15 वर्ष देखी निरन्तर
समकालीन साहित्य

नेपालका भाषाहरूको वर्तमान स्थिति

विचार डा. यदु नन्दन उपाध्याय July 3, 2014, 3:29 pm

अध्ययन सार

(यस अध्ययनमा नयाँ जन गणना (२०६८) अनुसारका नेपालका भाषाहरूको सङ्ख्यात्मक वितरणको स्थिति प्रस्तुत गरिएको छ । त्यसो गर्दा नेपालका पाँच विकास क्षेत्र तथा तिनको पनि हिमाली, पहाडी र तराईमा भएको नेपालका भाषाहरूको वितरणलाई पनि प्रस्तुत गरिएको छ । ती प्रत्येक क्षेत्रका पाँच वटा मुख्य भाषाको सङ्ख्यात्मक क्रमलाई पनि प्रस्तुत गरी तिनीहरूको स्थितिबोध गराइएको छ । यस क्रममा २०५८ सालमा नरहेका र नयाँ भाषाका रूपमा उदाएका भाषामध्ये कतिपय नेपालीकै भाषालाई भाषिका बनाइएको र त्यसो हुनुमा स्थानीय पहिचानको भाषाभाषीको आकाङ्क्षा तथा गणकलाई उचित निर्देशन दिन नसक्नु भएको अनुमान गरिएको छ । पुस्तकालयीय अध्ययन विधि मार्फत गरिएको यस अध्ययनमा पुनर्संरचित राज्यभित्र न्यूनतम १५ वा १० प्रतिशत वक्ताहरू रहेको भाषालाई मात्र प्रशासनिक माध्यमका रूपमा उपयोग गर्न उपयुक्त हुने सुझाव पनि प्रस्तुत गरिएको छ ।)

१. विषय प्रवेश

नेपाल बहुभाषिक मुलुक हो र यहाँ पछिल्लो जन गणनाका आधारमा १२३ वटा भाषाहरूको प्रयोग भएको पाइन्छ । २०५८ को राष्ट्रिय जन गणनामा जम्मा ९२ वटा भाषाहरू रहेको तथ्याङ्क प्रस्तुत भएकामा १० वर्षपछिको तथ्याङ्कमा यहाँका भाषाको सङ्ख्या २३ ले बढेको देखिएको छ । सो तथ्याङ्कले १० वर्षको अन्तरालमा नेपालको भाषिक सङ्ख्यामा ठुलो परिवर्तन भएको देखाएको छ । यस क्रममा २०६८ को जन गणनाका अनुसार नेपालका कुन कुन भाषाको सङ्ख्यात्मक स्थिति कस्तो छ ?, थपिएका भाषाहरू कुन कुन हुन् ? थपिनुका कारणहरू के के हुन सक्छन् ? आदि कुराका साथै विकास क्षेत्र र हिमाल, पहाड तराईमा नेपालका भाषाहरूको स्थिति के कस्तो छ जस्ता पक्षमा यस लेखमा तथ्याङ्क सहित चर्चा गरिएको छ ।

२. नेपालका मातृभाषाको तथ्याङ्कीय स्थिति

बहुभाषिक मुलुक नेपालको राष्ट्रिय जन गणना २०६८ का अनुसार १२३ वटा भाषाहरू मातृभाषाका रूपमा प्रचलनमा छन् भन्ने कुरा उल्लेख गरि सकिएको छ । मातृभाषा भनेको बालक काखमा हुँदै आमाबाट सिकिएको भाषा, आफ्नो समुदायबाट सिकिएको जातीय भाषा वा बालकले सर्वप्रथम सिकेको पहिलो भाषा हो (अधिकारी र भट्टराई, २०६८ ः ७९६) । नेपालको अन्तरिम संविधान २०६३ (२०६९ ः २ ) अनुसार नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा मानिन्छन् र ती सम्पूर्ण मातृभाषीको सङ्ख्या २,६४,९४,५०४ रहेको छ । उक्त मातृभाषाका वक्ताको सङ्ख्या र प्रतिशतको विवरण तल प्रस्तुत गरिएको छ ः

