भनिन्छ हिजआजका समसामयिक कविताहरू प्राय: धेरैजसो पट्यारलाग्दा ,असान्दर्भिक ,सतही ज्ञान भएका र आडम्बरपूर्ण खालका मात्र हुन्छन्। धेरै कम उत्कृष्ट र सर्वकालिक कविताहरू पाउँछौँ हामी हिजआज। कुनै वेला उत्कृष्ट कहलिएका कविताहरूमा पनि केही पाउँदैनौ हामी --न मौलिकता पाईन्छ त्यहाँ न कुनै गहन अन्तर्वस्तु । तर कुनै वेला साधारणभन्दा साधारण मानिएका कविताहरूमा पनि नजाँनिदोरुपमा गहनतम अन्तर्वस्तु र मौलिकताहरू छिपेका पाउछौँ हामी ।
त्यसैले सम्झेको थिएँ मैले कवि मणी बाङ्देल 'सागर'का कविताहरू पनि त्यस्तै मौलिकता नभएका साधारण खालका होलान्। तर जब मैले ‘’मेरो भागमा परेको प्रीत’’ भन्ने कविताकृतिका एकपछि अर्को पानाहरू पल्टाउँदै गएँ त्यहाँ भित्र मलाई केही कुराले आकर्षण गरे जस्तो लाग्यो, केही मौलिक भावअभिव्यञ्जनाहरू रहेछन् त्यहाँ । अझ निचोडमा भन्नु हो भने जीवनका केही वेदनापूर्ण कट्टु सत्यताहरूलाई कविज्यूले अत्यन्त संवेदनशील ढङ्गले उद्घाटित गर्नुभएको रहेछ त्यहाँ । त्यसैले लाग्छ मलाई चाहे उत्कृष्ट कविता होस् वा चाहे साधारण यदि हामीले कुनै कविताको अन्धाधुन्ध व्याख्या-विश्लेषण गर्यौँह भने त्यस कविताको सही मूल्याङ्कन नहुन पनि सक्छ अथवा एलिजाबेथ विशपले भने झैँ, कविताको हत्या पनि हुनसक्छ। अत: प्रस्तुत कृतिलाई एउटा सामान्य पाठकको नाताले जे जस्तोरुपमा बुझेको छु, मैले त्यही रुपमा मात्र प्रस्तुत गर्ने जमर्को गरेको छु ।
आधुनिक कविता लेखनमा पहिलेदेखि नै चर्चामा आउनुभएका कवि मणी बाङ्देलले प्रस्तुत कविता सङ्ग्रहमा स्वतन्त्र छन्दमा(फ्री भर्स) अधिकांश तुकबन्दी मिलाएर एउटै कवितामा एकभन्दा बढी बिषयहरू समीभूत भएका जम्मा सैँतीस वटा कविताहरू लेख्नुभएको रहेछ, जसलाई मोटामोटीरुपमा नोस्टाल्जिया, विपन्नता, प्रेम , प्रकृति, ,युद्ध ,क्रान्ति , शान्ति , व्यङ्ग्य आदिमा वर्गीकरण गर्नसक्छौँ हामी ।
नोस्टाल्जिया,विपन्नता, प्रेम, प्रकृति,
भर्खर दुईतीन दशक मात्र भएको छ, अमेरिकामा नेपाली डायस्पोरा साहित्यको पहिलो पुस्ता शुरुआत भएको । यो पुस्ताका सर्जकहरूले चाहिँ विलियम साफ्रानले भने झैं, आफ्नो मातृभूमिलाई नै आफ्ना वास्तविक घर मानेको देखिन्छ अहिलेसम्म, जहाँ अन्तमा तिनीहरू फर्कन पनि सक्छन वा नफर्कन पनि । यस्तो स्थितिमा अप्रवासनको एउटा राहदानी झुन्ड्याएर आफ्नै सांस्कृतिक पर्खालको घेराभित्र रही सलमान रुस्दिले भने