14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

यात्राभित्रको यात्रा

नियात्रा डा. टीकाराम पोखरेल May 15, 2014, 1:58 pm

डेनमार्कको कोपेनहेगनमा हुने मानवअधिकार तालिममा सहभागी हुन जाने क्रममा म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा बेलुकाको आठ बजिससकेको थियो । रातको ११ बजे काठमाडौँबाट उड्ने कतार एयरवेजको जम्बोजेट जहाज समात्नु थियो हामीलाई । तर जहाज जत्तिकै जम्बो हाम्रो टोली पनि त थियो । जम्बो टोलीका सबै सदस्य किन आइपुग्थे भनेको समयमा । आखिर हामी नेपाली न प¥यौँ, समयमै आइपुगेर आफ्नो महत्व घटाउनु पनि भएन । त्यसमाथि कोही पाटनबाट आउनुपर्ने त कोही जोरपाटीबाट, कोही भक्तपुरबाट त आइपुग्नुपर्ने त कोही बालाजुबाट । २० जनाको जम्बो टोली सबै जम्मा हुँदा झण्डै ९ बजिसकेको थियो । अगाडि विमानस्थल आइपुगेकाहरु आउन बाँकी टोली सदस्यहरुको प्रतीक्षामा थिए तर पछाडि विमानस्थल आइपुगेकाहरु भने हतार हतार काउण्टर चेक गराउँदै थिए । मानौँ कि अगाडि चेक गराउनेलाई जहाजले छिटो डेनमार्क पु¥याउँछ ।

‘नमच्चिने पिङ्को सय झड्का’ भन्ने उखान हाम्रा पुर्खाले यही त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जाँचलाई फिट हुन्छ भनेर नै बनाएको हो कि भन्ने भान भयो । जति तामझामका साथ धेरै ठाउँमा सुरक्षा जाँच ग¥यो त्यति धेरै सुरक्षा हुन्छ भन्ने भ्रम नेपालका सुरक्षाकर्मीलाई अझैँ बाँकी रहेछ । विदेशमा गएर उच्च सुरक्षा सतर्कता सम्बन्धी तालिम लिएको भन्छन् तर कसले सिकाएछ कुन्नि यस्तो सुरक्षा जाँच यिनीहरुलाई, एउटै मान्छेलाई पटक पटक जाँच्ने । हामी पनि पटक–पटक जाँचियौँ । आफ्नो लागि होइन अर्काको लागि जाँचियौँ । हामीलाई राम्रोसँग सुरक्षा जाँच गरेको भनेर उनीहरुका हाकिमले बढुवा वा पुरस्कार पाउनको लागि हामी पटक–पटक जाँचियौँ ।

पटक–पटक लाइन लगाएर खानतलासी गर्दै गरेको देख्दा लाग्यो, हामी आफ्नैहरुबाट शङ्काको घेरामा छौँ । यी हाम्रा सुरक्षा अधिकारकीका लागि मानौँ हामी अमेरिकी ट्वीनटावर पड्काउन हिँडेका ओसामा बिन लादेनका मान्छे हौँ । अथवा हामी अण्डरवल्र्ड डनहरु छोटा राजन र दाउद इब्राहिमलाई सघाउन अरबतिर हिँडेका हौँ । होइन भने यिनीहरु हामीलाई किन यस्तो काइते सुरक्षा जाँच गरिरहेका छन् । जहाँ तस्करलाई चाहिँ स्यालुट मार्दै पठाएर हामी सोझासाझालाई चाहिँ चेकजाँचका नाममा ठाउँ ठाउँमा लस्कर लगाइरहेका छन् । तालिवानीहरुले काठमाडौँबाट इण्डियन एयरलाइन्सको विमान अपहरण गरी कान्धाहार पु¥याउँदा हाम्रा सुरक्षा अधिकारीकोे निकम्बापना देखिएको थियो । त्यही लाज पचाउन हामीलाई लाइन लगाइरहेका त छैनन् ? भन्ने प्रश्न पनि मनमा उठ्यो । किन अरुलाई सास्ती दिएर हाम्रा सुरक्षा निकायहरु विश्वकै उत्कृष्ट सुरक्षाको नमूनाको ढोँग रचिरहेका छन् । किन यस्तै ढोँगी कुरामा आत्मरति गरिरहेका छन् ?