तालिका नं. १

क्र.सं. मातृभाषा मातृभाषी सङ्ख्या प्रतिशत

१ नेपाली १,१८,२६,९५३ ४४.६३

२ मैथिली ३०,९२,५३० ११.६७

३ भोजपुरी १५,८४,९५८ ५.९८

४ थारु १५,२९,८७५ ५.७७

५ तामाङ १३,५३,३११ ५.१०

६ नेवार ८,४६,५५७ ३.१९

७ मगर ७,८८,५३० २.९७६

८ डोटेली ७,८७,८२७ २.९७३

९ बज्जिका ७,३९,४१६ २.७९

१० उर्दु ६,९१,५४६ २.६१

११ अवधी ५,०१,७५२ १.८९

१२ लिम्बु ३,४३,६०३ १.२९

१३ गुरुङ ३,२५,७२२ १.२३

१४ वान्तवा १,३२,५८३ ०।५

१५ राजवंशी १,२२,२१४ ०.४६

१६ सेर्पा १,१४,८३० ०.४३

१७ राई १,५९,११४ ०.६

१८ चामलिङ ७६,८०० ०.२८

१९ सन्थाली ४९,८५८ ०.१८

२० चेपाङ ४८,४७६ ०.१८

२१ दनुवार ४५,८२१ ०.१७

२२ उराउ (झाँगड) ३३,६५१ ०.१२

२३ सुनुवार ३७,८९८ ०.१४

२४ हिन्दी ७७,५६९ ०.२९

२५ बाङ्गला २१,०६१ ०.०७९

२६ राजस्थानी २५,३९४ ०.०९५

२७ माझी २४,४२२ ०.०९२

२८ थामी २३,१५१ ०.०८७

२९ कुलुङ ३३,१७० ०.१२५

३० धिमाल १९,३०० ०.०७२

३१ अङगिका १८,५५५ ०.०७०

३२ याक्खा १९,५५८ ०.०७३

३३ थुलुङ २०,६५९ ०.०७७

३४ साम्पाङ १८,२७० ०.०६८

३५ भुजेल २१,७१५ ०.०८१

३६ दरै ११,६७७ ०.०४४

३७ खालिङ १४,४६७ ०.०५४

३८ कुमाल १२,२२२ ०.०४६

३९ थकाली ५,२४२ ०.०१९

४० छन्त्याल ४,२८३ ०.०१६१

४१ सङ्केत भाषा ४,४७६ ०.०१६८

४२ तिब्बती ४,४४५ ०.०१६७

४३ डुमी ७,६३८ ०.०२८

४४ जिरेल ४,८२९ ०.०१८

४५ बाम्बुले १३४७० ०.०५

४६ पुमा ६,६८६ ०.०२५

४७ ह्याल्मो १०,१७६ ०.०३८

४८ नाछिरिङ १०,०४१ ०.०३७

४९ दुरा २,१५६ ०.००८

५० मेचे ४,३७५ ०.०१६

५१ बोटे ८,७६६ ०.०३

५२ बहिङ ११,६५८ ०.०४

५३ कोई १,२७१ ०.००४

५४ राजी ३,७५८ ०.०१४

५५ हायु १,५२० ०.००५

५६ व्याँसी ४८० ०.००१

५७ याम्फु ९,२०८ ०.०३४

५८ घले ८,०९२ ०.०३०

५९ खरिया २३८ ०.०००८

६० छिलिङ २,०४६ ०.००७

६१ लोहोरुङ ३,७१६ ०.०१४

६२ पन्जाबी ८०८ ०.००३

६३ चाइनिज २४२ ०.०००९

६४ इङ्लिस २,०३२ ०.००७६

६५ मेवाहाङ ४,६५० ०.०१७

६६ संस्कृत १,६६९ ०.००६२

६७ काइके ५० ०.०००१८

६८ राउटे ४६१ ०.००१७

६९ किसान १,१७८ ०.००४४

७० मुसलमान १,०७५ ०.००४१

७१ बरम १५५ ०.०००५

७२ तिलुङ १,४२४ ०.००५३

७३ जेरो १,७६३ ०.००६६

७४ डुङमाली ६,२६० ०.०२३

७५ ओरिया ५८४ ०.००२२

७६ लिङखिम १२९ ०.०००४८

७७ कुसुन्डा २८ ०.०००१

७८ सिन्धी ५१८ ०.००१९

७९ कोचे २,०८० ०.००७८

८० हरियान्वी ८८९ ०.००३३

८१ मगही ३५,६१४ ०.१३४

८२ साम ४०१ ०.००१५

८३ कर्माली २२७ ०.०००८५

८४ कागते ९९ ०.०००३७

८५ डेजोङ्खा ८० ०.०००३

८६ कुकी २९ ०.०००१

८७ छिन्ताङ ३७१२ ०.०१४

८८ मिजो ३२ ०.०००१२

८९ नागामिज १० ०.००००३

९० ह्लोमी ८०८ ०.००३

९१ आसामी ४७६ ०.००१७९

९२ सधनी १२२ ०.०००४६

९३ पहरी ३,४५८ ०.०१३

९४ लाप्चा ७,४९९ ०.०२८

९५ ताजपुरिया १८,८११ ०.०७

९६ खस १,७४७ ०.००६५

९७ अठपरिया ५५३० ०.०२

९८ अछामी १,४२,७८७ ०.५३

९९ मलपान्डे २४७ ०.०००९३

१०० धुलेली ३४७ ०.००१३

१०१ खाम २७,११३ ०.१

१०२ अरबी ८ ०.००००३

१०३ स्पेनिस १६ ०.००००६

१०४ रसियन १७ ०.००००६१

१०५ गनगाई ३,६१२ ०.०१३

