19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

झीनो त्यान्द्रामा जीवनको आश

कविता शरद निरोला April 5, 2014, 7:23 pm
शरद निरोला
शरद निरोला

धागोको एउटा झीनो त्यान्द्रामा पनि

जीवनको मोटो आश हुँदो रहेछ

हिजै मात्र थाहा पाएँ

डुब्न लागेको मानिसलाई

एउटा सिन्कोको पनि सहारा हुँदो रहेछ

कैयौं डुबुल्की लगाएँ मैले

गोतामाथि गोता लगाएर

अनवरत, अविचल

एकाग्रताको वशीभूत हुँदै

पलायनको महासमुद्रमा हेलिएर

महासागरीय झंजाबातमा

डुब्दै-उत्रंदै गरिरहेको

एउटा स्यानो नौकामा सवार

मनुष्य भएर

कुनबेला नौका ठोक्कियो किनारमा

पत्तै भएन

म कहाँ छु कहाँ आइपुगें

त्यसको हेक्कै भएन

होश खुल्दा मेरा आँखामा

प्रचण्ड घामको प्रहार

मेरा चारैतिर

बालुवै बालुवाको मैदान

अनि मैदानमाथि उभिएर

अनिमेष दृष्टिले मलाई घुरेर हेरिरहेका

अपरिचित र अलौकिकजस्ता लाग्ने

थुप्रै मानिसका अनुहारहरु

ती अनुहारहरुमा गजबको तेज देख्छु

तिनका आँखाका भालारुपी हेराइले

कुनै ताकाको मेरो अभेद्य चिन्तन

छियाछिया भएको पाउँछु

मेरो मस्तिष्क भित्रै

कहिल्यै नदेखेको ज्वारभाटा उर्लेको देख्छु

मेरो परिस्थिति, मेरो परिवेशबाट

सर्वथा अनभिज्ञ ती मानिसहरुमा

कौतुहलको बादल

मंडारिएको देख्छु

अचानक निकै खैलाबैला हुन्छ

ती अलौकिकजस्ता लाग्ने मान्छेहरुमाझ

यस्तो लाग्छ उनीहरुका बीच

मेरो भाग्य वा नियतिमाथि बादबिबाद भइरहेछ

कोही सहानुभूतिले मतिर हेर्छन

कोही दुर्वासा ऋषि झैं कडकिन्छन

म केही बुझ्दिनँ

टोलाएर हेरिरहन्छु उनीहरुलाई

अनिमेष...

अनायास बिना कुनै संकेत

उठाउँछन् मेरो शरीरलाई झ्याइँकुटी पारेर

बड्बडाउँछन् अनौठो अपरिचित भाषामा

दगुर्दै लैजान्छन मलाई समुद्रतिरै

अनि फ्याँकिदिन्छन मलाई सागरका

उर्लंदा छालहरुमा

एकजना दगुर्दै फिर्ता किनारमा जान्छ

मेरो ध्वस्त नौकाको एउटा फलेक लिएर फर्कन्छ

मलाई एकनासले घुरेर हेर्दै

त्यो फलेकलाई

मतिर हुर्र्याइदिन्छ

अनि मतिर पीठ गरी

दुवै हात आकाशतिर उचालेर

आर्तनादले भरिएको

अट्टहासले

आकाशै

गुन्जायमान गर्छ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।