नेपाली साहित्यमा तीसको दसकबाट जोडदार कलम चलाएर विवाद् र चर्चाको घेरामा नआएका एकजना नेपाली कविको नाम हो –दामोदर पुडासैनी किसोर । पेशाले महालेखा परीक्षकको विभागमा सहसचिव स्तरमा कार्यरत दामोदर पुडासैनी रूचि र स्वभावका हिसाबले कवि तथा लेखक हुन् । अझ जिब्रो नचपाइकन भन्दा त उनी बहुमुखी साहित्यकार हुन् । उनको कलम बहुविधामा चलेको छ तर नियात्रा र कवितामा भने अन्य विधामा भन्दा जोडसँगै चलेको छ ।
उनका कविताका हकमा बोल्नु पर्दा उनी शालीन र सपाट रूपले वर्तमानका पीडा र वास्तविकतालाई लेखिरहेका छन् । यो उनको पाँचौ कविता कृति पनि हो । अघिल्ला कृतिहरूमा भन्दा यो कृतिमा यिनी लचप्पै भएर अन्तर्घुलित भावमा पोखिएका छन् । कविले कवितामा समयलाई व्यक्त गर्न कम्ति पौँठेजोरी खेल्नु पर्दैन समयसितै । कविको प्रशव कविलाई नै ज्ञात छ । भावको अज्ञात छ । समवयी र समविषयी कविहरू एकर्काका प्रशवावस्था बुझ्नसक्ने हैसियतका भैसकेका छन् । मैले करिब एक दसकको अध्ययनमा कवि दामोदरको कवित्व र व्यक्तित्वलाई पढ्दा पाएको कुराको चुरो पनि यही हो ।
नेपाली साहित्यमा अहिले निकै जोरजुलुमसँग खालखालका कविहरूको हुल लेखनमा आएको छ । यहाँ राजधानीमा हप्ताहप्तामा अहिले कविताका किताबहरू विमोचन भनौ उन्मोचन हुन्छन् । हरेक दिनजसो कुनै न कुनै नयाँ कवि र कविताले अहिले तारे होटलदेखि नाटकघरका पर्दामा घुम्टो खोलेकै हुन्छन् । एकप्रकारले भन्दा अहिले खाँटी कविहरूचाहिँ विषयाभिभावमा रनभुल्लमा छन् । कविता कर्मलाई सांसद्देखि न्यून वेतनभोगी स्कुले मास्टर सम्मले पीडा समनार्थ मलम बनाएको थिति छ । मलाई त यस्तो लाग्न थालेको पो छ कि जतिजति यहाँ मँहगी बढ्छ त्यतित्यति कविहरूको अविर्भाव हुनेगर्छ । अहिले झन् पत्रपत्रिकाले पनि साहित्य लेखनमा अनावश्य रूपले लविङ् गरिरहेको स्थिति छ । पत्रिकाहरूमा काम गर्ने न्यून वेतनभोगी पत्रकार लेखक या कवि हुनै पर्ने यस्तो स्थितिले झन खाँटी लेखकहरू त मारमा परेका छन् । यसमा कुनै समालोचकले गतिलो पाराले दसकौँ सन्धान नगरी भएको छैन ।
कोही कुना पसेर लेखिरहेका छन् भने कोही हूल बाँधेर गोष्ठी र भेलामा गएर आफ्नो प्रशंसा भँजाएर अनि अरूलाई तीन न तेह्रका गफले गुड्डी हाँक्दै कविताका स्रोता अनि स्वनामधन्य कवि महोदय भएका छन् । यो नेपाली साहित्यमा अघि पनि थियो अहिले पनि छ अनि थोरबहुत भविष्यमा पनि कायम रहनेछ । कवि आफ्नो चाहनाले हुन्छ या मानिस या अरूलाई खुसी पार्न ? यो मैले ३५ वर्षदेखिको मेरो साहित्य साधनामा अहिलेसम्म नेपाली कविहरूलाई हेर्दा र मूल्याङ्कन गर्दा पनि थाहा नपाएको विषय हो । मैले केही नेपाली कविहरूले कविताकै लागि आफ्नो जीवन न्योछावर गरेको देखेको छु । कोहीकोही कविहरू त अहिले नेपाली कविताको बजारमा ‘कस्मेटिक कवि’ का रूपमा पनि उदाएका छन् । कस्मेटिक कविका कस्मेटिक कविताहरूले आजको नेपाली कविताको चाप र धापलाई कत्तिको पर्गेल्छन् त्यो यसै भन्न सकिने स्थिति छैन । तर भइरहेछ त्यस्तै ।
