19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नियात्रामा एउटा नयाँ मोड: युरोस्पर्श

कृति/समीक्षा सत्यमोहन जोशी April 25, 2014, 8:04 pm

नेपाली भाषाको नियात्रा साहित्यमा जति पनि पुस्तक लेखिएका छन् प्रायः ती गद्यमा नै देखा पर्छन् । तर, नियात्राकार वासुदेव अधिकारीद्वारा लेखिएको नियात्रा विधाकै यो युरोस्पर्श पुस्तक भने गद्य कवितामा हामी पाउँछौँ । अतः अधिकारीको यो नियात्रा कृतिलाई नेपाली काव्यको विकास क्रममा नियात्राकारलाई लेखकको रुपमा भन्दा कविको रुपमा उनका काव्यात्मक अभिव्यक्तिहरुलाई नियाल्नु प्रासङ्गिक हुनेछ ।

मुख्यतया कवि अधिकारीका काव्यात्मक भावनाहरु भित्रका गुदी भनेको प्रकृति (नेचर) नै हो । यसैले जब उनी कुनै नौलो पर्यटकीय स्थलमा आइपुग्छन् उनीभित्रका कवितात्मक भावनाहरु (पोइटिक इमोसन्स) आफसे आफ मग्मग वास्ना आउने गुलाफ झैँ फुल्न थाल्छन् र त्यतिबेला उनी प्रकृतिसित नजिकएर टाँसिन पुग्छन् । तदनान्तर प्राकृतिक परिदृश्यहरुको पृष्ठभूमिमा उनका कवितात्मक वर्णन र कल्पनाशीलता सङ्गीतमय बन्न पुग्छन् । एक त कवि अधिकारी स्वभावतः एक अत्यन्तै रसिलो र हँसिलो प्रकृतिका मान्छे, उनको हाँसोभित्रै पनि कविता सिर्जना भैरहेको प्रतीत हुने । अनि त के विदेशी मुलुकमै बसिरहेको भए पनि प्रकृतिप्रति उनको पहिचान हुने बित्तिकै भलाकुसारी शुरु भैहाल्छ, उनी आफू नेपाली मान्छे तर उनका लागि ‘वसुधैवकुटुम्वकम्’ चरितार्थ हुन थाल्छ । उनी आफ्नो नियात्राको क्रममा हल्याण्डका पुग्दा त्यहाँ ढुकुरसँग पनि मीत लाउन पुग्छन् र नेपाल र हल्याण्डको बीचमा सात समुद्रको दुरी भए पनि मितेरी पुल बनाउन पुग्छन्, यथा –

प्रिय ढुकुर !

बढ्दो जाडो

खस्दो हिउँ

भुत्लाले धान्छ तिम्रो ?

कसैले न्यानो बाँड्छन् तिमीलाई ?

के छ तिम्रो खान्की ?

किरा फट्यांग्रा

सबै हिउँले खाइसक्यो

पाकेका मकै गहुँ

मेसिनले काटिसके

हाम्रोमा झैँ

जमिनमा एउटै दाना खस्न पाउँदैन

के खान्छौ तिमी ?

कस्तो गीत गाउँछौ तिमी ?

हिँड बरु हाम्रो तिरै

जौ ऐँसेलु जामुन

भएको ठाउँतिरै

(हल्याण्डको ढुकुरसँग)

यतिबेला विश्वका विभिन्न मुहुकहरुमा आआफ्ना व्यवसायमा लागेका एनआरएन(गैर आवासीय नेपालीहरु) आफ्नो मातृभूमि नेपालको विकास र उन्नतिका लागि आफूहरुले अर्जेका सम्पत्तिका केही अंश नेपालमा लगानी गर्ने योजना तथा परियोजनाहरु बनाउँदै छन् । जस्तोः बैंक खोल्ने, विभिन्न स्तरका तारे होटल बनाउने, जलविद्युत उत्पादन केन्द्र खोल्ने आदि । तर कवि अधिकारी भने आफ्नो नियात्राको क्रममा जहाँ जहाँ पुग्छन् (फ्रान्स, स्वीट्जरल्याण्ड, जर्मन, हल्याण्ड आदि) उनी आफ्नो राष्ट्रको विकास कार्यमा (फर द डेभलपमेन्ट अफ नेशन) आफ्नो काव्य कृतिले एउटा नौलो उपाय पहिल्याउँछन् र आफूलाई हदै प्रभाव परेको तथ्य तथा मन लागेको एउटा सिङ्गो प्रविधि नै नेपाल भित्र्याउने जुक्ति सोच्छन् । जस्तोः हावा मिल(विण्ड मिल) कवितामा प्रकृतिकै काखमा हुर्केका डचहरुले आफ्नो हावा मिल चलाएर शक्ति (इनर्जी) उत्पादनमा अनेक उद्योगधन्दाहरुद्वारा आफ्नो देश समृद्ध बनाइराखेको देखेपछि कविको कलमले कवि सङ्कल्प प्रस्फुटन गर्न थाल्छन् ः

प्रिय डच !

