14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

चिसो–चिसो चित्रेमा ताता–ताता कविताले सेक्दा

नियात्रा राजेन्द्र पहाडी April 5, 2014, 1:53 pm
राजेन्द्र पहाडी
राजेन्द्र पहाडी

दैनन्दिन जीवनका जिम्मेवारी, गतिशीलता र अन्यान्य कामको व्यस्तताबाट केही समय उब्र्योकि सिर्जनाका बारेमा घोत्लिने बानी सायद सवै सर्जक स्रष्टाहरुको विशेषता नै होला । हामी पनि लगभग यस्तै स्वभाव र नियतीबाट गुज्रिरहेको अनुभूत गरिरहेका हुन्छौं हरबखत । पर्वत साहित्य सङ्गमको अगुवाइमा सञ्चालन हुँदै आइरहेको संरक्षण कविता आन्दोलन धौलागिरि यात्राको चौथो सस्ंकरण पर्वत जिल्लाको चित्रे गाविसमा सम्पन्न गर्ने प्रारम्भिक कुराकानी चलिरहेको थियो । हामी कुश्मेली साहित्यिक विद्यार्थीहरु कास्की, स्याङ्जा र पर्वतको सङ्गमस्थलको रुपमा परिचित पञ्चासेको काखमा रहेको रमणीय चित्रे गाउँको परिभ्रमण पनि गर्न पाइने र साहित्यको रसास्वादन गर्न पनि पाइने परिकल्पनाले आल्लादित भैरहेका थियौं ।

त्यतातर्फ बाटो लाग्ने टुङ्गो भैसकेको थिएन । मैले नै एकदिन फोनमार्फत सुशिला मिस र मधुसोधन सर, जो स्थानीय श्री पञ्चकोशी प्राथमिक विद्यालयका प्रधानाध्यापक र सह–अध्यापक हुनुहुन्छ, लाई कार्यक्रमका बारेमा प्रस्ताव राखेँ । नवीन काम, जुझारु क्रियाशीलता र भिन्दै प्रकृतिका गतिविधि सञ्चालन गर्दै समुदायको जागरणका लागि अनवरत जुटिरहेका दुई उदाहरणीय अगुवाहरुले ‘हुन्छ’ को संकेत दिएपछि आवश्यक चाँजोपाँजो मिलाउन मैले जुट्नुपर्ने भयो । संस्थाभित्र मेरो ‘सचिव’ को हैषियत जो थियो ।

ग्रामीण समुदायमा रहेका सर्जकहरुका सृजनाहरुलाई प्रस्फुटित गर्नका लागि वातावरण तयार गर्ने तथा गाउँघरमा रहेको प्राकृतिक, साँस्कृतिक तथा सामाजिक सुन्दरतालाई बिम्ब र प्रतिकहरुका माध्यमबाट टपक्क टिपेर साहित्य सृजना गर्ने उद्देश्यले शुरु भएको संरक्षण कविता आन्दोलन धवलागिरि यात्रा यस अघि पर्वत जिल्लाकै खानीगाउँ, थापाठाना र बागलुङको जैदीमा सम्पन्न भइसकेको थियो । अघिल्ला कार्यक्रमहरुका आ–आफ्नै विशेषता, अनुभव र रमाइला प्रसङ्गहरु थिए नै । यसपटकको मनोरम चित्रे गाउँको यात्रा ती भन्दा भिन्दै हुने कुरा पनि निश्चित थियो ।

मृदुभाषी तथा नूतन सिकाइका पारखी सुशिला र मधुसोधनहरुसँगको भलाकुसारीबाट २०६८ साल चैत्र ८ गते पर्वतको चित्रे गाउँ विकास समितिमा सम्पन्न गरिने कार्यक्रमको संयोजन स्थानीय पञ्चकोशी प्राविले गर्ने कुरोका निधो भैसकेको थियो । आवास र खानपानको मेलोमेसोमा सुशिला र मधुसोधनको उदारमना हृदय आतुरतापूर्वक प्रतिक्षारत थिए । सोही अनुरुप मैले पर्वत साहित्य सङ्गमका पदाधिकारी तथा सदस्यहरुलाई जानकारी गराएँ । सङ्गमका मित्रहरु चित्रेको नाम सुन्दै खुट्टा उचाल्न थालिसकेका थिए । पछिल्लो समयमा चित्रेले कमाएको नाम र चित्रेबासीले गरेको कामबाट जिल्लाभित्र मात्र होइन राष्ट्रियस्तरमा नै चर्चा परिचर्चा भैरहेको अवस्था थियो । कान्तिपुर प्रकाशन गृहको नेपाल राष्ट्रिय साप्ताहिकले सुशिला मिसको ‘कलर फोटो’ सहितको एक पृष्ठ लामो आलेख प्रकाशन गरेपछि त झनै चित्रे गाउँ समाचारको केन्द्रमा नहुने कुरै भएन ।

