१.१ विषय परिचय
यस कार्यपत्रको विषय ‘नेपाली लघुकथाको विकासक्रम एवम् साठीको दशकका प्रवृत्ति’ रहेको छ । यो विषय आफ्ैमा विस्तृत र गहन विश्लेषणात्मक अनुसन्धानको विषय हो । यस विषयमा छोटो समयमा प्रकाश पार्नु चुनौतीपूर्ण कार्य हो । आफूमा आएको जिम्मेवारीलाई स्विकार गरेर अध्ययन गर्ने जमर्को गरिएको छ । यस कार्यपत्रको शीर्षकमा ‘नेपाली लघुकथाको विकासक्रम’, र ‘साठीको दशकका प्रवृत्ति’ गरेर दुई विषय रहेका छन् । नेपाली लघुकथाको विकासक्रम भन्नाले नेपाली भाषामा लेखिएको आख्यानको एक विधा लघुकथा लेखनमा निरन्तर रूपमा भइरहेको प्रगतिको क्रमलाई दर्शाउँछ । साठीको दशकका प्रवृत्तिले साठीको दशक वि.स (२०६०(०६९) मा प्रकाशित भएका लघुकथा कृतिका विशेष गुणको अवस्थालाई जनाउँछ । यसरी ‘नेपाली लघुकथाको विकासक्रम एवम् साठीको दशकका प्रवृत्ति’ ले नेपाली लघुकथा लेखनमा निरन्तर रूपमा भइरहेको प्रगतिको क्रम र साठीको दशकमा प्रकाशित भएका लघुकथा कृतिका विशेष गुणको अवस्थालाई देखाउँछ । यो कार्यपत्र अध्ययनको यसै मार्गतर्फ केन्द्रित रहेको छ ।
१.२ विषय प्रवेश
लघुकथा नेपाली साहित्यको लोकप्रिय विधा हो । अहिलेको समयमा नेपाली साहित्यमा लघुकथा लेखनले आफ्नो उपस्थितिलाई बलियो बनाएको छ । लघुकथाका सन्दर्भमा अंग्रेजी साहित्यमा लघुकथालाई क्जयचत कतयचथ वा ःष्लष् क्तयचथ शब्द प्रयोग गरिएको पाइन्छ । यस बाहेक पनि क्गममभल ाष्अतष्यल, ःष्अचय ाष्अतष्यल, ष्तितभि कजयचत कतयचथ नाम रहेका छन् । नेपाली साहित्यमा लघुकथालाई लघुकथा, छोटा कथा, मसिना कथा एवम् रेच्की गल्फ पनि भनिएको पाइन्छ । नेपालको सन्दर्भमा ःष्अचय क्तयचथ को नेपाली रूपान्तरलाई बुझाउने लघुकथा नै उपयुक्त हुने देखिन्छ । लघुकथा सुत्रात्मक हुन्छ । लघुकथामा साङ्केतिक रूपमा विचार एवम् दृष्टिकोण प्रस्तुत गरिन्छ । लघुकथामा कम भन्दा कम शब्दमा जीवन र जगतको यथार्थ अवस्था प्रस्तुत गरिन्छ । यसमा मानवीय जीवनका विभिन्न विकृति एवम् विसङ्गतिप्रति व्यङ्ग्य एवम् विद्रोह जनाउने काम गरिन्छ । लघुकथा रचनामा मानव जीवनको सङ्कटमय भोगाइ र अनुभूतिलाई संक्षेपमा प्रस्तुत गरिन्छ । हाल आएर लघुकथा जीवन र जगतको यथार्थलाई कमै समयमा प्रस्तुत गर्ने सशक्त साहित्यिक विधाका रूपमा विकसित भएको छ ।
१.३ नेपाली लघुकथा लेखनको पृष्ठभूमि एवम् साठीको दशक अघिको अवस्था
नेपालमा लघुकथा पश्चिमी कथा सिद्धान्तका आधारमा विकसित भएको पाइन्छ । नेपाली लघुकथामा पूर्वीय साहित्यको समेत प्रभाव रहेको छ । पूर्वीय साहित्यमा लघुकथाको आजभन्दा ३००० वर्ष पुरानो परम्परा पाइन्छ । महाभारतमा आख्यानसँग उपकथा पनि जोडिएको पाइन्छ । चिनियाँ ‘आफन्तीका कथा’ एवम् भारतीय महाद्वीपको ‘अकबर बिरबलका विनोद’का श्रृङ्खलामा पनि लघुकथाको प्रारम्भिक संकेत पाइन्छ । अरेबियन नाइट्सका कथामा पनि लघुकथाको बिज पाइन्छ ।
नेपाली आख्यानको पृष्ठभूमिमा धार्मिक एवम् पौराणिक साहित्य रहेको छ । यसरी नै धार्मिक, पौराणिक आख्यानहरूका अनुवाद, पञ्चतन्त्र र हितोपदेशसँग सम्बन्धित अनुवाद, इसपका नीतिकथाका साथै विभिन्न आख्यानका अनुवादमा पनि लघुकथाको बीज पाइन्छ । प्राथमिक एवम् माध्यमिककालीन आख्यानका अनुवादलाई लघुकथाको निर्धारक भने मान्न सकिँदैन । प्राथमिक माध्यमिक कालको ‘सत्सङ्गको वर्णन भएको कथाहा’, ‘राजा प्रपञ्चैको एउटा किस्सा’ र ‘मुन्सीका तीन आहान’ मा लोकतत्वको उपस्थिति पाइन्छ । लक्ष्मणप्रसाद गौतमका अनुसार मुन्सीका तीन आहान मध्ये एक आहानमा लोकतत्व केही कम भए पनि सामाजिक तत्व समेत कम भएकोले १९८०–१९८५ मा कृष्णचन्द्र अज्र्यालद्वारा लेखिएको लौकिक न्याय मणिमाला को ‘खानु त पाँचमुठी बस्नु त नेपाल’ लगायतका सत्ताइस वटा लघुकथाहरूलाई नेपाली लघुकथाको प्रस्थानबिन्दु मान्नु उपयुक्त हुने तर्क गरेका छन् (गौतम, २०६७ ः ७) । लौकिक न्याय मणिमाला वि.स. २०१६ मा जगदम्बा प्रकाशनबाट प्रकाशित भएको पाइन्छ । यस सङ्ग्रहका सबै लघुकथाको शीर्षक नेपाली उखानमा राखिएको पाइन्छ । लघुकथाको शीर्षक नेपाली उखानमा राखिनाले पनि यस कृतिको मौलिकता देखिन्छ ।
सुकुम शर्माले जे.ए. एटनले नेपाली भाषा एवम् साहित्यका क्षेत्रमा गरेको कार्यको चर्चा गर्ने क्रममा ‘नेपाली व्याकरणको प्रारम्भिक इतिहास’ पुस्तकमा नेपाली भाषा सिक्नेहरूलाई नेपाली भाषाको संरचना बुझाउने हेतुले रमाइला तीन प्रसियन कथाको अनुवादलाई प्रस्तुत गरेर यस भाषाको व्याकरणसम्बन्धी चर्चा टुङ्ग्याइएको बताएका छन् (शर्मा, २०५८ ः २८) । यी आख्यान रचनाको अनुवादमा नेपाली आख्यानको प्राचीन रूप रहेको पाइन्छ । यी आख्यान रचना नेपाली लघुकथाको पृष्ठभूमिकालको अध्ययनका क्रममा महत्वपूर्ण मानिन्छन् ।
दयाराम श्रेष्ठले मधुपर्क मा “नेपाली लघुकथाको ऐतिहासिक पृष्ठभूमि तथा स्वरूप” लेखमा नेपाली कथाको आधुनिक काल वि.स. १९९२ मा प्रारम्भ भएपछि मात्र नेपाली लघुकथाको विकास भएको बताएका छन् (श्रेष्ठ, २०५६ ः १३) । उनले गोपालसिंह नेपालीको कृति कल्पना (१९९२) को बारेमा आफ्ना दृष्टिकोण प्रस्तुत गरेका छन् । श्रेष्ठले कल्पनालाई हालसम्म कविता सङ्ग्रह भनिदैँ आएकोमा सो धारणा भन्दा भिन्न विचार प्रकट गरेका छन् । उनले यो कृतिमा रचनाविधानका दृष्टिले कथानकता पाइने विचार प्रस्तुत गरेका छन् ।
