हे युगका युवा, जाग उठ सलाम
खम्वीर योद्धाहरु हो, जुट तोड लगाम
बिडम्बना ! अफ्सोच !
जब फिल्टर देखि सालबिडें सम्मा ठुटा-ठुटा हुन्छ
जब कडा देखी नरम सम्म थुप्रै बोत्तलहरु रित्तिन्छन्
अफ्सोच ! कोरिन्छ दर्जा
बेफ्वाँक ! टुट्छ उर्जा
फूल एक बासना अनेक
भुल एक तृष्णा अनेक
जब नशा भाङ्, कोक्टेलसँगै
स्वार्णिम धरहरा डुब्न थाल्छ
जब आकाश धमिलिन थाल्छ
तब आफ्नै छविले जलाउन थाल्छ
भित्र भित्रै पगाल्न थाल्छ
अनि लेखिन्छ यी दर्जा
जीवन एक दर्जा अनेक
एकै ड्याङ्को मुलो
सानो ठुलो,टर्रो पिरो
जब जिन्दगीका प्यालाहरु
एक-एक सिद्धिन्छन् क्रमश:
अनि सबै सुरा-परा
नतमस्तक लाचार सुहागरात सुरुहुन्छ
अनि लेखिन्छ यहाँ दर्जा अनेक
उर्बरा उर्जा अनेक
हो, त्यो बयस्क
हो, बेफ्वाँक ! ऊ त्यो युवा
यो युग अनि युवा ।