18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

एकता

लघुकथा कृष्ण बजगाईं March 13, 2014, 5:36 pm
कृष्ण बजगाईं
कृष्ण बजगाईं

भ्रष्टचार, षड्यन्त्र, ईष्र्या, क्रोध, घमण्ड, धोखा, बिद्रोह आदिले खुशीलाई बधाई दिए । राष्ट्रिय दैनिक र साप्ताहिक पत्रपत्रिकामा बधाईका ठूल्ठूला विज्ञापन छपाए । पत्रिकामा बधाई छापे पनि खुशीले त्यसलाई सामान्यरुपमा लियो ।

तर शिष्टाचारवश खुशीले ती सबैलाई बोलाएर उत्सव मनाउनु पर्ने अवस्था सिर्जना भयो । भव्य भोजको आयोजना गरियो । भोजमा तीनै निम्तालुहरु थिए जसले खुशीलाई बधाई दिएका थिए । ती सबै बडो ठाँटिएर आएका थिए । मलिन अनुहारकाहरु टाईसुटमा सजिएर आफूलाई चम्काउने कोशिस गर्दै थिए । शिर ढलेकाहरु दौरा, सुरुवाल र टोपीमा सजिएर शिर ठड्याउने कोशिस गरिरहेका देखिन्थे । समाजमा पुरै गन्हाएकाहरु महँगा विदेशी परफ्युम लगाएर सुवासित हुन खोजि रहेका थिए । केही लाज शरम पचेकाहरु महँगा सारीचोलोले लाज छोपे जस्तो गरिरहेका थिए ।

ती सबै एक अर्कालाई राम्ररी चिन्दथे । चरित्र थाहा थियो । तर नचिनेको, थाहा नपाए जस्तो गरी मज्जाले गफ चुट्दैथे । उसो त उनीहरुको भेट पटक पटक राजनैतिक पार्टीको भोजमा, दुतावासको कक्टेल पार्टीमा, आइएनजिओको भत्ता आउने सेमिनारमा भइरहन्थ्यो ।

उत्सव भोज चलिरहँदा उनीहरुले खुशीको प्रगतीको लेखाजोखा गरे । पटक पटक खुशीलाई प्राप्त भइरहने सफलताको रहश्य खोजे । भ्रष्टचार, षड्यन्त्र, ईष्र्या, क्रोध, घमण्ड, धोखा र बिद्रोह सबै एकिकृत गुण देखे खुशीमा ।

अन्तमा उनीहरुले कुराको निचोड निकाले –‘यसलाई नेता त मान्यौं मान्यौं, अब मन्त्रीज्यू पनि भन्नु पर्ने भयो । यसलाई कसरी सिध्याउने ?’ त्सपछि भ्रष्टचार, षड्यन्त्र, ईष्र्या, क्रोध, घमण्ड, धोखा र बिद्रोहहरु संगठित भए ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।