तकमा देश र समाज दुखेको कुरा बताएका छन् ।

कुल १०१ पृष्ठमा सजाइएका १०१ मुक्तकहरूले १०१ विषयवस्तुलाई समेटेर पाठकलाई १०१ प्रकारका स्वाद चखाउँदै १०१ प्रकारले सचेष्ट रहन कविले हामीलाई सचेत तुल्याएका छन् । थोरै शब्द खर्चेर धेरै विचार प्रवाह गर्ने सामथ्र्य राख्नु मुक्तकको विशेषता हो । यस दृष्टिले हेर्दा सुब्बाका सबै मुक्तकहरू एकसेएक छन् । वि.सं. २०६६ सालदेखि २०६९ सालसम्ममा लेखिएका यी मुक्तकहरू समय सान्दर्भिकता र युगसापेक्षताका दृष्टिले पनि अब्बल रहेका पाइन्छन् । सबै १०१ नै मुक्तकहरू पाइन र रसायनको हिसाबले घटीबढी पाइँदैनन् । नवराजका १०१ मुक्तकहरू वसन्तका वनमा पाकेका ऐंसेलुका टोप्रा जस्ता स्वादिला, रसिला, मीठा, राम्रा र मनमोहक रहेका पाइन्छन् । यस्तै सन्दर्भमा कवि शिरोमणि लेखनाथले लेखेको— “साना ऐंसेलुका दाना, टिपदा ती टपाटप, ग्रामीण नारी सम्झन्छन् कानमा सुनका टप” लाई मुक्तक मान्न सकिन्छ ।

हिजो भूस्वर्ग मानिएको हाम्रो देश आज युवाविहीन मात्र होइन कान्तिविहीन बन्न पुगेको देखेर कवि चिन्तित बन्न पुगेका छन् । बुद्धको जन्मभूमि मानिएको यस देशमा लुम्बिनी छ तर बुद्धत्व छैन । तसर्थ कवि त्रियानब्बेऔं मुक्तकको अन्तिम हरफमा— “बुद्ध रमाउने हाम्रोमा अब कुन ठाम छ ?” भन्ने प्रश्न गर्न पुग्दछन् । जुन देशले आफ्नो अस्मिता हराउँदैछ, त्यो देशको नागरिक भएर बस्नु परेकोमा कविलाई दुःख छ । बुझ्नेका लागि आफूभन्दा ठूलो राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाभिमान मानिन्छ । यस कुरालाई कविले आफ्ना मुक्तकहरूमा पर्याप्त स्थान दिएको पाइन्छ ।

जताततै अन्याय र अत्याचारको साम्राज्य छ । विकृति र विसंगतिले मान्छेको मन मात्र होइन आकाश–पाताल पनि आक्रान्त छ । यस्तो विषम परिस्थितिको सामना गर्दै आएका कवि २७ औं मुक्तकमा लेख्छन्—

“म आजकल मेरो मन जस्तै देख्छु आकाश

मडारिएको छ बादल छेकिएको छ प्रकाश

देखेन आँखाले छिमेकी बिर्सिएँछु इष्टमित्र

बलात्कृत छु विक्षिप्त छ मनको निकास ।”

मुक्तकमा सरलता, स्पष्टता, मृदुता र सरसता कविको अर्को विशेषता हो । शब्दलाई चुनेर, शिल्पलाई बुनेर, भावलाई कुँदेर, विचारलाई समेटेर सिपालु डकर्मीले चौतारो चिनेझैं सिर्जनाका महलहरू ठड्याउने यी रोमान्टिक कविले बैंसालु भूलको याद गर्दै ६३ औं मुक्तकमा लेखेका छन्—

“अझै मलाई फूल मन पर्छ

सँगै तरिएको पुल मन पर्छ

कसैले नदेख्ने गरी एकान्तमा

गरिएको एउटा भूल मन पर्छ ।”

आज देशको परिवेश दण्डहीनता, बेरोजगारी, कालोबजारी, तस्करी, मिसावट, श्रमशोषण, युवाशक्ति पलायन, हत्या, बलात्कार, चोरी, डकैती, अपहरण, चन्दा–आतङ्क, राजनीतिक विचलन, महँगी, अन्याय, अत्याचार, दुराचार, भ्रष्टाचार, अनैतिकता आदिको दास बनेर घुमिरहेको छ । यस्तो विषम परिस्थितिमा बाँच्न विवश एउटै नैतिक कविले के नै गर्न सक्छ र ! तथापि कवि नवराज सुब्बाले कत्ति पनि विचलित नभइकन न्वारानदेखिको बल प्रयोग गरेर ‘चीत्कार’ छाडेका छन् । म पूर्ण आशावादी छु— उनका चीत्कारले निदाएको ब्यूँझने छ, ब्यूँझिएको उठ्ने छ र उठिसकेकाले गन्तव्य समात्ने छ । साथै गन्तव्यमा पुग्न अगावै मानवतासँग उसको मिलन हुनेछ । यो नै कविका १०१ चीत्कारको अभीष्ट हो । उनको यात्रापथ पनि विकृति र विसङ्गतिबाट मुक्त छैन तापनि कविले जोगिन जानेका छन् । अनि मुक्तकहरू पढाएर हामीलाई पनि जोगाउने प्रयत्न गरिरहेका छन् । यसबाट लेखक सुब्बा समाजलाई समष्टिगत रूपले हेरिरहेका छन् । मुक्तककै शैलीमा चार हरफमा लेखिएका भूमिकारूपी मुक्तकमा कवि सुब्बा लेख्छन्—