तर यो कुरा कवि दामोदर पुडासैनी किसोरका मानेमा भने लागू हुँदैन । उनी चर्चा र चासोको धापबाट अलग्ग रहेर आफ्नो कर्मप्राप्तिलाई सततः अगाडि बढाइरहेका छन् । स्वान्तसुखाय नै उनका कविताको वैशिष्ठ्यता हो । यो मैले उनका मौलिक, प्रकाशित र प्रसारित करिब १ दर्जन कृतिहरूको अध्ययन, मनन र चिन्तन पछि भनेको हूँ । मलाई यिनी जत्तिकै यिनका कविताहरू पनि शालीन लाग्छन् । गरी नदुखाउने र भनी नबिझाउने मृदुभाषी कवि दामोदर आफ्नो कवितामा यिनी आफ्नो मार्गका यात्री आफैँ हुन् । यिनले सिकारू अवस्थादेखि नै आफ्नो गोरेटो आफैँले हिँडेका छन् । दुरुह यात्रामा कविताको सामलतुमल लिएर यात्रारत यी नेपालीभाषी कवि मलाई औशत कविहरूभन्दा निकै उम्दा र गतिला जँचेका छन् । यो मेरो यिनी प्रतिको सदासयता नभएर कविता पठनका आधारमा गरिएको परख हो । मसँगको यिनको समदूरीको सम्बन्ध छ । पठनले म यिनीसँग तानिएको हूँ ।
एउटा कुरा म सविनय राख्न चाहन्छु । एक किलो मह बनाउन माहुरीहरूलाई करिब ८ लाख फूलहरूमा गएर रस चुस्नुपर्छ अनि मात्र बन्छ –सुस्वादु मह । मानिसले खाने त्यो मह माहुरीले आफ्ना लागि बनाएको हो । आफ्ना छोराछोरी र परिवारका सदस्यलाई भनेर बनाएको माहुरीको त्यो मह हामी मानिसले साखुल्ले भएर खाने गरेका छौं । औषध रसायन शास्त्रको हवाला दिँदै हामी भन्छौं । मह औषधि हो । हो, मिठो कुरा औषधि नै हुन्छ । यो प्रसङ्ग कवि दामोदर पुडासैनी किसोरको ‘समयको सहिछाप’ नामक पुस्तकमा भएका पचासौं कवितामा समेत लागू हुन्छ । भएको पनि छ ।
मह बनाउन जसरी माहुरीहरूलाई कठिन यात्रातय गर्नुपर्छ । हो, त्यसैगरी हामी कविहरूलाई पनि कम्ति जोखिम मोलेर कविता लेख्नु पर्दैन । यो हाम्रो बाध्यता हो । एक प्रकारको सुखद् बाध्यता । मैले दामोदर हाकिम र कवि दामोदर पुडासैनी किसोरलाई प्रकारान्तरले एकैपटक चिन्या हूँ । मित्र तथा वरिष्ठ कवि महेश प्रसाईँको सानिध्यताले मलाई दामोदरसँग चिनजान र उठबस गरायो । मैले उनी काम गर्ने महालेखाको कोठाचोटा र भरेङ बीसौँ चोटी नापिसके हूँला तर मलाई उनीसँग जाँदा, भेटघाटमा व्यस्त हुँदा र कविताका गफ कविता शैलीमै गर्दा एकप्रकारको सुस्वादु महक मिसिएको हरक आउने गर्छ । मैले निकै नेपाली कविहरूको संगत गरेको छु । धेरैजसो त कविता नै लेख्न जान्दैनन् । धाक र धमासमै उनीहरूको कविता यात्रा चलायमान भएको छ । कोही कवि भएर पनि अन्य समकालीन कविहरूको कविता पढ्न रुचाउँदैनन् या चाहदँैनन् । कसैलाई आफूमात्र घन्टाघन्टामा कवि कहलिनु मै मजा छ । तर जीवनले के देखाउँछ भने जो कवि अनुभवनिश्रित ज्ञानका पुञ्जहरूलाई लेखनमा सामल बनाएर आउदैन र लेख्दैन भने त्यो कवि हुन सक्दैन ।
