19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

दृष्टि

कविता रमेश कँडेल April 13, 2008, 5:59 am

म मेरो जन्मघरको छाना  माथि छु
जसलाइ मान्छेहरु सगरमाथा भन्छन्
त्यहि छानामाथिबाट म संसार हेर्दैछु।
यो संसार कत्ति रमाइलो छ,
झिलिमिली झिलिमिली, बत्ति नै बत्ति
झिमिक्कै नगरी म संसार हेर्दैछु
यो उचाई, जुन भन्दा माथि अरु कुनै उचाई छैन
यस उचाई बाट म संसार हेर्दैछु।
बिश्वभरीका देशहरुलाई एक पछि अर्को गर्दै
हातले इशारा गर्दैछु,
म सबैभन्दा माथिबाट संसार हेर्दैछु।
मैले वासिँटन देखें,लण्डन शहर देखें,
पेरिस देखें अनि ब्रुसेल्स पनि देखें
कस्ता चम्केका टलक्क ! टलक्क !
हामफालेर गैइ त्यसलाई छुने  सोच्दैछु
थर्ड पोल बाट म संसार हेर्दैछु।
 
त्यो धागोको त्यान्द्रो जस्तो नाइल नदी होला
ला ! बागमती खोइ त ?
म जुन छतमा छु, त्यहाँबाट सबैभन्दा नजिक छ
तर मैले बागमती देखेको खोइ त ?
आँखा तानी तानी म बागमती खोज्दैछु
बागमतीकै माथिबाट म संसार हेर्दैछु ।
टिनीनीनी घण्टीको आवाज सुनियो
पक्कै पशुपतीमा आरती सुरु भो
ला ! मैले पशुपती देखेको खोइ त ?
फनफनी घुम्दै म पशुपती खोज्दैछु,
पशुपतीकै माथिबाट म संसार हेर्दैछु ।
स्वयम्भु, पलाञ्चोक, न्यातपोल छैन
काठमाडौ, कपिलबस्तू, गोरखा पनि छैन
मैले मेरो नेपाल देखेको खोइ त ?
म छतमा बसी आँगन हेर्न खोज्दैछु,
म माउन्ट एभरेस्टबाट संसार हेर्दैछु ।
 
लौन ! मलाई यो छटपटी किन हुदैछ?
मेरो आँखाको नजिक किन अन्धकार ?
टाढाको झिलिमिलीले मलाई हसाएन
आँगन नहेरी छतबाट पाइला ओर्लिएन
कहिले देख्छु आँगन भनी कुरी बस्दैछु
म ८८४८ मिटर माथिबाट संसार हेर्दैछु ।
 
चिसो सिरेटो सँगै छतमा एक घण्टा बित्यो
२,३,४,५,६ अनि सात घण्टा बित्यो
कठाँग्रिएको सुस्केरासँगै आठ घण्टा बित्यो
बल्ल मेरो आँखा अघि उज्यालो छायो
सबैभन्दा पहिले मैले धरहरा देखेँ
पशुपती, स्वयम्भु गर्दै पूरा नेपाल देखें
आहा मैले छतबाट मेरो आँगन देखेँ.
 
मेरो घरको बिजुलीको फिउज गएको छ
भोलि, पर्सि, निकोर्सी सधैं जानेछ
त्यहि पनि म सधैं छतमा आउनेछु,
आठ घण्टा कुरेर आँगन हेर्नेछु ।
संसारकै उज्यालोलाई पोल्टोमा समेट्न सक्ने
शक्ति छ मेरो घरमा
तर रित्तो पोल्टो लिएर धुम्धुम्ती उभिएको छ
अन्धकारले रुमल्लिएर अन्धाधुन्ध भएको छ
कठै ! बत्तिकै मूनि अन्धकार !
तै पनि घरको छतमा आउनेछु म हरेक साँझ
त्यस दिन मात्र सायद म प्राण त्याग्नेछु
जब मैले मेरो आँगन नपर्खिकन देख्नेछु
जब पहिलो नजर म नेपाल हेर्नेछु
हो म हरेक दिन आउनेछु,
छानाबाट म मेरो आँगन हेर्नेछु,
आठ घण्टा कुरेर आँगन हेर्नेछु  ।
हासेल्ट,बेल्जियम
(शब्दाञ्जली  बर्ष १ अंक १ २०६५ बाट साभार)
 

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।