यसै सन्दर्भमा लक्ष्मणप्रसाद गौतमको भनाइ पनि मननीय छ । भारतमा रहेका नेपाली साहित्यकार गोपालसिंह नेपालीको कल्पना (१९९२) लाई कविता भनिए पनि यसमा लघुकथात्मक तत्वको उपस्थिति पाइन्छ (गौतम, २०६७ ः ७) । यस कृतिले असचेत रूपमा भए पनि लघुकथा लेखनको आधारभूमिको काम गरेको पाइन्छ ।
पूर्णप्रसाद ब्राह्मणको झिल्का (वि.स. २००७) सालमा प्रकाशनपछि नेपाली लघुकथा लेखनको सचेत प्रयास भएको पाइन्छ । लैनसिंह बाङ्देलले जयनारायण गिरीको कसिङगर (वि.स. २००८) लघुकथा सङ्ग्रहको भूमिकामा यस कृतिलाई नेपाली लघुकथाको पहिलो सङ्ग्रह भनेका छन् । गिरीभन्दा पहिले ब्राह्मणको कृति प्रकाशित भइसकेको हुँदा लघुकथाको पहिलो कृतिका रूपमा झिल्का लाई नै मानिएको छ । नेपाली लघुकथाको सचेत रूपमा लेखन वि.स. २००७ बाट प्रारम्भ भएकोले नेपाली लघुकथाको प्रारम्भ काल वि.स. २००७ बाट भएको तथ्य साबित भईसकेको छ । वि.स. २००८ सालमा पूर्णप्रसाद ब्राह्मणको म लोग्ने हुँ र जयनारायण गिरीको कसिङ्गर प्रकाशित भएको पाइन्छ । वि.स. २०१९ मा शशिकला शर्माको उसको सुरुवाल, वि.स. २०२९ मा विश्वम्भर प्याकुरेलको इन्द्रेणीको गुम्बजभित्र कृतिहरू प्रकाशित भए । यसरी नै रमेश नेपालीको पाटीकी बौलाही (२०३२), अनिता तुलाधरको फुलु (२०३४), ध्रुव मधिकर्मी र श्याम आशाको लघु (२०३५), लव गाउँलेको गाउँलेका मसिना कथाहरू (२०३७), जगदीश नेपालीको केही लघुकथाहरू (२०३९), विनयकुमार कसजूको पशुतन्त्र (२०३९) दुर्लभलाल सिंहको झुलभित्रको मान्छे (२०३९) र रत्न कोजूको बूढो वर्तमान (२०३९), पूर्णप्रसाद ब्राह्मणको एकतिस कथा (२०४२) प्रकाशित हुन्छ । नेपाली लघुकथा लेखन परम्परामा अमोद भट्टराईको हस्ताक्षर (२०४७), नारायण तिवारीको दशैँखर्च (२०४७), भागीरथी श्रेष्ठको रङ्गीन पोखरी (२०५०), रामबहादुर बानियाँ क्षेत्रीको यो जीत कस्को ? (२०५०), सुमन सौरभको आधुनिक लघुकथाहरू (२०५१) र धु्रव मधिकर्मीको बुद्ध कहीँ छैन (२०५१) पनि महत्वपूर्ण कृति हुन् ।
यसरी नै विनयकुमार कसजूको लिस्नो (२०५३), थोपाथोपा (२०५७), रवीन्द्र समीरको तेस्रो आँखा (२०५३), वासु मार्मिकको छेस्काछेस्की (२०५३), किशोर पहाडीको किंवदन्ती (२०५३), कपिल लामिछानेको अन्यथा (२०५४), विश्वराज अधिकारीको सूर्य (२०५४), रामविक्रम थापाको पात्रहरू (२०५५), हरिगोविन्द लुँइटेलको समय र पोखरी (२०५५), इन्दिरा प्रसाईको बयान (२०५५), कृष्ण शाह यात्रीको सूक्ष्म शिखाहरू (२०५६), नवराज रिजालको अदृश्य पीडा (२०५७), श्रीओम श्रेष्ठको आँखीझ्याल (२०५८), प्रयास सौरभ श्रेष्ठको बिम्ब प्रतिबिम्ब (२०५८), पुष्करराज भट्टको कर्मयोद्धा (२०५९), गोविन्द भट्टराईको भाग्यले लुटेको जिन्दगी (२०५९), यमनदेव उत्प्रेरकको यात्रारम्भ (२०५९) एवम् शेखरकुमार श्रेष्ठको सागरपुर (२०५९) समेत उल्लेख्य लघुकथा कृतिका रूपमा रहेका छन् ।
नेपाली लघुकथाको विकासमा विभिन्न समयमा प्रकाशित लघुकथा पत्रिका एवम् विशेषाङ्कको महत्वपूर्ण योगदान रहेको छ । नेपाली लघुकथाको विकासमा विशेषाङ्क, गोजिका एवम् लघुपत्रिकाको योगदानप्रति सम्मान भएर पनि यो कार्यपत्रमा तिनका बारेमा चर्चा गर्दा धेरै लामो हुने भएकोले तिनलाई यहाँ समावेश गरिएको छैन ।
१.४ साठीको दशकमा लघुकथा लेखनको अवस्था
नेपाली लघुकथामा साठीको दशक अत्यन्त उर्वर रहेको छ । यस समयावधिमा ७४ लेखकका ८७ लघुकथा कृति प्रकाशित भएका छन् । यो सूचीमा अझ केही लघुकथा कृति थपिन सक्ने सम्भावना कायमै रहेको छ । वि.स २०६० सालमा विजय सागरको सागरका कथाहरु, विश्वराज अधिकारीको अभिनय, डम्बर रसिक भारतीको भूईँकुहिरो, किशन थापा अधिरको अन्धाहरुको देशमा, बद्रि पलिखेको मनस्थिति, इन्द्रकुमार विकल्पको सर्वदलीय घर, गोरखबहादुर सिँहको आलुप्याज प्याजआलु (केही लघुकथा भएको), सुदिप गौतमको बुद्ध, अगिब बनेपालीको शुभयात्रा, कुसुम ज्ञवालीको सहिदले बिर्सेको गाउँ, हिरण्य भोजपुरेको जङ्घार, अच्युत घिमिरेको शिखर चढिरहेको मान्छे गरेर १२ कृति प्रकाशित छन् ।
वि.स. २०६१ सालमा कपिल लामिछानेको जलमानव, भूपेन्द्र सुवेदीको एक मूूल एकाउन्न फूल, पोष चापागाईँको हाइकु कथा, माधव लामिछानेको पुरस्कार, केशब प्रधानको दुर्गे दमाइको मृत्यु (केही लघुकथा भएको), भरत भारद्वाजको प्रश्नको क्याराभान, षडानन्द पौडेलको परिवेश गरेर ७ कृति प्रकाशित भएको पाइन्छ ।
वि.स. २०६२ मा पुष्करराज भट्टको मुक्तिदूत, अगिब बनेपालीको अन्तिम आग्रह (नेपाली र नेवारी दुवै भाषामा), श्रीबाबु कार्की उदासको समय– बाछिटा, गोपाल ढकालको अस्ताएको सूर्य, धनुषराज राईको सेतो हस्ताक्षर, राजुराम मुनंकर्मीको अन्र्तद्वन्द्व, हरिहर पौडेलको कालो उज्यालो, शिवहरि अधिकारीको दुखेको मन, पदमप्रसाद शर्माको उपहार, अमित घिमिरेको सलह, बि. थुलुङको अनुभूत गरेर ११ कृति प्रकाशित भएको पाइन्छ ।
वि.स. २०६३ मा रविन्द्र समीरको पोष्टमार्टम, रवीन्द्र समीरकै विकिरण, बुद्धिनाथ ज्ञवालीको जल्दै गरेको आकाश, हरिप्रसाद भण्डारीको अविरल यात्रा, मित्र राजु पाठकको भलादमी श्रीमती, डमरूबल्लभ गड्तौलाको भ्यागुताको चुरिफुरी एवम् ज्योतिप्रभा बिष्टको उज्यालो रोएपछि गरेर ७ लघुकथा कृति प्रकाशित छन् ।
वि.स. २०६४ मा कृष्ण शाह यात्रीको आणविक अस्त्र, पुष्करराज भट्टको एक थोपा सागरको (डोटेली र नेपाली भाषामा), कृष्ण बजगाई को यन्त्रवत्, एल.बी क्षेत्रीको त्रिशङ्कुको देशमा, शर्मिला खडका दाहालको सम्वत अफिस, प्रदिप प्रधानको द्वन्द्वकालीन कथा, हरिहर खनालको हरिहर खनालका छोटा कथाहरू (केहि लघुकथा भएको), टंकबहादुर आले मगरको कालो छाँया गरेर ८ लघुकथा कृति प्रकाशित भएको पाइन्छ ।
