19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

लाल “अन्जान” जी ?

कविता गाेपाल देवान May 15, 2014, 6:29 pm

आँधी–बेहरीहरु अझै बाँकी नै छन्

अविश्वासको अचानोमा सपनाहरु थाँती नै छन्

दोबाटोमा पुगेर उभिएको छ जिन्दगी

कुनै निकास छ कि लाल ‘अन्जान’ जी ?

बैंसमा जिन्दगी इन्द्रकमल लाग्दो रहेछ

मनका पाखाभरि कुर्कुरे रहर जाग्दो रहेछ

असीनाले निर्घात कुटेपछि

ऐनाजस्तै रहरहरु फुटेपछि

सिस्नोको ओछ्यान हुँदो रहेछ जिन्दगी

कुनै औषधि छ कि लाल ‘अन्जान’ जी ?

यतिखेर मनका रहरहरु निर्वासित भएका छन्

मनको कुर्सीमा जहरहरु निर्वाचित भएका छन्

खुशीहरु मुग्लानतिरै भासिएपछि

भष्मेजस्तै इच्छाहरु मासिएपछि

कोक्रोमा हल्लिएजस्तो कहाँ हुँदो रहेछ र जिन्दगी

कुनै जवाफ छ कि लाल ‘अन्जान’ जी ?

लामो समयदेखि

रातविरुद्ध युद्धको घोषणा गरिएको छ

भर्खरै÷भर्खरै

नाम्सालिङको कापबाट बिहानीको पूर्वाभास छरिएको छ

बिद्रोहको ऐलान गरेपछि

संकटकालजस्तो रात टरेपछि

पहारिलो घामको पर्याय हुँदो रहेछ जिन्दगी

कुनै आशंका छ कि लाल ‘अन्जान’ जी ?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।