परदेशी बिम्बहरू वार्षिक साहित्यिक पत्रिकाको सम्पादक समूहले गत केही वर्षदेखि परदेशी र डायस्पोरिक साहित्यका बीचमा अन्तर हुने र ती अन्तरहरूलाई स्थापित गरी यी दुबैलाई फरक प्रकारले अध्ययन गर्नुपर्ने आग्रह राख्दै÷जिकिर गर्दै आएको छ । २०७१ साल जेठ १० गते धरानमा गरिएको यसको छैटौँ अङ्कको विमोचन समारोहमा समारोहका सभापति तथा पत्रिकाका कार्यकारी सम्पादक सुरेन्द्र लिम्बु ‘परदेशी’ले परदेशी र डायस्पोरिक साहित्यको विमर्शमा नेपाली जाति, नेपाली भाषा, नेपाली संस्कृति र नेपाली साहित्यजस्ता पदावलीहरूको वर्तमान सन्दर्भमा मिल्ने नवीन परिभाषाको आवश्यकता रहेको विषय उठान गरे । उनले सभामा उपस्थित विद्वान, भाषाविद्, सर्जक र समालोचकहरूलाई यस विषयमा गम्भीर वहस गरी आफुहरूलाई यी विषयको सन्दर्भमा निष्कर्षमा पुग्न सहयोग गर्न आग्रह गरे बमोजिम यो अवधारणा पत्र तयार गरिएको हो । वर्तमान समयमा नेपाली विद्वानहरूको बीचमा डायस्पोरा र डायस्पोरिक साहित्यप्रति रहेको द्विविधा (कन्फ्युजन)लाई केही कम गराउन समेत यसको भुमिका रहने विश्वास गरिन्छ ।
१. नेपाली जाति, भाषा र संस्कृतिको वर्तमान सन्दर्भ
१.१. नेपाली महाजाति
वर्तमान परिवेशमा नेपालीलाई जाति भन्दा पनि महाजाति भन्नु सान्दर्भिक देखिन्छ । वर्तमान नेपालको भौगोलिक सीमानाभित्र यो सीमाना निर्धारण हुनु अघिदेखि लिएर आजका मितिसम्म बसोबास गर्ने सबै वर्ग, वर्ण, समूह र सम्प्रदायका नागरिकहरू र तिनका सन्तान दरसन्तानहरू समग्रमा नेपाली हुन । तीभित्र पनि विभिन्न जाति र तिनका पनि उपजाति भएकाले समग्रमा ती सबै नेपाली महाजातिका अङ्ग हुन । वर्तमान समयमा तिनीहरू नेपालको भुगोलभित्र हुनु वा नहुनुले तिनीहरू नेपाली हुनुमा कुनै फरक पार्दैन । नेपाल बाहिरका भुभागमा बसोबास गर्नेहरूसँग नेपालभित्रै साझा पुख्र्यौली भएर कालक्रममा नेपाल बाहिर गएर उतै बसोबास गरेका, बेलाबेलामा नेपाल फर्कने वा वर्तमानमा बाहिरै भए पनि भविष्यमा नेपाल आउने सम्भावना भएका सबै मानिसहरू नेपाली जातिका मानिसहरू हुन् । यस अर्थमा अहिले नेपालीहरू नेपाल लगायत विश्वमा विभिन्न भागमा रहेका पाइन्छन् । नेपाली जाति र नेपाली नागरिक दुुई भिन्न तर अन्तर्सम्वन्धित विषय हुन् ।
१.२. नेपाली भाषा
सबै नेपालीहरूको सम्पर्क भाषाको रुपमा अहिलेसम्म काम गर्दै आएको देवनागरी लिपिमा लेखिने र संसारका विभिन्न भागमा प्रयोग गरिने भाषा नेपाली भाषा हो । यो संस्कृतको सन्तान भाषाको रुपमा सुुरु भएर प्राकृत हुुँदै हालसम्म विकसित हुँदैआएको भारोपेली भाषा सम्प्रदायको सदस्य भाषा हो । नेपाली महाजातिको संस्कृतिलाई सबै नेपालीहरूको माझमा पु¥याउने साझा माध्यमको रुपमा यसको प्रयोग हुँदै र नेपाली जाति र संस्कृतिको विकास सँगसँगै यसको पनि विकास हुँदै आएको छ । वि. सं.