उहिल्यैदेखि

कति जानेका तिमीले ?

कति बुझेका तिमीले प्रकृतिलाई ?

अक्कलको गहिरो सुरुङमा पसिरहन

कति सुरिएका तिमी ?

.......

कति जानेका तिमीले हावालाई कज्याउन ?

.........

कि हामीलाई पनि सल्लाह दिन्छौ ?

भय र अनिश्चयको हुण्डरी मथ्न

हावा मिल जडान गर्न !

(हावा मिल)

यात्राकै क्रममा कैयन् नेपालीहरु युरोपको फ्रान्स लगायतका मुलुकमा पनि पुगि सकेका होलान् तथा उनीहरुले फ्रान्सको त्यो चित्रमय पेरिस शहर पनि हेरि सके होलान्, अनि कति नेपाली नियात्राकारहरुले त्यहाँको सांस्कृतिक र कलात्मक वैभवबाट प्रभावित भएर आ आफ्ना सम्झनाहरु नियात्रा साहित्यमा उतारे पनि होलान् । यसै प्रसङ्गमा कवि वासुदेव अधिकारीले उतारेका पेरिस शहरको वर्णन र त्यस वर्णनले कविको हृदयलाई यसरी सम्पे्रषण गर्न पुग्दछ कि कविको स्थुल शरीर नेपालदेखि सात समुद्र परि पुगि राखेको भए पनि उनको सूक्ष्म शरीर तत्काल आफ्नो मातृभूमि नेपालतिर पुगि सकेको हुन्छ र उनी विश्व संस्था युनेस्कोको विश्व सांस्कृतिक सम्पदा सूची (वल्र्ड कल्चरल हेरिटेज)मा दर्ता भैसकेका काठमाडौँ उपत्यका भित्रका ललितपुर(पाटन) र भक्तपुरसँग पेरिस शहरलाई मीत लाइदिने प्रस्ताव प्रस्तुत गर्न पुग्छन् । यथा –

पाहुनालाई भात होइन

कला पस्किन्छ प्रत्येक घर

यो पेरिसमा

हावा होइन

भाव गङ्गा बहन्छ हरपल

छाम्यो– ढुङ्गाको मूर्ति

सुनाउँछ स्वतन्त्रताको गीत

हे¥यो– भावमय चित्र

सुनाउँछ विजयको सङ्गीत

अहो, कलै कलाको जङ्गल

भावै भावको सागर

अक्सिडाइज्ड भयो हाम्रो फोक्सो

विरेचन भयो हाम्रो हृदय

सोच्दैछु

पाटन र भक्तपुरसँग

मित लाइदिने कुरा

(कलाको जङ्गलमा)

अनि यस्तै यस्तै प्राकृतिक पृष्ठभूमिमा उनिएका कवि अधिकारीका काव्यात्मक स्फुरणहरुसँगै उनका नियात्राका अन्य देश वर्णन पक्षहरु पनि उत्तिकै रोचक देखा पर्दछन् । बार्थोल्डीसँग गनगन कवितामा त उनले स्वतन्त्रताको देवी नामक विश्व विख्यात मूर्ति (स्ट्याचु अफ लिवर्टी)को रचनाकारसँग साँच्चै जीवन्त तवरबाट वार्तालाप गरेका छन् । यसमा कलात्मक गहनता छ । युरोपकै एकताको प्रतीक युरो रेलको सफरमा उनले व्यक्त गरेका कवितात्मक सरल तर गहन अभिव्यक्तिहरु सानातिना भए पनि उचाइ र गहिराइमा बेजोड देखा पर्दछन् । जस्तोः

...

अन्त्यमा कवि वासुदेव अधिकारीको नयाँ कृति युरोस्पर्श सरसर्ती पढ्दै जाँदा युरोस्पर्श कृतिले ‘बिहे नगरेको भए पनि जन्ति चाहिँ गएको’ भन्ने उखानलाई चरितार्थ गराउँदै पाठकहरुलाई युरोपको भौगोलिक अवस्थिति, प्राकृतिक वैभव, सांस्कृतिक सम्पदा, उद्योग व्यवसाय आदिसँग स्पर्श गराउने आकर्षक शैली सिर्जना गर्नमा सफलता पाएको मैले आत्मानुभूति गरेँ । पुस्तक पठनीय र सङ्ग्रहणीय छ । नेपाली भाषाको काव्य ढुकुटीमा युरोस्पर्श एक नौलो उपलब्धि भएर रहनेछ भन्ने कुरामा म विश्वस्त छु ।

ललितपुर, बखुंबहाल

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।