(प्रस्तुत आलेखमा सुप्रसिद्ध नेपाली नाटककार बालकृष्ण समद्वारा रचित ‘नालापानीमा’ एकाङ्कीको विश्लेषण गरिएको छ । त्यसमा यस एकाङ्कीका अन्तर्वस्तुले नेपाली वीरता र देशभक्तिको भावनालाई नयाँ प्रविधि सहितको कथानक गठन मार्फत प्रस्तुत गरेको उल्लेख गर्नुका साथै यसको रूप पक्षको प्रभावकारितामा केही ऋणात्मकता रहेको निचोड पनि निकालिएको छ । पुस्तकालयीय विधि मार्फत गरिएको यस अध्ययनमा हाम्रो नेपालको विद्यमान गौरव र स्थितिको निर्माणमा विगतमा सर्व साधारण नेपालीको पनि ठुलो योगदान रहेको यथार्थ स्मरण गरी अहिलेको पुस्तामा पनि राष्ट्रप्रतिको कर्तव्यबोध जगाउने महत्त्वपूर्ण कार्य गरिएको निष्कर्ष निकालिएको छ ।)
१. विषय प्रवेश
एकाङ्कीकार बालकृष्ण सम (१९५९–२०३८) द्वारा रचित “नालापानीमा’ नेपालकै इतिहासको घटनामा आधारित महत्त्वपूर्ण एकाङ्की रचना हो । यसमा वि.स. १८७१ सालमा तत्कालीन नेपालको पश्चिम खलङ्गा र देहरादुन निकटको नालापानी भन्ने ठाउँमा सामरिक दृष्टिले कमजोर नेपाली र शक्तिशाली अङ्ग्रेजका बिच कसरी र कुन परिवेशमा युद्ध भएको थियो भन्ने कुराको चित्रण गरिएको छ । यसमा भौतिक रूपमा कमजोर रहे पनि नेपालीले आफ्नो स्वाभिमानको रक्षा कसरी गरेर अङ्ग्रेजहरूलाई नै नतमस्तक पारेका थिए भन्ने गौरवपूर्ण सन्दर्भ प्रस्तुत गरिएको छ । यद्यपि नेपालको इतिहासमा नेपाललाई कमजोर बनाउने सुगौली सन्धि उक्त युद्धपछि भएको थियो र त्यसले नेपालको राजनीतिक इतिहासमा ठुलै मोड ल्याएको मानिन्छ तर पनि यस एकाङ्कीले प्रस्तुत गरेको नेपालीको वीरता, देशभक्ति र राष्ट्रिय स्वाभिमानको भावना ज्यादै उच्च छ । यसमा आफ्ना देशको स्वभिमानका निम्ति निजी सुख र वैभवलाई अस्वीकार गर्ने नेपाली पुर्खाको महानतालाई चित्रित गरी वर्तमान पुस्तालाई पनि त्यही पाठ पढाउने सत्प्रयास गरिएको छ । प्रस्तुत आलेखमा यसै एकाङ्कीको विश्लेषण विभिन्न उपशीर्षकमा केन्द्रित भई गरिएको छ ।
२. ‘नालापानीमा’ को विश्लेषण
‘नालापानीमा’ साहित्यको दृश्य भेद अन्तर्गत पर्ने नाटक र नाटकको पनि छोटो रूप एकाङ्की नाटक हो । यस्ता एकाङ्की रचनाका उपकारणमा कथावस्तु, चरित्र, संवाद, भाषा, वातावरण, उद्देश्य अभिनय आदि पक्ष रहेका हुन्छन् र तिनैमा आधारित भएर यस्ता रचनाको निर्माण एवं विश्लेषण गर्ने गरिन्छ । प्रस्तुत आलेखमा भने प्रचलनमा रहेभन्दा भिन्न अन्तर्वस्तुगत एवं रूपगत आधारमा ‘नालापानीमा’ एकाङ्कीको विश्लेषण गरिएको छ । यसको अन्तर्वस्तु अन्तर्गत कृतिको कथ्य पक्ष वा विषय, विचार तथा जीवन सम्बन्धी सौन्दर्य मूल्यको पक्ष पर्दछ भने रूप अन्तर्गत शिल्प पक्ष वा भाषा, अभिनय, संवाद लगायत नाट्य प्रस्तुतिका अन्य पक्ष पर्दछन् । यस प्रकारको कृति विश्लेषण विधि प्रायः वैचारिक पक्षलाई बढी महत्त्व दिने प्रगतिवादी साहित्यिक समालोचना अन्तर्गत प्रचलित छ । नेपाली वीरताको चित्रण र देशभक्तिको वैचारिक पक्ष प्रबल भएको यस रचनाको विश्लेषण पनि यही मान्यतामा आधारित भएर गरिएको छ । अबका उपशीर्षकमा यसै विधि अनुसार ‘नालापानीमा’ को विश्लेषण गरिएको छ ।
२.१ ‘नालापानीमा’को अन्तर्वस्तु पक्ष
‘नालापानीमा’ एकाङ्कीको अन्तर्वस्तुमा नेपालकै इतिहासको महत्त्वपूर्ण विषयलाई कार्य कारण सम्बन्ध सहितको कथानक मार्फत राष्ट्रप्रेम तथा नेपाली वीरताको प्रशंसाको वैचारिक सन्देशमा आबद्ध गरिएको छ । मानिसले जन्मभूमिप्रतिको प्रेममै आफ्नो जीवनको सौन्दर्य मूल्य प्राप्त गर्न सक्छ भन्ने मान्यता अनुरूप निर्माण गरिएको यस एकाङ्कीको अन्तर्वस्तुलाई तलका उपशीर्षक मार्फत थप प्रस्ट पारिएको छ ।
२.१.१ ऐतिहासिक विषयबाट कथानकको निर्माण
