(अनुष्टुप छन्द)
भाषाका पहरेदार, रामका गाथ गायक
कवि चौसर हुन् भानु, नारीका उपदेशक ।
दुई शतकको याम, यो सुनौलो घडी हुँदा
आत्म गौरवले फुल्छ, भानुको नाम सम्झदा ।
आँसु कवि हुँदा भानु, जेलमा कविता रचे
उड्यो इज्जत डिट्ठाको, विचारी नीच भै बसे ।
जगाए भाइ–भातृत्व, पितृ स्नेह बहाउँदै
बने विभूति नेपाली, राष्ट्रमा मोह छाउँदै ।
रामायण महाकाव्य भाषामा पहिलो दिए
नेपाली जनका प्यारा, सर्बत्र मनमा जिए ।
जनका मनका प्यारा, नेपाली धर्म रक्षक
सुक्रतारा बिहानीका, साहित्यिक धुरन्धर ।
तुलसीदास हुन् हाम्रा, भानु नीति प्रदायक
राष्ट्र औं जनसेवामा, निरन्तर सहायक
वाल्टर स्कट हुन् भानु, राष्ट्र मोही बराबर
रविन्द्रनाथको शैली, रचना शक्ति सुन्दर ।
गान्धी झै सत्यवादी यी, स्वच्छन्दता हिमालको
हास्यरस सितै भक्ति, सरलता पहाडको ।
भानु नेपाली भाषाका, परिवर्तक साधक
चपला–अवला भन्दै, राष्ट्रको गीत गायक ।
यिनै हुन् प्रतिभा हाम्रा, वाङ्मयी पहिलो ध्वनी
मनायौं भव्यतासाथ, द्विशत वार्षिकी पनि
भक्तमाला, बधूशिक्षा, रचना भानु कै त हुन्
धर्ती–आकाश औ तारा, रहेसम्म जिईरहनु ।
टक्रयाऊँ के दिऊँ मैले, भानुको स्वागतार्थमा
शब्द यी पुष्पका थुङगा, चढाउँछु यथार्थमा
देवचुली–१५, नवलपरासी
(२०७१ असार २९ गते भानु द्विशत वार्षिकीको अवसरमा)