को २०४०–५०का दशकमा व्याकरणगत रुपमा एउटा मानक विकास गरिसकेको यस भाषाले साठीको दशकको अन्त्यतिर आएर विश्वविद्यालयका भाषा–प्राध्यापकहरूको अकर्मण्यता र नेपालमा आधिकारिक भाषाविद् र भाषिक संस्थाको अभावको परिणामस्वरुप वर्णविन्यासमा केही अन्यौलको अवस्थामा गुज्रनुु परेको छ । तथापि नेपाली संस्कृति र सभ्यताको सम्वाहकको रुपमा यसको भूमिकामा कुनै विशेष भिन्नता आएको छैन । नेपालभित्र यसको भूमिका र भविष्यमाथि विभिन्न सकारात्मक र नकारात्मक टिप्पणीहरू भइरहे पनि नेपाल बाहिर यसको प्रयोग, विकास, विस्तार र सम्वद्र्धनमा नेपाली महाजाति अन्तर्गतका सबै जातिहरूले यसलाई आफ्नो अस्तित्व र परिचयसँग गाँसेर हेर्दै र त्यसै अनुरुपका गतिविधिहरू गर्दै आएका छन् । ती भविष्यमा पनि जारी रहने प्रशस्त सङ्केत र आधारहरू पाइन्छन् ।
१.३. नेपाली संस्कृति
भाषालाई संस्कृतिको सम्वाहक मानिन्छ । नेपाली संस्कृतिको निर्माणमा नेपाली भाषाको भूमिकाको सन्दर्भमा प्रशस्त वैचारिक कोणहरू थिए, छन् र रहिरहने छन् । समय र सिद्धान्तहरूले एउटा निश्चित केन्द्रीकृत धारणाभन्दा विविधतालाई प्रश्रय दिन्छन् अचेल । नेपालभित्र सबैले मानिल्याएको एउटा एकीकृत नेपाली संस्कृति यही हो भनेर भन्न सकिने स्थिति छैन । यसलाई नेपाली भाषालाई भन्दा अलिक फरक आयामबाट हे¥यो भने मात्र एउटा साझा निष्कर्षमा पुग्न सकिन्छ । नेपालमा चालीसको दशकसम्म एकीकृत सांस्कृतिक विकासका लागि राज्यको नेतृत्व र प्रयासमा स्थापित नेपाली भाषा, पोशाक, चाडपर्व, रीतिरिवाज, कला र चिन्तनशैली सबै वर्तमान नेपाली (महा)संस्कृतिका अभिन्न अङ्ग हुन । त्यसरी हेर्दा नेपाली भाषा; पोशाकमा दौरासुरुवाल कोट, ढाका टोपी, खुकुरी र जुत्ता; चाडपर्वमा दशैँतिहार; विवाहादि कर्ममा स्थापत्य मान्यताहरू; नेपालको भुगोलभित्रका सबै कलाकर्म लगायत नेपालीपनलाई अन्य कुनै पनि विदेशीपनभन्दा पृथक राखेर हेर्ने र तीसँगको सहकार्य गरेर जानसक्ने चिन्तन त्यसबेलाको नेपाली संस्कृतिका केन्द्रीय बिम्ब र मान्यताहरू थिए । ती आजसम्म पनि कायम छन् । अहिले त्यतिले मात्र नेपाली संस्कृतिको पहिचान पूर्ण हँुदैन । तिनमा नेपालको वर्तमान भुगोल भरिका सबै जातजाति, वर्ण, सम्प्रदाय, धर्म र समुदायका भिन्नभिन्न सांस्कृतिक पहिचान दिने पोशाक, चाडपर्व, रीतिरिवाज, भाषा, चिन्तनशैली र कला समग्रमा नेपाली संस्कृतिका अभिन्न अङ्गहरू हुन् ।
यस्ता सांस्कृतिक बिम्बहरूको व्यक्तिको भावनासँग घनिष्ट सम्बन्ध हुन्छ । म आफू न त टोपी लगाउँदछु, न खुकुरीकै प्रयोग गर्छु, न गाईकै पूजा गर्छु; तर जब नेपाली ढाका टोपी लगाएको मानिस देख्छु उसले मेरोलागि पनि सगरमाथा टाउकोमा बोकिदिएको छ भन्ने लागिरहन्छ । खुकुरी भिरेको मान्छे परबाट हेर्दा एकैसाथ लिम्बु, राई, ठकुुरी, मगरजस्तो लाग्दै समग्रमा नेपाली मात्र हो जस्तो लाग्छ । ऊप्रति स्वतः स्फूर्त सम्मान भाव जाग्दछ । यस्ता सांस्कृतिक बिम्बले देशको चिन्तनशैली पनि देखाउँदछन् । अमेरिकाको राष्ट्रिय चरा बाजको जस्तै छ सारा अमेरिकी सभ्यताको सिकारी प्रवृत्ति । नेपालको राष्ट्रिय जनावर गाई नेपालीहरूको शान्तिप्रीय र परोपकारमुखी प्रवृत्तिको सङ्केत हो भने डाँफे र लालीगुराँसले नेपालभित्रको सांस्कृतिक विविधता र तिनको सौन्दर्यको वोध गराउँदछन् । हामीले यस्ता सांस्कृतिक बिम्बहरूको सन्देश र महत्वको प्रचार गर्नमात्र नसकेका हौँ । भावनात्मक तहमा तिनले अप्रत्यक्ष काम त गरि नै रहेका हुन्छन् । न्युयोर्कमा नेपाली टोपी लगाएको मानिस भेट्दा एक नेपालीलाई कति निकटताको वोध हुुन्छ ! कहिलेकाही गाउँको देवता हेला जस्तो स्थिति भएको छ नेपालभित्र ।