“शान्ति, समृद्धि मुलुकमा देख्न जब गाह«ो भो

चीत्कार कोरें बन्दियो कविता तब गाह«ो भो

बुझाउँछु आफ्नै मन तर मान्दैन लौ के गरूँ

लेख्दा भन्दा नलेख्दा मलाई त अब गाह«ो भो ।”

२०६६ सालदेखि २०६९ सालसम्म चार वर्षको अन्तरालमा लेखिएका प्रस्तुत मुक्तकहरूमा देश दुखेका, विसङ्गतिले किचिएका, नेता भनाउदाहरूबाटै बिल्लिबाठ पारिएका जनताका आवाजहरू समेटिएका छन् । सकारात्मक सोच र सुधारका सन्देशहरूले कृति गरिमायुक्त बन्न पुगेको छ । देश र जनतालाई सर्वोपरि मर्यादा प्रदान गरिएको छ ।

अभिधा, लक्षणा र व्यञ्जना तीनै प्रकारका शब्दशक्ति सामथ्र्य भएका यी कविका कवितामा शिल्पसौन्दर्य र विचारहरूको विमर्श यथेष्ट भएको पाइन्छ । उनी देश र जनतालाई सर्वोपरि राखेर कलम चलाउँछन् । त्यसैले उनका कलममा राष्ट्रको अस्मिता अटाएको छ । उनी सर्वप्रथम आफूले टेक्ने धरती र मानवताको ‘म’ लाई सुरक्षित राख्न चाहन्छन् । सचेत नागरिकको कर्तव्य पनि यही हो ।

श्रद्धेय गुरु बालकृष्ण पोखरेलले भूमिकाभित्र लेखे अनुसार कवि नवराज सुब्बा स्वनामधन्य कवि हुन् । उनले जीवनकालमै सफलताको शिखर चुमेका छन् । अब नलेखे पनि उनको ओजमा आँच आउने छैन । शिल्प–भाव सौन्दर्यले उनी अब्बल दर्जाका कवि परिभाषित भइसकेका छन् । उनको जोश, जाँगर, उत्साह र लगन प्रशंसनीय छ । त्यसैले उनी हाम्रा राम्रा कवि हुन् । उनका कलममा युगबोध छ र जीवनबोधको सामथ्र्य छ । मलाई लाग्छ— नवराज सुब्बा वर्तमान पुस्ताका असल र सफल साहित्यकार हुन् । उनी रिस, राग, द्वेष, स्वार्थ र साम्प्रदायिकताबाट भरसक जोगिएर लेख्न चाहने साहित्यकार हुन् । त्यसैले उनका सबै विधाका सिर्जनामा पाठकको मन छुने सामथ्र्य छ । उनका कलममा कुटिलताले प्रवेश पाएको छैन । ‘सर्वे भवन्तु सुखिनः’ उनको जीवन दर्शन हो ।

अनुहारले नराम्रा कविका कवितामा त मोहनी शक्ति हुन्छ भने यी हाम्रा कवि ता राम्रा पनि छन् । त्यसैले यिनी हिजो कसैका आँखाका गाजल थिए, मायालु हेराइले पागल थिए, तरूनीले छाडेका तीखा तीरले घायल थिए । आज ती संवेदनशील घाउहरूमा गीतका संजीवनीहरू दलेर निको पार्ने प्रयास गरिरहेका छन् । मुटुभित्रको वेदना बताउँदै दसौं मुक्तकमा यी रसिक कवि यसरी पोखिएका छन्—

“कुनै बेला कसैको आँखामा गाजल थिएँ म

उनका ती मायालु हेराइले पागल थिएँ म

गीतले कोट्याउँदै छु मुटुमा गढेका ती छर्रा

धन्न पो बाँचेछु वास्तवमा घायल थिएँ म”

बिम्ब, प्रतीक, उपमा आदि अलङ्कारका धनी यी कविका कवितामा उक्तिचातुर्य र रसमाधुर्यको प्रवाह पाइन्छ । युवतीका अङ्गहरू स्वर्णकारले सीप लाएर बनाइएका गहनाले सजाइएका जस्तै यिनका कविता वा मुक्तकहरू पनि मीठा, रसिला, बान्की परेका शब्दहरूले सजाएर चिटिक्क पारिएका हुन्छन् भन्ने कुरो उनको यो एघारौं मुक्तकबाट अनुभव गर्न सकिन्छ—