बालकृष्ण समको ‘नालापानीमा’ एकाङ्कीको कथानक नेपाली पक्ष र अङ्ग्रेज पक्षका बिच चलेको विगतको युद्द्धका सन्दर्भमा आधारित छ । आजभन्दा २०० वर्ष पहिलेको समयलाई उतारिएको यस एकाङ्कीको कथानकका नेपाल पक्षका चरित्रमा नरे कार्की र अङ्ग्रेज पक्षका चरित्रमा कर्नेल मबि, मेजर रिचार्ड्स अरू सिपाही र डाक्टर पनि छन् । तोप र बन्दुकका आवाज आइ रहेका बेला गोली लागेर बङ्गारा झरेका नेपाली सिपाही नरे कार्की रक्ताम्य भई उपचार गरि दिन भनी हात उठाएर इसारा गर्दै अङ्ग्रेज छाउनीतिर आइ रहेकाले लडाइँ रोक्ने बिगुल बजेको छ । त्यसमा अङ्ग्रेजहरू नरे कार्कीलाई आफूहरू समक्ष आत्मसमर्पण गर्न आएको ठानी खुसी भइ रहेका छन् भने नरे कार्की आफू घाइते भएकाले उपचार गर्न मात्र आएको बताइ रहेका हुन्छन् । अङ्ग्रेजहरू नरे कार्कीलाई उपचार गरी निको पारि दिने तर आफ्नो फौजमा भर्ना हुनु पर्ने अन्यथा मारिने चेतावनी दिन्छन् । यसै क्रममा त्यसै बेला नरे मूच्र्छामा पर्छन् र डाक्टरहरू उपचार थाल्छन् । लडाइँका बेला घाइतेको उपचार गर्नु शत्रु पक्षको पनि कर्तव्य बन्द छ र त्यसै अनुरूप नरे कार्कीको उपचार अङ्ग्रेज डाक्टरहरूले थालेका हुन् ।
मूच्र्छामा परेका नरे कार्कीका मनमा उपचारका क्रममा पनि नेपाली धरती र नेपाली जनजनको माया र चिन्ता व्याप्त रहेको कुरो एकाङ्कीमा प्रस्तुत गरिएको छ । समले नरे कार्कीको सो मनको भावलाई प्रभावकारी बनाएर प्रस्तुत गर्न मूच्र्छा परेका बेला नेपालतिरका चरित्र र कार्यव्यापारलाई पनि अनुभव गरेको नयाँ किसिमको नाट्य परिवेश निर्माण गरेका छन् । यस प्रकारको परिवेशमा नेपाली धरती, नरेकी श्रीमती र अरू नेपाली महिलाहरू, नेपाली सिपाही, नेपालका तराई, खाल्डा (उपत्यका), हिमाल, पर्वत निवासी सबैले आआफ्ना लय र भाकामा नरे कार्कीलाई अङ्ग्रेजका अगाडि आफ्नो र नेपालको कमजोरी नदेखाउन आग्रह गर्दै आफूतिरै बोलाउँछन् । उनीहरू नरेले अङ्ग्रेजका अगाडि कमजोरी प्रदर्शन गरे सबै नेपाली मारिने, नेपाली भूमिप्रति विश्वास घात हुने, नेपालीहरूको कमजोर सामरिक स्थिति खुल्ने र त्यो थाहा पाएर अङ्ग्रेजहरूले सोझै आक्रमण गरी नेपाललाई तहसनहस पार्न सक्ने कुरा व्यक्त गर्दछन् । नरे कार्की पनि जसरी पन्छी गँुडमा, पानी मेघ (बादल) मा फर्कने गर्छ उसै गरी म पनि मातृभूमिको ऋण तिर्नकै लागि नेपाल फर्कि छोड्ने भाव व्यक्त गर्छन् । एकाङ्कीमा यी सबै कुरा नयाँ नाट्य प्रविधि र परिवेश निर्माण गरी अङ्ग्रेज समक्ष उपचार गरि रहेका नरे कार्कीका मनमा प्रकट भएको कुरो समले कथानक मार्फत देखाएका छन् । यसरी नरेका मनमा नेपाली धरती र सबै नेपालीप्रति गहिरो चिन्ता व्यक्त हुँदै केही दिन बित्छन् र नरेको घाउ पनि निको हुन्छ । एकाङ्कीका यस्ता प्रसङ्गमा समको नाट्य कला निर्माणको विशेष खुबी प्रकट भएको छ ।
उपचारबाट स्वस्थ भएका नरे कार्की नेपाल फर्किन आतुर छन् तर अङ्ग्रेजहरू उनलाई अङ्ग्रेजी फौजमै भर्ना गराउने र भने जति सुख सुविधा दिलाएर फसाउने ध्याउन्नमा छन् । यस क्रममा अङ्ग्रेज कर्नेल मबिले नरेलाई अङ्ग्रेज सेनामा भर्ती भए आदर र सम्मानका साथ राख्ने, भने जति तलब दिने, नेपालमा रहेको सिपाहीको दर्जा बढाइ दिने, जहान परिवारलाई पनि गहना गुरियाले सजिसजाउ पारि दिने लोभ देखाउँछन् । यस्ता सुख सुविधाका कुरालाई लत्याएर नेपालतिर फर्कने मूर्खता नदेखाउन सम्झाउँदै नरेलाई आफूतिर तान्न हरसम्भव प्रयास गर्दछन् तर उनी ती सबै सुख सुविधा लत्याएर कि आफूलाई नेपाल फर्कन देऊ नत्र भने मारि देऊ भन्ने कुरा बारम्बार दोहो¥याउँछन् । प्रलोभनका सारा अस्त्रको प्रयोगपछि त्यसका विपरीत नरेको देशप्रतिको समर्पणभाव देखेर अङ्ग्रेजहरू छक्क पर्छन् । उनीहरू नरे कार्कीका माध्यमबाट व्यक्त भएको समग्र नेपालीका देशभक्तिको प्रशंसा गर्न बाध्य हुन्छन् । उनीहरूले कुनै पनि लडाइँमा हतियार बढी हुनेले जित हासि गर्न सक्छ तर नेपालीमा रहेको देशभक्तिको भावलाई कसैले पनि जित्न सक्ने रहेनछ भन्ने निष्कर्षमा पुग्दै नरे कार्कीलाई ससम्मान नेपाल बिदा गरेपछि एकाङ्कीका कथानकको अन्त्य भएको छ ।