यसै अवस्थामा हामी साहित्यिक यात्रा लिएर चित्रेतर्फ उकालो लाग्ने सोच बनाइरहेका थियौं । स्मरणीय छ प्राज्ञ तथा बरिष्ठ साहित्यकार सरुभक्तको परिकल्पनामा विसं. २०५४ बाट आरम्भ गरिएको संरक्षण कविता आन्दोलनका पर्वतेली यात्रीहरुको सम्लग्नतामा यो अभियानको थालनी गरिएको थियो । यो साहित्य विशेष यात्राले धवलागिरि अञ्चलको सेरोफेरोलाई आफ्नो केन्द्र बनाएर अघि बढिरहेको छ ।

समुद्र सतहदेखि १७ सय मिटर उचाइमा रहेको चित्रे गाविस वडा नं. १ ओडारेस्थित श्री पञ्चकोशी प्राथमिक विद्यालय परिसरमा आयोजना गरिने विशेष साहित्यिक कार्यक्रममा जानका लागि चैत्र ८ गते दिउँसो २ बजे कुश्माको शिवालय चोकमा जुट्ने सरसल्लाह अनुसार सबैजना जम्मा भइयो । चित्रेको यात्रा गर्न कम्मर कसेर आएका थिए पर्वत साहित्य सङ्गमका अध्यक्ष इन्द्रमान खत्री, संरक्षक इन्द्रकुमार विकल्प, सचिव राजेन्द्र पहाडी, सदस्यहरु आर.के अदिप्त गिरी, डि.आर शर्मा, इन्द्र सापकोटा, सुशिला शमा र कमला पौडेल ।

कुश्मामा रहेको रेडियो दिदीबहिनी ९५.२ मेघाहर्जका स्टेशन म्यानेजर योजना शर्मा र अन्य सञ्चारकर्मी साथीहरु पनि त्यसतर्फ जाने तय भएकाले उहाँहरुका लागि केही समय शिवालय चोक बस बिसौनीमा कुरेर बस्यौं । केही समयको प्रतिक्षापछि उहाँहरुबाट आएको फोनले रेडियोको कार्यव्यस्तताले आज जान नपाइने तर भोली बिहान जसरी भएपनि चित्रे आइपुग्ने कुरा थाहा पाएपछि हामी बस चढेर डिमुवातर्फ लाग्यौं । बसमा सवार हुँदै गर्दा हाम्रा बीचमा चित्रेको रोमाञ्चक यात्राका पूर्वानुमान गर्दै रसिला कुराकानी भए । करिब २५ मिनेटको गुडाइपछि डिमुवाबजार आयो । हामी गाडीबाट झ¥यौं र चित्रेको लागि पैदलयात्रा थालनी ग¥यौं । तिलाहारमा रहेको नवजागृत बहुमुखी क्याम्पसको गेट अगाडि पुगेपछि इन्द्र विकल्प सर र मैले बाटोका लागि केही चक्लेट, विस्कुट र फलफूल खरिद ग¥यौं । इन्द्रमान सरले ३ बोतल पानी बोक्नुभयो ।

चित्रे पुग्नका लागि डिमुवाबाट लगभग ३ घण्टाको समय लाग्ने निश्चित थियो । जति नै गफले आकाश–पाताल जोडे पनि इन्द्र विकल्प सर र कमला म्याडमले हामीलाई हिँड्नमा जित्ने लक्षण नै थिएन । त्यसैले विस्तारै विस्तारै उकालो काट्ने हाम्रा बीच सहमती भएको थियो । अनेकानेक कुराकानी गर्दै बाटो काट्दै गर्दा करिब एक घण्टा लगाएर हामी तिलाहारको रती खोलामा पुग्यौं । डीआरजीले चक्लेट र बिस्कुट खाने प्रस्ताव अघि सार्नुभयो, नाईँ भन्न कोही तयार थिएन । हामीले आ–आफ्नो रुची अनुसार खायौं । पानी पिउन घाँटी ठाडो गर्दा पो थाहा भयो, पश्चिम ओरालो लागिरहेको घामछायाँमा इन्द्रमान सरको जन्मथलो थामर्जुङ बिछट्टै राम्रो देखिएको रहेछ । त्यहाँका ढुङ्गाको छानो लगाइएका सर्लक्क मिलेका घर, रातो माटोले पोतेका भित्ता, सुन्तला र कफीका हरिया बोटले साच्चिकै सुन्दर देखिएको थियो थमर्जुङ गाउँ । इन्द्रमान सरले नचाहँदा नचाहँदै पनि आफू जन्मेको गाउँ छोड्नुपर्दाको दुखेसो पोख्नुभयो । मैले चित्रेमा मधुसोधन सरलाई आफूहरु आउँदै गरेको जानकारी गराएँ हाते फोनको माध्यमबाट ।

