14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

हायमनदास राई "किरात"का कथाहरूको कथ्य र शिल्प-विन्यास

कृति/समीक्षा डा.राजकुमार छेत्री May 15, 2014, 2:11 pm

१.हायमनदास राई किरातका कथायात्रा

कथाकार हाइमनदास राई 'किरात'का सर्वप्रथम प्रकाशित कथा सुरवीर हो, जुन कथा काठमाण्डौबाट प्रकाशित शारदा पत्रिकामा प्रकाशित भएको थियो । हालसम्म किरातका जम्मा दसवटा कथाकृतिहरू १.चौकिदार(सन्१९५३),२.अभागिनीकोसाथी(सन्१९५५),३.विनायो(सन्१९५६),४.विजय(सन्१९६५),५.बटुवा(सन्१९५७),६.आँधीबेहरी(सन्१९६१),७.पंखी(सन्२०००),८.तह नमिलेका रेखाहरू(भाग-१, सन्२००६),९ तह नमिलेका रेखाहरू(भाग-२,सन्२००७),१०.हाइकिंग(सन् २०१०)-मा गरी जम्मा (८+३+७+१+४+१३+७+२१+११+८-८४)चौरासीवतटा कथाहरू प्रकाशित भइसकेका छन्। आधुनिक नेपाली कथालेखनको प्रथम चरणतिरै देखापर्ने कथाकारहरूमा हायमनदास 'किरात' एकजना सशक्त कथाकार हुन्। किरातका प्रायः सबैजसो कथाको भावभूमि विशेष गरी हामी बसेको समाज र हाम्रै जातीय सामाजिकता रहेको पाइन्छ।

किरातका कथाको कथ्य-योजना

कथाकार किरातका धेरजसो कथाहरूले ग्राम्य जन-जीवन अर्थात ग्रामीण सामाजिकतालाई नै बढी कथ्य-आधार बनाएको भेटिन्छ। उनका प्रायः सबैजसो कथामा निम्नवर्गीय र मध्यमवर्गीय ग्रामीण जनजीवनको चित्रण-अङ्कन अधिक पाइने हुनाले उच्चवर्गीय अथवा संभान्त वर्गको प्रसङ्ग त्यति पाइँदैन । धिताल बाजे, बह, जब अमलेख भएको थिएन, अभागिनीको साथी, विनायो, सात माइलको खुट्टी, सुख, बिमला, फेरि उ मुसुक्क हाँसी, एक छिनको भूल आदि कथाहरूको तुलनामा निर्मोही, पृथ्वी रूखो भएपछि, केशर, काञ्चन, सन्ध्या शीर्षक कथाहरूमा भने केही हदसम्म उच्चवर्गीय जनजीवनको चित्रण पाइन्छ । किरातका प्रायःजसो कथाका पात्रहरू समाजका समर्थवान अर्थात् शक्तिशालीहरूबाट थिचोमिचोमा परेर हेपिएका , निचोरिएका, शोषित र पीडित समेत बनेका छन्। ती पात्र-चरित्रहरू कतिपय अत्यन्त निर्धन, अशिक्षित र असङ्गठित पनि छन् र ती पात्रहरू धर्म परायण, क्षमावान् पनि छन्। अतः अशिक्षित,अल्पशिक्षित, सरल र परिश्रमी ग्रामीण जनजीवनका कथाहरूमा तीव्र सामाजिकता रहेको पाइन्छ । घर नजिकको बन-जङ्गलमा गाई-गोठ राखी, दूध-दही, घीउ बनाउने, घरमा पनि गाई-भेंडा, हाँस-कुखुरा-बाख्रा पाल्ने, चोइली-आरा काट्ने, खेतीपाती गरी धान, मकै, कोदो फलाउने, चियाकमानमा चौकिदारी काम गर्ने र चिया टिप्ने श्रमिक दाजु-भाइ, दिदी-बहिनीहरूको संघर्षपूर्ण जन-जीवनको यथार्थ पक्षहरूलाई टपक्क टिपेर आफ्ना कथाहरूमा सजाएका छन् ।

किरातमा सूक्ष्म तन्तुका झिना-मसिना विषयवस्तुहरूलाई लिएर पनि कथा उन्न सक्ने तथा स्थूल र सुडोल विषयप्रधान कथाहरू पनि बुन्न सक्ने क्षमता रहेको पाइन्छ। उनका अधिकांश कथामा कृत्रिमतारहित विचारको कहीँ सग्लो त कहीँ कलात्मक प्रस्तुति पाइन्छ । उनका कथाहरूले आदर्श-प्रेम, नैतिक दायित्व र मानव मूल्यबोध गराउन अग्रसर बनेका छन् । किरातका प्रायः जसो कथा सामान्य ग्राम्य जनजीवनको चित्रण, माया-प्रिती, प्रेम-वात्सल्यप्रतिको ग्राम्य सरलता, गोठाले जीवनको सरलता, सामाजिक रूढीवाद र संस्कारगत संकीर्णताको युगीन सन्दर्भ दाम्पत्य जीवनको बाहूल्य, निम्नवर्गीय ग्रामीण सामाजिकताको चित्रण, तीव्र सम्वेदनशीलता, मानवीय सन्देश अर्थात् मानवताकै स्वर प्रतिध्वनित रहेको पाइन्छ । उनका कथाहरूमा वन्य हरियाली,धारा-पनेरा, पहाडी खोला-खोल्सा, गाँउले गोरेटो-गल्छेडोको प्रसङ्ग तथा उकाली-ओरालीको, गाईवस्तुको गोठ र गोठाला जीवनको सन्दर्भ, सरल ग्राम्य जीवनमा विशेष केन्द्रित भएको भेटिन्छ । युवा अवस्थाको घात-प्रतिघात, आलोडन-विलोडन, हर्ष-अमर्ष आदिको प्रस्तुति पाइन्छ । किरातका यस पछिल्लो चरणको कथालेखनमा पनि ग्रामीण जनजीवनर निम्न र निम्नमध्यमवर्गीय जीवनको यथार्थचित्रण, स्वच्छन्दतावादी र सामाजिक यथार्थवादी स्वर, प्रेम-वात्सल्य भावको युगीन सन्दर्भ, मानवतावादी दृष्टिकोण मुख्यरूपमा रहेको भेटिन्छ।