जहाज उड्यो । चार घण्टाको हवाइयात्रा पार गरी हामी कतारको दोहा इन्टरनेशनल विमानस्थलमा अवतरण गर्दा स्थानीय समयअनुसार रातको २ बजेको थिथो । विमान बाहिर निस्कनासाथ अधिकांश यात्रु आ–आफ्नो गन्तव्यतिर लागे, तर हाम्रो टोली ? हाम्रो २० जनाको संयुक्त टोली, अर्थात् हामी बीसेहरु । केही आँखा झिमिक्क नगरेका, कोही अर्ध निन्द्रामा, कोही झोला भिरेका, कोही झोला लगेजमा पठाएर परेडको सिपाही झैँ हात हल्लाउँदै हिँडेका, कोही अर्धनिन्द्रमा पनि फुरुक्क परेका कोही चुस्स अनुहार लगाएका । थरिथरि मान्छे थरिथरि अनुहार, गन्तव्य एउटै यात्रानुभूति फरक ।

टर्मिनल भवनको गेटमा पस्नेबित्तिकै हामीलाई विमानस्थल सुरक्षा गार्डले इशारा ग¥यो यता लाइन बस्नुस् । फेरि उही सुरक्षा जाँचको कुरा रहेछ । सानामा आफूले भेडा चराएको सम्झिएँ । त्यसबेला हामी भेडालाई जता मन लाग्यो उतै लगाउँथ्यौँ । भेडाको बथानमा एउटा कुकुर पनि हुन्थ्यो, भेडाको सुरक्षा गर्ने । विचारा ती भेडा, हाम्रो हातमा भएको लठ्ठीले जताजता हिँड्न सङ्केत गथ्र्यो त्यतैत्यतै हिँड्थे । अहिले हामी भेडा भैरहेका थियँौ । यता लाइन बस भन्दा यतै बस्ने उता जा भन्दा उतै जाने । हरेक ठाउँमा हाम्रा पर्स, बेल्ट, पेनड्राइभ, क्यामेरा, चस्मा सुरक्षाको विशेष निगरानीमा परेको देख्दा नौलो लागिरहेको थियो, के चाहिँ हो रहस्य भन्ने । यस्ता सामान हाम्रो शरीरबाट निकाली चेकजाँच गरिन्थ्यो । भेडाको सुरक्षा कुकुरबाट गराउने म बबुरोलाई के थाहा पेनड्राइभ, बेल्ट, पर्स, क्यामेरा र चस्माले आतङ्क मच्चााएका कथाहरु । हुनसक्तछ यिनले कतै आतङ्क मच्चाएका थिए कि ?

‘सुरक्षा जाँच गर्दा पाइन्टको बेल्ट खोल्न लगाए झैँ सुरुवालको इँजार नै खोल्न लगाए मेरो हालत के होला हँ ?’ जम्बो टोलीकी कुर्तासुरुवालवाली एक सदस्यले भनिन् । सबै गलल्ल हाँसे । वातावरण एकाएक रमाइलो भयो । अर्धनिन्द्रमा लाइन बसेकाहरु पनि चङ्गा जस्ता भए । कस्तो मान्छेको जात पनि उल्फट्याङ कुरा नगरी रमाउनै नसक्ने । जे होस् हाम्रा बेल्ट र चस्मा मात्र होइन हामी पनि जाँचियौँ तर नेपालमा जस्तो पटकपटक चाहिँ होइन । चेक जाँच कडै भए पनि एक ठाउँमा भए पछि सकिने । थोरै काममा धेरै परिणति त्यस्तो पो सुरक्षा त ।

