19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

समयुगीन नेपाली राजनीतिक संस्कृतिप्रतिको प्रखर आलोचना

कृति/समीक्षा प्रा. डा. महादेव अवस्थी June 4, 2014, 8:02 pm

कवि वासुदेव अधिकारी (जन्म सन् १९६५) ले दुई दशकभन्दा लामो कविता यात्राका क्रममा समयका स्वरहरू (२०४६) र आफन्तलाई सम्बोधन (२०६०) कविता सङ्ग्रह एवं मनको हरियो मनको गीत (२०४७) गीत÷गजल सङ्ग्रहमा सङ्कलित रचनाहरूबाट आफूलाई जसरी युगध्वनिलाई सशक्त ढङ्गले गुन्जाउने कविका रूपमा प्रस्तुत गर्दै आएका थिए त्यसरी नै उनी फेरि गायब सभामुख कविता सङ्ग्रह लिई युगीन आवाजलाई बुलन्द गर्दै प्रकट भएका छन् । उनी बेलाबखत संस्मरण, निबन्ध र समालोचना पनि लेख्छन्; तर कविताप्रतिको उनको सृजनात्मक लगाव निरन्तर छ र त्यसैको परिणति हो– गायब सभामुख ।

वासुदेव अधिकारी साहित्यिक र असाहित्यिक पत्रिकाका साथै कतिपय कृतिका सम्पादकका रूपमा पनि व्यस्त देखिन्छन्; तर कविता सृजनाप्रति उनका मनमा गहिरो प्रेम छ र त्यसैको उपलब्धि हो– गायब सभामुख । उनी साहित्यिक सङ्गठनात्मक गतिविधिमा पनि निष्ठापूर्ण ढङ्गले क्रियाशील छन् तैपनि उनका सृजनात्मक व्यक्तित्वको केन्द्रीय पक्ष कवितात्मक सृजनशीलता नै हो । उनी अजीविकामा निम्ति जागिरे पेसामा आबद्ध छन्; तर उनको कवि हृदय सधैँ जागृत अवस्थामा रहन्छ र उनी कवितामा सुषुप्तिका सट्टा जागृतिको शङ्खघोष गर्छन् । उनी जीवनको विद्रूपताका विरुद्ध र सुरूपताका पक्षमा, ध्वंसका विरुद्धमा र निर्माणका पक्षमा अनि भ्रष्टाचारका विरुद्धमा र सदाचारका पक्षमा सोद्देश्य सृजनशीलतालाई अँगाली कविता रच्ने जोसिला कवि हुन् । उनका त्यसै जोसको सृजनात्मक प्रतिफल गायब सभामुख हो । उनी युगका फोहर, दुर्गन्ध, विकृति, अन्धकार र आवेग हटाई सफाइ, सुगन्ध, सुकृति, ज्योति र विवेकको सम्प्रसार गर्नुपर्छ भन्ने ध्येयलाई वाणी दिई कविता रच्तै आएका कवि हुन् । उनले त्यसकै निरन्तरतामा थपेको एक अर्को युगीन आवाज हो– गायब सभामुख कविता सङ्ग्रह । हुन त उनका कतिपय कवितामा अतीतबोध र इतिहासबोधका साथै भविष्यदृष्टि पनि सञ्चारित पाइन्छ; तर आफैँले देखेको भोगेको आफ्नै युगका वातावरण, राष्ट्रिय अपेक्षा, जनसरोकारका विषय र सार्वजनिक मनोविज्ञानको अनुगुञ्जनका रूपमा उनका कविता देखिन आउँछन् । उनी बद्ध लय र मुक्त लयजस्ता दुवै थरी लय ढाँचाको प्रयोगमा कुशल छन् । गायब सभामुख चाहिँ उनको मुक्त लयात्मक कविता सङ्ग्रह हो ।

