14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

पूर्वखोला यात्रामा चौबिस फन्का

नियात्रा राजेश कुमार अर्याल August 4, 2014, 4:06 am

मानिसका प्रत्येक पाइलाहरू हरेक दिन जीवनका नयाँ पाइला हुन्छन् । सबै पाइला यात्रा बन्दैनन्, यात्रा बनेका सबै पाइलाले पनि सधै नयाँपन दिन सक्दैनन् । कुनै पाइलाले अविस्मरणीय छाप छोड्छन् भने कुनैले स्मृतिमा रहदैनन् । भूगोल, जनजीवनलाई आफ्नै आँखाले हेर्ने र अनुभूतिजन्य कुरालाई सिर्जनामा उतार्न लगाउने हेतुले तरङ्गको साहित्य शिविर सञ्चालन हुने गरेको छ ।

माघ २१ गते बिहानैदेखि दमकडामा कवि कलाकारहरूको चहलपहल थियो । तरङ्ग साहित्यिक संगमका पदाधिकारीहरू र अन्य साहित्य स्रष्टाहरूलाई बसमा चढाएर साहित्य सद्भाव यात्राको नेतृत्व पंक्तिकारले लियो । यात्रामा हर चिज र क्षण नौलो हुन्छ । यसले मानिसलाई विशेष किसिमको आनन्द दिन्छ, नयाँ अनुभव थपिन्छ । यात्रा मनोरन्जक र ज्ञानवद्र्धक पनि हुन्छ । संगमका अध्यक्ष राधाकृष्ण शर्मा, उपाध्यक्ष नारायणप्रसाद अधिकारी, सचिव रामप्रसाद अर्याल, कोषाध्यक्ष पुर्षोत्तम अर्याल, भरतराज घिमिरे, दुर्गा अर्याल, विमल घिमिरे, गुणाकर भुसाल, दयाराम पंगेनी दमकडाबाटै यात्रामा सहभागी बनेका थिए । बाँसटारी, बर्तुङ्ग, ध्रुबघाट, पोखराथोक, आर्यभञ्ज्याङ्ग, चिदीपानी र हुमिनबाट पनि स्रष्टाहरू थपिए । पाल्पा साहित्य समाजका अध्यक्ष राजेन्द्र गोपाल सिंह, धवल पुस्तकालयका अध्यक्ष युवराज पौड्याल, कला विमर्श केन्द्रका टंक पन्थ र पोखराथोक साहित्य संगमका अध्यक्ष गंगानाथ कोइराला आ–आफ्ना बस बिसौनीबाट टोलीसहित थपिन आइपुगे । गोविन्द भट्टराई, किशोर भट्टराई, किशोर खनाल, झपेन्द्र खनाल, फणिन्द्र बस्याल, कमल खत्री, मोती केसी, कृष्णप्रसाद कोइराला, होमनाथ शर्मा, उमनाथ पाण्डे, कमल भट्टराई, ज्ञानु न्यौपाने, नारायण पाण्डे आदि यात्राका सहयायात्री बने । सिदार्थ राजमार्गको बाँसटारी आर्यभञ्ज्याङ्ग खण्ड पार गरेपछि बस पूर्वतर्फ मोडियो । फराकिलो बाटो छोडेर बस पक्की तर साँघुरो सडकमा ढलफलाउँदै अघि बढ्यो । जति अघि बढ्यो बाटो त्यति अप्ठेरो थियो, गति मन्द बन्यो । दिउँसो साढे तीन बजेतिर खोलो भँवरी परेर बनेको स्थानबाट नामाकरण गरिएको रिङ्नेरहमा स्रष्टाहरू ओर्लिए ।