प्रस्तुत एकाङ्कीको कथानकको आदि भागमा गोली लागेर गम्भीर घाइते बनेका नरे कार्की उपचार गरि दिन आग्रह गर्दै अंगे्रज छाउनीतिर गएका र कर्नेल मबिले नरेको उपचार गरि दिने तर स्वस्थ भएपछि अंग्रेज सेनामै भर्ती हुनु पर्ने प्रस्ताव पनि राखेपछि समस्या र उत्सुकता थालिएको छ । यस भागमा एकाङ्कीका प्रमुख पात्र नरे कार्की र कर्णेल मबिको चिनारी प्राप्त हुनाका साथै नरे कार्कीले सामना गर्नु पर्ने आफ्नो राष्ट्रिय स्वाभिमानको रक्षाको समस्याको प्रस्तुति पनि भएको छ । यस एकाङ््कीका मध्य भागमा घाइते अवस्थामा रहेका नरे कार्कीमा गोलीको पीडा र मबिको प्रस्तावको असर देखा पर्छ । उनी मूच्र्छित भएर पल्टन्छन् तर तन्द्रावस्थामा नेपाली धरतीले आफूलाई देशको स्वाभिमान नगिराउन, काँतर भई जन्मभूमिको लाज नगुमाउन भनेको, नरेकी श्रीमती, अरू नेपाली नारीका साथै नेपाली सिपाही, नेपालका हिमाल, तराई, उपत्यका, पर्वतवासी सबैले शत्रुका अगाडि नेपालको इज्जत र प्रतिष्ठामा आँच आउने काम नगर्न आग्रह गरेको भाव व्यक्त भएको छ । यसै विकासावस्थामा नरेको उपचार भइ स्वस्थ भएपछि नेपाल फर्कन खोज्दा अङ्ग्रेजहरूले विभिन्न किसिमका प्रलोभन देखाएर उनलाई राष्ट्रियताको भावनाबाट डगाई अङ्ग्रेजपट्टि पार्नका लागि भने जति तलब दिने, श्रीमतीलाई गहनाले सजाउने, प्रमोसन गरि दिने, घर बनाइ दिने जस्ता लालच पनि देखाइएको उल्लेख छ । नरे कार्की भने अङ्ग्रेजका ती सबै प्रलोभनलाई अस्वीकार गरी आफूलाई नेपाल फर्कन दिन बारम्बार आग्रह गर्दै होइन भने आफूलाई मारि दिन भन्दै राष्ट्रप्रतिको अविचल निष्ठा व्यक्त गर्छन् । एकाङ्कीको यस विकासावस्थामा अङ्ग्रेजहरूको लोभमा फँसाउने प्रयत्न र नरे कार्कीमा राष्ट्रियताका भावनाको अटल निष्ठा बिच सशक्त द्वन्द्व प्रकट भएको छ । अन्त्यतः नरे कार्कीको प्रबल राष्ट्रप्रेमको भावनाका अगाडि अङ्ग्रेजहरूको मन परिवर्तन भएको छ । यसबाट एकाङ्कीको मध्य भाग समाप्त भई अन्त्य भाग थालिएको छ । अङ्ग्रेजहरूले नेपालीका देशप्रेमको भावनाका अगाडि कसैको केही नलाग्ने रहेछ भन्ने भाव महसुस गर्दै प्रशंसाका साथ नरे कार्कीलाई नेपालतर्फ बिदा गरेको प्रसङ्गबाट एकाङ्कीका कथानकको अन्त्य भएको छ ।
प्रस्तुत एकाङ्कीको कथानकले गहिरो राष्ट्रप्रेमको भाव बोकेको छ । त्यसमा नेपालीको देशभक्ति र त्यस देशभक्तिलाई विचलित पार्न खोज्ने अङ्ग्रेजहरूका विचको बाह्य द्वन्द्वको अभिव्यक्ति प्रकट भएको छ । एकाङ्कीको प्रारम्भ प्रभावकारी छ भने विकासावस्थामा नयाँ किसिमको नाट्य प्रविधिको प्रयोग गरी नरे कार्की मूच्र्छित भएका बेला नेपालतर्फका गतिविधि मनमनै अनुभव गरेको देखाइएको छ । यसमा एउटै दृश्यमा एकाङ्की लेख्ने समको नाट्य प्रवृत्तिले पनि काम गरेको देखिन्छ । नत्र भने नेपालतर्फ भएका गतिविधिलाई बेग्लै दृश्यमा पनि प्रस्तुत गर्न सकिन्थ्यो । साथै यसबाट मूच्र्छित अवस्थामा पनि नेपालीका मनमा आफ्नो देशप्रतिको चिन्ता व्यक्त भइ रहेको हुन्छ भन्ने भाव पनि प्रकट भएको देखिन्छ । यस एकाङ्कीका घटना विकासमा द्वन्द्वका विभिन्न घातप्रतिघातको वा क्रियाप्रतिक्रियाको तीव्र अभिव्यक्ति निर्माण गर्नतिर नलागी समग्रतामा राष्ट्रियताको तीव्र प्रभाव दिने किसिमको बनाइएको देखिन्छ ।
२.१.२ नेपाली वीरताका ऐतिहासिक सन्दर्भको उद्घाटन