वासुदेव अधिकारी युगीन वातावरण, जनध्वनि, आम मनोविज्ञान र सञ्चेतनाको सम्प्रसार गर्ने कवि हुन् भन्नुको तात्पर्य के हो ? यसका तात्पर्य अनेक हुन सक्तछन् तैपनि उनका कविताका पाठकले ग्रहण गर्ने मुख्य कुरो चाहिँ उनी युगीन राजनीतिक संस्कृतिको वातावरणलाई व्यक्त गर्ने र त्यसप्रतिको आफ्नो प्रबुद्ध नागरिक चेतनामूलक प्रतिक्रिया पनि प्रकट गर्ने कवि हुन् भन्ने नै हो । उनले जहाँ आफ्ना अघिल्ला कविता सङ्ग्रहमा युगसञ्चेतनालाई टड्कारो रूपमा व्यक्त गरेका छन् त्यहीँ यस पछिल्लो गायब सभामुख सङ्ग्रहमा पनि उनले हाम्रो मुलुकको समयुगीन सङ्क्रमणग्रस्त, अस्तव्यस्त, स्वार्थप्रेरित र राष्ट्र तथा जनताका अपेक्षा एवम् सपनाहरू ध्वस्त भएको राजनीतिक वातावरणप्रति आफ्ना हृदयबाटै निस्किएको तर विवेकपूर्ण कवितात्मक प्रतिक्रियालाई प्रखर÷खरो रूपमा प्रकट गरेका छन् । त्यसो हुनाले यो गायब सभामुख उनको राजनीतिक स्वरलाई मुखरित गर्ने कविता सङ्ग्रह हो र यसको राजनीतिक अध्ययन अपेक्षित छ ।

निश्चय नै सबै साहित्यिक स्रष्टा र तिनका कृतिको र वासुदेव अधिकारीकै अन्य कृतिको पनि राजनीतिक अध्ययन गर्न सकिन्छ भने यस गायब सभामुखमा रहेका सबै कविता समयुगीन नेपाली राजनीतिका प्रवृत्ति र व्यवहारप्रति लक्षित छन् र यिनले नेपाली राजनीतिका विगत छ वर्षका सेरोफेरोप्रतिको टिप्पणीमूलक इतिवृत्त प्रस्तुत गरेका छन्; त्यसैले उनको यो कवितासङ्ग्रह राजनीतिक स्वरप्रधान रचना हो र यसको राजनीतिक विश्लेषण नै गर्नुपर्छ ।