हाइकिंग कथा सङ्ग्रहमा जम्मा आठवटा सामाजिक विषयप्रधान कथाहरू सङ्गृहीत छन्। लेखकीयमा यस पुस्तकको सन्दर्भमा कथाकार 'किरात'लेख्छन्- 'मनुष्य जीवनको कालखण्डतिर हेर्दा बाल्यकाल, युवाकाल, प्रौढकाल र वृद्धकाल सामु आउँदछ । भारतेली मनीषीहरूले यसलाई चार आश्रममा बाँडेर यसको यथार्थता स्पष्ट पारिदिएको छ । म यहाँ यी काल वा आश्रमबारे केही लेख्ना लागेको होइन । म आफ्ना कथाहरूबारेमा स्पष्टिकरण दिन खोजिरहेछु । यी मेरा कथाहरूमा मैले मनुष्य जीवनको अन्य तिन काललाई छाडेर यौवन कालको मनमोहकदिनहरूको बयान गरेको छु । जीवनमा भोग्नु पर्ने वास्तविक घडी पनि यही हो ।' अतः यौवनकाललाई लक्ष्य गरी कथाहरूमा कथ्य-संयोजन गरिएको छ ।यी सबै कथाहरूमा आफ्ना ती अविस्मरणीय यौवनकाल खोज्दै विस्मृतिको गर्भमा कहीँ हराउँदै, कहीँ डुबुल्की मार्दै कथा सिर्जना गरेका छन् । कुल्चेको मुटु र लुकेको कुराहरु शीर्षक कथामा बालमनोविज्ञानको निकै राम्रो प्रस्तुति तथा ग्रामीण परिवेशको चित्रण पाइन्छ । डाइरीभित्रका अला दिनहरू- डाइरी शैलीमा लेखिएको सफल कथा हो । यसका अतिरिक्त सुम्निमाको नाख, सजाय र एक्सीडेन्ट शीर्षक कथामा पनि यौवनकालको यथार्थिक घटनाप्रसङ्ग तथा रोमान्सेली रमणीयताको मनोरम प्रस्तुति पाइन्छ ।'किरात'का धेरजसो कथाहरूमा निर्बल र असहाय, गरिब र निमुखाहरूप्रति प्रेमभाव, सहयोग र सहानुभूति, ठूला-बडा शोषक-शासकहरूले गर्ने गरेको अन्याय-अत्याचार, शोषण-दमननीतिप्रति कोमल-कान्त शैलीमा विरोधभाव दर्शाइएको पाइन्छ । उनको कथालेखनगत आदर्श पक्षहरूमा मानवतावाद अर्थात् मानवतावादी दृष्टिकोणलाई पनि एउटा सम्बलको रूपमा लिन सकिन्छ।

किरातका कथामा पात्र- योजना र चरित्र प्रस्तुति-

ग्रामीण यथार्थ परिवेशमा विन्यास्त उनका अधिकांश कथाका पात्रहरू समर्थ र शक्तिशालीहरूबाट हेपिएका, पिल्सिएका, अन्याय र शोषणको चक्रव्यूहमा परी असहाय र अशक्त बनेका भेटिन्छन् । ग्राम्य परिवेशको गुम्फित वातावरणमा अशिक्षित, परिश्रमी, अल्पशिक्षित, अबोध पात्रगत चरित्रहरूको अधिक उपस्थिति रहेको भेटिन्छ । किरातले आफ्ना कथामा नामधारी र बेनामधारी पात्रहरू सराबरी चलाएका छन् । उनका कथामा स्त्री पात्रको तुलनामा पुरूष पात्रहरू बढी छन् र ती सक्रिय पनि छन्। कथामा प्रत्यक्ष कार्यकारी रूपमा प्रस्तुत नारी पात्रहरूमा पूर्णिमा, सीमा, देवलक्ष्मी, सन्ध्या, जया, रणमाया, विमला, निर्माया, जुनेली, धनमाया, लीलीदेवी, भीमा, फूलमती, कर्णकुमारी, करूणा, रेणु, मैना, धनसरी, दिलमाया, पद्मफूल जस्ता गाँउले नामहरू छन् भने दावा मोदगल्याण, मधुमती, ऐला, डा. एडित, काञ्चन, मधुबाला आदि नामहरू भने नेपाली समाजबाट टिपिएका होइनन् । यसका अतिरिक्त चिम्री, साँइली, पुतली, काँइली आदि बेनामी पात्रहरू पनि कथामा भेटिन्छन् । किरातका कथामा प्रयुक्त पुरूष पात्रहरूमा धनबीर, मदन, हर्कराज, विक्रम, मोहनविक्रम , चन्द्रलाल, शंकर, कृष्णबहादुर, राजेन्द्र, अरूण, नरबीर, मणिराज, वीरधोज, नन्दलाल, चन्द्रबहादुर, इन्द्रबहादुर, लालबहादुर, रमेश, शेखर आदि हाम्रै गाँउले दाजु-भाइ हुन् भने कान्हा, इग्लस, पंकज,धन्वा, खुशराज आदि नेपालीइत्तर समाजबाट टिपिएका छन् । यसबाहेक माइला बाजे, तीनसल्ले कान्छा, चतुरे, पाख्रीन जेठा, साने दर्जी, कीर्तु, थेबा, च्याङबा, धिताल बाजे, सार्के, सुवेदार आदि बेनामी पात्रहरूको कार्यकारी भूमिका पनि कथाभरि नै पाइन्छ । किरातले ग्राम्य परिवेशअनुकूलै पात्रगत चरित्रको रहन-सहन, आचार-विचार, भेष-भूषा आदिको पनि परिचय र प्रस्तुति दिएका छन्।