१.४. नेपाली संस्कृतिको विश्व यात्रा
नेपालको वर्तमान भुगोलबाहिर नेपालका विविध सांस्कृतिक बिम्बमध्ये कतिलाई लगेर प्रयोग गर्न सकिन्छ, ती सबैले नेपाली संस्कृतिको विश्वयात्रामा जाने हक राख्दछन् । अहिलेको परिस्थितिमा तिनीहरू विश्वयात्रामा निस्कदा सामान्यतया नेपाली भाषाको माध्यमबाट नेपालीजातिको मन र व्यावहारिक प्रयोगमार्फत प्रकट हुन्छन् । नेपाली जाति, भाषा र संस्कृति नेपाली डायस्पोरामा पुगेपछि त्यहाँका अन्य जाति, भाषा र संस्कृतिसँगको अन्तर्घुलनले त्यहाँकै स्थानिक नेपाली जाति, भाषा र संस्कृतिका रुपमा विकसित र विस्तारित हुन पुुग्दछन् । अमेरिकामा बस्ने नेपाली राई नेपाल र भारतको अर्को राईसँग धेरै समान र केही फरक हुन जान्छ । बर्मामा खेलिने देउसी र कतारमा खेलिने देउसी विस्तारै फरक हुँदै जान्छन् । ती दुबैको मौलिकताको मापकचाहिँ नेपालमा खेलिने देउसी नै हो । त्यो स्ट्याण्र्ड वा मानक हो । ताप्लेजुङमा नाचिने धान नाचकै आधारमा हङकङको धाननाचको मौलिकता मापन गरिन्छ । विश्वको कुनै पनि भागमा बोलिने नेपाली भाषाको शुद्धताको मापन नेपालभित्र बोलाइ र लेखाइमा प्रयोग हुने नेपाली भाषाकै आधारमा हुन्छ । यसरी नेपाललाई प्रत्येक कुराको केन्द्र बनाएर डायस्पोराका जीवन र कला संगठित र सञ्चालित हुन्छन् ।
२. नेपाली साहित्य
छोटकरीमा भन्दा निम्न लिखित साहित्यलाई नेपाली साहित्य भनिएको र भन्नुुपर्ने स्थिति छ यतिखेरः
क) नेपाली भाषामा लेखिएको साहित्य,
ख) नेपाली जातिले लेखेको साहित्य, र
ग) नेपाली जीवन र संस्कृतिलाई विषय बनाएर स्थानीय वा विश्वका कुनै पनि भाषामा लेखेको साहित्य
३. डायस्पोरा, डायस्पोरिक र नेपाली डायस्पोरा
नेपाली साहित्यमा डायस्पोराको चर्चा गर्नेे केही स्वघोषित विद्वानहरू नेपाली भाषामा ‘डायस्पोरा’ शव्दको प्रवेशलाई निषेध गर्नुपर्ने सम्मका कुतर्क निकालिरहेका छन् अचेल । परिवन्दले तिनिहरूकै पछि लाग्न पुगेका केही नेपाली डायस्पोरिक सर्जकहरू पनि “हामी नेपालबाट लखेटिएर विदेशिएका होइनौँ त्यसैले हामीलाई डायस्पोरा भन्न पाइदैन” भन्ने केटाकेटी तर्क गर्न थालेका पाइन्छन् ।
डायस्पोरा शव्द र यसले वर्तमान विश्वको राजनैतिक, सांस्कृतिक र मानवीय पक्षमा राख्ने अर्थ केवल यहुदीहरूको निर्वासनको बिम्बसँग मात्र जोडिएर रहेको छैन । यो शव्द र यसको अर्थले करीब २५०० वर्षको विकास र विस्तारको इतिहास बनाइसकेको छ । वर्तमानमा यसको आफ्नै अर्थ छ । यो अर्थलाई विश्वको मानवीय अध्ययनको महत्वपूर्ण आयामको रुपमा मानिसकिएकाले केही विमतिहरूको अब कुनै विशेष मूल्य बाँकी छैन । संसार भरिका विभिन्न डायस्पोरामा कैयौँ विद्धान अनुसन्धाताहरूले वर्षौँ लगाएर गरेका अनुसन्धानहरूको निष्कर्षको सँगालो