१०६ बेलहारे ५९९ ०.००२२

१०७ पड्डुवाली २९० ०.००१

१०८ वालुङ १,१६९ ०.००४४

१०९ सुरेल २८७ ०.००१

११० वैतडेली २,७२,५२४ १.०२

१११ वनकटिया ६९ ०.०००२६

११२ बझाङी ६७,५८१ ०.२५

११३ फ्रेन्च ३४ ०.०००१२

११४ लोपा ३,०२९ ०.०११

११५ डोल्पाली १,६६७ ०.००६२९

११६ जुम्ली ८५१ ०.००३२

११७ दैलेखी ३,१०२ ०.०११७

११८ सोनहा ५७९ ०.००२१

११९ डडेल्धुरी ४८८ ०.००१८

१२० बाजुरेली १०,७०४ ०.०४

१२१ दार्चुलेली ५,९२८ ०.०२२

१२२ मनाङी ३९२ ०.००१४७

१२३ गढवाली ३८ ०.०००१४३

१२४ अन्य २१,१७३ ०.०७९

१२५ रिपोर्ट नभएका ४७,७१८ ०.१८

स्रोत ः केतवि, २०६९ ः पृ. १६४–१६७

उपर्युक्त तालिका नं. १ मा २०५८ को गणनामा नरहेका र २०६८ मा थपिएका राई, ताजपुरिया, अठपरिया, गनगाई, खाम, मलपान्डे, दुलेली, अरबी, स्पेनिस, रसियन, डोटेली, बेलहारे, पङ्डुवाली, वालिङ्, सुरेल, वैतडेली, वनकरिया, बझाङी, फ्रेन्च, लोपा, डोल्पाली, जुम्ली, दैलेखी, सोनहा, डडेल्धुरी, बाजुरेली, दार्चुलेली, मनाङी, गढवाली रहेका छन् । सो तथ्याङ्कमा अन्य भाषाभाषीको सङ्ख्या २१,१७३ दिइएको छ भने रिपार्ट नै नभएका भाषाभाषीको सङ्ख्या ४७,७१८ रहेको उल्लेख पनि गरिएको छ ।

नयाँ जन गणनामा समावेश भएका कतिपय भाषाको सङ्ख्या थपिए पनि तिनका वक्ताको सङ्ख्या त्यति धेरै छैन । यस क्रममा १०० जनाभन्दा कम सङ्ख्या रहेका भाषाहरूमा काइके, कुसुन्डा, कागते, डोजोङ्खा, कुकी, मिजो, नागमिज, अरबी, स्पेनिस, वनकरिया, फ्र्रेन्च, गढवाली गरी १२ रहेका छन् । कुसुन्डा भाषाभाषी जम्मा ३२ रहेका छन् र तिनीहरू पनि एकै ठाउँ नरही विभिन्न ठाउँमा छरिएर बसेकाले भाषा नै लोप हुन सक्ने सम्भावना प्रबल देखा पर्छ । १०० भन्दा कम बक्ता भएका अरू भाषाहरू नेपालमा बसेका विदेशीहरूका हुन् र तिनमा घटबढ पनि भइ रहन सक्छ ।

खास गरी थपिएका डोटेली, वैतडेली, बझाङी, बाजुरेली, अछामी दार्चुलाली आदि नयाँ भाषाहरू सँच्चैका भाषा हुन् कि नेपालीका भाषिका भन्ने बारे अनुसन्धान हुनु आवश्यक छ । अघिल्ला जन गणनामा यिनलाई नेपालीका भाषिकामा राखिएको थियो (गौतम, २०६७ ः ३५३–३५९) भने अहिले तिनलाई छुट्टै भाषाका रूपमा राखिएको छ । यो कुरा २०५८ को जन गणनाको सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको नेपाली मातृभाषीको तथ्याङ्क १७,४७,१६३ रहेकामा (न्यौपाने र अन्य, २०६७ ः ३१०) यस पटक सो सङ्ख्या ह्वात्तै घटेर ७,७०,३२२ हुन पुगेकोले पनि प्रस्ट पार्छ । यसको तात्पर्य के भने २०५८ को जन गणनामा नेपालीभित्र समाविष्ट रहेका भाषाभाषी नै यस पटक छुट्याइएकाले ह्वात्तै करिब १० लाखले घटेका देखिन्छन् । त्यस्तै अघिल्लो जन गणनामा भाषिकाका रूपमा रहेको डोटेली यस पटक त्यस विकास क्षेत्रकै सबभन्दा बढी वक्ता रहेको भाषामा सूचीकृत गरिएको छ । त्यति मात्र होइन वैतडेली, बझाङी, अछामी आदि नयाँ भनिएका भाषाको सङ्ख्या पनि उल्लेख्य रहेको छ । यसैले अहिलेको भाषिक जन गणनामा कतिपय अस्पष्टता देखा परेका छन् जसको समाधान भाषा वैज्ञानिक अनुसन्धानपछि मात्र हुन सक्ने देखिन्छ ।