झैँ एउटा अतिरिक्त व्यक्तिकोरुपमा (पेरिफेरल) पहिचानको लागि आफ्नोँ वातावरण, नयाँ परिस्थिति, नयाँ संस्कृति, नयाँ समाजसँग घुलमिल गर्दै आफूलाई पुनर्स्थापना गर्न निरन्तर प्रयासरत देखिन्छ ,पहिलो पुस्ताको नेपाली डायस्पोरा । यही क्रममा विछोडको दु:खपूर्ण घडीहरु खोतल्दै धमिलिन लागेका बितेका दिनहरूलाई सम्झनाद्वारा भावपूर्ण स्मरण गर्दै सुनसान , निस्सार, एक्लो , विवश र वेदनापूर्ण नोस्टाल्जिक अनुभूतिहरू अभिव्यञ्जित गर्नुभएको छ कवि बाङ्देलले डायस्पोरिक चेत भएका सोर्ह वटा कविताहरूमा, जसमध्ये एकाकिपनको एउटा सटीक उदाहरण निम्नबमोजीम प्रस्तुत गरिएको छ-
विवश अनि लाचार म
यहाँ
मेरो मातृभूमि र मातृत्वको काखबिहिन
एक्लो –एक्लो-
फगत एक्लो छु । -‘मेरो मातृभूमि र मातृत्वको काख’
साँच्चीनै मातृभूमि र मातामा भएको मातृवात्सल्यको अन्तर्तम भावना र न्यानो स्नेहमा अत्यन्त गहन सादृश्यता देख्छौँ हामी । सायद त्यसैले होला मातृभूमि र माताको सम्झना परस्परमा अपरिहार्यरुपले गाँसिएको हुन्छ भनी लेख्नुहुन्छ डायस्पोरिक लेखिका रुबेइन्स्टेइन पनि ।
यसबाहेक विभिन्न कारणहरूमध्ये मुख्यतया कहालीलाग्दो गरिबीकै कारण आफू मुग्लानिनुपरेको , दरिद्र नामको पर्खाल फोर्न नसकेर प्रियसीसँग एउटै मुटुलाई दुई फ्याक पारी एक्लाएक्लै बाँच्नपरेको तथा आफ्ना टुकुटुकु हिंड्ने सानो छोरोलाई बर्षौँ भेट्ननपाएको ,गरिबीकै कारण एक चिम्टी सुख खोज्न जाँदा बाह्र जना नेपालीहरूले अकालमै आफ्नो ज्यान गुमाउनुपरेको जस्ता कट्टु सत्यताहरूलाई बडो मिहिन र याथार्थिक ढङ्गले प्रुस्तुत गर्नुभएको छ कविले, आफ्ना विपन्नताबोधक एघार वटा कविताहरूमा । श्रमडायस्पोरा दुई किसिमका हुन्छन् भन्नुहुन्छ डायस्पोरिक लेखक शलीन सिंह -- बाध्यतावश र स्वैच्छिक। यसो झट्ट हेर्दा नेपालीहरू स्वेच्छाले आएका हुन् जस्तो लाग्छ, तर यदि हामीले बाङ्देलका विपन्नताका उक्त अत्यन्त हृदयस्पर्शी कविताहरू पढ्यौँ भने तिनीहरू स्वेच्छाले मात्र नभएर बाध्यतावश पनि आएका हुन् भन्न करै लाग्छ हामीलाई।
अर्को कुरा प्रस्तुत कविता सङ्ग्रहको शिर्षक ‘मेरो भागमा परेको प्रीत’लगायत प्रेमसम्बद्ध जम्मा उन्नाइस वटा कवितामध्ये केहीमा मातृभूमि, माता र प्रियसीसमेतको बिषयमा आफ्ना नोस्टाल्जिक अनुभुतिहरू अभिव्यक्त गरिसक्नुभएको छ कविले । बाँकी अन्य कवितामा कुनैमा आफ्नी मायालुको पुनर्मिलनको आशा गर्नुहुन्छ (‘दोस्रो