Diaspora: Concepts, Intersections and Identities (Eds. Kim Knott and Sean McLoughlin) शीर्षकको बेलायतको Arts and Humanities Research Council (AHRC) द्वारा सन् २०१०मा प्रकाशित पुस्तक, Robin Cohen sf] Global Diaspora: An Introduction (2008)तथा क्यानाडेली भारतीय डायस्पोराकी प्रख्यात सर्जक र सांस्कृतिक अभियन्ता उमा परमेश्वरनको Writing the Diaspora: Essays on Culture and Identity (2007) जस्ता केही पुस्तकहरूको मात्र अध्ययनले पनि यी भ्रमहरू स्वतः हटेर जानेछन् । ती र अन्य केही विश्व प्रसिद्ध र अनुसन्धानमा आधारित पुस्तकहरूमा डायस्पोराको अर्थदेखि प्रयोगसम्मका विषयमा निम्न लिखित केही आधारभूत धारणाहरू प्राप्त गर्न सकिन्छः—
३.१. डायस्पोरा शव्दको अर्थ निर्माण र विस्तार
- इसा पूर्व पाँचौँ शताव्दीः ग्रीसेली अर्थः छरिनु, फैलनु र छुट्टिनु (मुलबाट छुट्टिएर छरिनु र फैलनु), भौगोलिक र सामाजिक रुपको प्रसङ्ग थिएन । हिब्रु भाषामा exile, banishment र deportation जनाउने नयबि र नबगितले डायस्पोराको समानार्थीको रुपमा काम गर्दैनथे । ग्रीक भाषामा यहुदीहरूको त्यो अवस्था बताउने gola र galut को समानार्थी शव्दहरू metoikesia (जबरजस्त निष्काशन) र aichmalosia (युद्धमा विस्थापित) प्रयोगमा थिए ।
- ब्याबिलोनमा यहुदीहरूको अवस्थाभन्दा पछिको अर्थः धार्मिक अर्थ, ईश्वरको इच्छाले फेरि जम्मा हुनसक्ने गरी छरिएका यहुदीहरू ।
- इसाको प्रथम शताव्दीः क्रिश्चियन अर्थः धर्म प्रचारकालागि संसारका विभिन्न ठाउँमा पुगेका बीज मानवहरू वा धार्मिक यात्राको क्रममा छरिन जानेहरू ।
- चैथो शताव्दीः क्रिश्चियन सन्दर्भको यो अर्थ नै भुलियो धार्मिक प्रसङ्गमा ।
- सोह्रौ शताव्दीः डायस्पोरा शव्दको पुन प्रयोग क्याथोलिक भूभागमा बस्ने प्रोटेस्टेन्ट वा प्रोटेस्टेन्ट भूभागमा बस्ने क्याथोलिकलाई बुझाउन गर्न थालियो । डायस्पोरा ≠ अल्पसङ्ख्यक
- उन्नाइसौँ शताव्दीः देशभित्रकै बसाइ सराइको अर्थमा ‘कन्फेसनल माइनोरिटज’
- सन् १९६०भन्दा पछिः अन्तर्देशीय र ग्लोबल बसाइ सराइको सन्दर्भमा डायस्पोरा शव्दको प्रयोग हुन थाल्यो । बसाइ सराइको सन्दर्भमा आफ्नो देशभन्दा पर जाने तथा परदेशमा बस्ने राष्ट्रिय, सांस्कृतिक वा धार्मिक समूह । (स्रोतः प्ष्m प्लयतत बलम क्भबल ःअीयगनजष्लि उ। द्दज्ञ०
सन् १९६० देखि पछिको डायस्पोराको प्राज्ञिक विमर्शका निम्न चार चरणहरू रहेका छन्ः
क) प्रथम चरणः १९६०–८०ः शुरुको यहुदी र पछि आएर प्यालेस्टिनी डायस्पोराको अध्ययन ।
ख) दोश्रो चरणः १९८०–९५ः डायस्पोरा शव्दको मेटाफोरिक अर्थ र स्थानः देश छोडेका, देश निकालिएका, राजनैतिक शरणार्थी, एलियन रेजिडेन्ट्स, बसाइ सराइ गर्ने, जातीय अल्पसङ्ख्यकहरू र तिनको ऐतिहासिक अनुभव, साझा कथा र गृहदेश–परदेश सम्बन्ध ।
ग) तेस्रो चरणः १९९५–२०००ः दोश्रो चरणको अध्ययन क्षेत्रको आलोचना र परिचयको सङ्कटको अध्ययन ।
घ) चौथो चरणः २०००भन्दा पछिः एकीकृत अवधारणाको चरणः तीनवटै चरणहरूमा उठाइएका विषयहरूको एकीकृत अध्ययन । गृह र गृहभूमिको प्रभावपूर्ण विस्तारलाई डायस्पोरा अध्ययनको प्रमुख विषय मानिन्छ अचेल । (स्रोतः च्यदष्ल ऋयजभल उ। ज्ञ०