वासुदेव अधिकारीको प्रस्तुत गायब सभामुख कविता सङ्ग्रहमा व्यक्त राजनीतिक चेतनाको एक मुख्य बुँदा गणतान्त्रिक नेपालका राष्ट्रिय अखण्डताप्रतिको निष्ठा हो भने नेपालका राजनीतिक वृत्तमा व्याप्त स्वार्थपरायणता, बढ्दो अपराधवृत्ति तथा जननिर्वाचित संविधानसभाबाट गणतान्त्रिक नेपालको संविधान जारी गर्न नसक्नुका नपुंसकता र लाचारीको निन्दा यस कविता सङ्ग्रहभर व्याप्त रहेको राजनीतिक चेतनाको अर्को उल्लेख्य बुँदा हो । उनले यस सङ्ग्रहको उठान २०६३ साल चैतमा रचेको ‘अग्निस्राव र संविधानसभा’ शीर्षकको त्यस कविताबाट गरेका छन् जसमा उनले २०६२÷६३ सालको जनआन्दोलनले तताएको देश चिसिँदै जाँदा मुटु सरहको आफ्नो देशको भूगोल कतै बग्ने र चोक्टिने हो कि भन्ने आशङ्काका साथ सामन्तवादको समाप्ति र पुराना तथा नयाँ किरीट÷श्रीपेच भाँच्न अनि पहाड तथा तराईको पिछडिएको र निदाएको जीवनलाई उकास्न, लुटतन्त्र र अराजकतालाई कुल्चन, विखण्डनकारी चेतनालाई डढाउन तथा गणतान्त्रिक सुन्दर नेपाल राष्ट्रको अखण्डताको गीत गुन्जाउन आवश्यक पर्ने नयाँ संविधान बनाउनका निम्ति संविधानसभा जरुरी रहेको राजनीतिक स्वरलाई जोडदार ढङ्गले सुसेलेका छन् । वासुदेव अधिकारीले प्रस्तुत सङ्ग्रहलाई २०६९ जेठ १९ गते रचेको ‘गायब सभामुख’ शीर्षकको त्यस कविताको रखाइबाट टुङ्ग्याएका छन्, जुन यस सङ्ग्रहकै परिचायक मुख्य नाम हुनुका साथै २०६३ सालमा उठाइएको माग अनुरूप गठित जननिर्वाचित संविधानसभाको विघटन, नेपाली जनताद्वारा चिर अपेक्षित गणतान्त्रिक नेपालको संविधान प्राप्त गर्ने सुस्वप्नमाथि भएको तुसारापात तथा संविधानसभाका भद्र सभामुख (हुनुपर्नेः अध्यक्ष) विकृत मानसिकता भएका नेताहरूका क्षुद्र मायाजालमा परेको, तिनै नेताको उन्मादको ढुङ्गा बर्सिएर संविधानसभाको भ्रूणहत्या भएको अनि संविधानसभाको सफलताका निम्ति सधैं जागरुक र चिन्तित रहिआएका सभामुखको दियो अकस्मात् निभेको र उनी अलप÷गायब भएको अद्यावधिक नेपाली राजनीतिक परिदृश्यको सङ्केतका रूपमा रहेको छ । यी दुई कविताका बिच उनिएका अठार कवितामा उनले २०६३ साल चैतयताको र २०६९ जेठ १९ उताको नेपालको सङ्क्रमणशील, अस्तव्यस्त, विकृत, अपराधग्रस्त र नेताहरूका क्षुद्र स्वार्थ एव व्यर्थ उन्मादबाट ग्रस्त राजनीतिक परिदृश्यप्रतिको कडा आलोचनात्मक प्रतिक्रिया प्रकट गरेको पाइन्छ ।

वासुदेव अधिकारीले वेलावेला २०६२÷६३ सालको नेपाली जनआन्दोलनले उठाएका मागहरूको सन्दर्भ पनि राख्दै नेपाली राजनीति तथा राजनीतिकर्मीमा देखा पर्न लागेका बेथिति, चारित्रिक विचलन, पापी र अपराधग्रस्त मानसिकता, पूँजीवादी सञ्चय वृत्तिले ग्रस्त कमाउधन्दा, बढ्दो निरुत्तरदायिता, जनताले लिएका अपेक्षा र सपनाको विफलताका साथै पलायन र ध्वंस, नेता र जनप्रतिनिधिले गरेका सङ्कल्प र कबोलको विघटन अनि राज्य पुनःसंरचनाका नाममा जातीय जनजातीय विद्वेष बढाई राष्ट्रलाई विखण्डनतर्फ धकेल्न लागिएको परिस्थिति जस्ता अनेक पक्षको यथार्थ अङ्कन गर्दै तिनका प्रतिको आफ्नो कवितामूलक राजनीतिक प्रतिक्रिया यस सङ्ग्रहका कवितामा प्रकट गरेका छन् । उनको त्यो राजनीतिक प्रतिक्रिया तिखो कटाक्षका रूपमा, मर्मान्तक आलोचनाका रूपमा, राष्ट्र तथा जनताले लिएको सङ्क्रमणकालीन यथास्थितिबाट उन्मुक्ति र शान्ति एवं समृद्धितर्फको अग्रगामिताको अपेक्षाका रूपमा अनि पुराना–नयाँ सबैथरी सामन्ती संस्कार र सोचको भञ्जन गर्नुपर्ने क्रान्तिकारी मागका रूपमा व्यक्त भएको छ । यी सबै कुराका सन्दर्भमा विचार गर्दा गणतान्त्रिक नेपालको पक्षधरताका साथै राष्ट्र विखण्डनको अधमताका विपक्षमा र नेपाली अखण्ड राष्ट्रियताको उत्तमताका पक्षमा रहेको उनको राजनीतिक चेतना नै प्रस्तुत कविता सङ्ग्रहको विषयवस्तुगत तथा वैचारिक समग्रता हो भन्ने ठहरिन आउँछ ।

