बि.स. २०५८ मा प्रकाशित 'अपरितुष्टि' बेलायती-नेपाली डायस्पोरामा लेखिएको सम्भवत पहिलो उपन्यास हो/ ईश्वर मानन्धरकृत यस लघु उपन्यास नेपालबाट सन् १९७० को दशकमा कामको शिलशिलामा बेलायत प्रवेश गरेका नेपालीहरुको प्रतिनिधी कथा हो / कथाका मुख्य पात्र बिक्रम लन्डनमा एक रेष्टुरेन्टमा सेफको रुपमा काम गरेता पनि नेपालमा जाँदा होटेल मालिक भएको झुटो आडम्बर गरेर क्याम्पस पढ्दै गरेकी गाउँकी सोझी गौरीसंग मागि बिवाह हुन्छ / धुमधामसंग बिवाह भएको दुई हप्ता पछि गौरीलाई छिट्टै लन्डन झिकाउने आश्वासन दिंदै बिक्रम बेलायत फर्कन्छन बिक्रम / भिसा मिलेपछि गौरीपनि मनभरि सपना सजाएर सपनाको देशतिर उड्छे / लन्डन पुगेपछि गौरीलाई त्यहाँको खानपिन, उठबस, रहनसहन, बोलीचाली, लवाइखवाई, हांसीमजाक, हरेक कुरासंग 'कल्चरल शक' हुन्छ/ यिनै कुराहरुसंग मानसिक द्वन्द गर्दागर्दै विक्रमको पुरुषत्वहिनता माथिको बिषम सत्यको बोध हुन्छ जसले गौरीलाई अव्यवहारिक सुहागरातदेखिको कुराहरु छर्लंग हुन्छ / सात समुद्रपारीको देशमा जो छ बिक्रम छ र उही बिक्रम पनि दुर्बल पुरुषत्वको शिकार / कामबाट उब्रिएको समय बिक्रमले गौरीलाई दिएकै हो / खान लाउनको लागि दु:ख थिएन / नयाँ नयाँ ठाउँमा घुमफिर पनि कम थिएन / शारिरीक बाहेक अरु सन्तुष्टि दिन बिक्रमले कुनै कमजोरी बाँकी राखेन तर पनि गौरीको दिन प्रतिदिन अपरितुष्टि बढ्दै जान्छ / उनलाई खान, बोल्न, घुम्न पनि मन लाग्न छोड्छ / लोग्ने रातभरी छेउमा घुरिरहन्छ एकोहोरो, गौरीलाई भने आँखामा निद्रा पर्न छोड्छ / त्यहि घरमा डेरा गरि बस्ने बिक्रमकै बंगाली साथी चौधरी मियाले विक्रमको उपस्थिती/अनुपस्थितीमा भरथेग सेवा गर्छ / आफै डिप्रेशनकि शिक्रार बनिरहेकी गौरी नेपालमा भएको एक सडक दुर्घटनामा परि आमा, भाई र बहिनीको मृत्यु भएको खबरले मानसिक रुपमा पुरै बिचलित हुन्छे / लन्डन आएको तिन महिनामै गौरी मेन्टल हस्पिटलमा भर्ना हुन पुग्छे / उपचारकै क्रममा डाक्टरले गौरी दुई महिनाको गर्भवती रहेको जानाकारी गराउँदा बिक्रमले आफुलाई मुश्किलले सम्हाल्छ / यस्तो बेलाको गर्भले आमालाई खतरा हुनसक्ने कारणले एवोर्सनको लागि गरिएको सिफारिसमा बिक्रमले अर्धचेतमै सही गर्छ / लगभग मानसिक रुपमा विछिप्त बनिसकेको बिक्रम गौरीको देहवासनले पुरै विछिप्त बन्छ र कसैले नभेट्ने गरि हराउँछ / कथा संक्षेपमा यति नै हो तर यति छोटो कथामा पनि उपन्यासकारले एउटा सिंगो डायस्पोरिक जिन्दगीको कथाभित्र नेपाली मनोबृति, बेलायती जीवन शैली, मानिसका प्राकृतिक र कृतिम आबस्यकताहरु, नारी मनोबिज्ञान, पुरुष मनोविज्ञान, समाजमा बिधमान रितिरिवाज, कुरिती र आडम्बरहरुलाई केलाउन सक्षम छन् /