यी आधारमा नेपाली डायस्पोराको सन्दर्भलाई हेर्दा निम्न प्रकारका नेपालीहरूलाई डायस्पोराका नेपाली र तिनले बनाएको समाज र समुदायलाई नेपाली डायस्पोरा भनिन्छः
क) नेपालको भूभागबाट ऐतिहासिक रुपमा वा वर्तमान समयमा स्वेच्छाले वा वाध्यताबस छोटो वा लामो समयका लागि बाहिरिएका नेपालीहरू,
ख) नेपालबाहिर अस्थायी र स्थायी दुवै प्रकारको बसोबास गर्ने र उतै कमाइ खाने नेपालीहरू,
ग) नेपाली भाषालाई सम्पर्क भाषाको रुपमा प्रयोग गर्दै त्यसको जगेर्ना गर्ने नेपालीहरू,
घ) नेपाली संस्कृतिलाई आफ्नो संस्कृति र नेपाललाई आफ्नो आदिभूमिको रुपमा प्रेम र सम्मान गर्ने नेपालीहरू,
ङ) चाहेको बेला नेपाल फर्कन सक्ने र नसक्ने दुबै प्रकारका नेपालीहरू जो नेपाल फर्कन पाउनुमा गर्व गर्दछन्,
च) नेपाली नागरिकता भएका, त्यागेका वा लिनै नपाएकाहरू, र
छ) आफूले वा आफ्ना पूूर्खाहरूले नेपालमा विताएका क्षण र गर्ने गरेका क्रियाकलापहरूको साझा सम्झना र अनुभूति भएका नेपालीहरू
सबै नेपाली डायस्पोराका सदस्यहरूमा माथिका सबै गुणहरू एकसाथ पाइन्छन् नै भन्ने छैन । तर छोटो समयकालागि पर्यटकको रुपमा वा नेपाली डायस्पोराले प्रदान गर्ने पुरस्कार ग्रहण गर्न विदेसिएर केही समयपछि नेपाल फर्कनेहरू डायस्पोराका नेपालीहरू होइनन् ।
- अमेरिकामा बस्ने नेपालीहरूलाई अमेरिकी आँखाले हेर्दा आप्रवासी देखिन्छ भने नेपाली आँखाले हेर्दा नेपाली डायस्पोराको सदस्य । अन्यको हकमा पनि यही प्रचलन छ । अचेल डायस्पोरा प्रेमको आँखा भएको छ ।
- अचेल डायस्पोराको जीवनलाई दुःखी जीवन भनेर होइन, सङ्घर्षमयी र साहसिक जीवन भनेर बुझिन्छ ।
३.२. नेपाली डायस्पोराको निर्माण, विस्तार र विभिन्न चरणहरू
नेपाली डायस्पोराको निर्माणको इतिहास लामो छ । बुद्धको धर्म प्रचारको अभियानदेखि शुरु भएर तिब्बत, चीन, भुटान र फिजीमा समेत नेपालीहरूको बसोबास भएको आदिकालदेखि सन् १८१४को सुगौली सन्धिपछि नेपालको भूभाग भारतमा गाभिनु र भारतीय र बेलायती सेनामा नेपालीहरूको प्रवेशले विस्तार गर्दै लगेको नेपाली डायस्पोराको सघन विस्तार चाहिँ विक्रमको २०३०को दशकमा नेपाललाई शान्ति क्षेत्रको रुपमा विश्वमा परिचित गराउने अभियान र २०४६को प्रजातन्त्रको पुनस्र्थापना पछि नेपालीहरूलाई विश्व बजारमा छिर्न तयार पारिएको खुकुलो परिवेशको निर्माण पछि भएको हो । यसरी आदिकालदेखि अहिले सम्ममा निर्माण भएका विविध नेपाली डायस्पोराका नेपालीहरूलाई प्रसिद्ध क्यानाडेली भारतीय डायस्पोराकी सर्जक, सांस्कृतिक अभियन्ता तथा विमर्शकार उमा परमेश्वरनको डायस्पोराका मानिसहरूको बसोबासको प्रकृति र समयावधि तथा उनीहरूको अनुभव र अनुभूतिको पृथकता र परिपक्वताका आधारमा गरिने प्रसिद्ध चरण विभाजन प्रणाली अनुसार निम्न चार चरणमा बाँडेर अध्ययन गर्न सकिन्छः—
