17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

धरान

कविता भूपी शेरचन April 26, 2014, 4:29 am

अँगालेर आफ्नै पाखुराको लामो घेराभित्र

गोरखा पेन्सन क्याम्प

धरानले पनि अंग्रेजीका कवाज खेल्न थालेछ ।

धरानले लेफ्ट राइट् लेफ्ट राइट्

आइज् लेफ्ट र आइज राइट् गर्न थालेछ ।

अटेन्सनको मुद्रामा जड्वत् उभिएको धरान

र लेफ्ट राइट गर्ने धरानको फाइट पर्न थालेछ ।

एक पल्टज धरान लेफ्ट लेफ्ट लेफ्ट मात्र गर्दो छ

अर्को पल्टन धरान राइट् राइट् गर्दै सर्दो छ

अर्को व्रिगेड धरान अटेन्सन्को मुद्रामा जडवत् उभिइ

न अगाडि बढ्दो छ, न पछाडि सर्दो छ ।

माथिबाट झरेको केही सुन्तला र जुनार खाएर

ताप्लेजुङ्गे ढाका टोपी लगाएर

तलबाट उक्लेका केही दाना स्याउ र मोसम खाएर

धोती अथवा लुङी बेरेर

कवाज खेल्न नचाहने झन् ठूलो समूह

सिविलियन धरान

स्ट्यान्ड एट इज मा उभिन चाहेर पनि

आफूलाई एट् इज् मा नपाएर

आइज् राइट्

र अटन्सन् मा बाँडिएका आफ्ना अंगहरुलाई

मार्च पोस्टमा भाँडिएका आफ्ना मस्तिष्क र मनहरुलाई

चाहेर पनि एकजुट पार्न नसकी

दिक्दारी र हैरानीले

भइरहेछ निष्प्राण, सुन्दर शान्त धरान ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।