यस क्रममा विभिन्न विकास क्षेत्रमा नेपालका भाषाका वक्ताहरूको स्थिति कस्तो छ ? भन्ने कुरालाई पनि हेर्नु जरुरी छ र यहाँ क्षेत्र अनुरूपको विवरण क्रमशः प्रस्तुत गरिएको छ ।

३. पाँच विकास क्षेत्रमा नेपालका भाषाहरूको स्थिति

नेपालमा बोलिने १२३ वटा भाषामा कतिपय सीमित क्षेत्रमा बोलिन्छन् भने कतिपय ठुलो क्षेत्रमा फैलिएका पनि छन् । यस क्रममा नेपालका पाँच विकास क्षेत्रमा बोलिने प्रमुख भाषाहरूको स्थिति के कस्तो छ र कुन भाषा बढी र घटीका क्रममा छन् ? भन्ने कुरा तलको तलिकामा प्रस्तुत गरिएको छ ।

तालिका नं. २

विकास क्षेत्र र भाषा क्रम पहिलो भाषा दोस्रो भाषा तेस्रो भाषा चौथो भाषा पाँचौँ भाषा

पूर्वाञ्चल ५८,११,५५५ नेपाली २०,०७,०२४ मैथिली १५,६०,०९७ लिम्बु ३,३२,३४६ थारु २,६१,५०९ तामाङ १,८४,९३७

मध्यमाञ्चल ९६,५६,९८५ नेपाली ३४,८१,८९४ मैथिली १४,६२,२९८ तामाङ ११,१०,५२२ भोजपुरी १०,४५,२०१ बज्जिका ७,९१,९८७

पश्चिमाञ्चल ४९,२६,७६५ नेपाली २९,०३,९५५ भोजपुरी ५,१७,५३१ मगर ३,९०,५३१ अवधी ३,४१,१२२ गुरुङ २,२६,८९९

मध्य पश्चिमाञ्चल ३५४६६८२ नेपाली २६,६३,७५८ थारु ४,५४,५१६ अवधी १,५७,३६३ उर्दु १,०३,५९२ मगर ८४,७७४

सुदूर पश्चिमाञ्चल २५,५२,५१७ डोटेली ७७७२४७ नेपाली ७७०३२२ थारु ४३४३०४ वैतडेली २७१८३८ अछामी १४२५१६

पूर्वाञ्चल विकास क्षेत्रमा मेची, कोशी र सगरमाथा अञ्चलका हिमाली, पहाडी र तराईका १६ जिल्ला पर्दछन् । यस क्षेत्रमा जम्मा ५८,११,५५५ वक्ता रहेका छन् । तलिकाले चित्रित गरे अनुसार यस क्षेत्रको भाषिक स्थितिमा सबै भन्दा बढी वक्ता नेपालीका छन् भने त्यसपछि क्रमशः मैथिली, लिम्बु, थारु तथा तामाङ रहेका छन् । मध्यमाञ्चल क्षेत्रमा नारायणी, वागमती र जनकपुर अञ्चलका हिमाली, पहाडी तथा तराईका १९ वटा जिल्लाहरू पर्दछन् । यस क्षेत्रका जम्मा भाषिक वक्ताहरू ९६,५६,९८५ छन् । यस क्षेत्रको भाषिक क्रममा सबभन्दा बढी नेपाली त्यसपछि क्रमशः मैथिली, तामाङ, भोजपुरी र बज्जिका भाषा रहेका छन् । बज्जिका भाषा २०५८ सालको जन गणनामा मात्र देखिएको भाषा हो र यो यस क्षेत्रका तराईको पाँचौँ भाषामा परेको छ । पश्चिमाञ्चल विकास क्षेत्रका गण्डकी, लुम्बिनी र धवलागिरि अञ्चलका हिमाल, पहाड र तराईका १६ वटा जिल्ला पर्दछन् । यस क्षेत्रमा पनि सब भन्दा बढी वक्ता नेपालीका छन् भने त्यसपछिको क्रममा क्रमशः भोजपुरी, मगर, अवधी र गुरुङ भाषा देखिएका छन् ।

