19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

फेसबुक मोह

कविता तारामणि राई August 4, 2014, 9:02 am

भाद्र मासको बेला

जुवाले काँध गएको गोरु जस्तो

कामको बोझिल ढाकरले थिचिएर

आई पुग्छु घर साँझमा

टेक्दै टेक्दै टेकुवा

म 'अभागी थेगुवा' ।

देख्छु-

आगोसँग जिस्किनु पर्ने छोरो

काटिकुटि श‌कङ्खे किरा जस्तो गँडुल्किदै

ल्यापटप अगाडि राखेर

पढिरहेछ -

फेसबुकका पछिल्लो संस्करणका पाठ्यपुस्तक

लक्षिणको जूनसँग उज्यालिनु पर्ने छोरी

टसमस नगरी

गृहकार्य गरिरहेकी छ -

फेसबुकको वालमा

घरी 'लाईक', घरी 'कमेन्ट गर्दै

घरी 'स्ट्याटस'को छिद्र परेको घैला भर्दै

अरू त अरू

घरकी जहान पनि

लिसोमा लहाँचे चरो परे जस्तो

मोवाईलमा टाँसिएको टाँसियै गर्छिन्

जसले गर्दा

यो घरको तरकारी नजानिँदो तरिकाले डढ्न थालेको छ

संवाद कम, सन्नाटाको मात्रा बढ्न थालेको छ ।

ई-युगको

तनावले भुन्भुनिँदै-रन्थनिदै

त्यसपछि

पीडामोचन हुन एउटा कविता केर्छु

यसो हेर्छु

अनि क्यानाम,,,,अच्छा शीर्षक राख्छु : 'फेसबुक मोह'

मलाई तत्क्षण के के नूनै नपुगे जस्तो खस खस हुन्छ

अनि घरका कसैले नदेख्ने गरी सुटुक्क

लग ईन गर्छु - मेरो आफ्नो फेसबुक

र पोष्ट गर्छु

निर्माणधिन उक्त कविता

फेसबुक दुनियाका असङ्ख्य मित्रजनहरूका नाममा!!!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।