18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हामी र हाम्रो हराएको पुस्ता

कविता राज कुमार पुडासैनी March 13, 2014, 5:19 pm

अचेल कहिले कहिँ केहि अद्भुत कुराहरुले

मन लाई एकतमास बनाईरहन्छ

सम्झिंदै जाँदा धेरै कुराहरु

एक हुल भएर आउंछन

म आफैलाई अनौठो लाग्छ

आफु जन्मिएको यूग देखि,

म तेस्तै तेस्तै अद्भुत कुराहरुकै हुलमा

आफुलाई कहिले कहिँ हराइरहेको पाउंछु

र लाग्छ-

हामी यस्तो युग मा जन्मिएछौं

साच्चै अभागी पो रहेछौं

न त पुरानो अबिकशित युग को मानिस भयौं

न त आधुनिक युगको नै,

न यता न उता को भयौं

यौटा अद्भुत समय हाम्रो भाग्यमा रहेछ

पुरातन र आधुनिक दुवै युगको प्रतिनिधित्व गर्नु पर्ने

त्यो जमाना,जहाँ संचारको माध्यम-

कटुवाल कराएर होस् वा ढोल बजाएर होस्

अनि आधुनिक युगका प्रतिक हरु ,टेलिफोन इन्टरनेट वा टेलिभिजन

अझै अरु के के भएर आउछन

घट्ट, ढिकी र जाँतो

तुईन, फड्के र कोल

हिजो सम्म हामीले जानेका र देखेका हाम्रा जीवनका बिम्बहरू

अहिलेका मेशिन प्रबिधि र औजारको नाम लिन जान्दिन म

गट्टा, धुलिमाटी र खोर्ल्यांग खुट्टी खेल्दै

बितेका हाम्रा अबोध बालापन

अहिले मेरै सानी छोरीसँग के के हो के के

गेमको नामै जान्दिन म

अझ रकेट, राडार डिजिटल र वायरलेस

अनि लेजेर र ब्लु रे

तेस्तै तेस्तै प्राबिधिक शब्दका शब्दार्थहरु

मेरो शब्दकोशको भण्डारमा

नभेटिए पछी त झन

धेरै बेरसम्म अल्मलिईरहन्छु

भुटेको मकै र भटमास चपाउदै

भीरमा खर काटेर भीरमै फलेको अमलाको रुखमा चढेर

छानी छानी अमलाको दाना टिप्दै टोक्दै

अनि भीरमै खरको भारी हालेर

दिनभरी भीरै भीरको बाटो हिड़ेका सम्झनाहरु

अनि संग संगै आजकाल हवाई जहाज, मेट्रो र बुलेट ट्रेन का यात्राहरु

एक प्रकारले मिथक भएर आउंछ

प्राचिन ग्रीकका देवताहरु

एपोलो र टोटेम जस्तै

एक प्रकारले नोष्टाल्जिया झैं भैरहेछ

जीवनको कुन पुस्ताको प्रतिनिधित्व गरिरहेछौ

म अनुत्तरित भैरहेछु|

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।