यहाँ कहिलेकाहि त अहो ! समय नै रिसाउँछ रे ।
रुवाउँछ त कहिले समयले नै हसाउँछ रे ।
यी मान्छेहरुका जमातमा कसैलाई उक्साउँछ
छट्पटी ल्याउँछ कतै कसैलाई फसाउँछ रे ।
अदृश्य रुपमा त लौ ! यहाँ जन्मसँगै मृत्यु पनि
कहिल्यै नछुट्ने गरी भाग्यरेखामा नै टसाउँछ रे ।
नियतीको खेल नै यस्तो ! कोही टाढा भइदिँदा त
भक्कानो फुटी यो हृदयमा, यी आँखाहरु रसाउँछ रे ।
जानीबुझी समयले नै त मायाको खेल खेली
उठ्नै नसक्ने गरी धेरै तल–तल खसाउँछ रे ।
समयको अगाडी कसको के नै जोड चल्छ यहाँ
कात्रोमा कसाउँछ अनि माटो मुनि धसाउँछ रे ।