हाइकिंगका कथाहरूमा अघिल्ला सङ्ग्रहका कथाहरूमा झैं भेटिने कष्टपूर्ण जीवन विताउने कमरा-कमारी, घरबार त्यागेर यायावर जीवन बिताउने अन्धा, मगन्ते, पश्चकतापको भुँवरीमा जीवनभर तडपिएर मर्ने पात्रहरू, बोल्न सक्ने भएर पनि अर्काको घरमा गोठालो बसेर लाटो हुनु परेको पात्रहरूको उपस्थिति भने त्यति भेटिँदैन । हाइकिंगअन्तर्गतका कथाहरूमा साँइला गुरूजी, बीरबल, गुरूआमा, लीला, मोतीमाला, शंकर, आरती, मीरा, पेमा, छिरिंग, अन्तरी दिदी, जतन सुब्बा, चन्दन बस्नेत, रतन, काजी साहेब, रोजी, राधिका, स्मृति, जगत् सर(जगत् कुमार राई), राकेश, बसुन्धारा, सुम्निमा, शेखर, मेनका, निर्मला, नर्वदा, कमला(कमल नयना), हस्तबीर आदि पात्र-चरित्रको प्रत्यक्ष-परोक्षमा विभिन्न कार्यकारी भूमिका निर्वाह गरेका छन् । पेशागत दृष्टिबाट किरातका कथाहरूमा फेरिवाला, ड्राइभर, अफिसको हेड क्लर्क, शिक्षक, व्यापारी,कृषकहरूलाई नै मुख्यरूपमा भेट्छौं ।

किरातका कथामा लोक-सांस्कृतिक तथा प्रकृति चेतना

कथाकार किरातका कतिपय कथामा लोक-सांस्कृतिक चाड-पर्वहरूको पनि उल्लेख भएको भेटिन्छ। डाइरीभित्रका आला दिनहरू-शीर्षक कथामा ग्रामीण अञ्चलमा सम्पन्न हुने नेपाली विहेको प्रसङ्गमा यस प्रकार उल्लेख भएको पाइन्छ- 'भदै आजको मगनीलाई सदर गर्न यो केटीलाई बैना मारिराख । उनले आफ्नो जेबबाट रातो मखमली बट्टा झिकेर मतिर बढ़ाए ।' यसका साथै हिन्दु धर्मको परम्परा अनुसार गरिने पूजा-अर्चनाको पनि ठाँउ-ठाँउमा उल्लेख भएको पाइन्छ । सजाय- शीर्षक कथामा पाँचपोखरीको शिवलिङ्गमा पूजा-आराधना गर्ने र गरिएको प्रसङ्गको वर्णन यस प्रकार गरिएको भेटिन्छ- 'माटोको एउटा सानो शिवलिंग स्थापित थियो । दीप-माटोको दियो बलिरहेको थियो, धूपको सुगन्ध वरपर फैलिरहेको थियो, शंफ, घण्टी, डमरू पनि थिए । श्रीशूल (त्रिशूल?-राज), काठको सानु शिवलिंगको छेउमा गाडेको थियो । वरिपरि फल-फूल, मिठाइ-प्रसादीहरू पूजालाई अर्पित थिए।' बेलाबेला 'जय भोलेनाथ की', 'जय पाँचपोखरी माताकी' र 'भोलानाथ भगवान शंकर' भनी पुकारिएको समेत पाइन्छ । पूजामा शंख, घण्टी बजेको, मन्त्रोचारण गरेको साथै सरस्वती माताको पूजा भव्यरूपमा पालन गरिएको प्रसङ्ग पनि उल्लेख भएको भेटिन्छ । कथाकार किरातका कतिपय कथामा पात्र-चरित्रको मानसिक स्थिति र अवस्थाअनुरूप प्रकृति चित्रण गरिएको पाइन्छ । विस्मृति नामक कथामा पात्र मणिराजको मानसिक स्थितिको अभिव्यक्ति दिन प्रकृतिको चित्रण यस प्रकार गरिएको छ –'उसले आफ्नो टाउको उठायो --- आखिरमा त्यो तर्कनै पर्छ ।' यस्तै प्रकार जुनेली- शीर्षक कथामा पनि प्रकृति वर्णन यस प्रकार भएको पाइन्छ- 'रातीको दश बजेको थियो-- यसमै विलिन होउँ भन्ने भइरहेथ्यो ।'

किरातका कथामा शिल्पयोजनागत विशेषताहरू-

कथाकार किरातका कथाकारितागत विविध विशेषताहरूमध्ये भाषा प्रयोग पनि एक प्रमुख पक्ष हो । पात्रहरूले सरल, सहज र सरस भाषाशैलीको प्रयोग गरेका छन् । किरातको कथाको भाषा प्रयोगमा अप्ठ्यारो र दुरूहताको त्यति झञ्झट छैन भन्दा पनि हुन्छ । शुद्ध र ठेट नेपाली भाषाको प्रयोगका साथसाथै लोकप्रचलित कथ्य शब्दहरुको समेत मनग्यै प्रयोग भएको पाइन्छ । उनका कथामा प्रायःसबैजसो पात्रहरूले संवाद बोलेका छन्, संवाद-प्रधान कथाहरू नै अधिक छन् । पात्रले बोलेका संवादद्वारा नै पात्रको चरित्र, घटना र वस्तुस्थितिको जानकारी पाइन्छ। कतिवटा कथा भने संवादै-संवादले लेखिएको भेटिन्छ । उनका संवाद-प्रधान कथाका दृष्टान्तका रुपमा विदा, यायावर आदि कथालाई लिन सकिन्छ । यी कथाहरूमा सुरूदेखि अन्त्यसम्मै संवादै-संवादले भरिएको पाइन्छ ।