कविताको सरितामा हेलिनका लागि त दुःखका सिकन्जाहरू तोड्न सक्नुपर्छ । अभावका दुर्गहरूमा कैदी बनेर जीवनलाई फेहरिस्त बनाएर पढ्न सक्नुपर्छ । कवि दामोदर एक प्रकारले यायावर नै हुन् । तर जोगी भने होइनन् है । उनलाई नेपाल सरकारले सरकारी हिसाब किताबको चुस्तीदुरुस्ती छ छैन भनेर जाँच गर्न देशका दूरदराजका स्थानदेखि विदेशमा पनि सयांैपल्ट पठाएको छ । उनले त्यसै माहौललाई सदुपयोग गर्दै नेपाली साहित्यमा गतिला गतिला पुस्तकहरू दिएका पनि छन् । ‘यात्राका प्रेमिल प्रसङ्गहरू’ र गत वर्ष प्रकाशित भएको ‘नमेटिएका चित्रहरू’ त्यसका प्रमाण हुन् । अनि यिनी भित्रको कविले देशदर्शनमा जाँदा भोगेका, देखेका, अनुभूति गरेका यावत् कुराहरूलाई मिहीन विषयवस्तु बनाएर भावका पुञ्जहरूले समेटी कविताको परिपाकमा मिसाएर कविता रचना गरेका छन् –समयको सहीछाप ।
तन्नेरी प्रकाशनको प्रकाशनमा आएको गत वर्षको यिनको कवितासङ्ग्रह ‘समयको सहीछाप’ औसत आकारको कविताको पुस्तक हो । वरिष्ठ कवि महेश प्रसाईँको भूमिका आफैँमा कवितामय छ । करिब ५ वर्षयता उनले लेखेका कविताहरूको संकलन गरी प्रकाशन गरिएको सो पुस्तकले नेपाली कविताको समसामयिक धारका विषयवस्तुहरूलाई न्याय गरेर कवितामा पस्किएको पाइन्छ ।
कविता लेख्नुभन्दा पनि मलाई कविताको सरजाम जोरजाम गर्नु निकै गाह्रो काम हो जस्तो लाग्छ । यी कविले पनि आफ्ना सरकारी कामका सिलसिलामा भोगेका अनेकानेक विषयवस्तुहरूलाई नै कविताका शीर्षकमा न्याय गरेका छन् । यिनी गोष्ठी अझ राजधानीका कोठे गोष्ठीहरूमा कमै देखिने सौखिन प्रवृत्तिका कविहरू मध्ये एक हुन् । यिनले आफू हिँड्ने गोहो आफैँ बनाएका पनि छन् । यस अघिका ‘आफन्तका अनुहारहरू’ यिनको निकै चर्चित कवितासङ्ग्रहका रूपमा बजारमा आएको थियो । अहिले फेरि ‘समयको सहीछाप’ नाममा नयाँ कलेबरमा नयाँ शीर्षकमा बजारमा आएको छ । म यिनको कविताको सफलताको कामना गर्छु ।
विषयअनुसारको भाव र कवितामा भाव सुकोमलता र शैलीमा विन्यस्त पदपदावली यिनका कविताको मौलिक चिनारी पनि हो । कविता अहिले शैलीका पछि हिँडिरहेको परिस्थितिमा यिनले शीर्षकीय न्याय समेत गर्न भ्याएका छन् । यो मानेमा ‘समयको सहीछाप’ अहिलेको समयको दस्तावेज पनि हो । अनि हो, संक्रमणकालीन समयले गर्न नसकेका कुराहरूको विषयसूची ।
एउटा कलमजीवी र कविताप्रेमीका सामान्य मानिसका नाताले म के भन्न चाहन्छु भने कवि दामोदर पुडासैनी किसोरका कविताहरू नेपाली साहित्यको कविताकाशमा नयाँ बान्की र नूतन ढपका कायामा प्रस्तुत भएका छन् । यो माहौल यिनले अब पछि प्रकाशन हुने कवितामा पनि कायम गर्न सकून । अहिलेलाई म यिनको काव्यकारिताका बारेमा यति नै बोल्दै पछि सविस्तार बोल्ने जमर्को गर्नेछु ।