‘नालापानीमा’ एकाङ्कीले मुख्य रूपमा नेपाली वीर पुर्खाले आफ्नो देशको साँधसीमालाई जोगाउन शक्तिशाली अङ्ग्रेजहरूसित कसरी लडेका थिए भन्ने विषयलाई प्रस्तुत गरेको छ । इतिहासकै तथ्यको कुरा गर्दा नेपाल र अङ्ग्रेजका बिचको वि.स. १८७१÷७२ मा भएको युद्धले नेपालीको वीरता र देशभक्तिको उच्चताको स्मरण गराउँछ । देहरादुनदेखि ५ मिलको दुरीमा रहेको खलङ्गा दुर्गको जिम्मा तत्कालीन सरदार बलभद्र कँुवारमा थियो । अङ्ग्रेजतर्फबाट भने लेफ्टििनेन्ट एलिस र कम्पनीको नेतृत्व गरि आएका जिलेस्पी समेतका थुपै्र अङ्ग्रेज सेनाको मृत्यु भइ सकेको थियो । जिलेस्पीको मृत्युपछि कर्नेल मबि अङ्ग्रेज सेनाको कमान्डर भएका थिए । उक्त युद्धमा थुप्रै सर्वसाधारण नेपाली पुरुष र महिलाहरूले महान् वीरता र पराक्रम प्रदर्शन गरेका थिए । खलङ्गा युद्धले नै नेपाली वीरतालाई अन्तर्राष्ट्रिय समुदायमा प्रस्तुत गरेको सन्दर्भलाई शर्मा (२००८ ः २६१) ले यसरी उल्लेख गरेका छन् ः
खलङ्गाको त्यो सानो दुर्ग नेपाली जातिको अभिमान र श्रद्धाको वस्तु हो । यस युद्धमा एक मुट्ठी नेपालीहरूले जस्तो बहादुरीसाथ एक महिनाभन्दा बढी अङ्ग्रेजहरूको पुरा एक डिविजन सुसज्जित सेनाको मुकाबिला गरे, त्यसको दृष्टान्त संसारको इतिहासमा अन्यत्र भेटिनु गाह्रै छ । युद्धको अवसरमा र त्यसपछि पनि नेपालीहरूले शत्रुप्रति जस्तो वीरतापूर्ण सद्व्यवहार देखाए त्यसको प्रशंसा वेन्सिटार्टले मुक्तकण्ठले गरेका छन् ।
वस्तुतः त्यस बेलाको युद्धमा अङ्ग्रेजहरूले तत्कालीन विशाल नेपालको महाकालीपारिको जैथक, देवथलका साथै नालापानीमा, महाकालीवारि गोरखपुरबाट बुटवल हुँदै पाल्पामा र दानापुर मकवानपुर हुँदै काठमाडौमा आक्रमण गर्ने योजना बनाएका थिए । त्यस क्रममा नालापानीमा दुई पटक गरेको आक्रमण विफल भएपछि अङ्ग्रेजहरूले त्यसलाई नजिति नहुने प्रतिष्ठाको विषय बनाए । सो युद्धमा बलभद्रले “हामी मर्न परे पनि किल्लाभित्र मर्दछौँ, किल्ला छाड्दैनौ” भन्ने राष्ट्रभक्तिको पाठ नेपाली लडाकुलाई सिकाएका थिए (शर्मा, २०५९ ः १५८) र अङ्ग्रेजहरूका निम्ति उनी अपराजेय किल्ला बनेका थिए । त्यस अवस्थामा आमनेसामनेको मुकाबिलामा नेपालीलाई पराजित गर्न असम्भव देखेपछि उनीहरूले रसद पानी बन्द र कुनै पनि सहयोग भित्र पुग्न नदिने छलकपटपूर्ण बाटो अपनाएर किल्लामा नाकाबन्दी गरे (नेपाल, २०७० ः२२) । नेपाली गौरवपूर्ण इतिहासको त्यही सन्दर्भलाई ‘नालापानीमा’ एकाङ्कीले विषय बनाएको छ । त्यस युद्धमा जिलेस्पीको मृत्यु भएपछि अङ्ग्रेजपक्षको नेतृत्व कर्नेल मबिले गरेका र शोक मनाउन शोक सूचक कालो पट्टी बाँधेको सन्दर्भबाट यस एकाङ्कीको थालनी गरिएको छ ।
‘नालापानीमा’ एकाङ्कीमा नेपाली र अङ्ग्रेजहरूको सैन्य शक्तिमा निकै ठुलो असमानता देखिएको छ । त्यस सम्बन्धमा एकाङ्कीको निम्न संवाद सहयोगी देखिन्छ ः
रिचाडर््स– हाम्रा सिपाही तिन हजार बढी
उनका होलान् तिन सय कि घटी
मबी – हाम्रा तोप र शिक्षित पल्टन यी
रिचार्ड्स –उनका धनुकाण जङ्गली मानिस ती
मबी – कसरी लड्न सकुन वा टिक्न सकुन्, (सम, २०६८ ः १६४)
वस्तुतः अङ्ग्रेजहरूको योग्य नेतृत्व र आधुनिक हतियारले सुसज्जित विशाल फौजसँग सीमित स्रोत साधन भएको नेपाली सेनाले त्यस युद्धमा विजयको आशा राख्ने ठाउँ नै थिएन (के.सी., २०६२ ः २१) । एकाङ्कीमा पनि अङ्ग्रेजहरू एकातिर दसौँ गुना बढी सङ्ख्यामा रहेका छन् भने तिनै अङ्ग्रेजहरूसँग तोपका साथै युद्ध कौशलको प्रशिक्षण पनि प्राप्त छ । नेपालीहरू धनुकाण, ढुङ्गा र घुँएँत्रा खालका परम्परागत हतियार सहित अप्रशिक्षित अवस्थामा छन् । यस्तो असमानताका बिच भएको सो युद्धमा नेपालले देखाएको साहस र सौर्य ज्यादै नै स्तुत्य र अभिनन्दनीय छ ।