बिक्रम रेष्टुरेन्टको जागिरमा हिंडेपछि दिनभरि गौरी एक्लै कोठामा उ फर्केर आउने बाटो हेरेर बिताउन बाध्य हुनु, बिक्रम उतै खाना खाएर आधाराततिर फर्कनु र फर्केर आएपछि बियर र चुरोटको धुवाँमा रंगमगिनु, गौरी दिनरात नेपालमै रहेका घरपरिवार र साथीहरुको सम्झनाले ब्याकुल हुनु, सप्ताहन्तमा डबल डेकर बस र अण्डर ग्राउण्ड रेल चढेर घुम्न जानु, सिनेमा र नाटक हेर्न जानु, बिक्रम डान्स बारमा युबतीहरु फेरि फेरि नाच्नु र गौरीलाई पनि नाच्न आग्रह गर्नु, गौरीलाई नाइट क्लबको बातावरणले दिगमिग लाग्नु, बिक्रमले गौरीलाई बेलायती रहनसहन स्विकार्नलाई सिकाउनु, गौरीलाई आफ्नै परम्परागत मूल्य र मान्यतालाई कुल्चन गाह्रो पर्नु, बेलायती चालचलनसंग शक् हुनु र भिज्न नसक्नु जस्ता घटनाहरुलाई उजागर गर्दै डायस्पोरिक चेतनाले कथालाई वास्तविकताको लेपन दिन सफल छन् उपन्यासकार / डायस्पोरामा बिक्रम आफ्नो काम र स्थापनाका लागि संघर्षरत देखिएकाले डायस्पोरिक जीवनको दोश्रो चरणका पात्र देखिन्छन भने भर्खरै बेलायत पसेकी गौरी हरेक कुराहरुसंग घुलमिल हुन सफल/असफल कोशिस गरिरहेकी, घरदेश, बाबुआमा, साथीसंगीहरुको सम्झना जस्ता अतितमोहले गांजीएकी हुनाले डायस्पोरिक जीवनको पहिलो चरणकै पात्रको प्रतिनिधित्व गर्छिन / प्रमुख पात्रहरुमा बिक्रम र गौरीलाई उभ्याएका छन् भने अन्य सामान्य पात्रहरुमा बिक्रमकी आमा, भिनाजू, गौरीका साथीहरु, बाबु आमाहरु र बिक्रमकै बंगाली साथी चौधरी मियाँलाई समय र परिबेशको भुमरीबाट निकालेर खलपात्रका रुपमा उभ्याएका उपन्यासकारले थोरै पात्रहरु लिएर कथालाई मर्मश्पर्सि बुनोट दिएका छन् /
कथाबस्तु लण्डनमा वारेन स्ट्रिट, पिक्याडेलि सर्कस, अक्सफोर्ड स्ट्रिट, रिजेन्ट स्ट्रिट, मार्बल आर्च, लेसेस्टर स्क्वाएरजस्ता सेन्ट्रल लन्डनकै बिशेष स्थानहरु वरपर छरिएर सकिन्छ / कथा गौरीको बिहेको कुराबाट शुरु भएर, बिवाह, गौरीको लन्डन प्रस्थान, गौरीलाई लण्डनमा एक पछि अर्को मानसिक आघात, र अन्त्यमा गौरीको पेटमा हुर्किएरहेको भ्रुणको कुराले अपुरुष बिक्रममा विक्षिप्तता आउनु र गौरीको मृत्यु हुँदा बिक्रम पनि विक्षिप्त भएर कथा टुंगिदासम्म पुग नपुग पांच महिनाको समय ओगटेको देखिन्छ / छोटो समयाबधी, थोरै पात्रहरु, र लण्डनको सिमित भूभागमा कथाले फेरो मारेर पनि कथा पूर्णत: डायस्पोरिक र सशक्त छ / जम्माजम्मी ५८ पृष्ठमा फैलिएको यस लघु उपन्यासले बेलायती-नेपाली डायस्पोरिक लेखनमा दह्रो जग हालेको छ /