हाम्रा धर्म ग्रन्थहरूमा भक्तहरूको त्याग र भक्तको लागि ईश्वरले देखाएको माया ममता तथा वरदान दिने कर्महरूका उदाहरणहरू थुप्रै पाइन्छन् । प्रह्लाद भगवानको भक्त बनेर भगवान नृसिंहरूपको दर्शन गर्न सके । आफ्नै बाबु हिरण्यकशिपुको घमण्डलाई चुर पारेर यत्रतत्र सर्बत्र भगवान विराजमान छन् भनेर देखाउन सफल देखिए र नृसिंहरूपी भगवान्बाट बाबुको उद्धार गराए । भक्त ध्रुवले बाबुको प्यारो काखमा बस्ने इच्छ्यालाई सौतेनी आमाको कटुवाणीले पाँचबर्षका ध्रुवले मधुवनमा गएर कठोर तपस्या गरेर ध्रुवलोक नै प्राप्त गर्न सफल भए । भनिन्छ भगवान सधैं भक्तको अधिनमा रहन्छन् । निष्काम प्रेम भक्तिबाटै भगवानलाई खुसी पार्न सकिने यथार्थता हाम्रा भागवतबाट जानकारी पाउन सकिन्छ । एउटा भक्तले भगवान श्रीहरिलाई भज्दा सदासर्वदा यत्रतत्र, सर्बत्र, भगवानको दर्शन गर्न सक्ने भावनालाई लिएर अघिबढ्नु पर्छ । जो सहजमार्ग अवश्य होइन । भानुभक्त आचार्य (वि.सं १८७१ – १९२५)ले लेखेको ‘भक्तमाला’मा पनि भगवान् रामचन्द्रको.भजन किर्तनबाटै मानवले यो संसारबाट मुक्तिप्राप्त गर्न सक्छ भन्दै भगवान भक्तिमा लिन हुन आग्रह गरिएको छ । उहाँले लेखेको भक्तमालामा २२ओटा श्लोक छन् । यी सबै श्लोकलाई यहाँ उतार्दै मेरो आफ्नो धारणालाई प्रष्ट्याउने प्रयास गर्दछु ।
प्रतिज्ञा मैले यो यमसित ग¥याँ जन्मि अब ता ।
सिताराम् भज्न्या छु विषयहरूमा छाडी ममता ।।
प्रतिज्ञा जो बिर्सीकन जन धनै खोजि डुलियो ।
सिताराम् भज्न्या हो शिव शिव उसै आज भुलियो ।।१।।
श्लोक १ मा भानुभक्तले यमराजसँग प्रतिज्ञा गर्दै मानव जन्मदेखि विषयहरूलाई त्याग्दै सीताराम भज्ने र भुल्न नहुने कुरा यहाँ प्रकट गनर्’ भएको थियो । यम, यमराज, धर्मराज भनेका ती देवता हुन् जसले मरे्पछि मानिसलाई, उसले गरेको काम बमोजिम दण्ड सजाय तथा पुरस्कार दिने काम गर्दछन् तथा स्वर्ग, नर्कको कता पठाउने हो स्वनिर्णय गर्दछन् ।मानवले गरेका कर्मको फलको प्राप्ति यस संसारलाई जीवले छाडे पछि के के कर्म गर्ने तथा यस भूतलमा गरेका कर्मको परिणति के हुन्छ भन्ने कुराहरू हामीले गरुड पुराणमा पढ्न पाउँछौं । यहाँ भानुभक्तले पनि मुक्ति प्राप्तिको लागि भगवानको आराधना गर्नु पर्छ भनि राखिएको धारणालाई यहाँ दर्शाइएको छ –
सिताराम् भज्न्या छु भनिकन प्रतिज्ञा अघि गरी ।
गयाको होस् आइस् कति दिन भजिस् भन् अघि सरी ।।
यसो भन्नन् ख्यामित् म कन यमराज् तेस् बखतमा ।
कसो भन्नू मैले भुलिकन रह्याँ यस बखतमा ।।२।।
मानवले यस संंसारमा आउँदा भगवानको नाम जप्ने प्रतिज्ञा सहित आएको हुन्छ यहाँ आए पछि भगवानको नाम भूलेर बस्छ त्यो पुन यमराजको अघि पुगेर यमराजले सिताराम्को नाम कति पटक जपिस् भन्दा जवाफ के दिने त्यसो हुँदा भगवानको नाम स्मरण सधै हुनु आवश्यक हुन्छ ।
गयो बालक्काल्को वय पनि उसै बालरसले ।