पात्रको चरित्र-चित्रण र परिवेश-चित्रणमा कथाकार किरातले प्रत्यक्ष र परोक्ष दुवै प्रकार शैलीको प्रयोग गरेका छन् । दुइचार कथाबाहेक प्रायः सबैजसो कथाको परिवेश यही पहाडी ग्राम्य-अञ्चलको जन-जीवनको चित्रण-वर्णन पाइन्छ । किरातका नब्बे प्रतिशत कथाहरूमा सर्वदर्शी र वस्तुगत तृतीयपुरूष कथात्मक दृष्टिकोण पात्रको प्रयोग भएको पाइन्छ । धिताल बाजे, जब अमलेख भएको थिएन, फेरि उ मुसुक्क हाँसी, सुख, बिमला, विनायो, अभागिनीको साथी, केशर, चौकिदार, सात माइलको खुट्टी, लोग्ने-स्वास्नी, आँधी-बेहेरी, लाटो, पंखी, जुडित, ऐला, उपचार, दावा मदगल्याण प्रभृति शीर्षक कथाहरू तृतीय पुरूष कथात्मक दृष्टिविन्दुमा लेखिएका उत्कृष्टकथाहरू हुन् भने जुनेली, गुण्टे भेना, बिजुलीको चमक, पृथ्वी रूखो भएपछि, बिदा, यायावर, एक छिनको भूल, दिलवाला, बह आदि शीर्षक कथाहरू प्रथम पुरूष कथात्मक दृष्टिबिन्दुमा लेखिएका उत्कृष्ट कथाहरू हुन्। अतः किरातका कथाहरूमा केन्द्रीय प्रथम पुरूष कथात्मक दृष्टिकोण पात्रको तुलनामा परिधीय प्रथमपुरूष दृष्टिबिन्दुको प्रयोग भएको पाइन्छ ।

कथ्य र शिल्पचेतनाका परिप्रेक्ष्यमा किरातका कथागत वैशिष्ठ्य-

किरातका अधिकांश कथाहरू सामाजिक थथार्थपरक हुँदाहुँदै पनि स्वच्छन्दतावादी प्रभावबाट उन्मुक्त हुन भने सकेको छैन। कथामा थथार्थपरक दृष्टिकोण रहेकै भए पनि घटित घटना तथा पात्रहरूको चरित्र विन्यासमा कहीँ न कहीँ रोमान्सेली प्रभाव परेकै भेटिन्छ । कथाकार किरातका कथात्मक प्रवृत्ति र कथाकारिताको सम्बन्धमा साहित्यालोचक राजनारायण प्रधान लेख्छन्- 'तिनका कथामा अनुभूतिको गहिराई छ, भाव र भाषा स्पष्ट छन्, विचार स्वस्थ छन् । ती कथाहरूले आँखामा एउटा चित्र र हृदयमा हर्ष अङ्कित गरेर जान्छन् अर्थात् ती कथामा सौन्दर्यको एक झलकको रस छ ।'

यसै सन्दर्भमा किरातको कथ्यशिल्पकारिताको मूल्याङ्कन गर्दै प्रा. कृष्णराज घतानी अझ यसप्रकार लेख्छन्- 'वस्तु र शिल्प पक्षकै अवलोकनले मात्र उनका कथाहरूको विश्लेकषण पर्याप्त मान्न हुँदैन। सामाजिक धरातलमा निर्मित उनका अधिकांश कथाहरूमा लोकतात्त्विक दृष्टि पुर्याहउन पनि त्यत्तिकै चासो पर्दो हुन्छ । वास्तवमा भन्ने नै हो भने किरातका कथाहरूका मौलिक आकर्षण र विशेषता नै लोकतत्त्वपरक धारणाहरूको प्रवेशमा निहित पाइन्छ ।...यी कथाहरूमा कथाकारले भिन्न-भिन्न शिल्पगत ढाँचा देखाउने प्रयास पनि गरेका देखिन्छन् ।आधुनिक कथालेखन-प्रचलनमा देखिएका विभिन्न प्रविधि र प्रयोगहरू पनि देखाउने जमर्को गरेका कथाकारले पूर्वदीप्ति शैली, चेतनाप्रवाह शैली, प्रतीक-प्रयोग, संवाद र संस्मरण शैली आदिलाई आत्मसात गरेका पाइन्छन् । लोकजीवनको झाँकी, रूढ़िगत धारणा, आदर्श-प्रेम, मानवतावादी विचारका अतिरिक्त रोमाण्टिक रङ्ग र ऐतिहासिक प्रसङ्ग तथा वैज्ञानिक र पर्यावरण-चेतना आदि जस्ता प्रवृत्तिगत विशेषताहरू पनि ती कथाहरूले प्रदर्शित गर्न सकेका पाइन्छन् ।'

