19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मातृ-भाषा

कविता गोपाल ढकाल August 13, 2014, 8:10 pm

नेपाली अनि भारतीयहरुको यो मातृ भाषातिर।

सोच्ने शक्ति बढ़ोस् मिलेर सबले, फैलाउ चारैतिर।।

भाषालाइ उठाउने समय हो, सन्तानका खातिर।

भाषालाइ यता घुमाउँ सबले जॉंदैछ अन्तैतिर।।1

यौटाको पछि लाग्नु हुन्न सबले चॉंड़ै बनौ चञ्चल।

नेपाली जनभित्र मन्द गतिमा लाग्दैछ है बादल।।

भाषाले जति जे नयॉं सफलता पायो खुशी साथमा

अर्को भानु उदाउने समय हो नौलो नयॉं काव्यमा।।2

बुज्दैनन् पनि भन्नुहुन्न सबले भाषा सबै बुझ्दछन्।।

बोल्ने मुख्य यही छ साधन यहॉं, लेख्नै पछी सर्दछन्।

ठूलाले पनि लेख्नलाइ यसमा, भुङ्ग्रे जरो आउँछ।

नानीलाइ अ आ सिकाउने गुरू ऐले कहॉं पाउँछ।।3

गाली होइन सत्य-तथ्य घटना, छर्लङ्ग देखिन्छ है।

नेपाली किन पढनु लेख्नु यसले के दिन्छ भन्दै छ है।।

जन्मेदेखि पढ़ाइ हुन्छ अरुनै, सिक्नै नखोजेपछि।

नेपाली अब उक्किने छ कसरी, बोल्दै नबोलेपछि।।4

यौटा सत्य कुरा म गर्छु सबमा, कस्तो छ भाषा भनी।

कक्षामा जब पढ्ना थाल्छ शिशुले बुज्दैन केही पनि।।

नेपाली अनुवाद इंलिस गरी बुझ्ने भए सुस्तरी।

यस्तै रीत चलेर जान्छ मनले सिक्दैन कोही पनि।।5

के हो व्यञ्जन-वर्ण हुन्छ कति यो सम्युक्त ती अक्षर।

के-के हुन् स्वर-वर्ण ह्रस्व कुन हो कुन् दीर्घ हो अक्षर।।

चिन्दैनन् कुन वर्ण हो श ष स-मा अल्मल्लिने रोग छ।

गीता लेख्नु परे कता कुनदिशा ईकार त्यो लाग्दछ।।6

के हो बाह्रखरी मिलेर कसरी, जोड़िन्छ ती वर्णमा।

जस्तै लेख्नु क का कि की यदि परे, झुक्किन्छ यो काममा।।

बोल्ने मात्र कुरा गरौं यदि भने त्यो लाझका खातिर।

नेपाली अब जान्न छोडनु मनले, सोचौं कुरा गम्भीर।।7

सॉंच्चै लेख्न लगाउने यदिभने लेख्नै नजान्ने भए।

विद्यार्थीहरु जान्न सिक्न अहिले मान्दै नमान्ने भए।।

नेपाली छि छि हुन्छ लाझ उतिकै बोल्ने कुरामा भयो।

अंग्रेजी जब बोल्छ लेख्छ मनमा आनन्द मिल्ने भयो।।8

सानो चित्त बनाइ हुन्न मनले ठूलो कुरा सोच्नु छ।

भाषालाइ बचाउने सबमिली संकल्प यो गर्नु छ।।

नेपाली जन-जाति भित्र सबले हॉंसेर नै बॉंच्नु छ।

भाषाको गरिमा र गौरव कथा लेखेर नै छोडनु छ।।9

रोपौं अन्न नयॉं मिलेर सबले भण्डारमा राख्नुछ।

खाली भो ढिकुटी भने पछिकतै, माग्ने हुनै पर्दछ।।

सानालाइ सिकाउँ रोप्न कसरी ठूलो भई फल्दछ।

जान्नेछन् अनि बुझ्दछन् समयमै, बॉंच्ने सबै बॉंच्दछ।।10

नेपालीमा अब सबमिली काव्य यौटा बनाऊँ।

हाम्रो गाथा गुनुगुनु गरी काव्य मै गुन्गुनाऊँ।।

छानौं ढुंगा मल-जलगरी अन्न बाली लगाऊँ।

यो माटोमा असल गुणको बीज रोपौं बड़ाऊँ।11

सिक्किम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।