हाम्रो यात्रा फेरी अघि बढ्यो । अलिक ठूलो भूँडी र बाक्लो ज्यान भएका एकादुई साहित्यकारहरुका कारणले उज्यालोमा नै चित्रे पुग्ने सम्भावना कम हुँदै गइरहेको थियो । साथमा टर्च वा मैनवत्ती नबोकेकोमा पछुतो लागिरहेको थियो । तैपनि यसअघि पटक–पटक चित्रे पुगिसकेकाले म केही न केही उपाय निस्कने कुरामा विश्वस्त थिएँ । मलाई आँट दिन मोती पुस्तकालय फलेवासका पुस्तकालयाध्यक्ष इन्द्र सापकोटा साथमा हुनुहुन्थ्यो । उहाँलाई लगभग हामी हिँड्ने बाटोको ‘ए टु जेड’ नै थाहा थियो भन्दा हुन्छ । कहाँनेर खोल्सो, डिस्को, उबडखावड के पर्छ उहाँलाई राम्रैसँग जानकारी थियो । स्थानीय नभए पनि पुस्तकालयका काममा धेरै पटक बाटो नापेका नाताले उहाँलाई हामीले तय गर्ने मार्गले राम्रै चिन्दो रहेछ । धिमा गतीमै सही हामी तिलाहारको दराक भन्ने गाउँमा पुग्यौं । दराक पनि रमाइलो र चिटिक्क मिलेको ठाउँ हो । हामी केहीबेर बिसाउने जमर्को गर्न थाल्यौं । थकानले सबैका मुखबाट लामो सुस्केरा निस्किरहेका थिए । केही समय धकारो मारेर बाँकी भएका चक्लेट चपाउँदै फेरी निरन्तरतामा जुट्यौं ।

अबको यात्रा खासै सहज नहुने हामी सबैले पुर्वानुमान गरिरहेका थियौं, किनकि साँझ परिसकेको थियो । हाम्रो पदचापहरु शिथिल हुँदै आए । आरके अदिप्त भाइले रसिला टुक्का सुनाउँदै बाटो काट्न सहज बनाउने यत्न गर्दै थिए । डिआर शर्माले जसरी भए पनि चित्रे पु¥याई छोड्ने दावा प्रस्तुत गर्दै थिए । तर इन्द्र विकल्प सर र कमला म्याडमको पाइन झरिसकेको भेउ पाउन कुनै कठिनाई परिरहेको थिएन हामीलाई । दुबैजनाको शारिरीक अवस्था औसतको नभएकाले उहाँहरुलाई कहर परिरहेको थियो । विकल्प भन्दै हुनुहुन्थ्यो– साहित्यको रहरले शहर छोडियो अब कहर खेप्नुपर्ने भो । कमला म्याडमले सादा जोक भन्दै बाटो काट्ने जुक्ति निकाल्नुभयो । साँझको सात बजिसकेको थियो । अघि बढ्नुको विकल्प थिएन, हामी शिखरित भैरह्यौं । अझै ४५ मिनेट जतिको यात्रा बाँकी नै थियो ।

संरक्षण कविता यात्रामा हिँडेका यात्रीहरुकै सुरक्षामा गम्भीर प्रश्न उठ्न सक्ने ठम्याइ भएपछि म अलिक हच्किएँ । यसै बीचमा चित्रेमा रहेको श्री जनसिद्ध माध्यमिक विद्यालयको निरीक्षण गरेर कुश्मातर्फ फर्कदै गर्नुभएका विद्यालय निरीक्षक ठाकुरजी तिवारी, खेमप्रसाद आचार्य, टेकनारायण पाण्डे लगायतका सरहरु भेटिनुभयो । उहाँहरुसँग अभिवादन आदानप्रदान र सामान्य भलाकुसारी पश्चात पुनः हामी बाटो नाप्न थाल्यौं । सबै साथीहरु अघि बढेपछि मैले मधुसोधन सरलाई फोन गरेर आफूहरु सुशिला मिसको घरसम्म आइपुग्न अझै ४५ मिनेट लाग्न सक्ने हुनाले उज्यालो लिएर कोही साथीलाई लिन पठाइदिन अनुरोध गरेँ । बुज्रुक, मिलनसार र सहृदयी भावनाले ओतप्रोत उहाँले पहिले नै २ जना युवा भाइहरुलाई हामीलाई लिन टर्चलाइट सहित पठाइसक्नु भएको रहेछ । म ढुक्क भएँ । साथीहरुलाई यो कुराको जानकारी गराएँ । सबैजना खुशी हुँदै अघि बढिरह्यौं ।