प्रस्तुत एकाङ्कीको पृष्ठभूमिमा जनरल जिलेस्पीको मृत्युबाट आहत भएका अङ्ग्रेजहरूमा महान् बलशाली बलभद्र कुँवरसितको प्रतिशोधको भावना भरिएको भेटिन्छ । त्यसैले उनीहरू रक्सीका प्याला हातमा लिँदै र जिलेस्पीको मृत्युमा शोक मनाउँदै नेपाली सेनामाथि धावा बोलि रहेका छन् । युद्धमा घाइतेको उपचार गरि दिनु पर्ने सर्वस्वीकार्य नियमका कारण नरे कार्की घाइते अवस्थामा उपचार गराउन त्यहाँ गएका देखिन्छन् भने अङ्ग्रेजहरू उनी आत्मसमर्पण गर्न आएको ठानेर खुसी भएका हुन्छन् । नरे कार्की भने अङ्ग्रेजहरूका छाउनीमा घेरिँदा र गम्भीर घाइते हुँदा समेत कत्ति विचलित नभई आफू आत्मसमर्पणका निम्ति होइन उपचारका निम्ति आएको बताउँछन् । त्यति मात्र होइन उपचार गराइ रहँदा र उपचारपछि स्वस्थ हुँदा पनि उनले आफू कुनै लोभलालचमा नपर्ने बताउँदै आफूलाई नेपालतर्फ नै जान देऊ कि आफूलाई मार भनेर निर्धक्क भन्दछन् । अन्त्यमा नरे कार्कीकै निडर स्वभावबाट प्रभावित भएर नै अङ्ग्रेजहरूले नेपाली वीरताको प्रशंसा गर्दै नेपाल फिर्ता पठाउन बाध्य भएका छन् । अङ्गे्रज कर्नेलले नेपाली वीरताको प्रशंसा गाएको कुरो प्रस्तुत एकाङ्कीमा यसरी प्रस्तुत गरिएको छ ः
मबी – लौ, जाऊ वीर यो भावना अमर रहोस् ।
लौ, देशका दुई प्रेमको यो समर बनोस् ।
जित्ला लडाइँ जससँग छ अधिक हतियार ।
दुई तिरकै छ परीक्षा वीर कसको छाती उदार (सम, २०६८ ः १७०) ।
कर्नेल मबिले गरेको नरे कार्कीको प्रशंसाले साँच्चैको इतिहासमा नेपाली वीरताको प्रशंसा गर्दै अङ्ग्रेजहरूले लेखेको “हाम्रा वीर शत्रु बलभद्र सिँह र उनका वीर गोरखा साथीहरूको स्मृतिमा सम्मानोपहार (शर्मा, २००८ः २६१ बाट उद्धृत) कुराको स्मरण गराउँछ । वस्तुतः समले तत्कालीन अङ्ग्रेज जनरल अक्टरलोनी र सेनापति गार्डिनरले नेपाली वीरहरू भक्ति थापा र अमर सिंह थापालाई आफूहरूसँग मिले ठुलो पद वा पुरष्कार दिलाइ दिने भन्ने प्रलोभन देखाएका र ती प्रलोभन सुनाउनेलाई नै ती वीरले खुकुरीले छप्काएका इतिहासका यथार्थ पक्ष (शर्मा, २०५९ ः १२८)लाई केही भिन्न रूपमा नरे कार्कीको चरित्रमा आरोपित गर्न खोजेको पनि बुझ्न सकिन्छ । यद्यपि नरे कार्की नेपाली इतिहासको वास्तविक पात्रको नाम होइन र उनले त्यस युद्धको नेतृत्व गरेका पनि होइनन् । उनी त केवल सर्वसाधारण सिपाहीका प्रतिनिधि मात्र हुन् तर पनि तिनमा रहेको देशप्रतिको बफादारी र त्यसमा देखाएको अद्भुत साहस तत्कालीन नेपालका नेतृत्वकर्ता वीरहरूकै समान थियो भन्ने कुरालाई पनि समले चित्रित गर्न चाहेको बुझिन्छ ।
२.१.३ देशप्रेमको सघन भावाभिव्यक्ति
‘नालापानीमा’ एकाङ्कीका घटना र चरित्रमा देशका निम्ति समर्पित हुने भावना र गहिरो देशभक्ति पाइन्छ । समले यस एकाङ्कीका निम्ति नेपाल अङ्ग्रेज युद्धकै विषयलाई रोज्नुमा पनि तत्कालीन नेपाली पुर्खाको देशप्रतिको समर्पण भाव प्रस्तुत गरी अहिलेका नेपालीहरूमा देशप्रतिको कर्तव्य बोध जगाउनु रहेको छ । यसका साथै एकाङ्कीका प्रमुख पात्र नरे कार्कीका अतिरिक्त नरेकी श्रीमती, नेपालका तराई, हिमाल, उपत्यका लगायत सबैतिरका चरित्रमा प्रचुर देशभक्तिको भावना खाँदिएर बसेको छ । घाइते बनेर अङ्ग्रेज छाउनीमा पुगेको नरे कार्कीले तन्द्रावस्थामा सम्झना गरेका नेपालतिरका दृश्य र गतिविधिले पनि देशभक्तिको भावनालाई उजागर गरेका छन् । यस क्रममा नेपाली धरतीले नरे कार्कीमा दिएको सान्त्वनामा पनि देशप्रेमको भाव छताछुल्ल भएको छ । धरतीको सान्त्वना यस्तो छ ः
छोरा नरो, अझ धैर्य गर, अरूलाई कातर स्वर नसुना
जन्मभूमिको लाज बचा, जातिलाई छिः नभना ।
मेरो काखमा जति जति तैँले तप तप रगत चुहाइस् यो