सामाजिक यथार्थवादी धाराका सशक्त कथाकारका रूपमा ठहर्यानउँदै अविनाश श्रेष्ट आफूद्वारा सम्पादित ग्रन्थ आधुनिक भारतीय नेपाली कथा-मा यस प्रकार लेख्छन्- 'सामाजिक यथार्थवादी कितामा लेखिएका उनका कथालेखन परम्परित छ । रैखिक ढाँचामालेखिएका भए तापनि कथानक-चयनमा उनले पर्याप्त सचेतता दर्शाएकाले उनका कथामा विषयगत विविधता र मौलिकता परिलक्षित हुन्छ । किरातका कथाहरूमा अप्रत्यक्ष रूपमा सन्देशको उपस्थिति नभेटिने होइन तर उनले आफ्ना कथालाई सचेत रूपमा भावुकताको भासमा पर्नबाट बचाएका मात्र छैनन्, सकेसम्म अति आदर्शवादी बन्नबाट आफू जोगिएका पनि छन् ।' अझ कथाकार-उपन्यासकार प्रदीप गुरूङ केही नमिलेका रेखाहरू-को प्राक्कथनमा उनको कथाकारिताको मूल्याङ्कन गर्दै लेख्छन्- 'किरातका कथाहरूमा शरद् ऋतुको परिपक्व यौवन छ । त्यै यौवनभित्र रोमाण्टिक धुकधुकी छ । यिनै धुकधुकी लिएर बाँचेका छन् श्री किरातका पात्र-पात्राहरू । यिनको रोमाण्टिक कथा-प्रवृत्तिले स्त्री-पुरूषको नैसर्गिक सम्बन्धलाई आदिमतादेखि अहिलेको स्थितिसम्म केलाएर हेर्ने गरेको छ । यस अर्थमा श्री किरातलाई भारतीय नेपाली कथा साहित्यमा एक्लो रोमाण्टिक कथाकार भनेर ठहर्यासउन हिचकिचाउने छैनन् । हाम्रो साहित्य लेखन शहरमुखी बनेको अवस्थामा श्री किरातका कथाहरू अझै खेतका गरा , खले गरा, खोला घारी र अटब्बे वनपाखातिर वुर्कुसी मारिरहेका हुन्छन् । त्यसैले उनको कथामा प्राकृतिक सुगन्ध छ ।'

रूपविन्यासगत आधारमा हाइकिंगका कथाहरू-

हाइकिंगका कथाहरूलाई यी विविन्न पक्षहरूबाट अध्ययन-अनुशीलन गर्न सकिन्छ ।

क्रियायुक्त पदावलीको प्रयोग- हातेमालो गाँस्न(गाँस्नु), आत्मविस्मृत हुनु, धपक्क बल्नु, तिखा आँखाले हेर्नु, आँखाहरु हाँस्नु, मुटु ढुकढुक हुनु, (तिखा) आँखाहरूले पछ्याउनु, अबोध भावना जाग्नु, मर्यादाको अवहेलना गर्नु, कृतज्ञताको आँखाले हेर्नु, आँखाका कुना रसाउनु, (लाज) अनुभव गर्नु, भयभीत हुनु, विचलित हुनु, करूणा जाग्नु, स्वीकृतिको इशारा गर्नु, अविचल बन्नु, आत्मविभोर हुनु, अपूर्व आनन्द अनुभव गर्नु, (आँखा) प्रफुल्ल हुनु, नारीहृदय बोल्नु आदि दृष्टान्तको रूपमा लिन सकिन्छ ।

कथामा क्रियामुक्त पदावलीको प्रयोग- आश्चभर्यपुरित आँखा, अपूर्व शान्ति, कृत्रिम रिस, तीब्र वेदना, कोमल कण्ठ, यौवनको ढोका, सीमारेखा, भयग्रस्त आँखा, चिनारू अनुहार, मनोहर मुस्कान, फक्रेको माया, आकस्मिक हँसाइ, असीम परितृप्ति, मोहक मुस्कान, बालससुलभ प्रेम, सुखमय जीवनको कामना, ओंठमा मृदु मुस्कान, स्मृतिको तीखो चोट, मिठो भावना, निश्चाल प्रेम, आँशु-हृदय, सुनौलो दृश्य, साँझतिर लम्केको घाम, जंगलको गहनता, आनन्दमय संगती, आँखामा पोखरी जमिसकेको, रमाइलो मन, मनोहर ज्योति, प्रेम लीला, एकान्त बाटो, तातो स्पर्श, आँखामा कोमल निमन्त्रणा, भीषम ज्वाला, लोभी ओंठ, भय मिश्रित मुस्कान, हल्का हाँसोको फोहोरो, अपूर्व संयोग, कोमल क्षण, शीत बिन्दु, कलिलो रमाइलो अनुहार, तीखो प्रतिवाद, अतल सुनौलो दृश्य, साँझतिर लम्केको घाम, जंगलको गहनता, आनन्दमय संगती, आँखामा पोखरी जमिसकेको, रमाइलो मन, मनोहर ज्योति, प्रेम लीला, एकान्त बाटो, तातो स्पर्श, आँखामा कोमल निमन्त्रणा, भीषम ज्वाला, लोभी ओंठ, भय मिश्रित मुस्कान, हल्का हाँसोको फोहोरो, अपूर्व संयोग, कोमल क्षण, शीत बिन्दु, कलिलो रमाइलो अनुहार, तीखो प्रतिवाद, अतल गर्भभित्र, कोमल शरीर, दर्दपूर्ण कोमल स्वर, परितृप्तिको सुन्दर आभा, मायालु कोमल स्वर, स्नेह बन्धन, अप्रिय बन्धन, यायावर जीवन, जोखिम कदम, गुराँसका आँखा, स्वच्छ प्रकाश, अचाहिँदो धमिलेपन, अप्रत्याशित लाज, असीम स्नेह, प्रणय सङ्गिनी, अनुपम भक्ति, मनोवाञ्तित इच्छा, हृदयको उल्लास, आँखाहरूको मुकभाषा, रोषपूर्ण स्वर प्रभृतिलाई उदाहरण योग्य मान्न सकिन्छ ।