केही अघि पुगेकामात्र के थियौं । हामीलाई लिन आएका दुई भाइहरु आइपुगी हाले । अबको यात्रा निकै सहज भयो । इन्द्र विकल्प सर र कमला म्याडमलाई अघि लगाएर पछि–पछि हामी हिँड्यौं । कमला म्याडम फुसफुुुस गरेको सुनियो– उकालीमा अघिअघि–ओरालीमा पछिपछि, यो केटा के भा’को । इन्द्रमान सर पनि कुन्नी के के भन्दै जिस्किँदै हुनुहुन्थ्यो । केही मिनेटमा नै हामी सुशिला मिसको आँगनीमा टुप्लुकियौं । यतिखेर साँझको ७.३० बज्न लागिसकेको थियो ।

सुशिला मिस, उहाँका ७० वर्षको उमेर काट्नुभएका बाबु गज बहादुर गुरुङ, आमा लालकुमारी गुरुङ, मधुसोधन सर लगायतका स्थानीय वासिन्दाहरु हाम्रो स्वागतका लागि टिका, खादा र फूलमालाले हार्दिक स्वागत गर्न त्यति अबेरसम्म कुरेर बस्नुभएको रहेछ । उहाँहरुबाट अत्यन्त प्रेमिल स्नेह, प्रेम र हार्दिकतापूर्वक प्रदान गरिएको स्वागत ग्रहण गर्दै हामी उहाँहरु प्रति आभारी भयौं । त्यसपश्चात पालैपालो बृद्ध बाबा–आमाबाट आर्शीवाद थाप्यौं । सुशिला मिस र मधुसोधन सरले बाक्लो मोहीका गिलास हाम्रा लागि अघि सार्नुभयो । हामीले खुशीसाथ चिसो र मीठो मोही सिनित्त पा¥यौं । राती नै भए पनि क्यामेराको उज्यालोमा आरके भाइले फोटो खिचे । फेरी तातो तातो चिया हाम्रा लागि तयार भैसकेको रहेछ । चिया मात्र होला भनेको त भर्खरै तयार गरिएको झिलिङ्गा, मकै, भट्टमास, अचार लगायतका खाद्य सामग्री भएका थालीहरु हाम्रा अघिल्तिर आइपुगे । यतिका दुःख नबेसाएका भए हुन्थ्यो भन्ने औपचारिक चेपारो लगाए पनि भोकका मारे सञ्चो बिसञ्चो र अन्य विविध विषयका कुराकानी गर्दै हामी सबैले ति सामग्री हजम ग¥यौं ।

चियाखाजा खाएपछि केहीबेर सुस्ताउने उपक्रममा लागियो । समय वितिरहेको थियो । अस्ताउँदो उमेरका बा–आमासँग उहिलेका जमानाका केही रोचक प्रसङ्ग सुनेर लुट्पुलियौं केही क्षण । एकजना दुईजना गर्दै आमा समूहका महिला दिदीबहिनीहरु भेला हुन थालिसक्नुभएको थियो । उहाँहरुसँग पनि चिनापर्ची ग¥यौं । आरके्र र डीआरहरु केहीबेर हराउनुभयो । स्थानीय उत्पादन कस्तो हुँदो रहेर भनेर चाख्ने उहाँहरुको दाउ मैले चाल पाइसकेको थिएँ । उहाँहरु फर्केपछि खानाखाने कुरा भयो । लोकल कुखुराको घिउ राखेको भात, मासु, दुईथरी तरकारी, दुध, बाक्लो मही, साग, दाल, तीनथरी अचार, के के हो के के । खानाका परिकार देखेर हामी अतालियौं । रमाइलो बातचित मार्दै खाना खाने काम सकियो । खानापश्चात रेडियो दिदीबहिनी ९५.२ मेघाहर्जबाट प्रत्यक्ष प्रशारणमा जुट्ने कुराको तयारी भैरहेको थियो । रेडियोका सञ्चारकर्मीहरु आज हामीसँगै आउन नसक्नुभएको कारणले उहाँहरुको काम मेरो काँधमा आएको थियो । यसैले म के कसरी कार्यक्रम सञ्चालन गर्ने होला भन्ने कुरामा घोत्लिइरहेको थिएँ ।

