देश चलाउने एउटा मान्छे
किन सोधिरहन्छ सधैजसो एउटा प्रश्न
ठाँटिएर आलो रगत टेकेर रथ माथि चढ्छ र सोध्छ
यो भोटो कस्को हो ?
एउटा वेगवान हावाको गति लिएर
प्रतिवादमा खदारेर रथबाट
मलाई सोध्न मन लागिरहेछ
सिमानामा जङ्गे पिलरसँगै ढलेको देश कस्को हो ?
हो ! यो साँचो हो !
भोक र रोगले मरेका लासहरु
जलिरहेछन् मेरा कविताहरुमा
त्यही कतै एउटा बालक रोइरहेछ
मेरो गाउँको वरको चौतारीमा
उस्का आँखाहरुको क्यानभासबाट
हराएको छ एउटा मान्छे
हराएको छ एउटा रहर लाग्दो सपना
यस्तो लाग्छ कहिले काँही
यी कविता लेख्नेकलमको निवले
घोचेर खोपिदिउँ एउटा घाउ
र सोधु सोधु लाग्छ देश चलाउनेहरुसँग
किन सधै सोधिरहेको वर्षौ देखि
यो भोटो कस्को हो ?
एउटा वेगवान हावाको गतिमा
प्रतिवादमा खदारेर रथबाट
मलाई सोध्न मन लागिरहेछ
मेरो गाउँको वरको चौतारीमा
लडीरहेको बालकको सपना
र सिमानामा जङ्गे पिलरसँगै ढलेको देश कस्को हो ?
हो ! यो साँचो हो !
खर्पनमा मेरो देश बोकिहिड्छ
सधैजसो एउटा मान्छे मेरो कवितामा
पहाडका गोरेटो र हिमालयन ट्रेलहरुमा
देखाउँदै गर्वले आफ्नो देश
बोकि हिडेकाछन् भरिया दाई
एउटा सकस
मेरो जिवनको लयहरुमा
समयको काँडाघारीमा
कैले काँही मात्र हाँसेको इतिहास छ
आमाहरुको
गाउँवस्तीमा काटिएका रातहरुमा
कैले काँही मात्र बाँचेको इतिहास छ
मान्छेहरुको
नपत्याए उल्टो घुमाएर हेर एकफेर
घण्टाघरको समय
र उभिएर इतिहासको डवलीमा
साक्षी राखेर हेर पुर्खाको रगत पसिनालाई
त्यसै मरेका थिएनन्
ख्यालख्यालमा सिमानामा मान्छेहरु
त्यसै गाडिएको थिएन
ख्यालख्यालमा सिमानामा जङ्गे पिलरहरु
मलाई अचेल यस्तो लाग्छ
बालेर मेरा कविताहरु
घसेर निधारमा त्यसैको विभुत
बोकेर पुर्खाको अस्थी हाड
घोचेर जगाईदिऊ जस्तो लाग्छ तिमीलाई
पछारेर एकफेर तिम्राे दरबार अघिल्तिर
खोली दिउँ जस्तो लाग्छ तिम्राे मस्तिष्क
जस्ले प्रायः सोधिरहेछ एउटा प्रश्न वर्षौ देखि
यो भोटो कस्को हो ?
एउटा वेगवान हावाको गति लिएर
प्रतिवादमा खदारेर रथबाट
मलाई सोध्न मन लागिरहेछ
ए निदाएको मान्छे !
सिमानामा जङ्गे पिलरसँगै ढलेको देश कस्को हो ?