14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

सोइनमले जुराएको यात्रा

नियात्रा बिकु लामा August 22, 2014, 1:31 pm

तपाई जडिबुटी चोकमा आएर बस्नुहोला, फोनमा छविरमण सिलवालजीको स्वर गुन्जियो । हवस् भन्दै हतारहतार गाँजाको बोक्राले बनेको सर्टमा आइरन लगाएर छोराको स्कुले ब्यागमा पाच प्रति सोइनम पुस्तक, दुइटा टिसर्ट, जिन्स पेन्ट, एयरफोन चार्जर कोच्याएर ब्याग च्याप्दै लुखुरलुखुर घर अगाडिको चोकमा पुगें । असारको मध्य, चर्को घामले आँखै तिरमि¥यो । समयको घडीले ठयाक्कै दिउँसोको बाह्र बजाउदै थियो ।

ढिला होला भनेर एक सय रुपैंयामा जडिबुटी चोकसम्म बिना मिटर टयाक्सी लिए । पाँच मिनेटमै पुगें । गर्मीले उकुसमुकुस भै रह्यो करिव बिस मिनेट जति छटपटिदै कुरिरहें । आँखालाई सारो भएपछि ब्यागबाट पुरानो चस्मा निकालेर लगाए । जुत्ताको लेस कस्न कुप्रिदा भुईमा झरेर एकापट्टिको पुरानो चस्माको दाहिने आँखा प्याट्टै फुट्यो । बसभित्रको जवान केटीले मलाई हेरेर हाँस्दै थिई । कताकता नक्कली लाजले झ्यापै छोप्यो मलाई ती जवान केटीतिर हेदै नहेरी बस स्टप छेउमा बसिरहें । मैले फोन गर्दा कोटेश्वर आइपुगेको खबर पाए, एकैछिन पछि पछडि फर्किनुहोस भनेपछि टिलिक्क परेको पर्यटक मात्रै बोक्ने जापनिज हाइस मेरै पर्खाइमा रहेछ । लुसुक्कभित्र छिरे छविजी र मधु पाठकजी बाहेक सबै नयाँ मुहार देखे र, पछडिको सीटमा गएर बसें । परिचयको क्रम चल्दै गयो, स्वरमा धेरै पहिले परिचित तर प्रत्यक्ष भेट नभएको प्रसिद्ध स्रष्टा साहित्यकार पवन आलोकज्यूले म बिकु लामा भन्नसाथ सोइनम पुस्तकको उच्चारण गर्नुभयो ।

मैले सोइनम पुस्तक प्रकाशित पश्चात प्रतिलिपी अधिकार अफिसमा जाँदा स्रष्टा समाज नेपालको अफिसमा छोडेको थिए । उहाँ स्रष्टा समाज नेपालको अध्यक्ष्य हुनुहुँदोरहेछ । सोइनम पढिसकेपछि पवनज्यूले राम्रो पुस्तक लेख्नु भएछ भनेर फोनमै भन्नु भएको थियो । उहाँसंगैको नियात्राकार जय छाङछाजीसँग पनि परिचय भयो । नियात्राकार मोहन चापांगाईसंग पनि परिचय भयो । परिचय क्रमसंगै मैले दोस्रो संस्करण तिनै जनालाइए दिए । हाइस मन्द र तीब्र गतिको बीचमा निर्धारित कार्यक्रम स्थल फेमिली क्याफे बनेपामा पुग्यौं । हाम्रै आगमनको पर्खाइमा थुपै्र कवि एवम् साहित्यिक स्रष्टाहरु ब्यग्र प्रतिक्षामा रहेको मैले आभाष पाए । मेरो आफ्नै जिल्ला भए पनि त्यस्ता साहित्यिक माहोलमा उपस्थित हुन सकेको थिइन ।