चित्रेबाट उक्त साँझको बसाइका बारेमा प्रत्यक्ष प्रशारण गर्न रेडियोले हामीलाई पौने ९ बजेको बीबीसी नेपाली सेवाको समाचार पछिको २ घण्टाको समय उपलब्ध गराएको थियो । सोही अनुरुप मैले केही कविता, केही मुक्तक–गीत–गजल, व्यक्तिगत कुराकानी–संवाद र केही स्थानीय भाकाका गीत प्रस्तुत गर्ने गरी सोच बनाइरहेको थिएँ । चित्रेको चिसोलाई ताताताता रचनावाचनबाट रापिलो बनाउने मेरो अभिष्ट थियो । कुश्मास्थिति रेडियो स्टेशनले मलाई समय उपलब्ध गरायो । निर्धारित समय भएपछि मैले कार्यक्रमको औपचारिक आरम्भ गरेँ ।

चित्रेको पाखागाउँस्थित सुशिलादेवी गुरुङको निवासमा आयोजित साहित्य सन्ध्या कार्यक्रममा पर्वत साहित्य सङ्गमका स्रष्टाहरु र स्थानीय बासिन्दाका सिर्जना प्रस्तुती कार्यक्रम सुभारम्भ गरियो विधिवत् । आफूले कार्यक्रमको पृष्ठभूमिका बारेमा संक्षिप्त बोलेपछि मैले घरमा साहित्यकारहरुको उपस्थितिले के कस्तो अनुभव गरिरहनुभएको छ भनेर सुशिला मिसको आमा लालकुमारी गुरुङको विचार जान्न चाहेँ । आमाले मौलिक शैलीमा निर्धक्क आफ्ना कुरा बताइदिनुभयो । त्यसपछिको पालो थियो स्वयम् सुशिला मिस, मधुसोधन सर र स्थानीय पञ्चकोशी आमा समूहकी अध्यक्ष डीलकुमारी जैसीको ।

उहाँहरुको विचार प्रस्तुती सकिएपछि मैले मेलो जोडेँ साहित्यिक सिर्जना वाचनतर्फ । उक्त प्रत्यक्ष प्रशारणका लागि साहित्यकारहरु इन्द्रकुमार विकल्प, इन्द्रमान खत्री, आरके अदिप्त गिरी, डिआर शर्मा, इन्द्र सापकोटा, सुशिलादेवी गुरुङ, मधुसोधन अधिकारी, कमला पौडेल, सुशिला शर्मा लगायतले आ–आफ्ना कविता, गीत, गजल लगायतका रचना वाचन गर्नुभयो भने स्थानीय तमु समाजका आमाहरुले गुरुङ भाषामा रोइला गीत प्रस्तुत गर्नुभयो । साच्चिकै वातावरण गरमागरम बन्यो । रात ढल्दै गर्दाको चिसोलाई साहित्यिक प्रस्तुतीले जितिरहेको महशुष भैरहेको थियो हामी सबैलाई ।

प्रत्यक्ष प्रशारण भैरहेकै समयमा मेरो मोबाइलमा कतैबाट फोन आयो, फोन मधुसोधन सरलाई उठाउन सङ्केत गरेँ । कस्तो अचम्म, हाम्रो कार्यक्रमको प्रत्यक्ष प्रशारण सुनिरहनुभएको बाजुङका श्रोता मित्रले फोन गर्नुभएको रहेछ । उहाँको कार्यक्रम सफलताको शुभकामना र शुभभावनालाई मैले संक्षेपमा बीचैमा बोलिदिएँ । इन्द्रमान खत्री सरले कार्यक्रमको संक्षेपीकरण गर्नुभयो । राती ११ बजेसम्म लम्बिएको कार्यक्रम साच्चिकै रोचक रह्यो । भोलीपल्ट श्री पञ्चकोशी प्रावि, ओडारेमा आयोजना गरिने साहित्यिक तथा पुस्तकालय हस्तान्तरण कार्यक्रममा सरिक हुनुपर्ने भएकाले केहीबेरको कुराकानी पश्चात हामी सबैजना आराम गर्नका लागि आ–आफ्ना विछौनातर्फ लाग्यौं ।