यसै रित्ले यौवन् पनि वितिगयो मोहवसले ।।
भयो बृद्धाबस्था अझ पनि भजीदैन मनले ।
कसो गर्नन् ख्यामित् म कन यमका दूतहरूले ।।३।।
मानव जीवनका खुड्किलाहरूमा बालकपन बालरसमा रमेर जान्छ । यो एउटा यस्तो अवस्था हो जहाँ शोकसुर्ता केही हुँदैन भोक लागे रोइदियो निदलागे सुतिदियो तर यो अवस्थालाई उत्पादनशीलतातिर लान सक्नुपर्छ । बालजीवन काँचो माटोको डल्लो हो । यो काँचो माटोको डल्लोलाई के बनाउन चाहान्छौं त्यस्तै बनाउन सकिन्छ तर हामीले त्यसमा भगवानको भक्तिभावनाको ज्ञानले पूर्णता दिंदै राष्ट्रियताको भावाले भरिएको स्वाबलम्वी जीवनमा रम्ने बालजीवन निर्माणमा अबिभावकको दायित्व महच्वपूर्णरूपले निभाउन सक्नु पर्छ । बाल्यजीवनबाट मान्छे यौवनतामा जान्छ यस अवस्थामा मोहमा भूल्छ । संसारिक क्रियाकलापको समय हो यो । उसले आफ्नो जीवन के मा समर्पण गर्छ त्यतैतिर ऊ लम्कन्छ । आफ्नै स्वार्थ पूर्तिमा नै हामी लिप्त हुन्छौं । जवानीको मोजमज्जामा नै वितेको थाहै लाग्दैन यस अवस्थामा पनि भगवानको स्मरणसम्म गर्न सकिदैन । बृद्धपाको समय आउँछ । यस अवस्थामा मानव जीवन छोरा नाति, बर्तबन्ध विवाह, अंशबण्डा झैझगडामा आदिमा नै वित्तन जान्छ । अन्तिम श्वास फेर्ने बेलामा पनि मानवले भगवानको नाम लिन जन्दैन र यो संसारबाट मुक्तिपाउन सक्दैन ।
घडी दिन् पक्षै मास् ऋतु अयन यै काल गतिले ।
घटयो आयु मेरो विषय अझ खोज्दै छ मतिले ।।
कृपानाथ हे स्वामी अव कसरी संसार तरुँला ।
कृपा राख्याजावस् नतरत अनाथ बीच परुँला ।।४।।
मानव जीवनमा घडी दिन, पला ऋतु महिना यसै तरिकाले बित्तै जान्छन् र आयु घट्दै जान्छ तर पनि मानव मति विषयको चाहनाबाट टाढा हुन सक्दैन । अर्थात तन बूढो भए पनि मन बूढो हुँदैन । त्यसो र्हुँदा मानिसले धर्मकम गर्नु पर्दछ र भगवानको आराधानाबाट मुक्तिको मार्ग समयमै अवलम्वन् गर्नु पर्दछ । भगवान्को कृपा विना मानिसले संसार बाट पार पाउन सक्दैन ।
बडो दुर्लभ् जानोस् भरत मुृनिको जन्म जनले ।
सहज् मिल्छन् ठाकुर हरि भजि लिया शुद्ध मनले ।।
बखत् यस्तो जानी हरिचरणमा मन् पनि धरोस् ।
निरन्तर श्रद्धाले हरि खुशि हुन्या दान् पनि गरोस् ।।५।।
भरतमुनिको जन्म दुर्लभ हो यस्ता दुर्लभ भगवानको नाम जपेर सहज प्राप्त गर्न सकिन्छ हरिलाई भने हरिचरणमा मन लगाएर हरि खुसी हुने दान पनि गर्नु पर्दछ भन्ने आदिकविको धारणा छ ।
जगत्मा पृथ्वीका अधिपति बडा दौलथि थिया ।
मरण्का वेलामा बुझिलिनु ति क्या लीकन गया ।।
निरन्तर् यै सम्झी हरि भजि रहोस् शुद्ध मनले ।
परन्तु हक मन्र्यै छ त बटुलि क्या गर्नु धनले ।।६।।
मानिस पृथ्वीमा अधिपति करोण पति जे भए पनि जानेवेला सबै छाडेर जानु पर्दछ । त्यसो हुँदा हरिको नाम जप्ने काम गर्नु पर्दछ । श्लोक ७मा पनि हरि भजेरै सबै पार लाए भन्ने धारणा छ । श्लोक ८मा कालका बसमा सबै जगत रहेका छन् भन्ने धारणा, श्लोक ९मा मनुष्य योनीमा हरि भजेमा जन तर्छ, हरि नभजेमा फन्दामा पर्छ त्यसो हुँदा निरन्तर ठाकुरको चरणकमलमै मन धर्नु पर्छ भनिएको छ ।