अङ्ग्रेजी भाषा मार्फत आएका विदेशज शब्दहरू- सटर, पोज, ब्याक ग्राउण्ड, जुनियर, फोटो,फोटोग्रफी, रेल स्टेशन, टर्चलाइट, नवेल, स्टोरिज, सर्भिस, क्लास, कोएज्युकेशन, हेन्डराइटिङ, फाइनल, एजिटेशन, फेरवेल पार्टी, ड्रामा, व्याच, हिरोइन, पेथेटिक, ब्रेनफ्रेश, इनक्ल्युड, सिरियसली, टेलिफोन बुथ, क्वाटर, किचन, पिक्चर, लभ स्टोरी, पेइङ गेस्ट, हाफ टाइम, स्टाइल, साइन्स, कङ्ग्रेचुलेशन, स्क्वायर, मिलेटेरी नर्श, लेफ्टिनेन्ट, ओभरटेक, रिपोट, कम्प्लिट, हेड मास्टर, एसेम्बली, टिचर्स कन्फ्रेन्स, साइक्लोजिकल, ग्राउण्ड, लाइव्रेरी, पोलिथिन, प्रमोशन, हाफ इयरली, रिजल्ट, न्यूज, नर्सिङ होम, लिपस्टिक, रिसाइट, टाइट फिट,गगगल्स, अनमेरिड पोइटेस, पेसेन्जर, कमाण्डर, पेन्सन, पेमेन्ट, टाउन हल, इन्टरभ्यू, हाइजम्प, एप्लिकेशन, पिरियड आदि आदि शब्दहरूको यथेष्ट प्रयोग भएको पाइन्छ ।

हिन्दी-उर्दू-अरबी-फारसी मूलका शब्दहरू- गाछमनि, ठक्कर, तक्दी र, मञ्जुर, सये उप्पर, पहुँच, मुस्कराहट, तकलिफ, इशारा, मोहोडा प्रभृतिलाई उदाहरणको रूपमा लिन सकिन्छ ।

कूट-मिश्रित शब्दहरूको प्रयोग- केमेराको लेन्स, सुन्दर पोज, लाइट अन गर्नु, नाइट ड्युटीमा, पचास ऐकर, फोटोहरू, चित्रमय ज्योग्राफी, किटबेगबाट स्टेन्ड, एल्बमको पन्ना, क्लास एटमा, माल स्टेशनमा, प्रिपियर हुनु, सेतो सर्ट, सानो सुटकेश, सि अफ् गर्नु, स्कूलको क्लास सिक्समा, हिप्पी टाइपमा, फाइनलको रिजल्ट, बाइस मिनेटको, केपिटलमा इंग्लिश (पिक्चर), पन्द्र मिनटमै, कमिटीका वरिष्ठ मेम्बर, सेकेन्ड क्लासको टिकट, कम्पनीमा ज्वाइन गर्न,ट्रेजेडीपछि ट्रेजेडी, कन्ट्रोलर साहेब, नयाँ सेसन, फाइलहरू, डिसिप्लिन पालन, क्लासको किचकच, फेड भइसकेको, फ्रेश हुनु, स्कूलको मोनोटनी रूटिन ड्यटीले, व्यङ्ग्यको टपिक, क्लासमा सेकेण्ड, हिलवाला शू, जक्की केप, लाली पाउडर, फोनको नम्बर, मैथसको केन्डिडेट, हेल्प गर्नोस् आदि शब्दहरूको प्रयोग भएको पाइन्छ ।

अनुकरणात्मक र द्वत्वप्रक्रियाबाट बनेका शब्दहरू- ठुस्स, ढुस्स, छक्क, फतक्कै, थुचुक्क, च्याप्प, टपक्क, मुसुक्क, झपक्क, हुप्प, घुद्रुक्क, जुरूक्क, फिस्स,धपक्क, झस्यांग, थुचुक्क, ड्याम्म, सुटुक्क, चिटिक्क, निर्धक्क, झल्याँस्स, फरक्क, फरक्कै, टक्क, ट्वाक्कै, सिनिक्क तथा साम्यध्वनियुगल प्रक्रियाबाट निर्मित शब्दहरूमा-ट्वाक ट्वाक, ठकठक, हिक्क हिक्क, खल्लो खल्लो, चकचकी, मरिमरि, फिक्का फिक्का, शून्य शून्य, छिटो छिटो, छिटछिटो, झण्डै झण्डै, घाइँघुइँ, उदास उदास, किचकिच, हेरूँ हेरूँ, गरूँ गरूँ, मन्द मन्द, एक्लै एक्लै, चकचकी, छलि छलि, ढुकढुकी, चिटचिट, यताउता, उथुल पुथुल, खर्च वर्च आदिलाई लिन सकिन्छ ।

कथ्य-भाषाको प्रयोग—केमेरा, हस्पिटल, दिनोस, सियाल, फोटोवाला, सर्नोस्न, राखनोस्, हिँड़नोस्, पाकेटै, यल्लाई, नाख(नाक), बोक्नोस्, हेर्नोस्, गहारो, गुन्टा, हिड़ौन, जानोस्न्, ल्याउनोस्, मारोस्, सोध्नोस्, इस्कूल, कोहरू, चढ़नोस्, जानोस्, गर्नुस्, छाड्नोस्, हेर्नोस्, तिमेरू, तिमारू, गर्नुस् गर्नोस्, आउनोस्, लेन, नतान्नोस्, कप-पिरिज, हमेसै, एकतरफा, हाल्नोस्, हिँड्नुस् न, भरै, होलिस्, थाकेस्, पर्नगो, नगर्नोस् आदिलाई लिन सकिन्छ भने उच्चारण वा ध्वनिभेद भएका शब्दहरूमा- किरातका कतिपय कथामा पात्रले प्रयोग गरेका शब्दमा उच्चारण भेद वा ध्वनि भेद थाहा गर्न सकिन्छ । दृष्टान्तका निम्ति उनका कथाहरूमा प्रयुक्त तिम्लाई, भो, र'छ, घुमिरा'को... आदि जस्ता बोलाईको शीघ्रतामा आएका शब्दको संक्षिप्त प्रयोगलाई लिन सकिन्छ ।यसका साथै किरातका कथामा प्रयुक्त कतिपय शब्दको अर्थ प्रष्टरूपमा बुझिँदैन । उदाहरणको निम्ति छारिस्टिन्दैनन्, उलाहे, नकोतल, चपत, घमैल, मजालू आदि शब्दलाई लिन सकिन्छ ।यसका साथै किरातका कथामा कतिपय शब्दहरू एउटै अर्थमा प्रयुक्त भए पनि भिन्न-भिन्न वर्ण-विन्यासमा प्रयोग भएको भेटिन्छ। दृष्टान्तका रूपमा पेराफेट-पेराफिट, मालीरामको फोटो दोकान-मालीरामको स्टुडियो, मनेग्लासको जंगल-मनेग्लास फारस, मिनट-मिनेट, सी.अफ्-सि. अफ, तिमेरू-तिमारू, रिर्पोट-रिपोट, आदिलाई लिन सकिन्छ ।