उति उति मातृऋण तिरेँ भनी पुत्र बरु सन्तोष मना । (सम, २०६८ ः १६५)
नरे कार्कीप्रति धरतीले गरेको आग्रह र सान्त्वनमा जस्तै विपत् आइ लागेका बेलामा पनि आफ्नो जन्मभूमिको प्रतिष्ठाको जगेर्ना गर्नु पर्ने र देशको मान राख्न ठुलै सहनशीलता प्रदर्शन गर्नु पर्ने भाव व्यक्त छ । यसबाट नै जुन जन्मभूमिको अन्न, जल, हावा आदि तत्त्वबाट शरीरको निर्माण भएको हुन्छ त्यसको मातृऋण तिर्न सकिने र त्यसबाट नै प्रत्येक देशभक्त नेपालीले आत्मसन्तोष गर्नु पर्ने भाव पनि एकाङ्कीमा प्रकट भएको छ । नेपाली धरतीले आफूसँग गरेको यही आह्वानलाई सम्झेर नरे कार्कीले मूच्र्छित अवस्थामा पनि आफ्नो देशप्रतिको कर्तव्यलाई सम्झि रहेका छन् ।
प्रस्तुत एकाङ्कीमा नेपाल अङ्ग्रेज युद्धताकका सम्पूर्ण नेपालीमा व्यप्त देशभक्तिको भावनालाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ । तत्कालीन देशभक्त सिपाहीले सितलु सासले नरे कार्कीको घाउ निको पारोस् भनेका, नेपाल तराई वासीले नेपाली आमाले जङ्गलको हाँगाको औँलाले उभ्याउन खोजेकाले मुस्कुराई घर फर्कन आग्रह गरेका, त्यस्तै नेपाल हिमाल निवासीले घाउलाई चमरीको पुच्छरले हम्केर निको पार्ने आशय व्यक्त गरेका, नेपाल खाल्डो वा उपत्यका निवासीले पनि हामी नेपालीले आफ्ना भावी सन्ततिका निम्ति अहिले पाएको दुखलाई पनि सुख नै ठानेर भोलिको नेपालका निम्ति धित गुमाउन नहुने जस्ता सचेतना दिलाएका छन् । नेपाल पहाड निवासीले देशका विरुद्ध शत्रुले लगाएको आगो निभाउन रगतको खोला बगाउन पनि तयार भएको र त्यसका निम्ति ‘काँतर हुनुभन्दा मर्नु निको’ भन्ने नेपाली उखानलाई सम्झनु पर्ने भाव व्यक्त गरेका छन् । यसरी नेपालका सबै भूभाग र क्षेत्रका प्रतिनिधि चरित्रले र समग्रमा नेपाल आमाले जगाएको देशभक्तिको भावनाले नरे कार्कीमा आत्मविश्वास जगाउँछ र उनी स्वस्थ भएपछि जुर्मुराउँदै उठेर नेपाल फर्कन आतुर भएको देखिन्छ ।
प्रस्तुत एकाङ्कीमा अङ्ग्रेजहरूले देखाएको लोभलालचलाई तिरष्कार गर्दै “नेपालीलाई नेपालको निम्ति मर्न देऊ अब जान देऊ” भनेर देशका निम्ति समर्पित हुने गहिरो जीवन मूल्यको अभिव्यक्ति प्रकट भएको छ । आफ्नो जीवनको सार्थकता देशका निम्ति समर्पित हुँदा मात्र देख्ने नरे कार्कीको विचारमा तत्कालीन वीर नेपालीको विचार र भावनाका साथै स्वयं समको देशभक्तिको आदर्श पनि सम्मिलित रहेको बुझ्न सकिन्छ । यस सन्दर्भमा नरे कार्कीमा व्यक्त देशसँगको अभिन्नताको सम्बन्ध र गहिरो जीवन मूल्यबोधको अभिव्यक्ति निम्न पङ्क्तिहरूले पनि प्रकट गरेका छन् ः
कतिसम्म फुलको सुवास सासले खिचि राख्छौ ?
व्यर्थै किन जलको फोकालाई टिप्न खोज्छौ
सास फेर्नासाथ उड्छ फुलको सुवास फुलमा
औँलाले छुनासाथ मिल्छ जलको छाया जलमा (सम, २०६८ ः १६९) ।
यसरी देश आधार तथा आफ्नो जीवन आधेय, फुल देश र त्यसको सुवास आफू, जल देश र जलको थोपा आफू भएको देशसँगको अभेद्य सम्बन्धको अभिव्यक्ति सहित अङ्गे्रजहरूले दिएका प्रलोभन, आग्रह र अनुनय सबैलाई अस्वीकार र तिरष्कार गर्ने नरे कार्कीको देशभक्तिको महानतालाई अङ्ग्रेजहरू पनि छक्क परी अन्तर्मन्थन गर्दछन् । उनीहरू यसरी नरे कार्कीको देशप्रेमको महानताको तारिफ गर्दै नेपालतर्फ भव्य सम्मानका साथ बिदाइ गर्न बाध्य हुन्छन् ः
मबि हुन्छ हुन्छ लौ वीर जाऊ
फेरि बन्दुक गै समाऊ
देशप्रेमलाई जगाऊ
अनि मानिसलाई उजिल्याऊ । (सम, २०६८ ः १६९) ।
‘नालापानीमा’ एकाङ्कीमा आएका यस्ता मार्मिक प्रसङ्गमा गहिरो देशभक्ति र राष्ट्रिय स्वाभिमान भल्किएको पाइन्छ ।