उपर्युक्त तालिका नं. २ मै उल्लेख गरिएको मध्य पश्चिमाञ्चल विकास क्षेत्रमा राप्ती, भेरी र कर्णाली अञ्चलका हिमाल, पहाड र तराईका १५ जिल्लाहरू समेटिएका छन् । त्यहाँको भाषिक क्रममा पनि सबभन्दा बढी नेपाली र त्यसपछिका क्रममा थारु, अवधी उर्दु र मगर भाषा देखिएका छन् । तालिकाको अन्तिम लहरमा सुदूर पश्चिमाञ्चल विकास क्षेत्रका भाषाहरूको विवरण प्रस्तुत गरिएको छ । यस क्षेत्रमा सेती र महाकाली अञ्चलका हिमाल, पहाड र तराईका ९ जिल्लाहरू समावेश गरिएको छ । सो विवरणमा भने २०६८ को जन गणनाबाट मात्र देखा परेको डोटेली भाषाले नेपालीलाई उछिनेर पहिलो स्थान बनाएको देखिएको छ । यस क्षेत्रको दोस्रो क्रममा रहेको भाषा नेपाली र त्यसपछि क्रमशः थारु, वैतडेली र अछामी भाषा रहेका छन् । यहाँको भाषिक वितरण २०५८ को भन्दा निकै भिन्न देखिएको छ । तालिकामा प्रस्तुत गरिएका यस क्षेत्रका थारु र नेपाली बाहेकका भाषाहरू नयाँ छन् जुन भाषा नभएर नेपाली भाषाकै भाषिका हुने सम्भावना रहेको कुरा माथि नै औँल्याइ सकिएको छ ।

३.१ हिमाल, पहाड र तराईमा नेपालका भाषाहरूको स्थिति

विकास क्षेत्रका आधारमा नेपालका भाषाहरूको वितरणको स्थिति प्रस्तुत गरि सकेपछि अब पुनः नेपालको भौगोलिक वा पर्यावरणीय विभाजन अनुसार उक्त विकास क्षेत्रका भाषाको स्थिति के कस्तो छ भनी हेर्नु पनि जरुरी छ । त्यसमा नेपाललाई हिमाल, पहाड तथा तराईमा विभक्त गरी त्यहाँको बेग्लाबेग्लै भाषिक स्थिति प्रस्तुत गरिएको छ । यसको पनि उपर्युक्त पाँच विकास क्षेत्रमा पर्ने हिमाल, पहाड र तराईको भाषिक स्थितिलाई निम्न अनुसार प्रस्तुत गर्न सकिन्छ ।

तालिका नं. ३

३.१.१ पूर्वाञ्चलका हिमाल, पहाड र तराईको भाषिक स्थिति

भौगोलिक क्षेत्र र भाषिक क्रम पहिलो भाषा दोस्रो भाषा तेस्रो भाषा चौथो भाषा पाँचौँ भाषा

हिमाल

३,९२,०८९ नेपाली

१,५९,९१५ लिम्बु

५६,०८० सेर्पा

४४,०३० तामाङ

२९,०३४ कुलुङ

२०,२१४

पहाड १६,०१,३४७ नेपाली

७,५४,६५८ लिम्बु

१,७४,३१८ वन्तवा १,०५,७४८ मगर

१,०१,७८५ तामाङ

२९,०३४

तराई ३८,१८,११९ मैथिली १५,४१,८७९ नेपाली १०,९२,४५१ थारु

२,३६,४६२ उर्दु

१,७१,८२० राजवंशी १,२१,०३८

उपर्युक्त तलिका नं. ३ मा प्रस्तुत गरिएका पूर्वाञ्चलको हिमालमा ताप्लेजुङ्, सोलुखुम्बु, संखुवासभा जिल्लाहरू पर्दछन् भने त्यसै क्षेत्रको पहाडी जिल्लामा इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ्, ओखल ढुङ्गा र उदय पुर पर्दछन् । यस क्षेत्रकै तराईका जिल्लाहरूमा झापा, मोरङ्, सुनसरी, सप्तरी र सिरहा पर्दछन् । माथि पूर्वाञ्चलका हिमाल, पहाड र तराईका प्रमुख पाँच भाषाका सङ्ख्यात्मक क्रमको विवरण प्रस्तुत गरिएको छ । त्यस क्रममा नेपाली पूर्वाञ्चलका हिमाल र पहाडको सब भन्दा बढी वक्ताले बोल्ने भाषा देखिएको छ भने तराईमा मैथिली भाषाका वक्ता सबै भन्दा बढी देखिएका छन् । सोही क्षेत्रको हिमाल र पहाडको दोस्रो भाषा लिम्बु देखिएको छ भने तराईको दोस्रो भाषामा नेपाली देखिएको छ । बाँकी क्रममा रहेका सेर्पा, तामाङ, कुलुङ, वान्तवा, थारु, मगर, उर्दु, राजवंशी जस्ता भाषाहरूको विवरण र तिनको सङ्ख्यात्मक स्थिति पनि सो तालिकामा प्रस्तुत गरिएको छ ।

