19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गरिबीको कविता

कविता सबिना सिन्धु June 4, 2014, 7:28 pm

यतिखेर यो कविता

गरिबिको रेखामुनि बसेर तर्सिन्छ

र नाप्छ आफ्नो सिमान्त गरिबी

तर पनि

भर्खरै स्विकारेर आएझैं बेरोजगारी भत्ता

उन्मुक्त भई बक्छ प्रभावग्राही शब्द

गरिबीको प्रत्येक गौरवशाली कविता

प्रतिनिधि बन्छ गरिब राष्ट्रको,

र अनुदान बनेर भित्रिन्छ देश भित्र ।

गरिबी समाचार बनेर पटक—पटक छापिन्छ

राष्ट्रिय दैनिकहरुमा

अथवा कहिले काहीँ झुक्किन्छ

र पर्छ कालो सूचिमा ।

अभावको पर्यायवाची बनेर

असिमित रहर संगाल्छ

र उठेको छु भन्छ, ‘जिरो’ आम्दानी स्तरबाट माथि ।

परिमार्जित हुन्छु भन्छ,

उकास्छु भन्छ आर्थिक हैसियत

तर पनि पीडित मजदुर बन्दै

माग गर्छ आर्थिक सुरक्षा ।

मस्तिष्कको क्यालकुलेटर दबाउँछ

र लगाउँछ आय र ब्ययको अनुमान ।

मात्र महशुस गर्छ सतहको तापक्र्रम

यतिखेर गरिबी परिमार्जित हुन्छु भन्छ

र फलाकिरहन्छ दिगो विकास ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।