समग्रमा प्रस्तुत एकाङ्कीका विभिन्न घटनाका साथै नरे कार्की लगायतका चरित्रका क्रियाकलाप र तिनका अभिव्यक्तिमा देशप्रेमको गहिरो भावना प्रकट भएको छ । समले विगतको नेपाली इतिहासको देशभक्तिपूर्ण भावना र कार्यलाई अहिलेका पिढी र पुस्तामा पु¥याएर उनीहरूमा आफ्नो देशप्रतिको कर्तव्यबोध सम्झाउन र जीवनको मूल्य पनि पहिल्याउन अभिप्रेरित गर्न चाहेका छन् ।
२.२ रूपगत पक्ष
‘नालापानीमा’ एकाङ्कीको रूप पक्षमा यसमा प्रयुक्त भाषा, संवाद, रङ्गमञ्च र अभिनय निर्देश, परिवेश चित्रण, चरित्र निर्माण प्रक्रियाका साथै अभिव्यक्ति शैली, बिम्ब, प्रतीक, अलङ्कार, मिथक आदि तत्त्वको समग्रता पर्दछ । यसैले अन्तर्वस्तुलाई प्रभावकारी आवरणमा अभिव्यक्त गर्ने संरचनात्मक ढाँचा वा आकृतिलाई रूपतत्त्व मानिन्छ (उपाध्याय, २०६८ ः ७३) । त्यस दृष्टिले यस एकाङ्कीको रूप पक्षीय विश्लेषण तल गरिएको छ ।
इतिहासका विषयलाई एकाङ्कीमा परिणत गर्न भरपुर कल्पनाका साथै कार्य कारण सम्बन्ध सहितको कथानकको निर्माण अपेक्षित रहन्छ । त्यसमा कथानकको निर्माणका निम्ति स्वाभाविक, सजीव र विश्वसनीय चरित्रका साथै तत्कालीन परिवेशको चित्रण पनि अपरिहार्य बन्दछ । प्रस्तुत एकाङ्कीको विषय स्रोत इतिहासलाई बनाइएको छ र तत्कालीन नेपालीमा रहेको देशभक्ति र अङ्ग्रेज विरोधी भावनालाई सशक्त रूपमा प्रस्तुत गर्दै यथार्थभन्दा काल्पनिक चरित्रको निर्माणमा बढी ध्यान दिइएको छ । यसका कर्नेल मबि इतिहासकै यथार्थ नामधारी पात्र हुन् भने अरू सबै पात्र काल्पनिक हुन् । यद्यपि यस एकाङ्कीमा मेजर रिचार्ड्सलाई इतिहासकारहरूले नालापानी युद्धका सन्दर्भमा नभई अर्को जैथक भन्ने ठाउँको युद्धका सन्दर्भमा संलग्न रहेको भनी चर्चा गरेका छन् (के.सी., २०६२ ः ३५) । यहाँ उनलाई प्रस्तुत गरेर समले अन्य ठाउँका युद्धमा संलग्न चरित्रको पनि प्रतिनिधित्व गराउन खोजेको देखिन्छ । मबिलाई पनि समले साम्राज्यवादी अङ्ग्रेजको नेपाल विरुद्धको कठोर र क्रूर व्यवहार देखाउने कर्नेलका रूपमा भन्दा घाइते नेपालीको उपचार गरि दिने, नेपालीको गहिरो देशभक्तिबाट प्रभावित भएर प्रशंसा सहित बिदा गर्ने जस्ता मानवतावादी भावना भएको उदार चरित्रका रूपमा परिणत गरेका छन् । कथानकमा अङ्गे्रज र नेपाल पक्षको बाह्य द्वन्द्वको सामान्य चित्रण भए पनि त्यसले भावकमा सृजना गर्ने कौतुहल र उत्सुकताको सघन र उत्सुकताजन्य अभिव्यक्ति तीव्रप्रभावी हुन सकेको देखिन्न ।
‘नालापानीमा’लाई विविधतायुक्त भाषिक अभिव्यक्तिमा प्रस्तुत गरिएको छ । यसमा लापालोमा, उर्दु गीत, झ्याउरे, रासधारी, तामाङ सेलो, लोक, गजल, आई वन्डर द गर्ल आदि नेपालका विविध जाति र जनजातिका लयका गीतका साथै अङ्ग्रेजी लय समेतको मिश्रण गरिएको सामान्य र लयात्मक भाषाको प्रयोग गरिएको छ । यस्तै विविध लय र तत्सम्बनी सङ्गीतको निर्माण गरिएकाले समले यसलाई सङ्गीत नाटक पनि भनेका छन् । यसमा विविध क्षेत्रको प्रतिनिधित्व गर्ने पात्रहरूकै मातृभाषाका निकटको लय प्रयोगले नेपाली विविधताको परिचय समेतलाई स्वाभाविक बनाएर प्रस्तुत गरेको पाइन्छ । ‘काँतर हुनुभन्दा मर्नु निको’ जस्ता उखानका साथै देशप्रेमको गहिरो भाव बोकेका सूक्तिमय कथनहरूले पनि एकाङ्कीको भाव घनत्व बढाएका छन् । बढी मात्रामा तत्समका साथै तद्भव र आगन्तुक शब्दको प्रयोग गरिएको यस एकाङ्कीको संवाद पनि लयात्मक र परिष्कृत समेत छ । पन्छी झैँ गुँडको गुँडैमा (बिम्बात्मक), गङ्गा झैँ शिवजीको शिरैमा (मथकीय), बिजुली झैँ दौडेर बिजुलीमा (आलङ्कारिक), कस्तुरीलाई हिमालको शिरमा चर्न देऊ (प्रतीकात्मक) अभिव्यक्तिले पनि एकाङ्कीको रूप पक्षलाई वजनदार बनाएका छन् । छोटा छोटा लयात्मक संवादले एकाङ्कीको भावलाई सघन, सूच्यात्मक र साङ्केतिक बनाएको भेटिन्छ ।