तालिका नं. ४

३.१.२ मध्यमाञ्चलका हिमाल, पहाड र तराईको भाषिक स्थिति

भौगोलिक क्षेत्र र भाषिक क्रम पहिलो भाषा दोस्रो भाषा तेस्रो भाषा चौथो भाषा पाँचौँ भाषा

हिमाल

५,१७,६५५ नेपाली

२,८७,०६४ तामाङ १,५२,५३५ नेवार

२०,९८६ थामी

१८,१४६ सेर्पा

१६,४५७

पहाड ४४,३१,८१३ नेपाली

२४,८१,४०० तामाङ

८,३१,७८६ नेवार

६,४९,८६७ मगर

९०,३६७ मैथिली

६२,३१५

तराई ४७,०७,५१७ मैथिली १३,८९,७२८ भोजपुरी १०,१२,६७१ बज्जिका ७,९१,५९६ नेपाली ७,१३,४३० उर्दु

२,७०,४६७

उक्त तालिका नं. ४ मा देखाइएको नेपालको मध्यमाञ्चल विकास क्षेत्रमा जम्मा वक्ता ९६,५६,९८५ रहेका छन् र सो अन्तर्गत हिमालमा रसुवा, सिन्धुपाल्चोक र दोलखा जिल्ला पर्दछन् र त्यहाँको भाषिक स्थितिमा पहिलो नेपाली दोस्रोमा तामाङका साथै तेस्रो, चौथो र पाँचौँ भाषामा नेवार, थामी र सेर्पा परेका छन् । त्यस्तै सो क्षेत्रको पहाडमा रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, ललित पुर, काठमाडौँ, नुवाकोट, धादिङ र मकवान पुर जिल्ला पर्दछन् । सो क्षेत्रमा पनि नेपाली पहिलोमा तथा दोस्रोमा तामाङ भाषा परेको छ । बाँकीमा नेवार, मगर र मैथिली भाषा क्रमशः परेका छन् । यसै क्षेत्रको तराईमा धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र चितवन जिल्ला पर्दछन् । सो क्षेत्रमा पहिलो मैथिली, दोस्रो भोजपुरी, तेस्रो बज्जिका परेको छ भने नेपाली चौथो स्थानमा देखिएको छ । यस क्षेत्रमा उर्दु भाषी पनि उल्लेख्य रहेको कुरा सो तथ्याङ्कले प्रस्तुत गरेको देखिन्छ ।

तालिका नं. ५

३.१.३ पश्चिमाञ्चलका हिमाल, पहाड र तराईको भाषिक स्थिति

भौगोलिक क्षेत्र र भाषिक क्रम पहिलो भाषा दोस्रो भाषा तेस्रो भाषा चौथो भाषा पाँचौँ भाषा

हिमाल

१९,९९० नेपाली

६,७९९ गुरुङ

६,३२७ लोपा

२,९२४ थकाली

१,६५८ तामाङ

६९१

पहाड २८,११,१३५ नेपाली

२२,१०,९२१ मगर

२,५६,०२७ गुरुङ

१,९९,६५७ नेवार

४४,८१८ तामाङ

३१,८२४

तराई २०,९५,६४० नेपाली

६,८६,२३५ भोजपुरी ५,१०,२८८ अवधी

३,४०,९२७ थारु

१,८२,८९२ मगर

१,३४,०८१

तालिका नं. ५ का अनुसार पश्चिमाञ्चल विकास क्षेत्रका जम्मा वक्ता सङ्ख्या ४९,२६,७६५ रहेको छ र त्यसको हिमाली भेकमा १९,९९० सङ्ख्या रहेको छ । यस क्षेत्रको हिमालमा मुस्ताङ र मनाङ जिल्ला मात्र पर्दछन् । ती दुबै जिल्लाको यस भेकमा क्रमशः नेपाली, गुरुङ, लोपा, थकाली र तामाङ भाषाको क्रम रहेको देखिन्छ । यसै क्षेत्रको पहाडी जिल्लामा गोर्खा, लमजुङ, तनहु, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बाग्लुङ, गुल्मी, पाल्पा र अर्घाखाँची पर्दछन् । यिनको भाषिक क्रममा पनि नेपाली पहिलोमा मगर दोस्रोमा गुरुङ, नेवार र तामाङ क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा परेका छन् । यसै गरी यस क्षेत्रको तराईमा नवल परासी, रुपन्देही र कपिल वस्तु जिल्ला पर्दछन् । त्यहाँको भाषिक वितरणमा पनि नेपाली पहिलो, भोजपुरी दोस्रो रहेका छन् भने बाँकी भाषाहरूमा अवधी, थारु र मगर रहेको सो तथ्याङ्कले देखाएको छ ।

