दिग्भ्रमित प्वालहरू
आफैँलाई खेलौना सम्झेर
सोचिरहेका सपनाहरू
उदेक लाग्दो नजिर
आफैँलाई नङ्ग्याउँछ,
उपहासका मार्गचित्रहरूबाट
अनि प्रष्फुटित हुन्छन्,
रितिएका रितहरूबाट
जीवन र मृत्युको दूरी
कठिन छन् शब्दातीतहरू
खोक्रो आवरण भिरेर
चिर्न सकिँदैन त्यो उज्यालो
संसारलाई हेर
आफँैलाई खोज
काफी हुन्छन् शाब्दिक पीठहरू,
उन्मादको स्वतन्त्रता
र टाढिएको सार्वभौमिकता
विष्फोटित छन् एक र अर्को
लखेटिरहेका शब्दातीतहरूको
खातिर
हो र हैन
राम्रो र नराम्रो
पक्ष र विपक्ष
समानान्तर रेखाका
तानिएका विपरीत ध्रुव्रहरू
विषमा अमृत छ
अमृतमा विष छ
सत्यमा असत्य छ
असत्यमा सत्य छ
लुकिरहेका एक रूपहरू
बग्दछ शब्द पीठहरूमै
बहुरूपि लहरा भएर
तथ्यको आँगनमा,
कुन संसारलाई हेरेका छन् ?
आकाश चिथोर्न
दिग्भ्रमित प्वालहरू ।