वि.स. २०६५ मा सुमन सौरभको पराई विचार, रविन्द्र समीरको ईश्वरका कथा, गोरखबहादुर सिँहको नगरसभाको पाँचौ दिन, आर.आर. चौलागाईको विघटनको तयारीमा, सरस्वती रिजालको प्रसङ्ग, भ्रम र पात्रहरू, भीम राना जिज्ञासुको कर्फ्यु लागेको दिन, सुमनराज ताम्राकारको गठेमङ्गल एवम् नारा जोशीको भीडमा एक्लो मान्छे गरेर ८ लघुकथा कृति प्रकाशित भएको पाइन्छ ।
वि.स. २०६६ मा विनयकुमार कसजुको स्याललाई स्लिपिङ् ब्याग, दिलीप शाहको जालो, कृष्ण बजगाईको रोडम्याप, देवेन्द्र अर्याल ‘आँशु’को घाइते ईश्वर, मुक्तिनाथ घिमिरेको २१६६, सुशिला देउजाको दोभान (केही लघुकथा भएको), सनत रेग्मीको स्मृतिदंश र अन्य कथाहरू (केही लघुकथा भएको), जगदिश घिमिरेको वर्दी (केहि लघुकथा भएको) गरेर ८ कृति प्रकाशित छन् ।
वि.स. २०६७ मा रविन्द्र समीरको अर्जुनदृष्टि, नवराज रिजालको माटो खोज्दै, श्रीओम श्रेष्ठ रोदनको भ्रममार्ग, सन्तोष श्रेष्ठको अधुरो सपना, हरिप्रसाद भण्डारीको कालो सर्पको खोजी, टङकराम सुनुवार ‘सिर्सेली’को परेङ्, रमेश परियारको समय चक्र, रामबहादुर बानियाँ क्षेत्रीको लघुकथा सङ्ग्रह गरेर ८ लघुकथा कृति प्रकाशित भएको पाइन्छ ।
वि.स. २०६८ मा सुमन सौरभको चौथो लिङ्गी, महेश प्रसाईको फूलेै फूलका आलापहरू, रसुवाली कविको हत्यारो विदेशतिर, सिन्धु गौतमको कर्कलाको शीत, साधना प्रतिक्षाको सन्दिग्ध समयका पाइलाहरु, लुमडी आचार्यको कागजको खोस्टो, रमेश भट्टराई ‘पुजारी’को उर्दी, डमरूबल्लभ गड्तौलाको खडेरीको पोखरी, होम क्षेत्रीको मूक्ति गरेर ९ लघुकथा कृति प्रकाशित छन् ।
वि.स. २०६९ मा कपिल लामिछानेको बोन्साई, कृष्ण शाह यात्रीको तारो, डम्बर रसिक भारतीको तुँवालो, कल्याण पन्तको समय सन्दर्भ, रवीन्द्र समीरको अणु र पहाड, रामचन्द्र नेपालको प्रतिबिम्ब एवम् मणिकुमार पोखरेलको तिरस्कृत सिउँदो, चन्द्रप्रसाद न्यौपानेको नयाँ घर (केहि लघुकथा भएको), मित्र आभासको अग्रगमन गरेर ९ कृति प्रकाशित छन् ।
साठीको दशकमा सबैभन्दा बढी रवीन्द्र समीरका पाँच लघुकथा कृति प्रकाशित छन् । त्यसरी नै अगीब बनेपाली, डम्बर रसिक भारती, गोरखबहादुर सिँह, कपिल लामिछाने, डम्मरूबल्लभ गड्तौला, कृष्ण शाह यात्री, हरिप्रसाद भण्डारी, सुमन सौरभ, कृष्ण बजगाई एवम् पुष्करराज भट्ट गरेर १० जना लेखकका दुई–दुई कृति प्रकाशित छन् । कतिपय लेखकहरूले एउटै रचनालाई विभिन्न पुस्तकमा छपाएर रचनाको संख्या एवम् कृतिको संख्या धेरै देखाएको पनि पाइन्छ । यस दशकमा प्रकाशित श्रीओम श्रेष्ठ ‘रोदन’ को आँखीझ्याल (२०५८) लघुकथा सङ्ग्रह पुरै हस्तलिखित रूपमा छापिएको पहिलो लघुकथा कृति हो । यसै अवधिमा अगीब बनेपालीको पुस्तक अन्तिम आग्रह (२०६२) मा नेपाली एवम् नेवारी भाषाका लघुकथा रहेका छन् । यसरी नै पुष्करराज भट्टको एक थोपा सागरको (२०६४) मा नेपाली एवम् डोटेली भाषाका लघुकथा रहेका छन् । यस अवधिमा गोरखबहादुर सिँहको आलुप्याज प्याजआलु, केशव प्रधानको दुर्गे दमाईको मृत्यु, सनत रेग्मीको स्मृतिदंश र अन्य कथाहरू, हरिहर खनालको हरिहर खनालका छोटा कथाहरू, जगदिश घिमिरेको वर्दी, चन्द्रप्रसाद न्यौपानेको नयाँ घर कृतिमा कथाका साथसाथै लघुकथा रचना समेत समावेश गरिएका छन् भने सुशिला देउजाको दोभानमा कविताको साथसाथै लघुकथा रचना समेत समावेश छन् । यस कालखण्डमा लघुकथा कृति प्रकाशित गर्ने नारी लघुकथाकारमा सरस्वती रिजाल, सुशिला देउजा, शर्मिला खडका दाहाल, सिन्धु गौतम, साधना प्रतिक्षा, नारा जोशी, ज्योतिप्रभा बिष्ट रहेका छन् ।
१.५ साठीको दशकमा लघुकथा लेखनका प्रवृत्तिहरू
नेपाली लघुकथा लेखनका क्षेत्रमा साठीको दशकको महत्वपूर्ण स्थान रहेको छ । यस अवधिमा प्रकाशित लघुकथा कृतिका आधारमा नेपाली लघुकथा लेखनका प्रवृत्ति निरूपण गर्ने प्रयास गरिएको छ । नेपाली लघुकथाको विकासमा विभिन्न साहित्यिक एवम् गैरसाहित्यिक पत्रपत्रिकाको महत्वपूर्ण योगदान रहेको छ । लघुकथा कृति प्रकाशित नभए पनि नेपाली लघुकथाका क्षेत्रमा गुणस्तरिय रचना प्रदान गर्ने लेखकहरूको लामो सूची छ । यति भएर पनि यस कार्यपत्रमा साठीको दशकमा प्रकाशित नेपाली लघुकथाका ८७ कृतिलाई नै मूल आधार मानेर अध्ययन गरिएको छ । यही नै यस कार्यपत्रको सीमा हो । यहाँ साठीको दशकका नेपाली लघुकथामा देखापरेका प्रवृत्तिलाई बुँदागत रूपमा प्रस्तुत गरिएको छ ।
१.५.१ राजनैतिक–सामाजिक विषयक लघुकथा
यस अवधिका प्रायः सबै लघुकथाकारले आफ्ना रचनामा राजनीति र समाजको चित्रण गरेका छन् । यस अवधिको लघुकथामा नेपाली राजनीतिक क्षेत्रमा देखापरेका विभिन्न घटनाक्रम एवम् ती घटनाक्रमले पारेको प्रभाव आएको छ । नेपाली लघुकथाकारले नेपालमा गणतन्त्र आउनु अघि र गणतन्त्र पछिको नेपाली समाजका राजनैतिक एवम् सामाजिक जीवनका यथार्थतालाई प्रस्तुत गर्ने कार्यमा आफ्नो कुशलता प्रकट गरेका छन् । यस अवधिका लघुकथामा नेपाली राजनीतिले पारेको प्रभावको प्रतिबिम्ब पाइन्छ ।