भोलिपल्ट विहानै उठेर नित्यकर्म पूरागरी आमा र मिसले पकाउनुभएको मीठो चिया, अण्डा र आलु–चनाको तरकारी खायौं । बाहिर निस्केर हेर्दा माछापुच्छ्रे हिमालले आफ्नो मादक मुस्कान छरिरहेको थियो । सूर्यको विहानी किरणले माछापुच्छ्रेलाई पहेँलपुर सिँगारेको देखिन्थ्यो । आरकेले क्यामेरा सोझाइहाले । बाँकी हामीहरु माछापुच्छ्रेको मादकताबाट मोहित भइरह्यौं । ९ बजेसम्ममा खाना खाएर ओडारेतर्फ प्रस्थान गर्ने सल्लाह भएको थियो । ८ बजेको हाराहारीमा कुश्माबाट रेडियो दिदीबहिनीका स्टेशन म्यानेजर योजना शर्मा र रञ्जना खत्री टुप्लुक्क आइपुग्नुभयो भने पोखरादेखि रुम टु रिड नेपालका कार्यक्रम अधिकृत खड्ग बहादुर कुवँर र अर्का एकजना सज्जन आइपुग्नुभयो । खड्ग सरको टीम र रेडियोको टीमलाई हामी सबैले हार्दिक स्वागत ग¥यौं र एकापसमा चिनापर्ची पनि गरियो ।

खाना तयार भैसकेकोले खाना खान तयार हुनका लागि आमाको सुचना प्राप्त भयो । त्यसपश्चात हामी सबैजना रमाइलो गरी खाना खाने उपक्रममा लाग्यौं । सुशिला मिस र मधुसोधन सरले आवश्यक सामग्रीहरुको जोहो गरिसक्नुभएको थियो । हामी सबै ओडारे पुग्न आतुर थियौं । सुशिला मिस र मधुसोधन सरको अगुवाइमा एक पल्टन साहित्यिक यात्रीहरु स–सानो बुट्याने झाडीको बाटो छिचोल्दै अघि बढ्यौं ।

करिब २५ मिनेटको पैदलयात्रा पश्चात ओडारेमा रहेको श्री पञ्चकोशी प्राविको परिसरमा पुगियो । हाम्रो स्वागतार्थ विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, विद्यालयका शिक्षक शिक्षिकाहरु, ओडारे महिला समूहका दिदीबहिनीहरु, विद्यार्थी भाइबहिनी र स्थानीय अभिभावकहरुको ठूलो उपस्थिति भैसकेको रहेछ । उहाँहरुका हात–हातमा हाम्रो स्वागतका लागि फूलका माला, खादा र रातो अविरको टिका तयार थियो । पालैपालो उहाँहरुको स्वागत अभिवादन ग्रहण गर्दै हामी विद्यालय प्राङ्गणमा भित्रियौं । अघिनै देखि कार्यक्रमको लागि आवश्यक सबै तयारी गरिसकिएको रहेछ । सोही विद्यालयमा अध्यापनरत अत्यन्त कर्मशील र मेहनती शिक्षक मधुसोधन अधिकारीले कार्यक्रमको उद्घोषण गर्न सुरु गर्नुभयो ।

आसन ग्रहण, स्वागत मन्तब्य, कार्यक्रम उद्घाटन, शुभकामना मन्तव्य, सिर्जनावाचन, पुरस्कार समर्पण, पुस्तक प्रदान र पुस्तकालय हस्तान्तरणका गतिविधिसहित कार्यक्रम अघि बढिरह्यो । पूर्व तयारी अनुसार आजको दिनभरीको कार्यक्रमको प्रत्यक्ष प्रशारण रेडियो दिदीबहिनीले गर्दै थियो । रेडियोका स्टेशन मेनेजर योजना शर्माले आफ्नै रोचक तथा श्रुतीमधुर शैलीमा कार्यक्रमको प्रत्यक्ष रिपोर्टिङ गरिरहनुभएको थियो । पालो दिने बहानामा कतिखेर कतिखेर मैले उहाँलाई साथ दिन्थे केही कुरा बोलिदिएर ।

