19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जिन्दगीको खोजी

कविता प्रभु विवश May 15, 2014, 6:44 pm

म आजकाल

बेखबर छु मेरो आफ्नै जिन्दगी बारे

मेरो जिन्दगी मै सँग हुनुपर्ने

तर उ मसँग छुट्टीएर

कहाँ कस्तो अवश्थामा छ

म अनविज्ञ छु

मेरो आफ्नै जिन्दगी बारे

म बेखबर छु ।

आज म

म जस्तो छैन

मैरै जिन्दगी मेरो जस्तो छैन

आफैबाट पराई जस्तो

निरस लाग्दो खै कस्तो कस्तो ?

न कुनै लक्ष्य

न कुनै गन्तव्य

अर्थ हिन यात्रा

निरन्तर चलिरहेछ

न अल्पविराम न पूर्णविराम

यो यात्रा अविराम अविराम

अविरल बगिरहेछ

हिड्दा हिड्दै कतै हराए जस्तो

आफैसँग डराए जस्तो

कस्तो कमजोर जिन्दगी

कस्तो फिक्का खरानी जस्तो

उराठ लाग्दो मरुभुमी जस्तो

मरुभुमी मै चल्ने वतास जस्तो

भत्भत् पोल्ने बालुवा माथी

पानी खन्याए जस्तो

धेरै भयो पोखिएको मेरो जिन्दगी

आज सम्म हराईरहेछ ।

उसले मरुभुमीमा

हरियाली खोजेको होला

रसिलो ओसिलो र शितलता खोजेको होला

आफै हराएर , विलाएर , खिईएर , सिद्धिएर..

उ मरुभुमलाई

हरियाली बनाउन चाहान्छ की ?

हराभरा सुन्दर बगैचा बनाउन चाहान्छ की ?

हुन त उ मसँग भन्थ्यो

यो मरुभुमीलाई उर्वरा भुमि बनाउनु पर्छ

उ यतिखेर कतै त्यहि उर्वरताको मूल खोज्दै छ की

झिनो आशा भएपनि

पूर्ण बेखबर छु

हुन सक्छ

उ उर्वरताको मूल खोज्दै होला

तर म

आफ्नै जिन्दगी बाट टाढीएर

आफ्नै जिन्दगीको खोजीमा छु

म उसलाई खोजिरहेछु

बेखबर, अनविज्ञ

म उ विना अपूर्ण छु

यो मेरो आफ्नै जिन्दगीको खोजी हो

म मेरो वास्तविक जिन्दगी

सुन्दर भरिलो र अर्थपूर्ण जिन्दगी

अनवरत खोजिरहेछु ।

सित्तलपाटी ६ सिन्धुली , हाल मन्थली देवकोटा चोक

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।