क) प्रथम चरणः भर्खर गृहदेश (नेपाल) छाडेर डायस्पोरामा प्रवेश गरेकाहरू । उनीहरूमा गृहविरह तथा नयाँ ठाउँ र नौलो परिवेशको आकर्षण र समस्याहरूको प्रभाव एकसाथ पाइन्छ । एकसाथ आनन्दित र चिन्तित हुनुपर्ने परिवेश हुन्छ । यस चरणमा दुई प्रकारका मनस्थितिहरू पाइन्छन् । पहिलो प्रकारमा ती मानिसहरू र तिनको मनस्थिति पर्दछ जो सधैँका लागि नेपाल छाडेर गएका छन् र अब वैधानिक रुपमा नेपालको नागरिक भएर नेपाल फर्किन चाहदैनन् वा चाहेर पनि पाउँदैनन् । जस्तै अमेरिकाको डिभी परेर नेपाल छाड्नेहरू । तिनीहरूको प्रमुख चिन्ता त्यहाको बसोबास, कमाइको स्थायित्व, अस्तित्व र भविष्यको हुन्छ । उनीहरू छिट्टै डायस्पोराको दोश्रो चरणमा प्रवेश गरिहाल्दछन् । पहिलो चरणको दोश्रो प्रकारमा ती नेपालीहरू पर्दछन् जो नेपाल फर्कनै भनेर विदेशिएका छन् । यस्तामा भारतीय र बेलायती सेनाका जागिरेहरू, नेपाल सरकारको छात्रवृत्तिमा विदेश पढ्न गएकाहरू र वैदेशिक रोजगारीको सिलसिलामा संसारका विभिन्न मुलुकमा पुगेर रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा टेवा पु¥याइरहेकाहरू । यस्ताहरूमा सांस्कृतिक आघात र गृहवेदनाको मात्रा पहिलो प्रकारकाहरूमा भन्दा बढी हुन्छ । आज नेपाली डायस्पोराको अत्यधिक ठुलो अंश यही प्रकारका नेपालीहरूको छ । तिनीहरूलाई परम्परागत रुपमा परदेशी भनेर पनि चिनिन्छ ।
ख) दोश्रो चरणः अस्तित्व र स्थायी जीविकाकोलागि गरिने सङ्घर्षको चरण । परदेशी कोटिका डायस्पोरिकहरू दोश्रो चरणमा प्रवेश नै गर्दैनन् । सधैँका लागि गृहदेश छाडेर हिँडेकाहरू भौतिक र मानसिक दुबै रुपमा छिट्टै यस चरणमा प्रवेश गर्दछन् । यस चरणमा डायस्पोरामा भौतिक अस्तित्व र स्थायी जीविकाको सवाल र चिन्ताले थिचेका, गृहदेश र भविष्य दुबैको बारेमा कम मात्र सोच्न भ्याउने मानिसहरू पर्दछन् ।
ग) तेश्रो चरणः जातीय र सांस्कृतिक अभियानको चरण । डायस्पोरामा आर्थिक रुपले स्थापित भइसकेपछि अस्तित्व निर्माणको अर्को चरणमा सांस्कृतिक र सामाजिक परिचयको खोजीमा लाग्न र त्यसमा काम गर्न समेत कमबेसी फुर्सद निकाल्न सक्नेहरू तेश्रो चरणमा पुग्दछन् । उनीहरू आफ्नो जातीय सांस्कृतिक धरोहरहरूको डायस्पोरामा स्थापना, सम्वद्र्धन र त्यहाँको सामाजिक मान्यताको लागि सङ्घर्षरत हुन्छन् । अमेरिकामा होमनाथ सुवेदी, बेलायतमा हरिसिंह थापा, सुरेशजङ्ग शाह र रुसमा डा. मधु माधुर्यहरू यस चरणमा पुगेका नेपाली डायस्पोरिकहरू हुन् ।
घ) चौथो चरणः विश्व मावताको सम्वद्धन र जातीय सांस्कृतिक पहिचानको विश्वव्यापीकरणको चरण । अफ्रिकन अमेरिकनहरू अहिले यस चरणका डायस्पोरिहरू हुन् । आर्थिक, सामाजिक र सांस्कृतिक रुपले स्थानीय स्तरमा स्थापित भइसकेपछि आफ्ना यी तीनै प्रकारको परिचय र अस्तित्वको खासै सङ्कट नभएको तर आफूहरू स्थानीय तहमा अल्पसङ्ख्यक भएकाले यी तीनवटै कुराहरूको निरन्तर सम्वद्र्धन र प्रवद्र्धन गरिरहनु पर्ने आवश्यकताको वोध गरेर आफ्नो भाषा, संस्कृति लगायतका पहिचानका बिम्बहरूलाई स्थानीय स्तरबाट माथि उठाएर विश्वव्यापी बनाउने र विश्व मानवको इतिहासमा आफ्नो स्थानको खोजी र सुरक्षा गर्ने चरणमा पुगेका डायस्पोरा र डायस्पोरिकहरू यस चरणमा पर्दछन् । यस्ताहरू आफूलाई डायस्पोरिक भन्नुभन्दा पनि त्यसै देशका राजनैतिक र सामाजिक सन्दर्भका अभिन्न अङ्ग मान्दै गृह(आदि)देशसँग आफ्नो खासै भौतिक र राजनैतिक सम्बन्ध नरहे तापनि भावनात्मक सम्बन्ध कायम रहेको ठान्दछन् । अफ्रिकन अमेरिकन जस्तै फिजीका भारतीय वा नेपालीहरू तथा बर्मा, भुटान तथा भारतका नेपालीहरू यसका उदाहरण हुन् ।
