ममतामयी आमाको काखबाट भर्खरै यहाँ आएँ
आँखामा उर्लेका अश्रुधार बगाउंदै भारी मनले आएँ
कुप्रिएका ढाडमा आश्वासनको धाप दिंदै विदा मागें
अब भेट हुने हो कि नहुने हो भन्ने त्रास बोक्दै आएँ
उनको चाउरिएको मुहारमा संघर्षका रेखा पाएँ
बाबाको सम्झनामा दुखित भएको पवित्र मन पाएँ
वैधब्यको भार बोकी थकित अनि एक्लो भएको चाल पाएँ
कमजोर हातको कम्पनमा न्यानो स्पर्श पाएँ
आमाको मुहार हेर्न पाएँ सन्तोष यही भयो मलाई
शीतल आशीर्वादको छाया बोकी पतालनगरी आएँ
झझल्को आइरहन्छ मुहार उनको परदेशी चेलीलाई
कसरी पो बाँचु आमाको पीर छटपटी लाग्छ मलाई
ममत्वको आभाष शीतल छहारी झैं लाग्छ मलाई
ओठमा मुस्कान उनको देख्न पाए धन्य ठान्छु आफूलाई
जननी, माता, आमा जे भनुँ पर्यायवाची शब्द हुन्
यो जुनीमा कष्ट उनको हर्न पाए सार्थक ठान्नेछु आफूलाई
मेरिल्याण्ड