दोहा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनमा यत्रतत्र छरिएका हामी त्यहाँ न हराएका नपाएका जस्ता थियौँ । बाटो बिराएका यात्री भनौँ भने ६ घण्टापछि कोपेनहेगन उड्ने बोर्डिङ पास हाम्रो हातमा थियो, बाटो पाएका भनौँ भने ६ घण्टा ट्रान्जिटमा कसरी बिताउने भन्ने कुनै योजना थिएन । के नै गर्नु र, कि त हल्ला गर्ने कि त फोटो खिच्ने । कोही फेरि उही बेल्ट इँजारका कुरा गरेर बेपर्वाहसँग हाँस्ने, अरुलाई डिष्टर्व होस् कि जेसुकै होस् । त्यसो त कोही भने पूरै जीऊ छाडेर मजाले कुर्सीमा सुतेका थिए । बेल्ट खुृस्कियोस् कि इँजार तिनीहरुलाई कुनै मतलब थिएन । अर्कै संसारमा रमाइरहेका थिए कुम्भकर्ण निन्द्रा भएकाहरु । विमानस्थलभरि यत्रतत्र नेपाली सुरक्षागार्ड हेर्दा हामी नेपालमै छौ कि अथवा कतार पनि नेपाल भैसकेछ भन्ने अनुभूति भैरहेको थियो । ६ घण्टाको टान्जिटमा सबैले सबै गर्न भ्याए, जजसका जे जेच्छा थिए । कोषराज टोलीनेता बने, मुरारी टुक्का भन्न थाले, हरि, बासु र भीम मजाले निदाए, सूर्यले फोटो खिच्न भ्याए । श्रीरामले खैनी खाए, घनश्यामजीले चुरोट उडाए, नीतु र सम्झनाले ड्युटी फ्री सपमा सामानको भाऊ सोध्न भ्याए, मन्दिरा दङ्ग परिन् । गीताजीले काठमाडौँबाट बोकेको चाउचाउ र दालमोठ बाँड्न म्याइँन् । मैले चाहिँ ल्यापटप खोलेर आफू दोहा एयरपोर्ट पुगको स्टाटस राख्न भ्याएँ ।

अर्को दिन दोहाबाट बिहान ७ बजे जम्बो जेट चढी कोपेनहेगनको लक्ष्य तय गर्दा जेट विमानका झ्यालहरुबाट पृथ्वीका अनौठा दृष्यहरु देखिए । ३५ हजार फिट माथिबाट तल धरातलमा चियाउँदा मानवबस्तीको अवशेष कतै पनि देखिएन, बालुवा शिवाय । बालुवैबालुवाको पट्यारलाग्दो मरुभूमि रहेछ । हेरिरहँदा मरुभूमिमै टेके जस्तो लाग्यो । कता कता उकुसमुकुस भयो । जहाज बातानुकुलित भए पनि गर्मी पो भए जस्तो लाग्यो । तर केही छिनमै ती विशााल मरुभूमि हाम्रा आँखाबाट बिलाए । मानौँ कि अब ती मरुभूमि हाम्रो बिदाइ गरेर अरु हवाइयात्रीको स्वागतमा लागे । निरन्तर निरन्तर । चलिरहेछ मरुभूमिको दिनचर्या । आकाशमा उडेका विमानहरुको स्वागत र बिदाइ गरेर ।

मरुभूमि सकिँदा नसकिँदै हामी समुन्द्रमाथि उड्न थालिसकेका थियौँ । सिटअगाडिको भिडियो स्क्रिनले जहाज उडेको लोकेशन बताउँदै थियो । हामी ‘ब्ल्याक सी’ प्रवेश गर्दैँ छाँै । ओहो कस्तो नाम नै डर लाग्दो ‘ब्याक सी’ अर्थात ‘कालो सागर’ । जेट विमानको भ्mयालतर्फ हाम्रा क्यामेराहरु घुमे ‘ब्ल्याक सी’को रोमाञ्चकारी दृष्य कैद गर्न । तर आँखाले त नभ्याउने त्यति तलको दृष्य किन भ्याउँथ्यो हाम्रा खेलौना जस्ता क्यामेराले । त्यसमाथि हामी फोटोग्राफर पनि उही आलु क्यामेरा खेलाउने जस्ता थियौँ । लाइट, फोकस, दृष्य केही मिलाउनु छैन खिचिक्क खिचिक्क भने मिनेटै पिच्छे गरिरहने । हाम्रो दर्जनौँ खिचिक्कभित्र कुनै दृष्य आएन अन्धकार शिवाय । सायद कालो समुन्द्र भएकाले पनि हो कि ? नीलो समुन्द्र भए आउँथ्यो कि ? फोटो नआएको निराश मुडमा साचेँ, प्रकृतिको लीला अपरम्पार छ । अन्यत्र समुन्द्र निलो देखिने त्यहाँ कालो । के पानीको पनि रङ् हुन्छ ? तर उत्तर कसले दिने मलाई । सोच्दा सोच्दै कालासागर माथिबाट हाम्रो जहाज युरोपतिर प्रवेश गरिसकेको थियो ।