४. डायस्पोरिक नेपाली साहित्य÷ नेपाली डायस्पोरिक साहित्य
नेपाली डायस्पोरामा लेखिएको साहित्यलाई ‘डायस्पोरिक नेपाली साहित्य’ र ‘नेपाली डायस्पोरिक साहित्य’ दुबै शव्दावलीले प्रतिनिधित्व गर्दै आइएको छ । आधारभूत अर्थ फरक भए पनि यी अचेल पर्यायवाची शव्दजस्तै प्रयोगमा आइरहेका छन् । जुन शव्दावलीको प्रयोग गरे पनि यो कस्तो साहित्य हो भन्नेमा अचेल केही छिटफुट विमर्शहरू हुन थालेका छन् । विश्वसाहित्यमा यस्ता विमर्शहरू प्रशस्त भएर कैयौ मानक पुस्तक र अनुुसन्धानका निष्कर्षहरू आइसकेका छन् । नेपाल, नेपाली भाषा र नेपाली साहित्यमा यो सिर्जनाको क्षेत्रमा एक बहुप्रचलित र शक्तिशाली क्षेत्र बनेर आइसक्दा पनि सिद्धान्त, समालोचना र विश्वविद्यालयीय अध्ययन, अध्यापन र अनुुसन्धानमा यो पछि परेकाले यससँग सम्वन्धित केही द्विविधा र भ्रमहरूसमेत व्याप्त छन् ।
सर्जकको परिवेश र मानसिकताले साहित्य सिर्जनामा प्रत्यक्ष प्रभाव पार्छ भन्ने एक सशक्त प्रमाण हो डायस्पोरिक साहित्य । डायस्पोरा, डायस्पोरिक मान्छे र डायस्पोरिक साहित्य नितान्त फरक तर अन्तर्सम्बन्धित अवधारणाहरू हुन् । यस सन्दर्भमा नेपाल बाहिर नेपाली जातिका मानिसहरूको बसोबास र कार्यको स्थान र संस्कृतिको संयुक्त रुप नेपाली डायस्पोरा हो । यस्ता डायस्पोराहरू मानव बस्ती भएका संसारका सबै महादेशहरूमा पाइन्छन् । ती डायस्पोरामा बस्ने सबै नेपालीहरू डायस्पोरिक नेपालीहरू हुन् । तिनीहरूले गर्ने सबै क्रियाकलापहरू नेपाली डायस्पोरिक क्रियाकलापहरू हुन् ।
नेपाली डायस्पोरिक साहित्यको सन्दर्भमा दुई भिन्न मतहरू छन् । पहिलो मत अनुसार अन्य क्रियाकलाप जस्तै नेपाली डायस्पोराको सर्जकले रचना गरेका सबै साहित्यिक सिर्जनाहरू नेपाली डायस्पोरिक साहित्य भित्र पर्दछन् । यो सर्जक केन्द्रित परिभाषा हो । नेपाली जातिले लेखेका सबै साहित्यलाई नेपाली साहित्य भनेजस्तै सबै डायस्पोरिक नेपालीहरूका सिर्जनालाई नेपाली डायस्पोरिक साहित्य भन्ने प्रचलन हो यो । यस मतअनुसार मानिएको नेपाली डायस्पोरिक साहित्यका केही रचनामा कहिलेकाहीँ सर्जकको परिचय नखुलेको अवस्थामा गरिने स्वतन्त्र पठनमा डायस्पोरिक साहित्यका तत्वहरू नपाइने पनि हुन्छ । त्यसैले सर्जक डायस्पोरिक कि सिर्जना डायस्पोरिक भन्ने प्रश्न उठ्ने गरेको छ । यसैलाई निरुपण गर्नका लागि दोश्रो मतको स्थापना भएको हो । यस अनुसार डायस्पोरिकहरूको जीवनसँग सम्बन्धित विषयहरूको उठान गरिएको र सर्जकको परिचय नै नखुलेको अवस्थामा पनि डायस्पोरिक सिर्जना नै हो भनेर चिन्न सकिने रचनालाई डायस्पोरिक साहित्य मानिन्छ । यस्तो सिर्जनामा डायस्पोराको चित्रण, डायस्पोरिकहरूको जीवन, संस्कृति, मानसिकता, सामुहिक