जीवनको
अनभिज्ञ बन्दसत्रमा
धेरै गरिरहें
जीवनलाई लिएर
ब्याख्या परिब्याख्या
तर,
जानिन मैले
जीवन छोटो हो या लामो ।
दिनभर गगनमा उदाएर
साँझपख
अँधेरी रात सापट दिँदै
किन क्षितिजमा डुब्छ सूर्य
चाहेर पनि बुझिन मैले
ढुङ्गामा ईश्वर हुँदैन
मरेको छ रे अचेल
त्यो पनि नित्सेले मारिदिएको
तर,
खै कहाँ छ ईश्वरको पार्थीव शरीर
छन् कहाँ
ईश्वरको मलामी गएर
फर्किएकाहरु
अनि अर्कोतर्फ
‘शौचालयमा ईश्वर’ रहेको
पुष्टि गर्नेहरुसँग
सोध्न जरुरी ठानेको छु मैले
र,
आश्वस्त बन्नु छ मलाई
ईश्वर छ या
म¥यो साँच्चिकै
निर्जीव ठानिएका तर
काटिरहँदा पनि बढिरहने
–दाह्रि कपाल
–नङ
र रुखहरुको उत्तर
कहिल्यै फुरेन दिमाखमा
खै, को छ मलाई सम्झाउन सक्ने यहाँ ?
जहाँ जहाँ आगो,
त्यहाँ त्यहाँ धुवाँ हुन्छ भनिन्छ
किन आगोको ठाउँमा
धुवाँ जरुरी ठानियो
के हुँदैन र
धुवाँ भएको ठाउँमा आगो ?
ज्यान गए बुझिन यो पनि
यस्ता धेरै प्रश्नहरुको
चौखात छ जीवनमा
–नशा नशामा
–रोम रोममा
पढ्दा पढ्दै नपदिएका
गयल भएका
नजानेका पढेरै पनि
र,
नपढेका यस्ता बेसुर सवालहरुले
बिनिफोकैमा
घच्घचाइरहेका छन्
म बबुराको
कमजोर मष्तिष्कको ढोका !