कडोरन्का मालिक् अघि पनि बडा वीरहरु भया ।
तिमध्ये जो जो हुन् हरि भजिलिन्या पार् पनि गया ।।
मरणका वेलामा हरिबिनु त क्या भर छ अरुको ।
शरण् लेला सो नाथ अधिपति अजामीलहरुको ।।७।।
जगतमा सब ढुढ्दै सबकन बिचा¥या जन पनि ।
बडा हूँ भन्न्याका घरघर रह्याको धन धनै ।।
रह्या छन् कालैका बश परिरह्याका जन पनि ।
बुझ्याँ मैले स्बको रिपुसरि भयाको पनि मनै ।।८।।
मनुष्यै योनिमा यदि हरि भज्यो त जन त¥यो ।
अवश्यै फन्दामा हरिकन न भज्न्या पछि प¥यो ।।
जगतमा यो चाला बुझिकन बिचार गर्नु जनले ।
निरन्तर ठाकुरको चरणकमलै धर्नु धर्नु मनले ।।९।।
भजौला भन्दैमा कति दिन बित्यो जन्म जनको ।
गरौंला भन्याको अझ पनि बिचार छैन मनको ।।
अहो दैवी माया बडि बलवती जानी मनले ।
बिचार गर्दै गर्दै हरि भजिलिनू भक्त जनले ।। १०।।
श्लोक १०मा भजौला भन्दैमा धेरै दिनहरु विते गरौंला भन्र्दैमा पनि गर्ने बिचार आएन तर दैवीमाया भने अति बलवती छन् भन्ने जानेर भक्तजनले हरिनाम जप्नु पर्दछ । श्लोक ११मा दयापाउँ र यमराजको पासाबाट मुक्ती पाउँ, भगवानको दयादेखि मुक्ति पाउन कठिन छ भन्ने धारणा छ ।
दया पाउँ ख्यामित् विनति छ हजुरका चरणमा ।
नलागुन् पासा फेर् मकन यमराजका मरणमा ।।
दयाले पो छुट्छन् सकल जनका दःुखहरू ता ।
उपायै क्यै छैनन् कहिं पनि दया देखि अरु ता ।।११।।
भरोसा ख्यामित्को गरिकन रहन्छु दिनदिनै ।
सहन्छु सब् आपत्जति जति त पर्छन् छिनछिनै ।।
प¥याका प¥यै छन् मकन करुणा दूर हुन गया ।
सहजमा टन्र्यै छन् मकन करुणा पो यदि भया ।।१२।।
श्लोक १२मा भगवानको भरोसमा छु र सबै आपत विपत सहन गर्दै छु । प्रभूको करुणामा भए सहजरूपमा यी आपत विपत टर्ने छन् भनिएको छ । श्लोक १३मा दश इन्द्रियले दुख दिएको कुरा, श्लोक १४मा गुरु चरणको ध्यान गर्न नसके र र तुलसीको पत्रले ठाकुरको पूजा गर्न नसके यमका पासमा परिन्छ भनिएको छ ।
मुरारे ख्यामित्का चरणतलमा मन् न धरि ता ।
बडो दुर्लभ् देख्याँ जनको मुक्ति गति ता ।।
बिचार गर्छु क्यारूँ मन् पनि बलैले हरि लिया ।
दशेन्द्री डाँकूले बिच बिच पसी दुःख पनि दिय ा।१३।।
न कैल्हे भक्तीले गुरुचरणको ध्यान गरियो ।
न ठाकुरको पूजा गरि तुलसिको पत्र धरियो ।।
दया भो ख्यामित्को भनिकन भन्या पार तरियो ।
अवश्यै साँचो हो नतर यमका पास परियो ।।१४।।
पुकारा गर्दो छू घडि घडि रुँदो छू चरणमा ।
दया छे ख्यामित्की म त हरघडी छु चरणमा ।।
बिचार गथ्र्यो क्यारोस् भनिकन दया हुन्छ त पनि ।
झलक् पाइ् भुल्या होस् भनिकन रिसै हुन्छ त पनि ।।१५।।