श्री पञ्चकोशी प्रावि, ओडारेका व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा पर्वत साहित्य सङ्गमका अध्यक्ष इन्द्रमान खत्रीले यात्राको उद्देश्यका बारेमा प्रकाश पार्नु भएको थियो भने कविहरु इन्द्रकुमार विकल्प, राजेन्द्र पहाडी, आरके अदिप्त गिरी, डिआर शर्मा, जनप्रिय प्रावि कुटवाचौपारीका शिक्षिका कमला पौडेल, पञ्चकोशी प्राविका विद्यार्थीहरु विजय क्षेत्री, विजय लामिछाने, खुशीमान विक, अजय बराल, स्थानीय युवाहरु जमुना लामिछाने, पार्वती लामिछाने, शुष्मा विक, पञ्चमान गुरुङ, धौलाश्री प्राविका प्रअ पूर्णकुमारी गुरुङ लगायतले आफ्ना सृजनाहरु वाचन गर्नुका साथै गीत संगीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पर्वत साहित्य सङ्गमका पदाधिकारीबाट पञ्चकोशी प्राथमिक विद्यालयमा स्थापना गरिएको पुस्तकालयका लागि पुस्तक र विविध शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो भने पर्वत साहित्य सङ्गमका पदाधिकारीहरुलाई पञ्चकोशी प्राविका तर्फबाट प्रमुख अतिथि रुम टु रिड नेपालका कार्यक्रम अधिकृत खड्ग बहादुर कुवँर र प्रधानाध्यापक सुशिलादेवी गुरुङले खादा र सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।

करिब २ सयजना स्थानीय बासिन्दाहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा चियाखाजाको प्रबन्ध गर्न स्थानीय पञ्चकोशी आमा समूहका महिलाहरुको सक्रियता प्रशंसनीय रहेको थियो । उहाँहरुले तयार गरेको सेलरोटी, तरकारी र चियाको स्वाद सम्झिँदा आजपनि मुख रसाएर आउँछ । सोही समारोहमा रुम टु रिड नेपाल र मोती पुस्तकालयले औपचारिक रुपमा उक्त विद्यालयमा स्थापित पुस्तकालय पञ्चकोशी प्राविलाई हस्तान्तरण गरेका थिए भने नमुना आवासीय मावि र पञ्चकोशी प्राविबीच अन्तर सम्बन्ध स्थापना सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर पनि गरिएको थियो । दिन जति ढल्कँदै थियो, कार्यक्रमले पनि उत्कर्ष लिँदै थियो । स्थानीय आमा समूहका दिदीबहिनीहरुले दोहोरी गीत प्रस्तुत गर्ने प्रस्ताव ल्याउनुभयो, नाई भन्ने कसैले आँटै गरेन । अब सुरु भयो ‘बल्ल प¥यो माकुरी जालैमा’ भाकामा दोहोरी गीतको रमाइलो । मञ्चासिन र मञ्चाभिमुख सबैले नाच्नुपर्ने भयो । आ–आफ्नो ढङ्ग अनुसार सबैले नाचियो, कम्मर हल्लाइयो र विछट्टैको रमाइलो वातावरणमा पत्तैनपाई हराइयो ।

समयले अब धेरै रमाइलोमा भुल्न पाउँदैनौं भन्ने संकेत गरेको अवस्थाकै बीचबाट टुङ्ग्याउनी रचना प्रस्तुत गर्ने मौका मलाई मिल्यो । त्यहीँ बस्दाबस्दै केरकार पारेको रचना सुनाउन म माइकको छेउमा पुगेँ र सुनाएँ आफ्नो अप्रशोधित रचना,