प्रस्तुत कविता सङ्ग्रहमा कवि वासुदेव अधिकारीले २०६३ सालयताको नेपाली जनताका माग र नेपाली राजनीतिका बिचको अन्तद्र्वन्द्वलाई ठाउँठाउँमा निकै मार्मिक ढङ्गले उठाएको पाइन्छ । २०६२÷६३ को आन्दोलनको सफलतापछि संविधानसभा निर्वाचन गर्ने विषयमा भइरहेको अलमल र जनताका आमूल रूपान्तरणकारी चेतनाको सन्दर्भलाई उनले यसरी व्यक्त गरेका छन् ः

ऐना हेर्ने भ्याएनँौँ हामीले

गौरवगाथा कोर्नै भ्याएनौं हामीले

जनता आन्दोलन सम्झिरहन्छ

नयाँ नेपाल कल्पिरहन्छ

संविधानसभा जपिरहन्छ

कति अपमानित छ ऊ

पटकपटक संविधानसभा लत्याउँदा

शान्त्तिको महमा

बारुदी कलबिख घोल्लिदा

जनता छिनाफानो चाहन्छ ः मुद्दाको

पिप निचोर्न चाहन्छ ः घाउको

ऊ आफ्नै अघिल्तिर

सामन्तवाद पुर्न चाहन्छ

पुराना नयाँ किरीट भाँच्न चाहन्छ

(अग्निस्राव र संविधानसभा)

कवि वासुदेव अधिकारीले लुटतन्त्र र अराजकताका विरुद्धमा र गणतान्त्रिक अखण्ड नेपालका पक्षमा २०६३ सालमै आफूलाई यसरी उभ्याएका छन् ः

भयको पर्यायवाची लुटतन्त्रलाई

गणतन्त्र बोल ः सुन्दर नेपाल सुसेल

अराजकता कुल्च ः

विखण्डनलाई हार्दिकताको आगोमा भष्मीभूत गर

(अग्निस्राव र संविधानसभा)

तर प्रस्तुत सङ्ग्रहमा सङ्कलित दोस्रो कविता नै सङ्क्रमणको गीतका रूपमा आएको छ र त्यहाँ समूह गायक सभासद् र मुख्य गायक नेताका भूमिका एवं चरित्रमा आएको राजनीतिक, आर्थिक र नैतिक विचलनप्रति कवि वासुदेव अधिकारीले तिखो व्यङ्ग्य गरेका छन् । त्यहाँ उनले भनेका छन्ः

क) मुख्य गायकहरू

समूहमा नआउने

सहायकहरूले

मुख्य गीत नै गाउन नपाउने

निकै जटिल भयो समय

सेसन आइरह्यो

सेसन गइरह्यो

तलब आइरह्यो

भत्ता आइरह्यो

पेस्कीको निरन्तरता

बिल भर्पाईको पहाड

समय आइरह्यो

समय गइरह्यो

ख) शिकार लिन गएको भान्से

गाउँका चेली बलात्कारमा फस्यो

चामल लिन गएको मान्छे

मित्र हत्यामा पक्राउ प¥यो

(सङ्क्रमण गीत)

उद्धरण (क) मा शीर्ष नेताहरूले संविधान बनाउने मुख्य जिम्मेवारीमा ध्यान नदिएको र आर्थिक विचलन बढेको अनि उद्धरण (ख)मा राजनीतिकर्मीको चरित्र आपराधिक बनेको कुरालाई व्यङ्ग्यात्मक तरिकाले व्यक्त गरिएको छ ।