मिलन’) भने कुनैमा आफ्नी मायालुप्रति रुष्ट हुँदै सच्चिनलाई थुप्रै सुझावहरू दिनुहुन्छ (‘नतिजा’) । त्यस्तै कुनैमा मायालुको सम्झनाले बारम्बार सताएकोले आजीत हुँदै नआऊ यसरी मनमा भन्नुहुन्छ कवि आफ्नी मायालुलाई, तर जति रुष्ट भए पनि जबरजस्तीसँग टाँसिएर आउँछन् ती सम्झनाहरू उहाँका मन-मथिङ्गलमा (‘नआउ तिमी यसरी’) । यसबाहेक आफ्नी प्रियसीको अटल चाहनामा विम्बात्मक शैलीमा प्रकृतिका अमोघ शक्तिहरू जस्तै-- वर्षातको हुँण्डरी ,चट्याङका गर्जनहरू , ज्वालामुखीको विष्फोटन ,समुद्रको ज्वारभाटा र भुमरीलाई मानवीकरण गरी आफूलाई प्रस्तुत गर्दा पनि आफ्नो प्रियसीको अतुलनीय प्रेम पाउननसकेकोले निराश र हताश भएर आफ्नो प्रेमले ‘आत्महत्या’ गरेको मह्शुस गर्नुहुन्छ कवि बाङ्देल-
तर तिम्रो नजरले
तिम्रै परेलिमा पिङ खेलिरहेको
मेरो मायाको बगैँचा
देख्न नसक्दा
आत्महत्या गरिदिन्छन्
फक्रिन नसकेर सबै
प्रेमका कोपिलाहरू ।
-मेरो भागमा परेको प्रीत
यसबाट के प्रस्ट हुन्छ भने प्रेम एक शक्तिशाली ,अविभाज्य ,स्वतन्त्र र अनियन्त्रित प्राकृतिक शक्ति भएकोले यसलाई हामीले आफूखुसी कब्जा गर्नसक्दैनौ। त्यसैले आफ्नी मायालुको हृदयमा आफूलाई ‘परिभाषित’ गर्ननसके पनि अन्तमा आफूले गरेको एकलौटी प्रेमको काहानीलाई नै आफ्नो भागमा परेको प्रीत हो भनी चित बुझाउन बाध्य बन्नुहुन्छ कवि बाङ्देल । वास्तवमा यस्तै नोस्टाल्जिक अन्तर्वेदनाहरूले कविको अन्तर्तम भावनालाई टुक्राटुक्रा बनाउन खोजे पनि आखिरमा यो एउटा म्रिगमरिचिका जस्तो क्षणिक आनन्द दिने घोर पलायनवादी र रित्तो फ्यान्टाशीबाहेक अरु केही होइन जस्तो प्रतीत हुन्छ नोस्टाल्जियामा जिइरहेको व्यक्तिलाई ।
यसबाहेक आफ्ना मातृभूमि, माता र प्रेमको स्मृपतिबाहेक स्वदेशको चित्रवत् एवं अतुलनीय प्राकृतिक सौन्दर्यको बिषयमा पनि पटकपटक प्रगाढ स्मरण गर्नुहुन्छ कवि बाङ्देल। नोस्टाल्जिया कवि ओलाइब सिनिअरसमेतले आफ्ना कवितामा आफ्ना देश जमैकामा मृत्युाशैयामा छटपटाउन लागेको पहाडपर्वत , आँपको सुगन्ध बहिरहेको हावा ,पौपौ , अम्बक आदिको बिषयमा सुमधुर स्मरण गरेर लेखेका छन् आफ्ना कविताहरूमा । त्यस्तै कवि मणी बाङ्देलले पनि बिहानीको सूर्यको किरणमा शीतका थोपाहरू बोकेर टहटह टल्किने मार्फाली स्याउ , तराईपहाडमा बहकिने माछापुच्छ्रेको शीतल पवन र कपूरे वनको क्यामुना ,अम्बकको बोटसमेतलाई भावपूर्ण स्मरण गर्नुहुन्छ आफ्ना