पूर्वपश्चिम तनक्क तन्किएर लमतन्त परेको पूर्वखोला फाँटमा आँखाहरू डुले । शिवदुर्गा मन्दिरमा बजिरहेको माइक र आवाजले सबैका कान ठाडो बने । पूराणाचार्य पण्डित नीलकण्ठ न्यौपानेको वाचन र व्याख्यान ठम्याएपछि स्रष्टाहरू हक्कानिदै शिवदुर्गा मन्दिरतर्फ पैदल लागे । पण्डित नीलकण्ठ न्यौपाने अठार पुराणका ज्ञाता हुन् । उनले यही शिवदुर्गा मन्दिरमा आशन जमाएर १८ पुराण वाचन र व्याख्यान गरेका छन् । आधुनिक ऋषिश्वर बनेर उनले तीन वर्षको अवधिमा यत्रो विशाल गन्थ्र बाँचिसुनाए र कृति रचे । अठार पुराण वाचन र व्याख्यान गर्ने पण्डित नीलकण्ठ न्यौपाने नेपालमै प्रथम र ऐतिहासिक व्यक्तित्व हुन् । लामो लस्करसहित स्रष्टाहरू आइरहेको दृष्य भक्तजनले उनलाई सुनाए । उनी गद्गद हुँदै ब्रह्माण्ड पुराण वाचन गरिरहेका थिए । जब बधाई, शुभकामना, साधुवाद भन्दै जिल्ला प्रख्यात व्यक्तित्वहरु उनको मण्डपमा उपस्थित भए तब असल काम गरेको अनुभूति भयो ।

सद्भाव यात्रा र साहित्य शिविरको कार्यक्रम गर्दै आएको तरङ्गले पूर्वखोलामा अर्को कुटुरो फुकायो न्यौपानेको अभिनन्दन । एउटा यात्राबाट अनेकन लाभ लिन पाउँनु स्रष्टाहरूका लागि विशेष अवसर नै थियो । झण्डै चालिस जना स्रष्टाहरूलाई उभ्याउन लगाएर पंक्तिकारले अभिनन्दनका लागि आचार्य नीलकण्ठ न्यौपानेको नाम उद्घोष ग¥यो, कर्तल ध्वनीको तालीका पहरा फुट्यो । तरङ्गका अध्यक्ष राधाकृष्ण शर्मा, जिल्ला विकास समितिका पूर्व सभापति प्रेमनाथ बस्याल, वरिष्ठ पत्रकार मेघराज शर्मा, रामप्रसाद अर्यालले पाल्पाली टोपी र माला पहि¥याए, खादा र दोसल्ला ओढाए, अभिनन्दनपत्र टक्र्याए । राजेन्द्रगोपाल सिंहले पूराणाचार्यको उपाधिसहित न्यौपानेलाई नमन गर्दै कविता सुनाए, साहित्यकार टंक पन्थले न्यौपानेकै नेपाल काव्यका केही हरफलाई श्रृतिमधुर बनाइदिए । अभिनन्दनका अवसरमा पण्डित नीलकण्ठ न्यौपानेले छोराको मुखबाट शास्त्रको यत्रो कथा सुन्न पाएको प्रशन्नता व्यक्त गरिन् । दुःख गरेर छोरो पढाएको काम लागेको र असल छोरो जन्माएकोमा गर्व गरिन् । पण्डित न्यौपानेले वेदमा के छ ? जस्तै पूराणमा के छ ? नेपाली अनुवाद पुस्तकारका रूपमा अगाडि आउने प्रतिवद्धता गरे ।

यज्ञमा पूजाआदि कार्य चलिरहेको थियो, आगन्तुक स्रष्टाहरुको स्वागत, चियापानसँगसँगै मिलाइएको थियो । पूर्वखोलाबासीको त्यो भव्य स्वागतले सबै खुशीका मन लिएर एकाग्र बनिरहेका छन् । हवन कार्य चल्यो, गाईदान गरियो । साङ्गेताका सबै कर्मकाण्ड समापन भयो, टीका फूल प्रसाद वितरण गरियो । कविता, कथा लेख्ने स्रष्टाहरू शिवदुर्गा मन्दिरमा भजनमण्डली बनेर देखा प¥यो । भजन किर्तनले चकडोल नै पा¥यो । भजनियाँहरुले गाएको ‘लास्टै रैछिन् पार्वती’ पूर्वखोलाको संझना बनेर रहेको छ । त्यो क्षणमा पुर्षोत्तम अर्यालले जन्माएको ‘मादले मोती थाके, खत्री कमल थाके, रौरा टंक थाके, नानी थाकिनन्’ श्रृंगारिक कविता आज पनि सबैका ओंठओंठमा झुण्डिएका छन् । मण्डप नजिकै बनाइएको भान्छामा आखिरका पाहूना बनेर स्रष्टाहरूले खानपिन गरे । स्थानीय व्यक्तिहरूको घरमा सुत्ने व्यवस्थापन मिलाइएकाले घरमुलीको पछि लागेर यात्रीहरु विश्राम लिन हिंडे ।