तालिका नं. ६

३.१.४ मध्य पश्चिमाञ्चलका हिमाल, पहाड र तराईको भाषिक स्थिति

भौगोलिक क्षेत्र र भाषिक क्रम पहिलो भाषा दोस्रो भाषा तेस्रो भाषा चौथो भाषा पाँचौँ भाषा

हिमाल

३,८८,७१३ नेपाली

३,६४,७३४ तामाङ

१०,८७६ सेर्पा

२,८९७ गुरुङ

२,४७५ मगर

२,४१४

पहाड १६,८७,४९७ नेपाली

१५,८४,९७८ मगर

६९,४१२ खाम

१२,९६७ थारु

६,८८९ गुरुङ

३,५५३

तराई १४,७०,४७२ नेपाली

७,१४,०४६ थारु

४,४७,३९७ अवधी

१,५७,२१७ उर्दु

१,०२,८०० मगर

१२,९४८

मध्य पश्चिमका जम्मा भाषिक वक्ता ३५,४६,६८२ रहेका छन् र तिनीहरूको भाषिक स्थितिबारे उपर्युक्त तालिका नंं ६ ले देखाएको छ । सो तालिकाको हिमाल अन्तर्गत डोल्पा, जुम्ला, मुगु, हुम्ला र कालीकोट जिल्लाहरू पर्दछन् । ती जिल्लाहरूको भाषिक स्थितिमा नेपालीको अत्यधिक सङ्ख्या (९३.८३) रहेको छ । त्यहाँका अरू भाषाहरूको क्रम क्रमशः तामाङ, सेर्पा, गुरुङ र मगरको रहेको पाइन्छ । त्यस्तै सो क्षेत्रको पहाडमा पनि नेपाली, मगर, खाम, थारु र गुरुङ भाषा रहेका छन् । यस क्षेत्रको तराईमा पनि नेपाली सबै भन्दा बढी वक्ताले बोल्ने भाषाका रूपमा रहेको छ भने त्यसपछिको क्रममा थारु, अवधी, उर्दु र मगर भाषाको क्रम रहेको देखिन्छ । यसरी मध्यपश्चिमको प्रमुख र अत्यधिक वक्ताले बोल्ने भाषा नेपाली नै रहेको तथ्य सो तलिकाले प्रकट गरेको छ ।

तालिका नं. ७

३.१.५ सुदूर पश्चिमाञ्चलका हिमाल, पहाड र तराईको भाषिक स्थिति

भौगोलिक क्षेत्र र भाषिक क्रम पहिलो भाषा दोस्रो भाषा तेस्रो भाषा चौथो भाषा पाँचौँ भाषा

हिमाल

४,६३,३४५ नेपाली

२,८४,३५० डोटेली

१,२८,८८० बझाङी

४५,८८३ सेर्पा

७७६ लाप्चा

६४१

पहाड

८,६२,२१५ डोटेली

३,२४,३४८ वैतडेली

२,४५,५१२ नेपाली

१,९७,४२४ अछामी

८३,८०६ मगर

४,७१४

तराई १२,२६,९५७ थारु

४,३३,६१० डोटेली

३,२४,०१९ नेपाली

२,८८,५४६ अछामी

५८,७०० वैतडेली

२६,२६३

तलिका नं. ७ का अनुसार सुदूर पश्चिमको यस पटकको भाषिक तथ्याङ्कमा निकै फेरबदल देखा परेको छ । यस क्षेत्रमा स्थानीयतालाई बढी महत्त्व दिने प्रवृत्तिले नेपालीका भाषिकालाई नै भाषाका रूपमा उल्लेख गर्ने प्रवृत्ति देखिएको छ । यसले गर्दा २०५८ सालको भाषिक तथ्याङ्कभन्दा २०६८ को भाषिक तथ्याङ्कमा ठुलो परिवर्तन भएको देखिएको छ । त्यस अनुसार यस क्षेत्रको हिमाल अन्तर्गत नेपाली भाषा नै पहिलो नम्बरमा रहे पनि दोस्रो र तेस्रो भाषामा नेपालीकै भाषिका डोटेली र बझाङी देखा परेका छन् । यसका हिमालकै चौथो र पाँचौँ भाषामा सेर्पा र लाप्चा भाषा परेका छन् जसको वक्ता सङ्ख्या नगण्य रहेको देखिन्छ । यस क्षेत्रको पहाडमा डोटेली र वैतडेली पहिलो र दोस्रो नम्बरमा देखिएका छन् भने नेपाली चाहिँ तेस्रोमा खुम्चिएको तथ्याङ्क प्रस्तुत गरिएको छ । साथै यस क्षेत्रका चौथो र पाँचौँ क्रममा रहेका भाषामा अछामी र मगर परेका छन् । त्यस्तै यस क्षेत्रको तराईमा भने थारु सबै भन्दा बढी, त्यसपछि पनि डोटेली अनि नेपालीका साथै चौथो र पाँचौँ भाषामा अछामी र वैतडेली परेका छन् ।