कविताहरूमा । यति मात्र होइन, विशाल तथा सुन्दर रक्की माउन्टेनलाई निरन्तर हेरेर स्वदेशको चक्रे भीररमुनिको त्रिशूली नदी, लभल्यान्ड मानिएको रत्नपार्क तथा माछापुछ्रे र लाङ्टाङ हिमालको द्रिश्यावलोकन गर्दै फेवातालमा डुबुल्की मार्न पुग्नुहुन्छ उहाँ । डायस्पोरिक कवि क्याथी सङले पनि यस्तै रक्की माउन्टेनको द्रिश्य हेर्दा चीनको मनोहर ग्वाङ्जाउलाई सम्झनपुगेको कविता पढेको थिएँ कहीँ मैले । यस किसिमको लेखाइलाई द्दृश्यहरूको सांस्कृतिक परासम्बन्ध र समूहको अनुभूति भनिन्छ डायस्पोरा साहित्यमा । त्यसैले बेन्जी जाङ भन्नुहुन्छ “डायस्पोरा जमीनमा मात्र हिंड्दैन समयमा पनि हिंड्छ जसले गर्दा डायस्पोरिक पहिचान बहुस्थानीय मात्र नभएर समकालिक पनि हुन्छ”।
यसबाहेक जैविक विविधताको दृष्टिकोणले सर्वाधिक महत्वपूर्ण मानिएको पूर्वाञ्चलको माइपोखरीको रमणीय पर्यटकीय स्थलको पार्श्ववर्ती क्षेत्रमा जन्मिनुभएका कवि बाङ्देलज्यूको कविहृदयमा नीजको शैशवकालदेखि नै प्रक्रितिप्रेमप्रति अविस्मरणीय छाप बसेको देखिन्छ।बाल्यावस्थादेखि नै प्रकृतिका अनन्य उपासक एवं प्रसंशककोरुपमा रहनुभएका कवि मणी बाङ्देलले सर्वोच्च शिखर सगरमाथालगायत अन्य विलक्षण सौँदर्यले ओतप्रोत भएका स्वदेशका अन्य पहाडपर्वतहरू ,अद्भूत चित्रात्मक प्राकृतिक द्रिश्यावलीहरू , मनमोहक ब्रिक्ष तथा पुष्पलतिका आदि विभिन्न प्राकृतिक झाँकिहरूका ज्यादै आकर्षक स्न्यापसटहरू उतार्नुभएको छ आफ्ना कृतिका झन्डै बीसबाईस कविताहरूमा । यसको साथै ‘क्षितिज पारिको एक सुर्को बादलझैँ झरनाहरू’ , ‘तीर जस्तै सलल पौडिरहने झुत्रे खोलाका माछाहरू’, ‘डिलमाथि टुसुक्क बसेको बिनातापको घाम जस्तै लाग्छ यो जिन्दगी’ आदि प्रक्रिति सम्बन्धी थुप्रै मौलिक उपमाहरू पनि प्रयोग गर्नुभएको छ कविले ।
उक्त उद्धहरणहरू पढ्दा निश्चय नै प्रख्यात प्रक्रितिप्रेमी कवि वड्सवर्थले बादल जस्तै निर्जन रुपले विचरण गरेको, किट्सको पानीमा डिम्पल सिर्जना गर्दै तैरेको माछाको चित्रण(एन्डिमिअन :बुक टु ) तथा भविष्यवादी कवि मायाकोबस्कीका घाम सम्बन्धी कविताको तत्क्षण झझल्को हुन्छ हामीलाई । यतिमात्र होइन प्रतीकात्मक भाषामा कवि बाङ्देलले थुप्रै विम्बहरूसमेत प्रयोग गर्नुभएको छ-
यो बोटबाट
एउटा पात फुत्त खसेर
आज फेरि फुक्न नपाई
जिन्दगीको अर्को क्यान्डल
झ्याप्प निभेछ ।
युद्ध, पीडा, क्रान्ति , शान्ति, व्यङ्ग्य