कवि वासुदेव अधिकारीले प्रस्तुत सङ्ग्रहको तेस्रो क्रममा रहेको ‘सडक इन्जिनियरसँग’ कवितामा नेपालका सम्पूर्ण गाउँमा सडक यातायात पु¥याउने नेपाली जनताको आकाङ्क्षाका साथै राष्ट्रनिर्माणमा लागेका इन्जिनियरमा देखा परेको लोभी प्रवृत्तिप्रति कटाक्ष गरेका छन् भने चौथो क्रममा रहेको ‘कार्यभार’ कवितामा विभेदमा पारिएका महिला, दलित एवं सीमान्तीकृत गरिब वर्ग र जातिका साथै सबै नागरिकलाई बलियो बनाउनुपर्ने स्वरलाई गम्भीरतापूर्वक उठाएका छन् । उनले पाँचौँ कवितामा संविधान बनाउन अक्षम रहेको संविधानसभाका अवसरवादी झुन्डलाई भीरको कुभिन्डो भनेका छन् भने छैटौँ कवितामा आफ्ना उद्देश्यप्राप्तिका मार्गबाट विचलित सभासद्प्रति गुनासो गर्दै तिनका भ्रष्टाचारी प्रवृत्तिको निन्दा पनि गरेका छन् । उनी लेख्छन्ः

क) आफू घाँस दाउरामा जान

आफू पानी पँधेरामा रमाउन

खनजोत वा व्यवसायमा अल्मलिन

सांसद बनाएका हौँ तिमीलाई

गतिलो संविधान लेख्न

अखण्ड राष्ट्रको गीत गाउन

तिमीले गायौ त्यसरी नै ?

ख) किन बन्दुकको दाम्लोमा झुन्डिएका सधैँ ?

किन रातो पासपोर्टको हाटमा भेटिएका सधैँ ?

हामीले भेटेका छौँ

तिमीले च्यातेर रछानमा फालेका कागज

लेख्दै नलेख्ने कलम

र उभिन्डिएको मसी

लज्जा छैन तिनको अपव्ययमा ?

ग) जब जेठ चौध आउँछ

तिमी आफैँले च्यातेको

रछानको कागज टाँस्ने मुद्रामा भेटिन्छौ

थुकले कागज टाँस्छौ

समयाभावको अभिनय गर्छौ

निर्घात रुन्छौ

र थप जागिरको याचना गर्छौ

तिमी स्वयम् के भन्छौ ?

संविधानको कपुरी क नलेखेकोमा !

अखण्ड मुलुक नगाएकोमा !

नित्य अराजकता रोपी

वषौँ वर्ष समय चपाएकोमा !

माथिका उद्धरणमध्ये (क) मा नेपाली राष्ट्रिय अखण्डताको अडान, (ख) मा सभासद्का अपराधी र भ्रष्टाचारी अनि आर्थिक अपचलनकारी र फजुलखर्ची कर्म र (ग) मा समयको अपचलन गरेर पनि समयाभावको नाटक र रुवाइको प्रदर्शनी गर्ने प्रवृत्ति अनि राष्ट्रिय अखण्डताका विरुद्ध गरिएको अराजकताको बीजारोपण सम्बन्धी समयुगीन राजनीतिक सन्दर्भलाई कवि वासुदेव अधिकारीले विभिन्न मुद्रा र ढङ्गद्वारा गम्भीरतापूर्वक व्यक्त गरेका छन् ।

