19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

युग नायक भानुभक्त

कविता विष्णु न्यौपाने July 18, 2014, 7:36 pm

गोर्खा उन्दछ देशको रुप खिची भूगोलमा एकता

रम्घा चुन्दछ काव्यको विधि सिँची भाषा विचै एकता ।

भाषा हो पहिचान, राष्ट्र, जनता हो देशको मापन

नेपाली जनजाति जाति विचको सम्बन्धको साधन ।।

(१)

भाषामा मलिलोपना थपिदिने निख्खारता ल्याउने

रम्घाका गुरु भानुभक्त कवि हुन् संसार फैलाउने ।

जे गर्थे अनुवाद मौलिक कला पोखेर गर्थे उनी

नेपाली जनमासको हृदयमा सद्भाव छर्थे उनी ।।

(२)

घाँसी प्रेरक व्यक्ति हुन् समयमा ती भानु व्यूँझाउने

आफ्नै दिव्य कला सुषुप्त रहँदा उल्प्रेरणा ल्याउने

पैसा हुन्छ दरिद्र हुन्न मन भो घाँसी जहाँ गाउँथे

ती घाँसी तव भानुका प्रण बनी सानिध्यमा आउँथे

(३)

तीसौ फुट्कर छन् अमूल्य कविता यौटा महाकाव्यझैं

हो रामायण राष्ट्रको गहकिलो संस्कारको सारनै ।

आस्था, प्रेम र स्नेह, आदर थियो रामायणैको जतै

त्यो आस्था जनप्रीय श्लोकहरुले थामी रहेछन् अझै ।।

(४)

बढ्यो साक्षरता पढी घरघरै भक्तीय रामायण

लाखौं ती महिला तथा पुरुषको आदर्श आकर्षण ।

ज्ञानी बन्दछ ज्ञानले अझ पढे विज्ञानका ध्यानले

संस्कारै पनि बन्दछन् कति नयाँ ती श्लोकका प्राणले ।।

(५)

नेपाली जन गाउँथे लय झिकी जग्गे तथा भोजमा

पीडामा पनि गाउँथे र सुखमा, उल्लासमा मोजमा ।

दोहोरी अति खेल्दथे दिनदिनै व्यूँझाइ रात्रीहरु

प्यूँदै श्लोक सुधा कला धुन खिची आनन्द दात्रीहरु ।।

(६)

कैले हिन्दु परस्त ग्रन्थ भनियो त्यो लान्छना मात्र हो

सीता राम कथा सुरम्य युगको सौन्दर्यको शास्त्र हो

राणा काल कठोर चाल विचको यो दृष्टि नै क्रान्ति हो

साँचो अर्थ नबुभ्mनु तौलनु छिटै अज्ञान हो, भ्रान्ति हो ।।

(७)

दोस्रो हो लघुकाव्य अमृत सरी प्रश्नोत्तरी मञ्जरी

आस्थाको पनि ख्याल राख्नु भनियो हो भक्तमाला भरि ।

देखी दुष्ट बधू दुखेर मन त्यो तारापतीका मुनि

लेखे रात विताइ पुस्तक नयाँ शिक्षा बधूको पनि ।।

(८)

खेप्ता जेल कतै कुँदे मनहरू खेस्रा बने चाहना

ती खेस्रा अव स्वर्ण अक्षर बने यो राष्ट्रका भावना ।

मान्छे हुन्छ दरिद्र तैपनि सधैं जो गर्छ नौलो प्रण

पक्कै बाँच्तछ मृत्युमा पनि उठी संसारमा हर् क्षण ।।

(९)

यस्ता प्राञ्जल देशका सपुतकोे ती भानुको मूल्य के ?

मर्यादा भरि प्रेमको रस दिने ती भानुको मूल्य के ?

मोती मूल्य चिनाउनै रथ चढे भै सारथी भानुको

बढ्यो मूल्य विभूति, आदिकविको संज्ञा थपे मानको ।।

(१०)

भाषामा युग एक जन्मन गयो यी भानुका कोखले

मर्छन् मर्नेहरु मरेर सकियुन् इश्र्या गरी शोकले ।

माटोको मुटु स्वाउँदा कृति कला यी काव्यका दायक

नेपाली कवि भानुभक्त युगका साँच्चै बने नायक ।।

(११)

जस्को नाम मरेर जान्न जनमा मर्दैन त्यो कालले

देख्छन् भाव विचार प्यार पनले बाँधिन्छ संस्कारले

जस्ले देख्छ र लेख्छ सृष्टि विचको सम्बन्ध त्यो सारमा

उस्को नाम सदैव बाँच्दछ उठी आधार आकारमा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।