किरातका कथामा मिश्रित भाषा-प्रयोग— कथाकार किरातका प्रायः एक चौथाइ कथाहरूमा हिन्दी, अङ्ग्रेजी, बङ्गला र राजवंशी भाषाको धेरथोर प्रभाव परेको देखिन्छ । उनको कथामा मिश्रित भाषा-प्रयोगको नमूनाका रूपमा केही पंक्तिहरूलाई प्रस्तुत गर्न सकिन्छ-

1. 'मेरो फोटोग्राफी किटवेग त छँदै थियो । केमेरा मेरो साथी- म चाहन्थे सिन सिनरी अनि जिउँदो जाग्दो जीवन छाया जहाँ चित्रमय ज्योग्राफी अनि हिस्ट्री समावेश हुन्थ्यो तर यहाँ म फोटोवाला बाबु बनें ।'

2. 'माल स्टेशनमा भेटौं, हिडौं । फूल इक्विपटेड । मलाई तिम्रो थुप्रै थुप्रै पोज लिन मन लागेको छ । म न्याशनल फोटो एक्जिभिशनमा पठाउँछु । कुमाइ, गोदोक, तोदे, रचेलाको नेचरल भ्यूभित्र तिम्रो पोज ।'

3. 'त्यो पार्टीमा एउटा वान एक्ट प्ले पनि इनक्ल्युड गरौं । तपाईं हिरो, म हिरोइन, पेथेटिक, बिहेको दृश्य होस् । बीस् बाइस मिनटको ।'

4. 'सेकेण्ड क्लासको टिकट थियो ।...ब्रोड ग्रेज रेलवे लाइनको त्यो ठूलो कम्पार्टमेन्टभित्र...।'

5. 'बिहारी सरले एसेम्बली डिस्मिस गरिदिए । एसेम्बली ग्राउण्डमा खलिबलि मच्चियो । गुरूआमा कराइन् के गर्नु भएको, क्लासवाइज पठाउनु पर्दैन?'

6. 'आप तो ढीलो भयो भन्नुहुन्छ कभी छोडिदियो।...'

7. 'आपने देखा? क्यूँ आप कुछ नही बोले?'

8. 'ह..ह..ह..ह.. होने दिजिये, होनेवाला होता रहेगा, बोनेवाला बोता रहेगा । यही तो नियम है कुदरतका ।'

कवितात्मक र आलङ्कारिक भाषा-प्रयोग—

1'...म पनि फेरिएको छु, मात्रै म तर मभित्रको म फेरिए जस्तो लाग्दैन।'

2.'त्यो कलिलो रमाइलो अनुहारका चम्किला आँखाले आज पनि कसैलाई खोजिरहेका थिए... अनि कोमल मुस्कानभित्र जहाँ एउटा अबोध भावना जागिरहेको थियो ।'

3.'उसको चिन्तन अनि कल्पना आकाशमा छाएको बादल झैं उसको मानस पटमा छाउँदै थियो ।'

4.'जुनै जातभित्र पनि स्त्री हुन्छन् । रत्नलगर्भा धरतीभित्र भएका खानीहरू जस्तै ती स्त्रीहरूभित्र हुने गुण स्त्रीत्वभित्र नारी जीवनका अनमोल रत्न हरू आमा-छोरी, दिदी-बहिनी अनि पत्नीू बनेर लुकाइ राखेका छन्,जसले जीवनलाई जीवन दिइ राखेका छन्।'

5.'शरद् ऋतुको मनोहर याम, फूलहरूको बहार, सुवासित पराग गन्ध, पुतलीहरूको चञ्चल नृत्य अनि केही कालदेखि हृदयमा बिर्सिन लागेको उमंग कताकतादेखि कसैले फर्काइल्याएको अनुभूतिले उमंगित तिनी त्यहाँ तिनलाई खोज्न आएकी थिइन् ।'

6.'त्यो हसाँइले त्यो बन-जंगल हाँस्यो, पोखरीको पानीमा गति छायो । केही पातहरू जल वक्षमा खसे ।'

किरातका कथामा सादृष्य-उपमा,रूपक अलङ्कारको प्रयोग-

1.'सूर्य रश्मीले छोएको यौवनपूर्ण सुन्दर मुहार, जङ्गलमा फुलेका जङ्गली पहेंला फूलहरूतुल्य...।'

2.'नव युवती, भर्खरै यौवनको ढोका उधार्न लागेकी, गुम्फित सुरभी विस्तारै हाम्रो वरिपरि फैलिए जस्तो, उसका आँखामा क्रुर कटाक्ष थियो ।'

3.'उनका आँखामा ईर्ष्या बल्यो, आँखामा शीत पर्ला जस्तो भयो, सास बढेजस्तो भयो...'

