18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जीवनको नाटकमा ससक्त अभिनय

कविता बसन्त श्रेष्ठ May 12, 2014, 3:38 am
बसन्त श्रेष्ठ
बसन्त श्रेष्ठ

जीवनको बहुरंगी ईन्द्रेणीको तरेलीमा

थुप्रै जीवनको नाटकमा अभिनय गर्ने

आतुर मनहरुको भीडमा उभिएर

धेरै संघर्षहरुका साथ सपनाको देशमा

समय र पैसा संग निरन्तर आफ्नो

सपनाको भूमिका साट्दै रह्यो |

सपना बुन्नु / सपनाको महल खडा गर्नु

अनि सपना प्राप्त गर्नु यस नाटकको अभिष्ट हो

प्रत्येक बिहान सुनौलो आशा बिश्वासमा परिभाषित गर्न उद्धत हुन्छ

सम्बेदनशील बनेर भाबना सजाउन थाल्छ

जब साँझ झर्दै जान्छ

भूमिका प्रभाबहिन बनेर घाम संगै डुब्दै जान्छ

प्रत्येक रात अलग भूमिका सजाउने सकल्प गर्छ

चिम्लेर आँखा भोलीको सुखको कामना गर्छ

यहि अभिनयको क्रम

निरन्तर चल्ने गर्छ यस नाटकमा |

एउटा यथार्थ जीवनको मनोकांक्षा पूर्ण गर्न

ईमान्दार बनेर भूमिका निर्वाह गर्ने चेष्टा गर्छ

तर समय चक्र संगै जीवनको नाटकमा

कुनै पनि भूमिका सफल बन्न सकिरहेको देख्दैन |

पुर्खाको पुस्तौनी धरोहरमा प्राप्त भूमिका

नया पुस्ता निर्माण संगै अलग भएकोछ

नया पुस्तालाई जीवन्त राख्न

नया पुस्ताको भाबना साच्न

अनि एउटा सार्थक जीबन बाच्न / कती कठिन लाग्छ

कहिले कहीं कोशिस गर्ने गर्छ

नाटकको मध्यान्तरमै पटाक्षेप गर्न

तर अहँ ! मधौरो टुकीको सहारामा उज्यालो भविष्यको आशमा

जीवनको नाटक चलिरहन्छ

शसक्त अभिनय गर्न प्रयत्नरत बन्छ

उ जीबन खोज्दैछ यस भूमिकामा

हरदम प्रयत्नरत छ न्याय गर्न यस भूमिकामा

आफ्नो जिजीबिषाको लागि / आफ्नो भविष्यको लागि

उ हार कदापी मान्दैन / हार मान्न जान्दैन पनी

उ प्रष्ट छ जीवनको नाटकमा उज्यालो पर्याप्त छ

अनि उनको भूमिका अपरिहार्य छ

त्यसैले बाध्य बनेर शसक्त अभिनय गर्न

ऊ खुशी छ यस भूमिकामा |

भर्जिनिया, अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।