साठीको दशकका नेपाली लघुकथामा राजनैतिक द्वन्द्व एवम् खिँचातानीको पक्ष आएको छ । यसमा वि.स. २०६२ को आन्दोलन पूर्व र त्यस आन्दोलन पछिको नेपाली समाजको चित्र आएको छ । साठीको दशकको नेपाली लघुकथामा सशस्त्र द्वन्द्व र त्यसले नेपाली समाजमा पारेको प्रभावको चित्रण आएको छ । यस समयको लघुकथामा सत्तापक्ष र विद्रोही बिचको दोहोरो सङ्घर्षका क्रममा ज्यान गुमाउन पुगेका नागरिक एवम् ती नागरिकका परिवारको यथार्थ अवस्था प्रस्तुत गरिएको छ । यस कालका लघुकथामा वि.स. २०६०–०६२ को अवधिमा भएका निरंकुश क्रियाकलाप र सो कार्यका विरूद्धको चेतना र सङ्घर्षको अवस्था आएको छ । वि.स. २०६२ को आन्दोलनपछि पनि राजनैतिक अस्थिरता आइरहेको र भ्रष्टाचारका घटना बढिरहेकोमा चिन्ता व्यक्त गरिएको छ । राजनैतिक नेताहरूले सत्ता प्राप्तिका लागि अनैतिक गठबन्धन गर्ने र राष्ट्रहित विपरित कार्य गर्ने गरेकोमा उनीहरूको सो कार्यप्रति विरोध एवम् व्यङ्ग्य प्रहार गरिएको छ । यस अवधिका लघुकथामा राजनैतिक कार्यकर्ता वर्गमा रहेको दास मनोवृत्तिप्रति पनि छेड हानिएको पाइन्छ ।
साठीको दशकको नेपाली लघुकथामा राजनैतिक विषय सन्दर्भलाई उठाउने प्रमुख लघुकथाकारमा कपिल लामिछाने, कृष्ण बजगाई, गोरखबहादुर सिँह, कृष्ण शाह यात्री’, हरिप्रसाद भण्डारी, अगीब बनेपाली, रवीन्द्र समीर, आरआर चौलागाई, किशन थापा ‘अधिर’, राजुराम मुनंकर्मी, विनयकुमार कसजू, श्रीबाबु कार्की ‘उदास’, देवेन्द्र अर्याल ‘आँशु’, नवराज रिजाल, श्रीओम श्रेष्ठ ‘रोदन’, बि. थुलुङ, डम्मरूबल्लभ गड्तौला, हरिहर खनाल, पुष्करराज भट्ट, महेश प्रसाई, सिन्धु गौतम, मित्र आभाष, ज्योतिप्रभा बिष्ट, साधना प्रतिक्षा, सनत रेग्मी, शर्मिला खडका दाहाल, जगदिश घिमिरे, इन्द्रकुमार विकल्प, प्रदिप प्रधान, सुमनराज ताम्राकार, दिलिप शाह, हरिहर पौडेल, मणिकुमार पोखरेल, विजय सागर, कुसुम ज्ञवाली, डम्बर रसिक भारती, रसुवाली कवि, रामचन्द्र नेपाल, रामबहादुर बानिँया क्षेत्री रहेका छन् ।
नेपाली लघुकथामा साठीको दशकको नेपाली समाजका अनेकन घटना–परिघटना आएको पाइन्छ । यस अवधिका लघुकथामा समाजमा रहेको वर्गीय विभेद एवम् सामाजिक न्यायको अभावप्रति चिन्ता व्यक्त गरिएको छ । समाजमा चाकरीजन्य क्रियाकलाप एवम् स्वार्थी प्रवृत्ति बढेकोप्रति आक्रोश व्यक्त गरिएको छ । समाजमा जाति, क्षेत्र एवम् लिङ्गका आधारमा विभेद बढेको, उत्पीडन बढेको अवस्था देखाइएको छ । समाजमा जाति, क्षेत्रका नाममा जनतामा एकआपसमा अविश्वास एवम् शंकाको वातावरण सिर्जना भएकोमा त्यस्ता कार्यप्रति असन्तुष्टि व्यक्त गरिएको छ । मानिसमा भएको लोभजन्य क्रियाकलाप, सम्वेदनहीन, परिवारको विघटन जस्ता क्रियाकलापप्रति व्यङ्ग प्रहार गरिएको छ । सहर बजारका मानिसमा उपभोक्तामुखी क्रियाकलाप बढेकोमा त्यस्ता कार्यप्रति छेड हानिएको छ । समाजमा अन्धविश्वासका कारण निर्दोष जनताले ज्यान गुमाउनु परेको घटनाप्रति चिन्ता व्यक्त गरिएको छ ।
साठीको दशकको नेपाली लघुकथामा समाजिक विषय सन्दर्भ उठाउने प्रमुख लघुकथारमा रवीन्द्र समीर, डम्बर रसिक भारती, गोरखबहादुर सिँह, अगीब बनेपाली, कपिल लामिछाने, पुष्करराज भट्ट, हरिप्रसाद भण्डारी, मित्र आभाष, कृष्ण शाह ‘यात्री’, सुमन सौरभ, चन्द्रप्रसाद न्यौपाने, किशन थापा ‘अधिर’, अच्युत घिमिरे, हरिहर खनाल, भूपेन्द्र सुवेदी, पोष चापागाई, भरत भारद्वाज, मणिकुमार पोखरेल, रामचन्द्र नेपाल, रामबहादुर बानिँया क्षेत्री, इन्द्रकुमार विकल्प, षडानन्द पौडेल, श्रीबाबु कार्की ‘उदास’, गोपाल ढकाल, रमेश परियार, धनुषराज राई ‘राशी’, पदमप्रसाद शर्मा, ज्योतिप्रभा बिष्ट, जगदिश घिमिरे, डम्मरूबल्लभ गड्तौला, बि. थुलुङ, बुद्धिनाथ ज्ञवाली, आरआर चौलागाई, सरस्वती रिजाल, भीम राना ‘जिज्ञासु’, विनयकुमार कसजू, दिलीप शाह, देवेन्द्र अर्याल ‘आँशु’, नवराज रिजाल, श्रीओम श्रेष्ठ ‘रोदन’, महेश प्रसाई, सिन्धु गौतम, साधना प्रतिक्षा, कल्याण पन्त, रामबहादुर बानियाँ क्षेत्री, रामचन्द्र नेपाल रहेका छन् ।
१.५.२ धार्मिक–सांस्कृतिक विषयक लघुकथा
साठीको दशकको नेपाली लघुकथामा धर्म एवम् संस्कृतिलाई प्रमुखताका साथ प्रस्तुत गरिएको पाइन्छ । यस अवधिका लघुकथामा धर्मका नाममा नागरिकप्रति गरिने भेदभावप्रति विरोध प्रकट गरिएको छ । धर्मको आडमा जनतालाई ठग्ने साधुसन्त एवम् महात्माको क्रियाकलाप्रति आक्रोश व्यक्त गरिएको छ । धार्मिक संस्थामा रहेका केहि मानिसहरूले समाजमा जातीय छुवाछुत बढाउने, भाग्यवादी चिन्तन फैलाउने एवम् व्यभिचारमा लिप्त रहने गरेकोमा तिनको त्यस्तो कार्यको भण्डाफोर गरिएको छ । धर्मको नाममा पशुपंक्षीको बली दिने कार्यप्रति असहमति प्रकट गरिएको छ । धर्मको आफ्नो स्वार्थ अनुकुल व्याख्या गर्ने र बेइमानलाई संरक्षण गर्ने कार्यप्रति समेत विरोध गरिएको छ । रवीन्द्र समीरले ईश्वरको विम्बलाई मात्र केन्द्रित गरी सिङ्गो संग्रह ईश्वरका कथा, निकालेका छन् । लघुकथाको क्षेत्रमा यो एउटा प्रयोग पनि हो । कवितामा मात्र एउटै बिम्ब वा प्रतीकमा लेखिन्थ्यो भने कथामा पनि त्यो प्रयोग भित्रिएको छ ।
साठीको दशकको नेपाली लघुकथामा नेपाली समाजमा भएका सांस्कृतिक गतिविधि एवम् चिन्तनलाई विषय बनाएको पाइन्छ । यस अवधिका नेपाली लघुकथामा समाजमा मानिसहरूको न्यून सांस्कृतिक चेतना र सो चेतनाले पारेको गलत प्रभावप्रति व्यङ्ग्य गरिएको छ । आफ्नो मौलिक कला भन्दा पनि विदेशी प्रभावमा परेर देखासिकीका आधारमा बनेका नाटक, चलचित्र, कला संगीतप्रति विरोध जनाइएको छ । कला क्षेत्रमा मेहनत भन्दा विज्ञापन धेरै हुने गरेकोमा त्यस्तो कार्यप्रति असहमति प्रकट गरिएको छ । समाजका प्रतिष्ठित विद्वानवर्गमा विचार एकातिर र सांस्कृतिक क्रियाकलाप अर्कोतिर हुने गरेकोमा सो कार्यप्रति छेड हानिएको छ ।