कवि वासुदेव अधिकारीले प्रस्तुत सङ्ग्रहमा सङ्कलित कवितामध्ये ‘लाक्र्यार यात्रा’ कवितामा कमरेडका चरित्रमा देखा परेको राष्ट्रिय राजनीतिक बेइमानी, शैक्षिक चरित्रगत विचलन, सांस्कृतिक मिथ्याचार र देश, जनता तथा पार्टी कार्यकर्ताप्रतिको विश्वासघातको चित्रण गर्दै नैतिक प्रश्न उठाएका छन् भने ‘चर्तिकला’ कवितामा भान्से बनाइएको अगुवाले वा नेताले भान्सा वा देशलाई रणभूमिमा परिणत गरी बीभत्सता फिँजाएको अनि जनताका नागरिक अधिकारलाई कुल्चिएको युगसन्दर्भप्रति आक्रोश एवं निन्दा प्रकट गरेका छन् । यसै गरी उनले ‘बाबियो’ कवितामा राष्ट्रमा, समाजमा र सबैमा अराजक प्रवृत्ति बढेको कुरा व्यक्त गरेका छन् भने ‘डेटिङ याचना’ कवितामा संविधान लेखन गर्न अक्षम संविधानसभाका सभासद्प्रति व्यङ्ग्य गर्दै प्रत्येक मुलुकवासीले सुस्पष्ट संविधान पाउनुपर्ने नागरिक चेतनालाई वाणी दिएका छन् ।

प्रस्तुत सङ्ग्रहमा रहेको ‘घरको कथा’ कवितामा घरको वा मुलुकको नवनिर्माण गर्ने आकाङ्क्षालाई कमजोर बनाइएको र विद्वेष बढाउन खोजिएको राष्ट्रिय राजनीतिक वातावरणप्रति वासुदेव अधिकारीले असन्तोष प्रकट गरेका छन् भने ‘जात्रा अनुकरण’ कवितामा संविधान बनाउन नसक्ने संविधानसभाका यात्रा र हाँडीगाउँँको जात्रामा समदृश्य त छैन भनी व्यङ्ग्य हानेका छन् । कवि अधिकारीले ‘आमासँग‘ कवितामा सामाजिक न्याय र समानुपातिक आर्थिक वितरणको मागसँग सम्बद्ध समाजवादी राजनीतिक चेतना व्यक्त गरेका छन् भने ‘होमवर्क र फेसबुक जुलुस’ कवितामा पाठ नबुझाउने सभासद्लाई के सजाय दिने भन्ने नैतिक प्रश्न उठाउँदै यसका निम्ति फेसबुक कमेन्टको जुलुस निकाल्ने भनी युगीन सञ्चार प्रविधिको उपयोग गर्ने चासो देखाएका छन् ।

वासुदेव अधिकारीले ‘डाक्टरसँग’ कवितामा नजन्मिँदै सन्तानलाई मार्नु र पाल्नुपर्ने सन्तानले नजन्मिँदै मातृहत्याको उद्यम गर्नु कस्तो हो भन्ने प्रश्न उठाई समयुगीन नेपालका राजनीतिक नेताका कर्म, चरित्र र भूमिकाप्रति व्यङ्ग्य प्रहार गरेका छन् भने ‘नाक जोखाइ’ कवितामा स्वदेशी विदेशी खातामा भइरहेको रकम ओहोरदोहोर र खल्ती झोल्लिनु वा भरिभराउ हुनुका परिणामस्वरूप नै नाक वा नश्लका आधारमा मुलुकलाई नश्लीय सङ्घीयतामा लैजाने भयानक खेल भएको राजनीतिक वातावरणको उद्घाटन गरिदिएका छन् । त्यसै गरी यस सङ्ग्रहमा परेको ‘भस्मासुर उवाच’ कवितामा नयाँ राजनीतिकर्मीको आर्थिक दुश्चरित्र र तिनले संविधान बनाउन नसक्नुको कारण पनि त्यही आर्थिक अपराधी चरित्र हो भन्ने कुरालाई घुमाउरो तरिकाले व्यक्त गरिएको छ भने ‘अवतार’ कवितामा नेपालमा विदेशी हस्तक्षेप बढेको र त्यही नै निर्र्णायक हुन पुगेको युगीन राष्ट्रिय राजनीतिक वस्तुस्थिति व्यक्त भएको छ ।