प्रस्तुत कविता सङ्ग्रहमा परेका ‘लाहुरेको दैनिकिमा लाहुरे’ र ‘लुक’ भन्ने कविताहरू युद्धकविता हुन्, जसमध्ये अघिल्लो कवितामा कोसोभोको लडाईंमा वीरगति प्राप्त गरेका एक गोर्खाली सिपाहीले वेला वेलामा आफ्नी प्रियसीलाई पठाएका पत्रहरूका बिषयमा मार्मिक चित्रण गरिएको देखिन्छ । पछिल्लो कवितामा स्वयं कविले भाग लिएको फोकल्यान्ड टापुको युद्धका बिषयमा चर्चा गरिएको छ । अघिल्लो कविता प्रेम र सम्झना गाँसिएको एउटा अमर यादगारको रुपमा रहेको मृत सैनिककी प्रियसीको एउटा दुखात्मक एकल मनोवाद हो भने पछिल्लो कविता युद्धस्थलमा कुनै गोखाली अफिसरको बहादुरताप्रति प्रहार गरिएको एउटा तीव्र व्यङ्ग्यात्मक अभिव्यक्ति । युद्धकविता डायस्पोरिक कविता हो भन्ने कहीँ एउटा चर्चा सुनेको थिएँ मैले। तर युद्धकविता डायस्पोरिक कविता होइन, किनभने डायस्पोरामा विस्थापना हुन्छ, जुन युद्धकवितामा हुँदैन ।बरु युद्धको कारणले गर्दा मानिसहरूको व्यापक विस्थापना चाहिँ भएको छ र हुन्छ पनि । नेपाली साहित्यमा युद्धसाहित्यको खडेरी परिरहेको बेला यसरी फाटफुट रुपमा स्तरीय युद्धकविताहरू आउनुभनेको पनि एउटा स्वागतयोग्य कुरा हो ।
अर्को कुरा, गरिबीले गर्दा सन् २००४मा इराकमा मजदुरी गर्न गएका बाह्र जना निर्दोष तथा निहत्था नेपालीहरूलाई त्यहाँको अलसुन्ना फौजी दस्ताले न्रिसंश हत्या गरेको समाचार तत्काल विश्वमा सनसनीरुपमा फैलिएको थियो ।यति मात्र होइन, ग्राफिक भिडियो अनुसार बाह्र जनामध्ये एक जनालाई तरबारले अमानवीय तथा अत्यन्त निर्ममतापूर्वक घाँटी रेटीरेटी मरणासन्न स्थितिमा पुर्या इएको थियो । त्यो घटनालाई कविले ‘सपनासँग देह जल्दा’ भन्ने आफ्नो उत्कृष्ट कवितामा स्वगतकथनको शैलीमा मर्नलागेको व्यक्तिको अत्यन्त पीडादायक, कारुणिक ,असहाय र भावविव्हल संवेदनासहित बडो याथार्थिकरुपमा स्थलगत स्केच गरेको देखिन्छ। यसबाट के प्रष्ट हुन्छ भने, मर्न लागेको व्यक्तिले आफूलाई कसैले पनि बच्चाउन नसकेको हुँदा न ईश्वरलाई विश्वास गर्छ ,न इष्टदेवतालाई , न नेतालाई; सबैप्रति घोर अनास्था प्रकट गर्दै आफ्नो इहलीला समाप्त गर्दछ उसले ।यस सम्बन्धमा मर्न लागेको व्यक्तिले आफ्ना इष्टदेवतासमेतलाई प्रहार गरेको एउटा तीक्ष्ण व्यङ्ग्यलाई कविले म्याजिक रेअलिजमको शैलीमा यसरी रुपायित गर्नुभएको छ-
यहाँ मेरो धड्कन
देहबाट अन्तिम बिदा लिई
रगतको फाल्सासँगै बाहिरिँदा
उता मेरो ढुङ्गे देवता