माघ २२ गते बिहान सूर्य उदायो, छुट्टाछुट्टै घरमा सुतेको टोली व्यूँझिएर चियापान गरी नीलकण्ठ न्यौपानेको घरमा जम्मा भए । न्यौपानेले परिवारका सदस्य र आफन्तजनलाई एकएक गरेर स्रष्टाहरुको चिनारी गराए । नीलकण्ठका दाजु जीवनाथ न्यौपानेले भाइको वाल्यकाल र पढाइलेखाइ बारे विगतका जानकारी दिए । पाहूनाहरूको स्वागतमा फेरि चियापानको श्रृंखला चल्यो । आयोजक तरङ्ग साहित्यिक संगमले साहित्य शिविरको स्थलतर्फ डो¥यायो । हरेकलाई कागज र कलम दिएर स्थलगत रचना कोर्न अनुरोध आयो । कोही खेतको आलीमा टुक्रुक्क बसे, कोही खेतकै गह्रामा पन्था मारे । कसैले ढुंगा खोजेर बसे, कसैले ढिकको आड लिएर घोरिए । शिक्षक दिनानाथ पराजुली मिल्क चक्लेट लिएर व्यक्तिव्यक्तिकहाँ आइपुगे । चकलेटको गुलियोले सबैकुरा भूलियो र रचनातर्फ लागियो । एक घण्टा अवधिमा खाली कागजमा रचनाका अक्षर कोरेर स्रष्टाहरू निस्किए । न्यौपानेकै आतिथ्यतामा घरमै भतेर लाए झै गरी बनाइएका पकवान्न र मिष्ठान्न खाएर उद्वुद्ध कलेजमा जम्मा हुने क्रम चल्यो ।

सिर्जनशील साहित्य शिविरको अन्तिम कार्य वाचन कार्यक्रम दिउँसो १२ बजेपछि मात्र सुरु भयो । अध्यक्षता संगमका राधाकृष्ण शर्माले गरे, स्वागत नारायण अधिकारी र सञ्चालन रामप्रसाद अर्यालले गरेका थिए । नीलकण्ठ न्यौपानेले पूर्वखोलाको चिनारी शीर्षकको कविता सुनापछि पालो लाग्यो अरुको । शिविरका यात्री स्रष्टाहरु, उद्वुद्धका शिक्षक, विद्यार्थी र स्थानीय साहित्यकारहरुले समेत रचना सुनाए । पूर्वखोलाको गाउँगाउँमा मोटर दौडाउने र जनवाद ल्याउने सोचसहित गाउँलेलाई प्रशिक्षित गरेका स्व ईश्वरी आचार्यको सम्मानमा जीवनाथ न्यौपानेले कविता गाए ।

तरङ्ग साहित्यिक संगम मदनपोखराले वर्षमा एक पटक स्रष्टा सर्जहहरूलाई साहित्य शिविर स्वरूप भ्रमणमा लैजाने गरेको छ । यो कार्य २०५९ सालदेखि सुरु भएको हो र हालसम्म घिमिरेडाँडा, ओलेस कौडेलेक, मस्याम जन्तिलुङ्ग, ताहूँ बाकुमगढी, आलमदेवी रानीघाट हुँदै पूर्वखोलासम्म पुगेको छ । यही निरन्तरताकै क्रममा २०७० माघ २१ र २२ गते रिङ्नेरह गाउँ विकास समितिको पूर्वखोलामा सिर्जनशील साहित्य शिविर सञ्चालन गरेको छ । पानी फन्किने रिङ्नेरहमा चौविस घण्टा अवधिमा चौविस फन्का लगाएर स्रष्टाहरू फर्किए ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।