श्लोक १५मा पनि रामको चरणमा पर्र्दै दयाको लागि याचना गरिएको छ । श्लोक १६मा जगतले कोइ जान्दैनन् भन्नु भने पनि बडा ज्ञानका कुराहरू गर्दछन् र तर पनि ती गरिएका ज्ञानकर्मलाई छाड्दै यमपुरीमा चोट पाउने कर्म मात्र गर्दछन् । श्लोक १७मा रामको भजन ठूलो हो भनेर सबले भजन गरुन् पर्छ र धन छ भन्दै विषय सुखमा लागेर रामलाई भुल्न हुँदैन यो अविश्वासी चोला कति दिन रहन्छ र ? जपतप र विवेक नभएमा पछि पछुतो मात्र रहन्छ भनिएको छ ।
जगत कोइ जान्दैनन् भनु त सबका बात पनि भन्या ।
पलक् भर् ती योगी अघि सरि बडो ज्ञान कहन्या ।।
उनै काम गर्छन् ता यमपुरि महाँ चोट मिलन्या ।
अहो यो क्याले हो बुझि बुझि सबै लोक भुलन्या ।।१६।।
भजन् राम्को ठूलो बुझिकन भजन् गर्नु जनले ।
नभुल्नू कैल्हे यस् विषय सुखमा लागि धनले ।।
अविश्वासी चोला कति रहन जाला बितिगया ।
पछीतो खुप् होला जपतप विवेक् केही नभया ।।१७।।
टहल् ठाकुर्जीको अलिकति यहाँ केहि नगरी ।
गंभीर् संसार् सागर् सहजसित पार् पुग्नु कसरी ।।
टहल् ठाकुर्जीको गरि लिन सक्यादेखि तरियो ।
विपत्का खानीमा नतर सहजै फेरि परियो ।।१८।।
श्लोक १८मा ठाकुरजीको टहल गर्न सकेमात्र तरिन्छ नत्र भने यो संसार सागर कसरी तर्न सकिन्छर भन्ने प्रश्न राखिएको छ र श्लोक १९मा नाथको कृपादृष्टि अनाथ माथि परेमा मात्र तरिन्छ नत्र भने तर्न सकिदैन भनिएको छ ।
अनाथको नाथ मै हूँ भनिकन हँसीलो मुख गरी ।
हरूँ यस्का पाप् ताप् भनिकन अगाडी पनि सरी ।।
कृपादृष्टी नाथ्ले यदि दिनु भया तर्छु अहिले ।
कृपादृष्टी बाहेक् तप गरि त पार् तर्छु कहिले ।।१९।।
अवीवेकी मूढो त्रिभुवनविषे को छ म सरी ।
बिताञाँ व्यर्थै यस विषयरसमा जन्म यसरी ।।
कउन् ठूलो चिज् हो विषयरस यस् पाजि रसमा ।
दियाँ मैले यो मन् बुझिबुझि प¥याँ मोहवशमा ।।२०।।
जगत्मा खुप् धाञाँ न त सुफल पाञाँ कहि रती ।
तपस्याको हानी हुनकन गयाको कहुँ कती ।।
तपस्या गर्ने काल् अघि विति गयो क्यारुँ अहिले ।
यसै योनीमा पार् सहज न त¥या तर्नु कहिले ।।२१ ।।
कटीको पीताम्बर् करकमलका कंकणहरू ।
किरीट् कुण्डल् कौस्तुभ् तुलसि वनमालाहरु अरू।।
बलैले सम्झन्छु दृढ नरहन्या एक क्षण पलक ।
कउन् दिन्मा देख्छु प्रभु हजुरको सुन्दर झलक् ।।२२।।
श्लोक २०मा आदि कविले अविवेकी मूढो मसरि यो तुच्छ विषयरसमा रम्ने मोह बसमा पर्ने यस त्रिभूवनमा को छ र भन्दै प्रश्न राख्नु भएको. छ । श्लोक २१मा यो जगतमा खुबै धाएँ तर पनि सफलता हात लागेन तपस्याको समय विति गयो तर यो योनीमा तर्न नसके कहिले तर्ने भन्दै आफ्नो धारणा पोख्नु भएको छ । श्लोक २२ तथा अन्तिम श्लोकमा किरीट्, कुण्डल, कौस्तुभ, तुलसी, वनमाला आदिलाई पहिनेको रूपलाई बलैले सम्झन्छु र कहिले हजूरको सुन्दर झलक देख्न पाउँछु भनि भक्तिभावनाले आफ्नो धारणा राख्दै आदिकविले भक्तमाला हामीलाई प्रदान गर्नु भएको छ ।
बास्तवमा यस भक्तमालामा आदिकविले रामको नाम बाटै यस संसाररूपी विषय वासनाबाट पार लाग्न सकिन्छ र उनै कृपालु भगवानको भजनमा तनमन दिएर हामी अघि बढ्नु पर्दछ भन्ने सन्देश दिइएको छ ।