19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

दिनेशसिंहको जुत्ता पसल

कविता साम्ब ढकाल August 4, 2014, 9:17 am

केही समयदेखि मेरो शहरमा

दिनेश सिंहले जुत्ता बेचिरहेको छ ।

दिनेश सिंह जुत्ता बेच्छ केवल जुत्ता बेच्छ

दिनेश सिंहको नजरमा खुट्टा बेच्नु हुन्न

दिनेश सिंह खुट्टा बेच्दैन जुत्तै बेच्छ ।

दिनेश सिंह जुत्ता बेच्नु र खुट्टा बेच्नु बिल्कुल फरक हो भन्छ

दिनेश सिंह मान्छेले जुत्ता लगाएको मन पराउँछ

दिनेश सिंहले नाङ्गा खुट्टा कहिल्यै मन पराएन ।

दिनेश सिंहलाई मान्छेहरू हिँडिरहेको मन पर्छ

दिनेश सिंह मान्छेका खुट्टालाई कहिल्यै केही नहोस् भन्छ ।

दिनेश सिंहको मनोकामना छ — मान्छेहरूका खुट्टामा कुनै रोगव्याधी नलागोस्

दिनेश सिंह चाहान्छ — सहरमा मान्छेहरूको चहलपहल खुब रहोस् ।

दिनेश सिंह अचम्मको व्यापारी छ

जुत्ता किनुन नकिनुन् मानिसहरूले

उसको पसल अगाडि मान्छेहरूको ओहोर दोहोर भैरहोस् भन्छ

मान्छेहरू हिँडिरहुन् टाढा सम्म भन्छ ।

मान्छेहरू नयाँ नयाँ यात्रामा निस्किरहुन् भन्छ

मान्छे भए न खुट्टा हुने हो

जुत्ता त खुट्टा भए जत्ति नै पाईन्छ

खुट्टै नहुँदा त किन जुत्ता चाहियो र !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।