यसरी प्रस्तुत सङ्ग्रहका कवितामा वासुदेव अधिकारीले समयुगीन नेपाली राजनीतिका ती समग्र पाटा उघारिदिएका छन् जुन नेपालका अगुवा राजनीतिकर्मीका चरित्रमा आएका विचलन, आर्थिक अपचलन, समयको बर्बादीका साथै नेपाली जनताको नयाँ संविधान प्राप्तिको अधिकारमाथि गरिएको खेलबाड र बेइमानी अनि नेपालमा बढ्दो वैदेशिक हस्तक्षेप एवं अराजकता तथा नेपालको नश्लीय विभाजन चाहने वैदेशिक आकाङ्क्षासँग जोडिएका छन् । यी सबै कुराको उद्घाटनद्वारा कवि अधिकारीले चाहिँ आफूलाई गणतान्त्रिक नेपालको अखण्डताका पक्षमा उभ्याएका छन् र सम्पूर्ण किसिमका सामन्ती साङ्लालाई चुँडाई सभ्य, समृद्ध र शान्त नेपाल राष्ट्रको सुखी नागरिक हुनुको गौरवबोध गर्न पाउनुपर्छ भन्ने उदात्त राष्ट्रवादी राजनीतिक स्वर ध्वनित गरेका छन् ।

कवि वासुदेव अधिकारीको मूलभूत राजनीतिक दर्शन ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादको नेपालानुकूलित अद्यावधिक त्यो संस्करण हो जसलाई नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव (वि.सं. २०४८–२०५०) मदन भण्डारीले जनताको बहुदलीय जनवादका रूपमा प्रतिष्ठापित गरेका थिए । कवि अधिकारीले अवलम्बन गरेको मूलभूत राजनीतिक दर्शन यही जनताको बहुदलीय जनवाद हो भन्ने कुराको पुष्टि गर्ने आधार उनैले रचेको आफन्तलाई सम्बोधन भन्ने कविता सङ्ग्रह हो । जनताको बहुदलीय जनवादका मुख्य स्थापनाहरूमध्ये राष्ट्रियता, गणतन्त्र, बहुदलीय वैचारिक राजनीतिक चुनावी प्रतिस्पर्धा र वर्गीय, क्षेत्रीय, लिङ्गीय तथा अरू विविध किसिमका विभेदमा पारिएका श्रमजीवी किसान, मजदुर, न्यून वेतनभोगी कर्मचारी लगायत सम्पूर्ण गरिब र सीमान्तीकृत जनताको मुक्ति–समुन्नति, निरङ्कुश सामन्ती शासन व्यवस्था र पुँजीवादी आर्थिक शोषण उत्पीडनको समाप्ति, साम्राज्यवादी हस्तक्षेप र उपनिवेशवादी अतिक्रमणका विरुद्ध सुदृढ अखण्ड राष्ट्रिय एकताजस्ता अनेक पक्ष उल्लेखनीय छन् । यही जनताको बहुदलीय जनवाद एक्काइसौं शताब्दीको नेपालका निम्ति अनुकूल राजनीतिक दर्शन हो भन्ने धारणा आफन्तलाई सम्बोधनका कवि वासुदेव अधिकारीमा टड्कारो रूपमा देखिन्छ भने प्रस्तुत गायब सभामुख कविता सङ्ग्रहका राजनीतिक चेतनाको निर्देशक सिद्धान्त पनि त्यही हो । त्यसैले यस गायब सभामुख सङ्ग्रहमा उनी गणतान्त्रिक अखण्ड नेपाली राष्ट्रियताका पक्षमा र बहुदलीय चुनावी प्रतिस्पर्धाबाट संविधानसभाको चुनाव हुनुपर्ने पक्षमा सुरुदेखि नै उभिएका छन् । तर संविधानसभाको चुनाव गर्ने÷नगर्ने बारे उठेका विवादका सन्दर्भमा उनका मनमा पनि पछि राष्ट्रलाई विखण्डित पार्ने खेल खेलिने पो हो कि भन्ने जुन आशङ्का उब्जिएको थियो त्यसलाई उनले यस सङ्ग्रहका कवितामा रूपान्तरित गरेकै छन् ।

