19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कविताको अन्तिम हरफ

कविता विजय देवकोटा April 29, 2014, 6:06 am
विजय देवकोटा
विजय देवकोटा

कलिलो मस्तिष्कलाई टन्टनी बाँध्ने शब्दहरु

टुकीको धिपधिप रहँदासम्म बुझ्नुपर्ने हरफहरु

पारी मैलुङमा कुकुरले बाघ लघार्दासम्म

जुनको उज्यालोमा खुट्याउनुपर्ने अर्थहरु

हो कवि :

तिम्रो कविता ल्किष्ट थियो

तर, रातरातभर तिम्रा कविता पढ्दा

कुकुरले बाघ लखेटेको थाहा पाउँथे

खुशी लाग्थ्यो मलाई –

म पनि त 'बाघ'को घेराबन्दीबाट उम्कन चाहन्थेँ...

भन्थे–

जहर घोलिएका शब्द नपढ्,

तर प्रिय कवि–

मलाई तिम्रा कविताहरु सँधै पियुष लागे

उनीहरु फेरि भन्थे–

व्यवस्थाले थिचेका जिउँदा लासहरुको स्वास नफेर,

फेरि मलाई लाग्थ्यो–

बारुदको धुँवाजस्तै पुत्पुताउने,

व्यवस्थाकै मथिंगल घुमाईदिने,

दुर्योधनहरुका लास,

कलमहरुका चिता र

अक्षरहरुका मन्त्र जोडिएको

एक ईतिहासको अन्तेष्टि विधी पढ्दैछु म

उनीहरु प्रतिवाद गरिरहन्थे...

महाभारतको ठेलिमा चेपाईएको

तिम्रो भुमीगत कविता–

सँधै मलाई चेपहरुबाट उठाउन खोज्थे,

खोरियाको सेपभित्र लुकाईका पानाहरु

मलाई सँधै पारिलो सूर्यको खोजिमा लम्काउँथे

प्रिय कवि–

ठेलिमा चेपिएका तिम्रा सृजना

चेपिएकाहरुका लागि रहेछ,

खोरियाको सेपमा ढडिएका पानाहरु

सेपिएकाका लागि रहेछ...

पटकपटक कविता नपढ् भन्नेहरुलाई

एकदिन गोठालोमा सुनाईदिएँ तिम्रा कविता

शब्दले आत्तिए तिनीहरु,

भाव बुझेर भागे उनीहरु

फेरि मैले जोडले सुनाईदिएँ कविता

बस्,फर्केर आए उनीहरु

किनकी,

तिम्रो कविताको अन्तिम हरफमा

उनीहरुकै 'मन' को कुरो थियो

आजकाल म

त्यस्तै अन्तिम हरफ राखेर

दुखियाहरुको कविता लेख्न खोज्दैछु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।