अर्को पाठोको आलो रगत
तनतनी तानिरहेथ्यो ।
वास्तवमा आफ्नै देश जले पनि कुनै वास्ता नगरी आफ्नै संसारमा बस्न मनपराउँछन् कतिपय स्रष्टाहरू, जुन कुरा साल बेलो ,कामु ,महाफौज आदि स्रष्टाका सिर्जनाहरू पढ्दा पनि प्रस्ट हुन्छ। तर उदीयमान स्रष्टा मणी बाङ्देल त्यस किसिमको स्रष्टा लाग्नुभएन मलाई । बरु उहाँले देशमा भएको रक्तपात , शोषण .दमन, र उत्पीडनको खुलेर विरोध गर्नुको साथै सबै अन्याय-अत्याचारसमेतलाई मटियामेट गर्ने आव्हानसमेत गर्नुभएको देखिन्छ, आफ्ना कविताहरूमा ।तर अहिले क्रान्तिपछि शान्तिको पनि सफलतापूर्वक अवतरण भइसकेको हुँदा स्वयं नेपालआमाले अत्यन्त करुणार्द्र स्वरमा सबैलाई मिलेर बस्ने आग्रह गरेको पनि उल्लेख गर्नुहुन्छ पनि गर्नुहुन्छ कवि बाङ्देल (“शान्ति”) ।
यसरी मोटामोटि रुपमा हेर्दा यस्तैयस्तै कुराहरु झल्किन आउँछन् कवि बाङ्देलका कवितामा -- कहालीलाग्दो विपन्नता, विपन्नतापछि विस्थापन, विस्थापनपछि उभिन्न आउँछन् बीचमा विवशता र लाचारीका शक्तिशाली प्रतीकात्मक अद्रिश्य पर्खालहरू जसले गर्दा आप्नो मातृभूमि , मातृत्व र प्रियसीसँग वर्षौंवर्ष बिछोडिएर घोर शून्यता र एकाकीपनको जीवन यापन गर्नु बाध्य हुनुपरेको छ कविले । यसैको फलस्वरुप शुरुआत हुन्छ अविश्रान्तरुपले कविजीका अत्यन्त पीडादायक नोस्टाल्जीक अनुभूतिहरूको श्रिङ्गखला । यही श्रिङ्गखलाभित्रै प्रतिविम्बित हुन्छन् कविजिका स्वदेशका प्रति गहिरो माया , आफ्नी प्रियसीप्रति अपार प्रेम तथा प्रक्रितिप्रति गहन आसक्ति। माथि भने जस्तै साधारणभन्दा साधारण बोटहरूमा नजाँनिदो रुपमा फलेका मार्फाली स्याउ जस्तै देखिन्छन् उहाँका मौलिक सिर्जनाबाट टप्किएका रसिला र भरिला कविताहरू , जसमा ठाउँठाउँमा बिम्ब ,उपमा , रूपकर ,मानवीकरण ,प्रतीक आदिको प्रयोग, भाषामा लचकता ,कवितामा भावात्मकता , शैलीमा वस्तुनिष्ठता, विचारमा गाम्भीर्य र सिर्जनामा भरपूर मौलिकता देख्छौँ हामी । वास्तवमा पाकेका ऐँसेलुका दानाहरू आँफै झाङमा गएर टिपेर खाँदा जति मजा हुन्छ त्यति मजा हुँदैन अरुले दिएको खाँदा । त्यसैले स्वयं कविका कृतिभित्र पसेर कविताका रसास्वादन गर्न आग्रह गर्दछु म विज्ञ पाठकवर्गलाई । कवि बाङ्देलको यस्तो उदीयमान झरझराउँदो प्रतिभाको भावमञ्जरी निरन्तररुपमा प्रस्फुटित हुँदै जावोस् भन्ने शुभकामना व्यक्त गर्दै भविष्यमा अझ उत्कृष्ट कृतिको अपेक्षा गर्दछु म कविज्यूबाट ।
न्यूयोर्क