19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

महाष्टमीलाई सप्राएको पाठो

कविता दिपा शर्मा August 13, 2014, 8:12 pm

महाष्टमीलाई सप्राएको पाठो

महादानलाई सजाएकी कन्या

हाराहारीमा राखेर दाँजी रहँदा एकदिन

फुत्त उम्कन्छ पाठो

दाम्लो चुँडाएर

चामल खाँदा खाँदा बोस्सिएको बलियो शरीर ।

हतकडी र नेल लागिसकेका हुन्छन बेलैमा

शुभलगनमा पासो पनि लाग्छ

आँखा नाक कान मुख

कात्रोले ढाकिदिएर छपक्क

सिंदुरले रेटिरहँदा टाउको

आँशु देखिन्छ भन्दै भागिसकेका हुन्छन आफन्तिहरु (बिगतका)

आँशुलाई तमाशा बनाउँदै हाँसिरहेका हुन्छन आफन्तिहरु (बर्तमानका )

रेटिनै सप्काएको टाउकोमा

उम्कने बुद्धि पलाउँदैन

चामल नपचाउने देहमा

उम्कने बल पलाउँदैन

एक मारमा चुँडिएर पाठो

रक्ति भुटुवा झोल र सिनो बन्छ-दुर्गन्ध

हजार मारमा नचुडेर आइमाई

हजार बर्षसम्म आइमाईनै रहन्छे-सुगंध

पाठाको बलि - बाहुनको पनि रयाल

आइमाईको बलि - बाउन्नेको पनि -याल ।

शीमलितोला, गोवालपाडा , आसाम , भारत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।