19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भिखारी र बुद्धत्व

कविता एन. पी. रिजाल July 23, 2014, 6:55 pm

दशकौँ वर्ष भै सक्यो

सहरको बीचमा रहेको

पीपलको फेदमा बसेर

उसले ध्यान गरेको ।

हरेक बिहान, गेरु वस्त्र ओडेर

त्यो पीपलको बोटमुनी

बुद्धझै ध्यान मग्न भएर बस्छ ।

उसको बुद्धत्व सामान्य भिखारी झै

एक दुई रुपयाँ मागेर

भोको पेट भर्नु हो ।

सडकमा लाखौँ गाडी गुडीसके

करोडौँ मान्छेले यात्रा गरिसके

त्यो कोलाहल र दौढधुपको संसारमा

ऊ बुद्धको लयमा

इश्वर भक्तिको दाँत देखाएर

ध्यान मग्न छ ।

उसको बुद्धत्वको खोजी

जाडो, गर्मी र झरीले पनि

प्रभावित देखिदैन ।

तर उसको बुद्धको लय

रात पर्दै गए पछि

कान्छीको भट्टी पसलमा

सेकुवा र रक्सी खाने

जडियाको स्वरुपमा परिणत हुन्छ ।

उसको बुद्धत्व पनि

रक्सीको चुस्कीसंगै

विस्तारै जडियामय हुँदै जाँन्छ ।

अर्कोदिन, उही बुद्धको लयमा

पीलपको बोटमुनी

ध्यान मग्न हुन्छ भिखारी ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।