च्यातेर तिम्रा
गुलियो भातजस्ता आस्वासनहरु
उखालेर तिम्रा
झुसिला डकारजस्ता कर्तुतहरु
काट्छु धारिलो विद्रोह–चट्टानले
टुक्र्याउँछु विचार–हँसियाले र
ती छिद्रछिद्रहरुबाट एउटा
नूतन विद्रोहको सलाइकाँटी
छिराएर डढाउँछु तिम्रो
सामन्ती भेष,
तिम्रो राक्षसी देश
अव उदाउँदै गरेका
नयाँ अगरबत्ती–किरणहरुले
भगाउँछु तिम्रा मापसे दुर्गन्धहरु
तिमी तिम्रै भेषमा रहन्छौ भने
अव रहने छैन तिम्रो साँढेइतिहास
किनकि यो
होइन भस्माासुरहरुको युग ।
संभोग गरी नुनिला कर्णालीहरुलाई
दुशासन उमार्ने तिम्रा
राक्षसी कृत्य रहने छैनन् नयाँ आकृतिमा
किनकि
अव कुल्चेर तिम्रा
धुवाँकर्महरु
फोडेर दृष्टिघनले
तिम्रो सडेको मथिङ्गल
सबै तिम्रा कीरामित्रहरु झारिनेछन्
तातो भुमरी–बालुवामा
अनि सधैंका लागि जलाएर
तिम्रा कीराकर्मका चिताहरु
अव अनुष्ठान गर्छु नयाँ यज्ञको
र भगाउँछु तिम्रा कुरिकुरी पदचापहरु ।
गुप्तेश्वर बहुमुखी क्याम्पस, कुश्मा, पर्वत