साठीको दशकको नेपाली लघुकथामा धार्मिक एवम् सांस्कृतिक विषय सन्दर्भलाई आफ्नो रचनामा स्थान दिने प्रमुख लघुकथाकारमा श्रीओम श्रेष्ठ ‘रोदन’, अच्युत घिमिरे, रवीन्द्र समीर, पुष्करराज भट्ट, कुसम ज्ञवाली, भुपेन्द्र सुवेदी, गोपाल ढकाल, पदमप्रसाद शर्मा, बुद्धिनाथ ज्ञवाली, एलवी क्षेत्री, भीम राना ‘जिज्ञासु’, देवेन्द्र अर्याल ‘आँशु’, सुशिला देउजा, सिन्धु गौतम, रामबहादुर बानियाँ क्षेत्री रहेका छन् ।
१.५.३ आर्थिक जगत एवम् आधुनिक सभ्यतासँग सम्बन्धित लघुकथा
साठीको दशकको नेपाली लघुकथामा आर्थिक गतिविधि सँग सम्बन्धित विषय सन्दर्भ आएको पाइन्छ । यस अवधिको लघुकथामा सरकारी एवम् निजी कार्यालयमा हुने गरेको भ्रष्टाचारजन्य क्रियाकलापप्रति व्यङ्ग्य गरिएको पाइन्छ । उच्चपदस्थ कर्मचारीले ठूल्ठूला सिद्धान्तका कुरा गर्ने तर पैसामा बिक्ने गरेकोमा सो प्रवृत्तिप्रति छेड हानिएको छ । व्यापारिक उपहारका नाममा जनता ठग्ने कार्यको विरोध गरिएको छ । व्यापारी वर्गले सरकारी कर छल्ने कार्यका साथै एनजीओका आर्थिक क्रियाकलाप पारदर्शी हुन नसकेको घटनालाई प्रस्तुत गरिएको छ । फाइनान्स कम्पनीका नाममा जनताको पैसा लिएर सिमित मानिसले मोजमस्ती गर्ने गरेको पाइन्छ । उनीहरूको सो कार्यप्रति तीव्र व्यङ्ग्य गरिएको छ । हाम्रो समाजमा मानिसहरूले पैसाका लागि अरूको अभिभावक बन्ने क्रियाकलाप गर्ने गरेकोमा उनीहरूको सो क्षुद्र कार्य देखाइएको छ ।
साठीको दशकमा आर्थिक विषयसँग सम्बन्धित लघुकथा लेख्ने प्रमुख लघुकथाकारमा नवराज रिजाल, कल्याण पन्त, रवीन्द्र समीर, गोरखबहादुर सिँह, डम्बर रसिक भारती, अगीब बनेपाली, कपिल लामिछाने, पुष्करराज भट्ट, चन्द्रप्रसाद न्यौपाने, कृष्ण शाह ‘यात्री’, किशन थापा ‘अधिर’, आरआर चौलागाई, भीम राना ‘जिज्ञासु’, सुमन सौरभ एवम् रामबहादुर बानियाँ क्षेत्री रहेका छन् ।
यस अवधिको नेपाली लघुकथामा आधुनिक सभ्यता अँगाल्ने नाममा विदेशीको नग्न संस्कृतिलाई अनुसरण गर्ने कार्यको विरोध एवम् व्यङ्ग्य गरिएको छ । उपभोक्तामुखी चरित्र अँगाल्ने र भोगविलासमा डुब्ने युवा पुस्ताका मानिसहरूको कार्यप्रति छेड हानिएको छ । आफ्नो जिम्माको काममा मेहनत गर्ने भन्दा विज्ञापनमा रमाउने प्रवृत्तिलाई देखाउनुका साथै त्यस्ता कार्यको फल नराम्रो हुने विचार व्यक्त गरिएको छ ।
साठीको दशकमा आधुनिक सभ्यतासँग सम्बन्धित लघुकथा लेख्ने प्रमुख लघुकथाकारमा कृष्ण शाह ‘यात्री’, कृष्ण बजगाई, कुसुम ज्ञवाली, श्रीओम श्रेष्ठ ‘रोदन’, सिन्धु गौतम, हरिप्रसाद भण्डारी, मित्र राजु पाठक, एलवी क्षेत्री, नारा जोशी, भीम राना ‘जिज्ञासु’, टंकराम सुनुवार ‘सिर्सेली’, डम्बर रसिक भारती, कृष्ण शाह ‘यात्री’, आरआर चौलागाई एवम् सुमन सौरभ रहेका छन् ।
१.५.४ भाषा–साहित्य एवम् शिक्षा क्षेत्र सँग सम्बन्धित लघुकथा
साठीको दशकको नेपाली लघुकथामा भाषा साहित्य क्षेत्रका गतिविधिलाई प्रमुख स्थान दिइएको छ । साहित्यकार वर्गले कार्यक्रममा सार्थक रचना भन्दा पनि झाराटारा रचना प्रस्तुत गर्ने कार्य प्रति छेड हानिएको छ । साहित्यिक कृतिमा रचना भन्दा भूमिका बढी हुने एवम् भूमिकाकारले पुस्तकमा भूमिका लेखे बापत पैसा लिने प्रवृत्तिप्रति घोचपेच गरिएको छ । साहित्यिक संस्थामा परिवारवाद कायम गर्ने, योग्य साहित्यकारलाई अपहेलना गर्ने कार्यप्रति विरोध गरिएको छ । कतिपय साहित्यकारको पुरस्कारका नाममा नचाहिँदो मरिहत्ते गर्ने एवम् चलखेल गर्ने कार्यप्रति व्यङ्ग्य गरिएको छ । साहित्यकार वर्गमा रहेको अनावश्यक प्रशंसा खोज्ने प्रवृत्ति एवम् जिम्मेवार निकायका तर्फबाट स्रष्टाहरूलाई अपहेलना गर्ने कार्यप्रति असहमति प्रकट गरिएको छ ।
भाषा–साहित्य विषयक लघुकथा प्रस्तुत गर्ने प्रमुख लघुकथाकारमा आरआर चौलागाई, श्रीओम श्रेष्ठ ‘रोदन’, रवीन्द्र समीर, डम्बर रसिक भारती, रमेश परियार, गोरखबहादुर सिँह, अगीब बनेपाली, कपिल लामिछाने, हरिप्रसाद भण्डारी, सनत रेग्मी, कृष्ण शाह ‘यात्री’, मणिकुमार पोखरेल, कृष्ण बजगाई, किशन थापा ‘अधिर’, कुसुम ज्ञवाली, एलवी क्षेत्री, सिन्धु गौतम एवम् रामचन्द्र नेपाल रहेका छन् ।
साठीको दशकको नेपाली लघुकथामा शैक्षिक क्षेत्रमा हुने गरेको अति राजनीतिकरण, गैरजिम्मेवारीपन, लापरवाहीपूर्ण क्रियाकलापप्रति व्यङ्ग्य गरिएको छ । आफ्नो जिम्माको काम पुरा नगर्ने शिक्षकका गतिविधि एवम् खेताला शिक्षक राख्ने कार्यप्रति समेत विरोध व्यक्त गरिएको छ । निजी क्षेत्रका विद्यालयले अभिभावकको आर्थिक शोषण गर्ने कार्यप्रति छेड हानिएको छ । विद्यार्थी वर्गले पढाई भन्दा राजनीतिप्रति चासो राख्ने गरेकोमा उनीहरूको उक्त कार्यप्रति समेत घोचपेच गरिएको छ ।
शिक्षा विषयक लघुकथा प्रस्तुत गर्ने प्रमुख लघुकथाकारमा लुमडी आचार्य, विजय सागर, अच्युत घिमिरे, श्रीबाबु कार्की ‘उदास’, दिलीप शाह, डम्मरूबल्लभ गड्तौला, सुशिला देउजा, रमेश भट्टराई ‘पुजारी’, गोपाल ढकाल, पदमप्रसाद शर्मा, रामबहादुर बानियाँ क्षेत्री, आरआर चौलागाई, डम्बर रसिक भारती, अगीब बनेपाली, कपिल लामिछाने, हरिप्रसाद भण्डारी, कृष्ण शाह ‘यात्री’, किशन थापा ‘अधिर’, एलवी क्षेत्री, सिन्धु गौतम एवम् रामचन्द्र नेपाल रहेका छन् ।
१.५.५ प्रशासन एवम् कानुन क्षेत्रसँग सम्बन्धित लघुकथा