जीवनलाई धेरैले धेरै तरिकाले बुझ्दछन् । अनुभव र अनुभूति हो रे जिन्दगी पनि भन्छन् कोही । कोही भन्छन् जीवन त सम्झौताको दस्तावेज पो हो त । जिन्दगीका परिभाषा कति छन् कति तर सर्वसम्मत छैनन् । त्यसैले त जीवन अमूर्त छ भन्छन् भन्नेहरु । कोही जीवन शून्य देख्छन् कोही पूर्ण । कोही जीवनलाई उर्जा देख्छन् कोही जीउँदैमा मूर्दा । वास्तवमा जीवन पढ्न सजिलो छ तर बुझ्न ज्यादै गाह्रो । मेरो बुझाइमा चाहिँ जीवन आफैँमा एउटा यात्रा रहेछ । रोमाञ्चक बुझ्नेलाई रोमाञ्चक यात्रा, कठिन बुझ्नेलाई कठिन यात्रा । लामो बुझ्नेलाई लामो त छोटो बुझ्नेलाई छोटो यात्रा । जीवनको यात्रा खुला किताब जस्तै छ । खुला किताब सबैले पढ्छन् । पढ्दै जाँदा पानाहरु पल्टाउँदै जान्छन् । तर पढेका जति सबै पाना सबैले बुझ्दैनन् । जो बुझ्दैनन् तिनीहरुले नबुझ्नुलाई नै जीवन पनि त ठानिरहेका छन् नि । नबुझ्नुलाई नै जीवन बुझ्नु पनि त जीवनप्रतिको एउटा बुझाइ नै त हो नि ।

जीवनलाई नै यात्रा बुझ्ने मलाई युरोपतिरको यात्रा चाहिँ यात्राभित्रको यात्रा जस्तो लागिरहेको छ । हो हामी यात्राभित्रको यात्रामा छौँ । विज्ञान र प्रविधिले निर्माण गरेको भौतिक संरचनाको साम्राज्यमा प्रवेश गर्दै छौँ हामी । सभ्यताको राजधानी ताक्दै छौँ हामी । सभ्यताको राजधानीको लक्ष्य धेरैलाई रमाइलो लागिरहेछ । कतिलाई गर्व पनि भैरहेको छ युरोपीय भूमि टेक्न पाएकोमा । तर मलाई कता कता खल्लो अनुभूति भैरहेछ । इतिहासको गौरवशाली सभ्यता भएका हामी आर्यनहरु आज किन आधुनिक सभ्यताको प्रदर्शनी हेर्न तँछाड मछाड गरिरहेका छौँ हँ ? के हाम्रो गौरवाली सभ्यताको चाहिँ कुनै अर्थ छैन र आधुनिक युगको विकासका लागि ? के कंक्रिटको संरचना नै हो त आधुनिकताको द्योतक ?

हो भौतिकतालाई सभ्यता र आधुनिकता देख्नेहरुका लागि युरोप भूस्वर्ग जस्तो लाग्छ । मरेपछि मात्र स्वर्ग देखिन्छ भन्ने हामी जस्ता पछौटे बुझाइ भएकाहरुलाई जिउँदै स्वर्ग देख्ने हो भने त्यो स्वर्ग युरोप अमेरिका नै रहेछ । मरेपछि देखिने स्वर्ग जिउँदै देख्न पाउने भएपछि को तँछाड मछाड नगर्ला ? हामी अरुले बनाएको भूस्वर्ग हेर्न मात्र तँछाडमछाड गरिरह्यौँ, हाम्रो मातृभूमिलाई भूस्वर्ग गराउने अभियानमा कहिल्यै लागेनौँ । युरोप त्यत्तिकै विकासको टाकुरामा पुगेको होइन । हामीले १० वर्षे द्वन्द्व भोगेभन्दा पनि भयानक विश्वयुद्धको महामारी युरोपले पनि नभोगको होइन । तथापि विकासको बलियो जग, परिश्रम, लगनशीलता र इमान्दारीताले गर्दा नै ध्वस्त संरचना पनि छिटै पुनर्निर्माण गरे । नयाँ नयाँ विकास गरे । युद्धबाट नकारात्मक र सकारात्मक धेरै कुरा सिके । नकारात्क जति थिए त्यसबाट भविष्यमा युद्ध गर्न नहुने रहेछ भन्ने पाठ सिके । सकारात्मक जति थिए त्यससबाट परिवर्तनको अनुभूति गरी आज विश्वलाई नै विकासको नमूना देखाउन युरोपियनहरु सफल भए ।