कथा लगायतका विषयहरू पर्दछन् । यसरी हेर्दा डायस्पोरिक साहित्यको सर्जक डायस्पोरिक नै हुनु पर्ने कुनै जरुरत देखिदैन । सर्जकहरू संवेदनशील र काल्पनाशील मानिसहरू हुने भएकाले अरुको अवस्था र मानसिकताको चित्रणमा पनि सिर्जनाको भावभूमि विकास गर्न सक्दछन् । उमा परमेश्वरनले यो कुराको उदाहरणसहित व्याख्या गरेकी छन् । नेपाली डायस्पोरिक साहित्यको अध्ययनमा यो दोश्रो मत बढी प्रचलित देखिन्छ । तर सर्जक आफैँ डायस्पोरिक भएको डायस्पोरिक साहित्य गैर डायस्पोरिक सर्जकद्वारा सिर्जित डायस्पोरिक साहित्य भन्दा बढी प्रभावकारी र यथार्थवादी हुने सम्भावना स्वाभाविकै हुन्छ । डायस्पोरिकहरूमै पनि पहिलो चरणको डायस्पोरिक जीवन व्यतित गरिरहेको सर्जकले दोश्रो, तेश्रो वा चौथो चरणको जीवनमाथि लेखेको सिर्जना भन्दा त्यही सर्जकले आफू चौथो चरणको डायस्पोरिक जीवन विताउन थालेपछि पहिलो, दोश्रो वा तेश्रो चरणको जीवनको चित्रण गर्दा बढी यथार्थको नजीक हुन पुग्नु सम्भव र स्वाभाविक हुन्छ ।
डायस्पोरिक व्यक्तिलाई जस्तै डायस्पोरिक सिर्जनालाई पनि त्यसले चित्रण गरेको भाव र त्यसले राख्ने अर्थका आधारमा विभिन्न चार चरणको साहित्यमा विभाजन गर्ने गरिन्छ । सामान्यतया सर्जकले आफ्नो डायस्पोरिक जीवनको चरणकै चित्रणमा सिर्जना गर्ने भए पनि सधैँ त्यस्तो हुदैन । त्यसैले डायस्पोरिक साहित्यका अध्येताहरूले कमसेकम सर्जकको डायस्पोरिकता, उसको जीवनको डायस्पोरिक चरण र उसको सिर्जनाले देखाउने डायस्पोरिक चरणको निराकरण गर्नु जरुरी छ । अनि डायस्पोरिक मान्छे नै सर्जक भएका र स्वतन्त्र पठनमा पनि डायस्पोरिक सिर्जना नै हो भनेर चिन्न सकिने सिर्जनाहरूलाई डायस्पोरिक साहित्यको अध्ययनमा प्राथमिकतामा राख्ने गरेको पाइन्छ । यो स्वाभाविक र न्यायिक अध्ययन हो ।
नेपाली साहित्यमा यस्ता सिर्जनाहरूको कुरा गर्दा चारै चरणका सिर्जनाहरू पाइन्छन् । अधिकांश प्रथम चरणका, केही दोश्रो चरणका, अमेरिका, बेलायत र रुसमा केही तेश्रो चरणका र भारत, भुटान र बर्मामा चौथो चरणका सिर्जनाहरू पाइन्छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले गैरआवासीय नेपाली संघको मान्यतालाई पछ्याएर सार्क राष्ट्रहरूलाई नेपाली डायस्पोरामा नराखी त्यहाँ सिर्जित नेपाली साहित्यलाई नेपाली डायस्पोरिक साहित्य अन्तर्गत नराखे पनि, अनि भारतका नेपाली साहित्यकारहरूले राजनैतिक कारणले आफूलाई नेपाली डायस्पोरिक साहित्यकार भन्न नरुचाए पनि डायस्पोरिक साहित्य अध्ययनको वर्तमान विश्व विमर्शलाई आधार मान्दा र डायस्पोरिक साहित्यको अध्ययनमा राजनैतिक अस्तित्वभन्दा सांस्कृतिक जागरण र अस्तित्वको आधार बलियो हुुने र भारतका नेपालीहरूमा यो चेत र यससँग सम्बन्धित क्रियाकलापहरू इतिहासदेखि आजसम्म अझ तीब्रतर हुँदै आएकाले समालोचक महेश पौड्यालले जोड दिएजस्तै भारतमा बस्ने नेपाली जाति र तिनका सिर्जनालाई नेपाली साहित्य अनि नेपाली डायस्पोरिक साहित्यको आयामभित्र नसमेटेसम्म नेपाली साहित्य र नेपाली डायस्पोरिक साहित्यको आयाम पूर्ण हुनै सक्दैन ।