चित्रै गाउ“को पल्लोपट्टी ओडारेको बास भयो

सिर्जना र ज्ञानज्ञुनको कार्यक्रम खास भयो

रुम टु रिड, मोती अनि पर्वत साहित्य संगम

पञ्चकोशी स्कुललाई पुस्तकको रास भयो

सुशिलाको निवासमा रेडियो दिदीबैनीस“ग

प्रत्यक्ष्ँमा जुट्दा जुट्दै खानुपर्ने गास भयो

गीत, गजल, कवितामा रम्दारम्दै अबेरसम्म

रात बितेको थाहै भैन अन्धकार नाश भयो

न रत्तिए गाउ“लेहरु न रत्तिए साहित्यकार

फेरी आउनै पर्ने कुरा सर्वसम्मत पास भयो ।।

अव भने साँझ ढल्किनै लागेको थियो । प्रधानाध्यापक सुशिला मिसले सबै सहभागीलाई धन्यवादका शब्दपुष्पहरु बोलिसक्नुभयो । सभाध्यक्षबाट कार्यक्रमको मैजारो पनि भैसकेको छ । हामी हतारहतार ओडारेबासी आत्मियजनहरुसँग विदा माग्दै सुशिला मिसको घरको बाटो समायौं । बाटाभरी कार्यक्रमको एकसरो समीक्षा गर्दै र ओडारेबासी र पञ्चकोशी प्रावि परिवारले दिएको अपार मायाको मुक्तकण्ठले प्रशंसा गदै अघि बढ्यौं । मिसको घर आइपुग्यो । आमा–बाबाको स्वागत उत्तिकै न्यानो महशुष भैरहेको थियो । आमाले चियाखाजा तयार गरेर हाम्रो बाटो हेरी बस्नुभएको रहेछ । आँगनमा के उक्लेका थियौं आमाको चियाको प्रस्ताव आइहाल्यो । हामी उमङ्गित भयौं । चियाखाजाले रत्तियौं । खड्क सरले केही रमाइला प्रसङ्गहरु सुनाउनुभयो । मधुसोधन सरले कार्यक्रम सञ्चालन गर्दा तलमाथि परेको भए क्षमा गर्ने प्रस्ताव ल्याउनुभयो । शुसिला मिसले जे जस्तो भए पनि आफ्नै परिवार सम्झेर आगामी दिनका लागि सुझाव सल्लाह राखिदिन टोकरी थाप्नुभयो ।

हाम्रातर्फबाट दिने कुरा केही थिएन । खाली भए पो थप्नु, भरिएकोमा थप्नुको कुनै महत्व हुँदैन भन्ने हामीलाई लाग्यो । कार्यक्रम ज्यादै उत्कृष्ठ एवम् प्रभावकारी भएकोमा कुनै शंकै थिएन । बरु समय पुगेन भन्ने राय सबैबाट आयो । बेलुकाको खाना उस्तै रमाइलो गरी खायौं । बाबाले कुखुराको मासु घरमा हुँदाहुँदै गाउँबाट खसीको मासु पनि ल्याउनुभएको रहेछ । जे जे तयार भएको छ सपासप खानुको विकल्प पनि थिएन । भोली विहान सबैजना आ–आफ्नो बाटो लाग्नु छँदै थियो । खानापछिको केही समय अन्तरङ्ग कुराकानी गर्दै भविश्यमा पनि यसै गरी सहकार्यमा काम गर्ने इच्छा प्रकट गरे सम्बद्ध संस्थाका पदाधिकारीहरुले । दिनभरीको व्यस्तताबाट सबैलाई थकान महशुष भैरहेकै थियो । यत्तिकैमा इन्द्रमान खत्री सरले अब सुत्नुपर्छ भन्दै ल्याउनु भएको प्रस्तावलाई कसैले नकार्न सक्ने अवस्थै थिएन । ‘शुभरात्री’ को कामनासँगै हामी सुस्तायौं ।

विहान झिस्मिसेमै आमाको दैनिकी सुरु भैसकेको थियो । मिसले भैंसी दुहुनु भएछ । मधुसोधन सरले आफ्नो भूमिका निभाउनु भएछ । हामी पनि उठिसकेका थियौं । सुशिला मिसका आमा–छोरी भएर विहानको चियाखाजा तयार गरिसक्नुभएको थियो । हामी तयार भएपछि चियाखाजाको प्रस्ताव आइहाल्यो । खाएपछि हिँड्न कै हतारो, हामीले आमा–बाबा, सर–मिस र स्थानीय आमा समूहका पदाधिकारीहरुसँग विदा माग्नु पर्ने नै थियो । त्यसै ग¥यौं । मीठो आतिथ्यताका लागि लाखलाख धन्यवाद समर्पित ग¥यौं । आमा–बाबाले आशीर्वाद दिनुभयो । सुशिला मिस र मधुसोधन सरले फेरी–फेरी आइदिनका लागि अनुरोध थमाउनुभयो । हामीले ‘हुन्छ’ को टाउको हल्लायौं । अब भने साच्चिकै छुट्ने बेला भैसकेछ । दुबैतिरबाट विदाइका हात हल्लिए र हल्लिइरहे ।

हामी पर्वत साहित्य सङ्गमका साथीहरु, मोती पुस्तकालयका पुस्तकालयको टीम र रेडियो दिदीबहिनीका सञ्चारकर्मी मित्रहरु कुश्माको बाटो लाग्यौं भने रुम टु रिडको टोली पोखराको बाटो लाग्यो । गाउँको पूर्व–उत्तरतर्फबाट सुन्दर माछापुच्छ्रेले हामीलाई विधाई तथा स्वागतका मधुर मुस्कान फालिरहेको थियो । पूर्व दिशाबाट सूर्य माथिमाथि सरिरहेको थियो, हामी पश्चिमपट्टि ओरालो झरिरहेका थियौं । झरिरहेका थियौं ।

कुश्मा, पर्वत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।