युरोपको विकास र प्रगतिको कुरा सोच्दासोच्दै कोपेनहेगन विमानस्थलमा अवतरण गर्नका लागि हाम्रो जहाज माथिबाट तल झर्दै जमिनबाट निकै नजिक आइसकेको थियो । कोपेनहेगन विमानस्थल समुन्द्री किनारमै अवस्थित छ । विमान धेरै तल झरिसक्दा पनि समुन्द्र देख्दा लाग्थ्यो विमान समुन्द्रमै अवतरण गर्दै छ । तर विमानले समुन्द्र छोड्दा नछोड्दै विमानस्थलमै ओल्र्यो हाम्रो विमा र हामी पनि ओर्लियौँ ।

आखिर जतिसुकै सभ्यता, आधुनिकता, मानवता र विकासका कुरा गरे पनि युरोपियनहरुको एसियनहरुप्रति हेर्ने दृष्टिकोण दरिद्र हुँदो रहेछ । अध्यागमन पार गर्न लाइन बसेका हामीलाई डेनमार्क अध्यागमन अधिकारीले पर्खाए । पहिले अरु (जो युरोपियनहरु थिए) को अध्यागमनको काम सकाउनतिर लागे । अध्यागमन अधिकारीले इसारा गरे अनुसार लाइनमा बसेका हामी लाइन छोडेर छेऊ लाग्न बाध्य भयौँ । ठूलो टोली देख्ने बित्तिकै तिनीहरुलाई लाग्यो होला हामी तिनीहरुको देशमा शरणार्थी हुन गएका हौँ । कताकता हिनताबोध पनि भयो । कार्यक्रममा भाग लिन पो आएको त, त्यो पनि मानवअधिकारको, अपमान सहन त आएको होइन नि । हामी केही बीच खासखुस पनि चल्यो । आखिर देश अर्काको, कानुन अर्काको, सरकार अर्काको, सबै अर्काको । हाम्रो आफ्नो भन्ने त्यहाँ हामी आफू बाहेक कोही पनि थिएन । मानवअधिकारको सीमारेखा हुँदैन भनेर आफ्नो देशमा ठूला ठूला स्वरमा कराउने हाम्रा स्वर त्यहाँ निन्याउरा भैसकेका थिए । कतै विमानस्थलबाटै फर्काइदिने त होइन भनेर कतिको मुटुमा ढ्याङ्ग्रो पनि ठोक्न थालिसकेको थियो । तर फर्काएन । तिनीहरुले शङ्का गरे बमोजिमका हामी आतङ्कारी जत्था परेनछौँ र शरणार्थी हुन गएका पनि भएनछौँ । हामी हाम्रै देशमा फर्कन्छौँ भन्ने विश्वास भएछ ती सभ्य दिमाग भएकाहरुलाई । एकछिनमा हाम्रा पासपोर्टमा भटाभट ‘आगमन’ छाप लागे । हामी डेनमार्क अध्यागमन पार ग¥यौँ ।

कोपेनहेगन पुगेकै दिन हामी छात्रबासमा झोला बिसाएर पढाइमा लागिहाल्यौँ । तालिम नाम गरेको पढाइ । झण्डै झण्डै गुरुकुलीय पद्धतिको घोकन्ते अधिकार पढाए ती सेतो छाला भएकाहरुले हामी गहँुगोरो छाला भएकाहरुलाई । ‘कपुरी क’ जस्तै मानवअधिकार घोकाए । गहँुगोरो छाला भएकाहरुको दिमागमा सेतो छाला भएकाहरुले आफ्नो बुद्धि भरिदिए । फुटबलमा हावा भरे झैँ लाग्यो । फुटबलमा हावा भरेर खँदिलो भए झैँ हाम्रा दिमाग पनि बुद्धिले भरिएर खँदिला भए । सेतो छाला भएकाहरुलाई गुरु थाप्न पाएकामा दङ्ग थियौँ हामी पनि । भलै ओठ निचोर्दा दुध आउला जस्ता किन नहुन् ती सेतासेतीहरु हाम्रा लागि ज्ञानका खानी थिए । त्यसो त हाम्रा सेता गुरु गुरुआमाहरु पनि त दङ्ग थिए नि हामीलाई विद्यादान गर्न पाएकोमा ।