साठीको दशकको नेपाली लघुकथामा प्रशासन क्षेत्रका गतिविधिलाई विषय बनाइएको पाइन्छ । नेपालको प्रशासनिक क्षेत्रमा रहेका कतिपय उच्च वर्गीय कर्मचारीमा रहेको भ्रष्ट एवम् अनैतिक क्रियाकलापप्रति छेड हानिएको छ । कर्मचारी वर्गमा रहेको आपसी अविश्वास, आशंकाका साथै ठूला कर्मचारीले साना कर्मचारीलाई दुःख दिने प्रवृत्तिप्रति व्यङ्ग्य गरिएको छ । कर्मचारी वर्गमा रहेको कामचोर एवम् अवसरवादी क्रियाकलापप्रति छेड हानिएको छ । कर्मचारीहरूले जनताको काममा ढिलासुस्ती गर्ने एवम् दुःख दिने कार्यलाई देखाइएको छ । हाकिमले साना कर्मचारीलाई हप्काउने, तर्साउने एवम् दुःख दिने कार्य गर्ने गरेकोमा उनीहरूको सो कार्यको समेत भण्डाफोर गरिएको छ ।
नेपालको प्रशासन क्षेत्रसँग सम्बन्धित लघुकथा प्रस्तुत गर्ने प्रमुख लघुकथाकारमा गोरखबहादुर सिँह, कपिल लामिछाने, हरिप्रसाद भण्डारी, ज्योतिप्रभा बिष्ट, डम्मरूबल्लभ गड्तौला, मित्र आभाष, मणिकुमार पोखरेल, बद्री पलिखे, एलवी क्षेत्री, आरआर चौलागाई, दिलीप शाह, कल्याण पन्त, हरिहर खनाल, श्रीओम श्रेष्ठ ‘रोदन’, सरस्वती रिजाल, प्रदिप प्रधान, माधव लामिछाने, अच्युत घिमिरे, सुमन सौरभ, कृष्ण बजगाई, पुष्करराज भट्ट, रवीन्द्र समीर, अगीब बनेपाली एवम् डम्बर रसिक भारती रहेका छन् ।
साठीको दशकको नेपाली लघुकथामा नेपालको न्याय कानुन क्षेत्रका घटनाले पनि स्थान पाएका छन् । बिग्रदो शान्ति सुरक्षा, जिम्माको काममा लापरवाही गर्ने कार्यप्रति व्यङ्ग्य गरिएको छ । पदको दुरूपयोगका घटनाका साथै भ्रष्टाचारजन्य क्रियाकलापप्रति समेत प्रहार गरिएको छ ।
आफ्ना लघुकथा रचनामा कानुन क्षेत्रका घटना एवम् क्रियाकलाप प्रस्तुत गर्ने प्रमुख लघुकथाकारमा साधना प्रतिक्षा, सिन्धु गौतम, महेश प्रसाई, देवेन्द्र अर्याल ‘आँश’ु, विनयकुमार कसजू, भीम राना ‘जिज्ञास’ु, राजुराम मुनंकर्मी, श्रीबाबु कार्की उदास, केशव प्रधान, बद्रि पलिखे, किशन थापा अधिर, कृष्ण बजगाई, रवीन्द्र समीर, गोरखबहादुर सिँह एवम् हरिप्रसाद भण्डारी रहेका छन् ।
१.५.६ विज्ञान, पत्रकारिता एवम् स्वास्थ्य क्षेत्रसँग सम्बन्धित लघुकथा
साठीको दशकको नेपाली लघुकथामा पत्रकारिता क्षेत्रका घटनाले पनि प्रमुख स्थान पाएको पाइन्छ । नेपाली लघुकथामा जनताको भन्दा राजनैतिक नेताको खबर बढी दिने, विज्ञापन दिनेको चाकरी गर्ने जस्ता क्रियाकलापप्रति घोचपेच गरिएको छ । आफ्ना आफन्तका मात्र रचना राखेर पत्रिका छाप्ने एवम् अश्लिल सामग्री प्रकाशित गर्ने कार्यप्रति व्यङ्ग्य गरिएको छ । आफ्नो पदको दुरूपयोग गरेर सम्पति आर्जन गर्ने कार्यप्रति छेड हानिएको छ । त्यस्तै निजी प्रकाशन गृहले श्रमजीवी पत्रकारको शोषण गर्ने कार्यप्रति समेत जोरदार व्यङ्ग्य गरिएको छ ।
आफ्ना लघुकथा रचनामा पत्रकारिता क्षेत्रका घटना एवम् क्रियाकलाप प्रस्तुत गर्ने प्रमुख लघुकथाकारमा हरिप्रसाद भण्डारी, सिन्धु गौतम, राजुराम मुनंकर्मी, अच्युत घिमिरे, डम्मरूबल्लभ गड्तौला, रसुवाली कवि, भीम राना ‘जिज्ञास’ु, राजुराम मुनंकर्मी, कृष्ण बजगाई, एवम् सुमन सौरभ रहेका छन् ।
स्वास्थ्य जनताको आधारभूत आवश्यकता हो । साठीको दशकको नेपाली लघुकथामा स्वास्थ्य क्षेत्रका गतिविधिलाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ । यस कालखण्डका लघुकथामा जनताको स्वास्थ्य सेवाको जिम्मा लिएका डाक्टरहरूले आफ्नो जिम्मेवारी भन्दा क्लिनिक धाउने गरेको घटनालाई प्रस्तुत गरिएको छ । जनताको आर्थिक शोषण गर्ने नर्सिङ् होमका कार्यप्रति व्यङ्ग्य गरिएको छ । आफ्नो जिम्माप्रति सम्वेदनशील नहुने, लापरवाही गर्ने एवम् निम्न वर्गका जनताप्रति विभेदपूर्ण व्यवहार गर्ने स्वास्थयकर्मीका कार्यप्रति घोचपेच गरिएको छ । यस कालखण्डका लघुकथामा अस्पताल भन्दा धामी झाँक्रीकहाँ धाउने जनताले जीवन गुमाउनु परेको घटना पनि आएको छ । सरसफाईप्रति ध्यान नदिने एवम् लापरवाही गर्ने मानिसहरूका कार्यप्रति छेड हानिएको छ ।
साठीको दशकका नेपाली लघुकथामा स्वास्थ्य क्षेत्रका घटना एवम् क्रियाकलाप प्रस्तुत गर्ने प्रमुख लघुकथाकारमा रवीन्द्र समीर, धनुषराज राई ‘राशी’, सिन्धु गौतम, ज्योतिप्रभा बिष्ट, राजुराम मुनंकर्मी, प्रदिप प्रधान, सुमन सौरभ, सुशिला देउजा एवम् लुमडी आचार्य रहेका छन् ।
नेपाली लघुकथामा विज्ञान क्षेत्रसँग सम्बन्धित विषय सन्दर्भलाई पनि समेटिएको पाइन्छ । यस समयका लघुकथामा विज्ञानको दुरूपयोग गर्ने मानवीय क्रियाकलापप्रति व्यङ्ग्य गरिएको छ । प्रविधिप्रति अत्यधिक निर्भरताका कारण मानिस विलासी एवम् कामचोर बन्दै गएको देखाइएको छ । हातहतियारको अत्यधिक उत्पादनका कारण मानिसले आफ्नो स्वास्थ्य बिगार्नुका साथै नरसंहारजन्य क्रियाकलाप बढेको प्रति चिन्ता प्रकट गर्नुका साथै छेड समेत हानिएको छ ।
आफ्ना लघुकथामा विज्ञान क्षेत्रका घटना एवम् क्रियाकलाप प्रस्तुत गर्ने प्रमुख लघुकथाकारमा गोरखबहादुर सिँह, पुष्करराज भट्ट, कृष्ण बजगाई, सुमन सौरभ, गोपाल ढकाल, आरआर चौलागाई, सरस्वती रिजाल, देवेन्द्र अर्याल ‘आँश’ु, टंकराम सुनुवार ‘सिर्सेली’ एवम् रमेश भट्टराई ‘पुजारी’ रहेका छन् ।
१.५.७ नेपाली लघुकथामा लोककथात्मक शैलीको प्रयोग
नेपाली लघुकथामा लोककथात्मक शैलीको प्रयोग पाइन्छ । लोककथा भन्ने शैलीमा प्रस्तुत गरिएका यी लघुकथामा विभिन्न बिम्ब–प्रतिकको समेत आयोजना गरिएको पाइन्छ । यी लघुकथामा राजनैतिक, सामाजिक एवम् सांस्कृतिक जीवनका अनेकन विकृत पक्षप्रति प्रहार गर्दै स्वस्थ समाजको कामना गरिएको पाइन्छ ।