4.'टिस्टाको खोलाको पानी जस्तै मेरो माया पनि चोखो छ ।'

5.'बितेका दिनका घटनाहरूले मनमा व्याकुलता ल्याए पनि कथा पढे जस्तो आनन्द आउँछ ।'

6.'ट्रेजेडीपछि ट्रजेडी घटेको जीवनमा कमेडीका कल्पनाहरू बादलभित्र काकाकुलीले पानी खोजेजस्तै...।'

7.'डाइरीका पाताहरू पल्टे जस्तै दिन र रातगहरू पल्टे...।'

8.'उसका आँखाका कुनामा नजाँनिदो उज्यालो झुल्केको जस्तो ।'

9.'देख्दा अझै उनको चोखो कुमारी हृदय फटिक( स्फटिक ) झैं स्वच्छ अनि गुलाफका कोमल कलि झैं प्रतित हुन्थ्यो ।'

लोकोक्ति, सूक्तिपरक शैलीमा प्रस्तुत गरिएका केही दृष्टान्त-

1.'फूलेको फूलमा सबैको आँखा पर्छ।'

2.'विश्वा स नै ज्ञानको आधार हो।'

3.'जङ्गल हाम्रो जीवन हो।त्यहाँ पाइने झार पात हाम्रो प्राण हो।'

4,'पाहुनाको चरणरज गृहस्थीको निम्ति तीर्थ हो।'

5.'सेक्स भावनाको प्रतिरूप हो।...सेक्स प्रकृतिको देन हो।यसको परितृप्ति पनि हृदय हो।'

6.'पूजामा प्रेम, भक्ति नै ठूलो हो। शंख, घण्टी, प्रसादी अनि मन्त्रोचारण साधन मात्रै हुन् ।'

7.'महासमुन्द्रमा अगाध जलराशी छ तर त्यो हिमाल छोप्न उर्लेर आउँदैन।

उमेर पनि त्यस्तै हो।'

कथामा अन्त्यानुप्रासको प्रयोग—

1.'टिस्टा खोलाको जस्तै मेरो माया पनि चोखो छ तर आज यो चोखो जीउ तिमीलाई जुठो पार्न लाउने मेरो रहर पुगेन, मैले देवता जस्तो मानेको मायालुलाई चढाउने रहर गरेको पुगेन। मायालुको जुठो पुरा लोग्नेलाई दिँउला भन्ने रहर पुगेन।'

2.'प्रश्न सजिलो थियो तर उत्तर अप्ठ्यारो थियो ।'

3.'भाउज्यूले बट्टा खोलिन् अनि रातो पत्थर जडेको सुनको औंठी झिकेर मलाई दिइन् । यो दिँदा भाउज्यूले लामो सास फेरेकी थिइन् ।'

4.'आज उनको ओंठमा कटुता पलाउँदै थियो तर उनको हृदय मुस्कुराएको थियो ।'

5.'सिउँदो ताजा थियो । उनका आँखामा लाजको परेली काँप् थियो।'यसरी स्थानीय व्यक्तिबोली तथा लोकप्रचलित कथ्यशब्द, सरल,सरस र सहज नेपाली भाषा, बाग्धारा, अनुकरणात्मक शब्द एवम् देशज, विदेशज र ठेट नेपाली भाषाशैलीको विशेष प्रयोग भएको पाइन्छ ।

कथामा स्थानविशेष नामको प्रयोग- डामडिम रेल स्टेशन,भुटाबारी, मिनग्लालको जंगल(फारस), डिब्रुगढ़, माल स्टेशन, खरसाङ, मटेली, कलकत्ता, मिरिक, बालासन खोला, नाम्सुको मेला, मर्मा, कुचबिहार, जलपाइगढी सदर अस्पताल, सिलगढी, रङ्गपुर, माल बस्ती ( यँहा स्थापित युद्धवीर मेमोरियल हायर सेकेण्डरी स्कूल), गणेश धारा, सोमबारे बजार, लाभा रोड, बाघ पुल, गोरूमारा फारस, खैरबारी ( मादरीहाट), दलगाउँ (स्टेशन ?),न्यू माल , बीच कमान, याङथाङ, छोटा फागु, सामसिङ स्कूल, डुवर्सको चियाबगान, कालिम्पोङको गभर्मेन्ट पीटीटीआई, सुभाष मोड, माल पार्क, पाँच पोखरी,अम्बेक चियाबगान, दालिमटार आदि स्थानवाचक नामहरूलाई दृष्टान्तका निम्ति लिन सकिन्छ ।

किरातका कथाकारितागत विशेषताहरूको मूल्याङ्कन-

कथाकार किरात भारतेली नेपाली कथालेखनयात्रामा पहिलो चरणको उत्तरार्द्धतिरदेखि देखा परेका सशक्त कथाकार हुन् । किरातका सामाजिक यथार्थवादी, स्वच्छनदतावादी तथा आञ्चलिक संस्पर्शका वस्तुप्रधान कथाहरूले उनलाई सफल ग्रामीण जनजीवनका कथाकारका रूपमा उभ्याएको छ । कथाको वस्तुचयन, वस्तुप्रयोग तथा वस्तुविधानगत ढाँचा एवम् शिल्प-संरचनाका विविध प्रविधि र विशेषताहरूको धेरथोर संयोजनले उनका सबै कथाहरू उच्चकोटीका नभए पनि कमसल भनेर तोक लगाउन पनि मिल्दैन ।

सन्दर्भ विवरण-

कोइराला, डा.कुमारप्रसाद(2068), आख्यान विमर्श,काठमाडौः ओरिएन्टल पब्लिकेशन.

छेत्री, राजकुमार(2011), अवलोकन अवबोधन,दार्जीलिङःमनमाया प्रकाशन.

छेत्री, डा.राजकुमार(2013,दो.सं.), सिर्जनाको समावलोकन,दार्जीलिङःश्याम ब्रदर्स प्रकाशन.

श्रेष्ट, अविनाश(सम्पा. 2064), आधुनिक भारतीय नेपाली कथा,काठमाडौः साझा प्रकाशन

कार्की, विकाश(सम्पा. 2011) परदेशी ( श्री किरात विशेषाङ्क, वर्ष-12, अङ्क-12, सन् 2010-11), सलुवाःअगमसिंह गिरी संस्थान

सहायक प्राध्यापक, स्नातकोत्तर नेपाली विभाग

दार्जीलिङ सरकारी महाविद्यालय, दार्जालिङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।