“तिम्रो हाँसो दाँतमा टल्केको पहेंलो सुन जस्तो

खेलमा विपक्षीको मुक्काले बगेको खून जस्तो

सपना पछ्याउँदै कुदिरहेको हाम्रो जीवनयात्रा

बिहानसम्म आकाशमा नअस्ताएको जून जस्तो”

‘जस्ता जनता त्यस्तै जनप्रतिनिधि’ यो यथार्थ र सत्य हो । यसैको परिणति आज हाम्रो देश र हामी भोगिरहेछौं । रोग, भोक र अशिक्षाको भुँवरीमा रन्थनिएका जनताले आफू माझबाट प्रतिनिधि छान्दा आफू जस्तै छान्छ । त्यसैले आज हामी राष्ट्रलाई निकास दिन नसकेर रनभुल्लमा परेका छौं भन्दै हाम्रो नियतिका बारेमा सत्तरीऔं मुक्तकमा कवि यसरी लेख्छन्—

“हल्लै हल्लामा दिन बितायौं

सल्लाह गर्दागर्दै रात कटायौं

हामी जनता नै जब माझी हौं त

किन आफ्नो गाउँ आफै डुबायौं ?”

सुन्दर आकृति र निर्मल मनका बहुविध ब्यक्तित्वका धनी यी साहित्यकारका सिर्जनामा जीवन र जगतका केस्राकेस्रा केलाइएका हुन्छन् । प्रस्तुत मुक्तकहरूमा पनि जीवनको नियति र जगतको वास्तविकतालाई नियालेर हेर्ने प्रयत्न गरिएको छ । उनी सानोभन्दा सानो कुरालाई सूक्ष्मभन्दा सूक्ष्म दृष्टिले हेर्न सिपालु सर्जक हुन् । उनको चिन्तन वा कवित्व कलामा मनमोहकता र मिठासले साथ दिएको हुन्छ भन्ने कुरा प्रस्तुत २९ औं मुक्तकले प्रमाणित गरिदिएको छ । सुन्दरता स्वीकारौं तर आफ्नो बनाउने प्रयत्न नगरौं भन्दै कवि भन्छन्—

“फूललाई आफ्नो नबनाऊ ओइलिन्छ

जूनलाई भुइँमा नसजाऊ चोइटिन्छ

मन यस्तो ठाउँ हो सबै कुरा सजाउने

कवितामा पोको पारेर लुकाऊ लुटिन्छ”

सरल अभिव्यक्तिमा गहन भाव सम्प्रेषण गर्नु यी कविको बौद्धिक चातुर्य हो । यिनका सबै सिर्जनामा बोधगम्यता र सरलता पाइने हुनाले सबैका लागि रूचिकर रहेका पाइन्छन् । यिनका कला कौशलतामा स्पष्टता र जीवन्तता रहन्छ । त्यसैले यी सबैका राम्रा कवि वा साहित्यकार बन्न सफल भएका छन् । मलाई लाग्छ— यी वर्तमान पुस्ताका प्रतिनिधि साहित्यकार हुन् । यिनको सुदर भविष्य छ ।

कवि नवराज सुब्बा निरर्थक चीत्कार गर्दैनन् । हिजो धरणीधर कोइरालाले सुतेका नेपालीलाई ब्यूँझाउन दार्जीलिङको डाँडाबाट जागरणको शङ्खघोष गरेका थिए । आज यिनी गाउँघर जगाउन मुक्तकको चौताराबाट चीत्कार छाडिरहेका छन् । उनका चीत्कारमा जोश, जाँगर र उत्साहको रन्को छ, सकारात्मक सोचको फन्को छ, स्वार्थ र सङ्कीर्णताले आश्रय पाएका छैनन् । त्यसैले उनको चीत्कारले समाजमा सकारात्मक प्रभाव पार्दछ भन्ने मेरो धारणा छ ।

अन्त्यमा शुद्ध मन, पवित्र सङ्कल्प, सकारात्मक सोच, परोपकारी भावना, क्रियाशील जीवन, समदृष्टि हेराइ आदिलाई आत्मसात् गर्दै जीवनपथमा यात्रारत यी कविका मुक्तकहरू मात्र होइन सम्पूर्ण सिर्जनाहरू नै उपवनमा फुलेका फूलहरू हुन् । यिनले हाम्रो रित्तो जीवनलाई प्रभाव र प्रेरणा प्रदान गरिरहेका छन् । फूललाई टिप्न होइन, उसको संसर्गमा रहेर जीवनलाई सजाउन प्रयत्नरत रहनु पर्दछ । हामीलाई सिर्जनाले सजाएर सफलताको शिखर चुम्न सिकाउँछ भन्ने कुरा स्वीकारियो भने फूल र मानिस दुवै पक्षको अस्तित्व रहन्छ भन्ने निष्कर्षका साथ कवि नवराज सुब्बाका ‘चीत्कार’ भित्रको चिन्तनबाट विश्राम लिन्छु । अस्तु ।

विराटनगर— ४

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।