कति बुझ्यौँ कुन्नि हामी पिछडिएको संज्ञा पाएका गहुँगोराका दिमागले, कति बुझाए कुन्नि सभ्याताको शिखर चढेको संज्ञा पाएका सेताका दिमागले । जे होस् पाँच दिनसम्म मानवअधिकार मजाले घोकियो । पाँच दिन मानवअधिकार घोकेपछि एक सहभागीले व्यङ्गयात्मक पारामा भने– ‘छ अक्षरको मानवअधिकार छ दिन घोक्न पाएको भए चाहिँ पुरै बुझिन्थ्यो कि, पाँच दिन मात्र घोकियो अर्धबुझाइ पो भयो ।’ जे होस् पाँच दिन फुलटाइमर विद्यार्थी भएर मानवअधिकार घोकियो । त्यसो त पार्टटाइम ‘जब’ पनि खोजियो, सडकछाप भएर घुम्ने । कहिले समुन्द्री किनार त कहिले केनलटुर, कहिले यौनबजार त कहिले सेन्ट्रल रेलवे स्टेशन । कहिले टिभौली त कहिले क्वीनप्यालेस । फुलटाइम जबमा भन्दा पार्टटाइम जबमा नै सन्तुष्टि मिल्यो सबैलाई । पार्टटाइम भन्दा फुलटाइम नै राम्रो भएको कतिले आदर्श पनि छाँटे त्यो भिन्नै कुरा हो ।

डेनमार्कका दृष्यहरु । दिउँसै बारमा बियर खाने मस्त नारीपुरुषहरु, सडक पेटीमा घण्टाँैँ अँगालोमा बाँधिएर बस्ने नवयौवनाहरु, सेक्स सपका अनेकन दृष्यहरु, चिल्ला फराकिला सडकहरु, सफा गल्लीहरु, सुकिला मान्छेहरु, तुफान दौडने मेट्रोट्रेन, रङ्गीचङ्गी सामुन्द्रिक जहाजहरु, सामुन्द्रिक बसहरु, मिनी बोटहरु, मध्यम उचाइका घरहरु यस्तै यस्तै । नेपालभन्दा डेनमार्क के कुरामा फरक छ ? सामुन्द्रिक रमझम बाहेक नेपालभन्दा डेनमार्क खास केही कुरामा फरक छैन, तर धेरै फरक छ । शिव खेडाको भनाइलाई सम्झिरहेको छु– ‘सफल मान्छेहरु फरक काम गर्दैनन् तर फरक तरिकाले गर्छन् ।’ हो, युरोपले त्यही काम गरेको रहेछ जुन हामी पनि गछौँ तर फरक तरिकाले गरेछन् अनि प्रगतिको शिखरमा पुगेछन् । अर्थात् उनीहरुले काम गरेछन् हामीले चाहिँ काम गरे जस्तो मात्र गरेछौँ । यही फरक हो युरोपीयन–अमेरिकन र हामीमा, गर्नु र गरेको जस्तो गर्नु बिचको फरक ।

‘एप्रिसेटिभ इन्क्वाइरी’ सम्बन्धी कार्यशालामा धेरैपटक भाग लिएको छु । यस्ता तालिममा हरेक कुरालाई सकारात्मक आँखाले हेर्नुपर्छ, सकारात्मक सोच बनाउनुपर्छ भन्ने कुरा सिकाइन्छ । म पनि हरेक कुरालाई सकारात्मक हेर्न प्रयास गर्छु । तर खै जति सकारात्मक हुन खोजे पनि विदेश भ्रमण मलाई उत्साहवद्र्धक लाग्दैन । मलाई ‘एप्रिसेटिभ इन्क्वाइरी’ को सिटामोलले काम नगरेर हो कि किन हो । मन नपरी नपरी राम्रो भन्नै मन पनि लाग्दैन, भलै त्यो अरुको लागि राम्रो किन नहोस् । मेरो विदेशप्रतिको धारणा अर्कै छ । मलाई लाग्दैन कि विदेशी भूमिमा जीवनका रङहरु भरिन्छन्, फुलहरु फुल्छन् । हो उनीहरुलाई उनीहरुको देश स्वर्ग होला, तर आँखाको तिरीमिरी बाहेक केही छैन हाम्रा लागि विदेशी भूमि । त्यसैले म रमाउँछु आफ्नै माटोमा । शितलता पाउँछु आफ्नै पानीमा । स्वच्छ स्वास लिन्छु आफ्नै हावामा । पुलकित हुन्छु आफ्नै वन, जङ्गल, भीर, पाखामा । गर्व गर्छु आफ्नै धर्म, संस्कृति, परम्परा र पहिचानमा । म आफूलाई संसारको सबैभन्दा अग्लो मान्छे ठान्छु किन कि मसँग सगरमाथा छ । म आफूलाई संसारको सबैभन्दा ठूलो मानव अधिकारवादी ठान्छु किन कि मसँग बुद्ध छ । तर पनि म मानवअधिकार घोक्न किन युरोप पुगेँ हँ ?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।