नेपाली लघुकथामा लोककथात्मक शैलीको प्रयोग गर्ने प्रमुख लघुकथा लेखकमा विनयकुमार कसजू, सुमन सौरभ, हरिप्रसाद भण्डारी, कपिल लामिछाने, विजय सागर, गोरखबहादुर सिँह, सुमन सौरभ, रवीन्द्र समीर, सरस्वती रिजाल, अगीब बनेपाली, आरआर चौलागाई, एलवी क्षेत्री, महेश प्रसाई, देवेन्द्र अर्याल ‘आँशु’, अच्युत घिमिरे, षडानन्द पौडेल, बुद्धिनाथ ज्ञवाली, कुसुम ज्ञवाली, इन्द्रकुमार विकल्प, कल्याण पन्त, सिन्धु गौतम, कृष्ण बजगाई, केशव प्रधान, भरत भारद्वाज, रमेश भट्टराई ‘पुजारी’, गोपाल ढकाल, भूपेन्द्र सुवेदी रहेका छन् ।
१.५.८ नेपाली लघुकथामा स्वैरकल्पनाको प्रयोग
नेपाली लघुकथामा देखिएको एउटा प्रवृत्ति स्वैरकल्पना हो । यथार्थको आभास दिने खालको तर उडन्ते कल्पनालाई स्वैरकल्पना भनिन्छ । नेपाली लघुकथामा प्रतीकात्मकता वा स्वैरकल्पना प्रवृत्ति पछ्याउनेमा विनय कसजू, ध्रुव मधिकर्मी, रत्न कोजू, सुमन सौरभ, हरिप्रसाद भण्डारी, मुक्तिनाथ घिमिरे आदि हुन् ।
१.५.९ नेपाली लघुकथामा उखान(टुक्काको प्रयोग
हाम्रो समाजमा परम्परादेखि नै विभिन्न प्रकारका उखान, टुक्का भन्ने चलन पाइन्छ । उखान(टुक्काले भाषिक विशिष्टता एवम् अर्थगम्भिरता प्रदान गर्नुका साथै भाषालाई रसिलो एवम् घतिलो बनाउँछन् । नेपाली लघुकथामा उखान टुक्काका माध्यमबाट समाजमा रहेका विभिन्न किसिमका विसङ्गति प्रति व्यङ्ग्य गरिएको पाइन्छ ।
नेपाली लघुकथामा सबैभन्दा ज्यादा उखानको प्रयोग गर्ने लघुकथाकार देवेन्द्र अर्याल ‘आँशु’ हुन् । देवेन्द्र अर्याल ‘आँशु’ को लघुकथा कृति घाइते ईश्वरमा २० उखानको प्रयोग गरिएको पाइन्छ । यसरी नै विनय कसजू, कृष्ण शाह यात्री, श्रीबाबु कार्की ‘उदास’, दिलीप शाह, सुशीला देउजा, शर्मिला खडका दाहाल, अगीब बनेपाली, सरस्वती रिजाल, टङ्कराम सुनुवार, आर.आर.चौलागाई, कपिल लामिछाने, हरिप्रसाद भण्डारी, रवीन्द्र समीर, भूपेन्द्र सुवेदी, अच्युत घिमिरे, श्रीओम श्रेष्ठ ‘रोदन’, एलवी क्षेत्री, गोविन्द भट्टराई, लुमडी आचार्य, सुमनराज ताम्राकार, बद्री पलिखे, पुष्करराज भट्ट, साधना प्रतीक्षा, नारा जोशीका लघुकथा रचनामा पनि उखानका माध्यमबाट विभिन्न विकृति, विसङ्गतिप्रति व्यङ्ग्य गरिएको पाइन्छ ।
नेपाली लघुकथामा उखानका माध्यमबाट उच्च राजनैतिक नेतृत्वमा आफ्नो व्यक्तिगत लाभका लागि राष्ट्रहित विपरित काम गर्ने प्रवृत्ति एवम् स्थानीय राजनीतिकर्मीले समाजमा आफ्नो हैकम चलाउने र मनोमानी गर्नेे कार्यप्रति व्यङ्ग्य गरिएको छ । राजनीतिमा गलत मानिसले ठाउँ पाउने एवम् नेता कार्यकर्ताले आपसमा झगडा गर्ने गरेकोमा सो गलत प्रवृत्तिप्रति छेड हानिएको छ । राजनीतिकर्मीले सत्ता र शक्ति पाउन जे पनि गर्न तयार हुने क्रियाकलापप्रति समेत विरोध प्रकट गरिएको छ । साठीको दशकका नेपाली लघुकथामा उखान मार्फत समाजका विभिन्न क्षेत्रमा रहेको गलत चिन्तन, व्यवहार एवम् कार्यशैलीलाई उदाङ्गो पार्ने काम गरिएको छ ।
टुक्का लोक समाजमा लोकोक्तिका रूपमा रहेको छ । टुक्काको प्रयोग वाक्यलाई अर्थपूर्ण बनाउन र विशिष्ट अर्थ दिनको लागि गरिन्छ । यो उखानभन्दा सानो रूपको भएपनि अर्थचमत्कारपूर्ण र अभिव्यञ्जनामूलक हुन्छ । नेपाली लघुकथामा प्रयोग भएका टुक्काले भाषिक विशिष्टता एवम् अर्थमा गम्भीरता प्रदान गरेको छ ।
नेपाली लघुकथामा टुक्काका माध्यमबाट चुनावका बेलामा मात्र काम गर्ने राजनैतिक नेताको क्रियाकलाप देखाइएको छ । मानिसहरूमा रहेको अहङ्कार, क्षुद्रता, निरिहता, लोभलाभ, हिंसामुखी सोच, स्वार्थी क्रियाकलापलाई उदाङ्गो पारिएको छ । मानिसमा रहेको अवसरवाद, गैरजिम्मेवारीपन, धोकेबाज प्रवृत्तिका साथै अश्लिल क्रियाकलापलाई कथ्य सन्दर्भका रूपमा प्रस्तुत गरिएको छ ।
नेपाली लघुकथामा टुक्काको प्रयोग गर्ने प्रमुख लघुकथाकारमा सुमन सौरभ, कपिल लामिछाने, पोष चापागाई, विनय कसजू, रामविक्रम थापा, हरिप्रसाद भण्डारी, कल्याण पन्त, इन्द्रकुमार विकल्प, भीम राना ‘जिज्ञासु’, बद्री पलिखे, दिलीप शाह, रवीन्द्र समीर, पुष्करराज भट्ट, मुक्तिनाथ घिमिरे, अगीब बनेपाली, कुसुम ज्ञवाली, देवेन्द्र अर्याल ‘आँशु’ एवम् डम्बर रसिक भारती रहेका छन् ।
१.५.१० नेपाली लघुकथामा प्रयुक्त भाषिक विशेषता
साठीको दशकको नेपाली लघुकथामा विभिन्न भाषिक विशेषता पाइन्छन् । आफ्ना लघुकथा रचनामा बिम्ब–प्रतिकको प्रयोग गर्ने प्रमुख लघुकथाकारमा विनयकुमार कसजू, सुमन सौरभ, हरिप्रसाद भण्डारी, श्रीओम श्रेष्ठ ‘रोदन’ कपिल लामिछाने, दिलीप शाह, हिरण्य भोजपुरे, बुद्धिनाथ ज्ञवाली,, कल्याण पन्त, नवराज रिजाल, सरस्वती रिजाल, साधना प्रतिक्षा, रामचन्द्र नेपाल, महेश प्रसाई, विश्वराज अधिकारी, अगीब बनेपाली, पोष चापागाई, प्रदिप प्रधान एवम् बद्रि पलिखे रहेका छन् ।
यसरी नै नेपाली लघुकथामा विचलन, समानान्तरता, पर्यायकथन, विशेषणगुच्छको प्रयोग, दृष्टान्तिकरण, अलङ्कार एवम् नवनिर्मित क्रियाको प्रयोग जस्ता विभिन्न भाषिक पक्षको प्रयोग पाइन्छ । यस्ता भाषिक प्रयोगले रचनालाई कलात्मक, विशिष्ट बनाउनुका साथै भाषिक सौन्र्दय सिर्जना गर्दछ । साठीको दशकको नेपाली लघुकथामा हरिप्रसाद भण्डारी, साधना प्रतिक्षा, दिलीप शाह, सुमन सौरभ, नवराज रिजाल, कपिल लामिछाने, कृष्ण बजगाई, रवीन्द्र समीर, आरआर चौलागाई, कृष्ण शाह यात्री, किशन थापा ‘अधिर’, कुसुम ज्ञवाली, सरस्वती रिजाल, देवेन्द्र अर्याल ‘आँशु’, डम्बर रसिक भारती, गोरखबहादुर सिँह, श्रीओम श्रेष्ठ ‘रोदन, सिन्धु गौतम, पुष्करराज भट्ट, गोविन्द भट्टराई, भीम राना ‘जिज्ञासु’, बद्रि पलिखे, कल्याण पन्त, विनयकुमार कसजू, अगीब बनेपाली, गोरखबहादुर सिँह, अमित घिमिरे, मुक्तिनाथ घिमिरे एवम् पोष चापागाईका रचनामा विभिन्न भाषिक विशेषता पाइन्छन् । यी विशेषताले नेपाली लघुकथा रचनालाई कलात्मक एवम् सौन्दर्यपूर्ण बनाउनमा मद्दत पु¥याएको छ ।