४. निष्कर्ष

बहुभाषिक मुलुक नेपालका सबै भाषाहरू सिङ्गो नेपालका साझा सम्पत्ति हुन् र तिनको प्रयोगलाई जोगाउनु सबै नेपालीको कर्तव्य पनि हो । मनमा लागेका कुरा आफ्नो मातृभाषामा जति सजिलो गरी व्यक्त गर्न सकिन्छ त्यो पछि सिकेको दोस्रो भाषामा सकिँदैन । त्यसैले कम वक्ता सङ्ख्या रहेका भाषाको संरक्षण र संवर्धनमा राज्यको ध्यान जानु आवश्यक छ । साथै अहिले संघीय नेपालको निर्माणका क्रममा नेपालका भाषाहरूको स्थितिमा पनि त्यति ठुलो फेरबदल आउने देखिन्न किनभने नेपाली भाषाको उपस्थिति केही ठाउँ छोडेर सर्वत्र बलियो छ । सुदुर पश्चिम तथा तराईका केही स्थानमा नेपाली भाषाको उपस्थिति केही कम रहे पनि अन्यत्र सबै क्षेत्रमा प्रमुख उपस्थिति छ । त्यति मात्र नभएर बाँकी सबै भाषाभाषी समुदायका बिचको साझा सम्पर्कको माध्यम पनि यही भाषा रहेकाले पनि यसको स्थिति सुदृढ नै देखिन्छ । यसले नेपालमा मात्र होइन विदेशमा गएका नेपालीमा राष्ट्रियतालाई झन् प्रगाढ बनाउने काम पनि गरेको छ ।

संघीय नेपालको निर्माणपछि प्रत्येक राज्यको भाषिक नीति के हुने भन्ने कुरो पनि विचारणीय छ । यस सन्दर्भमा नेपाली भाषा प्रत्येक संघीय राज्यको साझा सम्पर्कको माध्यम भाषा रहनुका साथै सम्बन्धित राज्यको पहिचानको आफ्नो भाषा पनि प्रशासनिक माध्यमका रूपमा आउनु स्वाभाविक नै छ । त्यसमा सम्बन्धित राज्यमा पनि एउटा मात्र भाषा नरहेकाले त्यहाँ भएका विभिन्न भाषामध्ये कुन हैसियतका भाषालाई प्रयोगमा ल्याउने भन्नेबारे पनि अध्ययन हुनु जरुरी छ । यस सन्दर्भमा कम्तीमा त्यस राज्यका न्यूनतम १५ वा १० प्रतिशत वक्ताको मातृभाषासम्मलाई सम्बन्धित राज्यको प्रशासनिक कामकाजको भाषाका रूपमा प्रयोग गर्नु उचित हुने देखिन्छ । त्यसो गर्दा राज्यलाई पर्ने आर्थिक भार तथा जन भावनाको कदर पनि प्रतिबिम्बित हुन सक्छ । साथै अरू भाषाको संरक्षण र संवर्धनका निम्ति पनि राज्यले विशेष नीति बनाउनु आवश्यक छ । समग्रमा बहुभाषिक मुलुक नेपालमा १२३ वटा भाषाहरू मातृभाषाका रूपमा रहे पनि केही मात्र भाषाका वक्ताहरू उल्लेख्य रहेका छन् र त्यसमा नेपालीको भूमिका अनिवार्य र प्रभावशाली रहेको देखिन्छ ।

सन्दर्भ ग्रन्थ सूची

अधिकारी, हेमाङ्ग राज र वद्री विशाल भट्टराई (२०६८), प्रयोगात्मक नेपाली शब्दकोश, चौथो, काठमाडौँ ः

विद्यार्थी प्रकाशन प्रा.लि. ।

उपाध्याय, यदु नन्दन (२०७०), कानुनी नेपाली, काठमाडौँ ः नारायण प्रसाद ढकाल ।

गौतम, देवी प्रसाद (२०४९), भाषा परिचय, ललित पुर ः साझा प्रकाशन ।

र अन्य (२०६७), सामान्य भाषा विज्ञान, काडमाडौँ ः पिनाकल पब्लिकेसन ।

केन्द्रीय तथ्याङक विभाग (२०६९), नेपालको राष्ट्रिय जन गणना २०६८, काठमाडौँ ः केन्द्रीय तथ्याङ्क

विभाग ।

नेपालको अन्तरिम संविधान, २०६३, (२०६९), बाह्रौँ संस्करण, काठमाडौँ ः लाली गुराँस प्रकाशन ।

न्यौपाने, टङ्क प्रसाद र अन्य (२०६७), सामान्य भाषा विज्ञान, काठमाडौ ः सनलाइट पब्लिकेसन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।