प्रस्तुत एकाङ्कीको थालनीदेखि नै स्थानगत अवस्था, पात्रगत अवस्थिति र आंशिक रूपमा चरित्रगत मनस्थिति समेतको उपस्थितिको रङ्गमञ्चीय र अभिनय निर्देश समेत गरिएको छ । त्यसमा पात्रको प्रवेश, उनीहरूका हाउभाउ, गायन, नृत्य, सङ्गीत बहिर्गमन आदि समेतका बारेमा यथार्थपरक र स्वाभाविक चित्रण र यथास्थान निर्देशन पनि गरिएको छ । एकाङ्कीको परिवेशले वि.सं. १८७१ तिरको नेपालको समयलाई सङ्केत गरेको छ भने अङ्ग्रेज विरुद्धको लडाइँमा नेपालका विभिन्न क्षेत्र, जाति र समूहका मानिसको एकताबद्ध प्रत्याक्रमणको आन्तरिक मनस्थिति र बाह्य परिस्थितिको स्वाभाविक निर्माण पनि गरिएको छ । नेपालका हिमाल, पहाड र तराईका प्राकृतिक सम्पदाको मनोरम वर्णन र ती सम्पदाबाट नेपाली जीवनको स्वस्थताको प्रत्याभूतिको परिवेश चित्रणले राष्ट्रियताको भावनालाई अझ प्रगाढ बनाएको छ ।
एउटै विषय, एउटै समय र एउटै अङ्कका दृश्य एकाङ्कीमा हुनु आवश्यक छ भन्ने बालकृष्ण समको भनाइ (बन्धु, २०३६ ः ख) यस एकाङ्कीको विषय, अङ्क र दृश्यमा प्रकट भएको छ । त्यसकै निम्ति समले नेपालका विभिन्न क्षेत्र, जातजाति र समूहका मानिसका भावनालाई अभिव्यक्त गर्न बेग्लै दृश्यको निर्माण नगरी मूच्र्छित भएका नरे कार्कीका मनस्थितिले अनुभव गरेका छायाका रूपमा प्रस्तुत गरेका छन् । थालनी आकस्मिक रूपमा र अन्त्य पनि आकस्मिक एवं तीव्र गतिमा गरेर यस एकाङ्कीलाई घोडादौडको बिम्बात्मक सादृश्यमा निर्माण गरिएको छ । समग्रमा प्रस्तुत एकाङ्कीको रूप पक्षले राष्ट्रप्रेम र नेपाली वीरताको प्रबल भावनाको अन्तर्वस्तुलाई सशक्तताका साथ अभिव्यक्त गरेको देखिन्छ ।
३. निष्कर्ष
राष्ट्रप्रेमी नाटककार बालकृष्ण समद्वारा रचित ‘नलापानीमा’ नेपाल र अङ्ग्रेज पक्षका बिच भएका युद्धको ऐतिहासिक विषयमा आधारित एकाङ्की रचना हो । यसले वि.सं. १८७२ को सुगौली सन्धिभन्दा एक वर्षअघिको युद्धको स्थिति र त्यसमा सर्व साधारण नेपालीले प्रदर्शन गरेको उत्साहजनक सहभागिताको विषयलाई नाटकीकृत गरेको छ । शत्रुका सामु कहिल्यै झुक्न नजान्ने बरु ज्यान दिन तयार हुने नेपालीको वीरता, देशभक्ति र राष्ट्रिय स्वाभिमानको गौरवलाई यस एकाङ्कीका नरे कार्की र नेपथ्यमा आएका चरित्रका क्रियाकलाप र अभिव्यक्तिले प्रस्ट पारेका छन् । नेपालको इतिहासमा भक्ति थापा, बलभद्र कुँवर, अमर सिंह जस्ता बलशाली वीरहरूले देखाएको बहादुरीलाई केही पृथक रूपमा नरे कार्की जस्ता सर्व साधारण चरित्रले पनि देखाएका थिए र तिनको वीरता, स्वाभिमान र देशभक्तिले पनि नेपालको महिमा जोगिएको हो भन्ने कुरालाई यस एकाङ्कीले प्रस्तुत गरेको छ । यसको अन्तर्वस्तुलाई प्रभावकारी बनाउने सन्दर्भमा बाह्य द्वन्द्वको निर्माणमा केही कमी रहेको देखिन्छ । समग्रमा यसले आजका नेपालीमा पनि विगतको उच्च गौरवलाई सम्झेर आफ्नो राष्ट्राभिमानको जगेर्ना गर्नु पर्ने कुराको परोक्ष एवं प्रत्यक्ष आग्रह गरेको पाइन्छ ।
सन्दर्भ सामग्री
उपाध्याय, यदु नन्दन (२०६८), “कवि मोदनाथका प्रगतिवादी प्रवृत्ति”, अप्रकाशित विद्या वारिधि शोध प्रबन्ध
त्रि.वि., काठमाडौँ ।
के.सी., सुरेन्द्र (२०६२), गोर्खाभर्ती कथा, व्यथा र आन्दोलन, ताप्लेजुङ ः सविता प्रकाशन ।
नेपाल, दिनकार (२०७०), “स्वार्थ र सनकको युद्ध”, हिमाल, (वर्ष २२, अङ्क ६२, पूर्णाङ्क ३६८) पृ २२–२७
बन्धु, चूडामणि (२०३६), साझा एकाङ्की, ललित पुर ः साझा प्रकाशन ।
भण्डारी, पारस मणि र अन्य (२०६६), नेपाली गद्य र नाटक, काठमाडौँ ः विद्यार्थी पुस्तक भण्डार ।
शर्मा, देवी प्रसाद (२०५९), आधुनिक नेपालको इतिहास, काठमाडौँ ः रत्न पुस्तक भण्डार ।
शर्मा, बालचन्द्र (२००८), नेपालको ऐतिहासिक रूपरेखा, हेर्नु पर्ने
सम, बालकृष्ण (२०६८), “नालापानीमा”, सबैको नेपाली, ललित पुर ः साझा प्रकाशन ।