वासुदेव अधिकारी यस सङ्ग्रहका कवितामा जहाँ गणतान्त्रिक अखण्ड नेपालका पक्षमा उभिएका छन् त्यहीँ नश्लीय संघीयताका विपक्षमा पनि जोडदार ढङ्गले प्रस्तुत भएका छन् र जनताको बहुदलीय जनवादले लिएको वर्गसङ्घर्षबाटै समाजवादी संस्कृतिको संस्थापन गर्नुपर्छ भन्ने वैचारिक अडानलाई उनले कवितात्मक रूपमा ध्वनित गरेका छन् । यस क्रममा उनले नेपालका अगुवा राजनीतिक नेता, कार्यकर्ता तथा जननिर्वाचित सभासद्मा समेत देखिएको राजनीतिक, वैचारिक, आर्थिक, सांस्कृतिक, चारित्रिक अनि अरू अनेक पक्षगत विचलनप्रति कटु व्यङ्ग्य गरेका छन् र गणतान्त्रिक नेपाललाई शान्ति तथा समृद्धितर्फ डो¥याउने संविधान नआएकोमा त्यसका कारणी नेता, सभासद् लगायतका आनीबानी तथा दुश्चरित्रप्रति चोटिलो प्रहार गरेका छन् ।

यतिमात्र नभई एक भद्र चिन्तनशील सभामुखको अस्त भएकोमा र नेपाल राष्ट्र तथा नेपाली नागरिकका नियतिको निर्धारण गर्ने कार्यमा यहीँका अगुवा राजनीतिकर्मीको निर्णायक भूमिका हुनुपर्नेमा त्यसो नभई सम्पूर्ण राज्यसंयन्त्र, राजनीतिक दल र गैरसरकारी जातीय जनजातीय संस्थाहरूभित्र वैदेशिक हस्तक्षेप बढेकोमा वासुदेव अधिकारीले आफ्ना मनको र नेपालीका साझा मनको राष्ट्रिय अखण्डता भञ्जन हुन लाग्यो भन्ने गम्भीर चिन्तालाई कवितात्मक वाणी दिएका छन् । यी सबै कुरालाई उनले मुक्त गद्यलयात्मक ढाँचामा र प्रदीप्तिमय ओजस्वी राजनीतिक प्रयुक्तियुक्त भाषाशैलीमा व्यक्त गरेका छन् र त्यस क्रममा कहीँ ‘म’ कवि, कहीँ ‘हामी’ जनता, कहीँ ‘हामी’ सभासद्का तर्फबाट ‘तिमी’ प्रति गरिएको सम्बोधनका उक्ति ढाँचामा आलेखन गरेका छन् । यो गद्यलयात्मक काव्युक्ति व्यङ्ग्यप्रधान छ तथा यसमा समयुगीन नेपाली राजनीतिक संस्कृतिप्रतिको प्रखर आलोचना छ । त्यसैले यो कविता सङ्ग्रह समयुगीन नेपालका राजनीतिक कुसंस्कृतिलाई झल्काउने दर्पण भएको छ र यसले साहित्य समाजको दर्पण हो भन्ने कुरालाई सिद्ध गरेको छ । यसरी समयुगीन राष्ट्रिय राजनीतिक वातावरणमा मौलाएको कुसंस्कृतिलाई झल्काई शान्त, समृद्ध र सुसंस्कृत अखण्ड नेपाली राष्ट्रियताप्रतिको जोडदार पक्षधरता व्यक्त गर्ने कविता सङ्ग्रहका स्रष्टा वासुदेव अधिकारीलाई म हार्दिक अभिवादन गर्छु र यस कविता सङ्ग्रहको प्रकाशनको शुभ घडीको स्वागत गर्छु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।