१.६ साठीको दशकको नेपाली लघुकथा ः प्राप्ति एवम् सीमा
साठीको दशकमा नेपाली लघुकथाको व्यापक विस्तार भएको छ । यस अवधिमा करिब नब्बेको हाराहारीमा लघुकथाका कृति प्रकाशित भएका छन् । नेपाली लघुकथाको परिणामात्मक विकासका साथै यसको गुणात्मक विकास पनि भएको छ । नेपाली लघुकथामा नयाँ नयाँ प्रयोग एवम् प्रस्तुतिका नवीन शैलीको विकास भएको छ । साठीको दशकका नेपाली लघुकथामा नेपाली समाजका विभिन्न क्षेत्रका समस्या एवम् मानवीय भोगाइका अनेक पक्ष आएको छ । नेपाली लघुकथा लेखन विषयवस्तु सन्दर्भ प्रस्तुत गर्ने क्रममा आफ्नो दायरालाई फराकिलो बनाउँदै लगेको छ । अब लघुकथा लेखन राजधानी एवम् सुविधासम्पन्न क्षेत्रमा मात्र सिमित छैन । नेपालको दुर्गम क्षेत्रका स्रष्टाले पनि लघुकथा लेखनमा रूची देखाउँदै कृति प्रकाशन गरेका छन् । कामका लागि विदेश गरेका नेपाली नागरिकले पनि लघुकथा लेखन एवम् कृति प्रकाशनमा रूची देखाएका छन् । अब नेपाली लघुकथा लेखन भौगोलिक सीमा भन्दा पनि व्यापक एवम् विस्तृत भएर आएको छ ।
नेपाली लघुकथा लेखनमा आएको व्यापकताले नेपाली लघुकथा लेखनको गति बढाएको छ । नेपाली लघुकथा लेखनका सन्दर्भमा चुनौती पनि थपिएका छन् । नेपाली लघुकथालाई प्राज्ञिक एवम् बौद्धिक क्षेत्रमा प्रतिष्ठापित गर्नु आवश्यक छ । हालसम्म कथा र लघुकथा लाई एकै रूपमा बुझ्ने गरिएकोमा लघुकथाको फरक स्वतन्त्र अस्तित्व कायम गराउन लाग्नु पर्ने देखिन्छ । लघुकथा लेखनमा देखा परेको सतहीपनबाट बचेर सामन्य एवम् हल्का प्रस्तुति हटाएर गम्भीर एवम् प्रौढ अभिव्यक्ति दिने रचना सिर्जना गर्नु आवश्यक छ । आफ्ना लघुकथा रचनाको स्तर वृद्धितर्फ लाग्नु आजका लघुकथा लेखकका निमित्त थपिएको विशेष जिम्मेवारी हो । समसामयिक युगीन यथार्थको सशक्त प्रस्तुति गर्न नवीन शिल्पको प्रयोगका माध्यमबाट भाषिक सार्मथ्य एवम् विशिष्टता सिर्जना गर्न सक्नुमा नै नेपाली लघुकथा लेखनको सफलता हुनेछ ।
२. निष्कर्ष
नेपाली लघुकथाको विकासका दृष्टिले साठीको दशक अत्यन्त उर्वर रहेको छ । यस अवधिमा नेपाली लघुकथाको व्यापक विकास भएको पाइन्छ । संख्यात्मक मात्र नभएर गुणात्मक हिसाबले पनि नेपाली लघुकथाले आफ्नो पहिचान बनाइसकेको छ । अब नेपाली लघुकथाको भविष्य के होला ? भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन । नेपाली लघुकथालाई विषयवस्तुगत एवम् शिल्पगत दृष्टिले स्तरिय बनाउन तिर लाग्नु नै अबको नेपाली लघुकथा लेखनको चुनौती रहेको छ । चुनौतीबाट नै नयाँ अवसर सिर्जना हुने भएकोले यस चुनौतीलाई अवसरमा परिणत गर्दै नेपाली लघुकथा लेखनलाई गरिमामय एवम् स्तरयुक्त बनाउन सम्पूर्ण लघुकथा लेखकले लाग्नु पर्ने देखिन्छ ।
सन्दर्भ सामग्री सूची:-
अश्क. गोपाल. (२०६५). नेपाली लघुकथा ः सुत्र र पाठ. काठमाडौँ ः साझा प्रकाशन ।
कसजू, विनयकुमार.(२०६५). “लघुकथा ः गल्फदेखि झल्याँस्ससम्म”. प्रतिनिधि नेपाली लघुकथाहरू.
काठमाडौँ ः विवेक सिर्जनशील प्रकाशन प्रा.लि ।
गौतम. लक्ष्मणप्रसाद (२०६७). “लघुकथाको सैद्धान्तिक स्वरूप र नेपाली लघुकथाको सन्दर्भ”.
नेपाल प्रज्ञा प्रतिष्ठान र लघुकथा समाजको आयोजनामा भएको लघुकथा गोष्ठीमा प्रस्तुत कार्यपत्र. पृ. १–१२ ।
गौतम. लक्ष्मणप्रसाद र ज्ञानु अधिकारी. (२०६९). “नेपाली लघुकथाको विकासप्रक्रिया”. नेपाली
कथाको इतिहास. काठमाडौँ ः नेपाल प्रज्ञा प्रतिष्ठान ।
पोख्रेल. ईश्वरीप्रसाद. (२०५९). “नेपाली लघुकथाको परम्परा”. स्नातकोत्तर शोधपत्र. त्रिभुवन
विश्वविद्यालय. नेपाली केन्द्रीय विभाग. कीर्तिपुर ।
..... (२०६५). “नेपाली लघुकथा ः एक अध्ययन”. प्रतिनिधि नेपाली लघुकथा. काठमाडौँ ः विवेक
सिर्जनशील प्रकाशन ।
भट्ट. पुष्करराज. (२०७०). “उत्तरवर्ती नेपाली लघुकथामा व्यङ्ग्य”. दर्शनाचार्य शोधप्रबन्ध. त्रिभुवन
विश्वविद्यालय. नेपाली केन्द्रीय विभाग. कीर्तिपुर ।
लामिछाने. कपिल. (२०६४). “नेपाली लघुकथा र समकालीन सन्दर्भ”. मिर्मिरे–३६÷११. २७०. पृ.
१५२–१६९ ।
शर्मा. सुकुम. (२०५८). नेपाली व्याकरणको प्रारम्भिक इतिहास. काठमाडौँ ः निरन्तर प्रकाशन ।
श्रेष्ठ. दयाराम. (२०५६). “नेपाली लघुकथाको ऐतिहासिक पृष्ठभूमि तथा स्वरूप”. मधुपर्क ३२÷४.
३६२. पृ. १३–१६ ।
साठीको दशकमा प्रकाशित नेपाली लघुकथाका कृतिहरू ।
(यो कार्यपत्रमा नेपाली लघुकथा परम्परा एवम् विकासक्रमलाई देखाइएको छ । साठीको दशकको लघुकथा लेखन र सो समयमा लघुकथा लेखनका क्षेत्रमा देखा परेका प्रवृत्तिगत विशेषतालाई देखाइएको छ । यस अवधिमा नेपाली लघुकथाका क्षेत्रमा भएका उपलब्धि एवम् सीमाको अध्ययन गरिएको छ । यो कार्यपत्र तयार गर्न उपयोग गरिएका पुस्तक, पत्रपत्रिका एवम् अनुसन्धानात्मक कृतिलाई सन्दर्भ सामग्रीका रूपमा प्रस्तुत गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान गद्य/आख्यान विभाग र लघुकथा समाजको सहकार्यमा २०७० भाद्र ९ गते आयोजित लघुकथा गोष्ठीमा प्रस्तुत-संम्पादक)