एउटा परिवेशबाट अर्कै परिवेशमा आउँदा जो कोहीलाई नौलो अनुभूति हुनु अस्वभाविक होइन, मलाई पनि साहित्यिक परिवेशमा धेरै अध्ययन गर्नु पर्छ भन्ने लागिरह्यो । एकैछिन पछि गोलाकार टेबलभरि गिलासमा पिउने पानीका साथ दिनमान गुर्मछान दिगुको अध्यक्षतामा नरेन्द्र कुमार नगरकोटीले कार्यक्रम सञ्चालन गरे । आसन ग्रहण पश्चात कविता वाचन शुरु भयो । साथमा कपी र कलम छुटेकाले टिपोट गर्न पाइन, भ्याएसम्म सुनेरै सम्झने कोशिस मात्र गरे । ईश्वर थोकरबाट शुरु भएको वाचन कार्यक्रममा हिरामाया घिसिङ तामाङ, पलपल दाहाल, मोदनाथ अधिकारी, नवराज दाहाल उत्साही, ब्रम्हप्रिय प्रेमस्वरुप, अविरल ओझेल, नरेन्द्र कुमार नगरकोटी लगायत काठमाडौबाट आउनु भएका साहित्यकारहरु श्रीओम श्रेष्ठ रोदन, शंकर भारती, विजय चालिसे, छविरमण सिलवाल, जय छाङछा, पवन आलोक, मोहन चापागांई, मधु पाठक, बिकु लामा, राधिका दाहाल, शशी थापा पण्डित र जलेश्वरी श्रेष्ठ लगाएत सबैले कविता बाचन गर्नुभएको थियो ।

धेरै सशक्त कविहरु रहेछन काभ्रेमा । वास्तवमा जिन्दगी जिउने कलात्मक शैली भित्रका अन्तरंग नै कविता हुनुपर्दछ मेरो विचारमा, कवितामा रम्ने मान्छेहरु जीवनदेखि सधैं खुसी मात्रै हुदैन, आफूलाई सहज र सरल रुपमा समग्र जीवनलाई नै सम्मोहित गर्न जानेका हुन्छन । समयलाई सापटी लिएर जिउन जानेका हुन्छन् कविहरु ।

चाहेर इच्छ्याएर मात्रै कवि हुन सक्तैन । जसले आत्मलिन भएर आफूभित्र आफै खोजेर भावना र मानवीय भाव प्रकट गर्न सक्दछ उसले मात्र कवितामा रम्न सक्तछ ।

म पनि पूरै साहित्यिक मन लगाएर सुनिरहें कविता अन्तमा अग्रजस्रष्टा श्रीओम श्रेष्ठ रोदनले भनेझैं जिउन सिकाउछ साहित्यले त्यसैले साहित्यको महत्वपूर्ण भूमिका हुन्छ । चिया र बिस्कुट पछि कार्यक्रम पनि समापन भयो । निस्कने क्रममा एकजना साहित्य प्रेमी भाईले दाईको सोइनम पुस्तक पाउन सकिन्छ भनेर अनुरोध गरेकोले मैले उनको वचनलाई सम्मान गर्दै एउटा सोइनम पुस्तक दिए । अन्तिम सिटमा मोहन चापागांईज्यू र म मात्रै थियो पछि फूलमान बलजीको सेलो थिएटरबाट भाई उदय लामा फाटो ग्राफरको रुपमा क्यामरा सहित मेरै छेउमा र कहिल्यै नभेटेका मित्र दिपक सापकोटा पनि हाम्रै यात्रामा सामेल भए । मोहनसरसंग बडो आत्मिय संवाद भयो, कृषि मन्त्रालयमा कार्यरत उहाँले हालै नेपालमा विषालु तरकारीलाई ल्याब टेष्ट गराउने आधुनिक उपकरण उहाँकै पहलमा भर्खरै नेपाल भित्र्याएको रहेछ ।

हाम्रो देशको कृषि प्रणाली र उत्पादनमा सरकारको खासै योगदान देखिदैन । दिनदिनै कहिल्यै नसुनेको रोगहरुबाट ग्रसित हुन बाध्य छन् । बाटोभरि रमणिय दृश्यले सबैलाई आकर्षित गराएको थियो । नेपालको चीनसंग जोड्ने अरनिको राजमार्ग पर्दछ । दोलालघाट पुगेपछि जय छाङछा र पवन आलोकज्यूले खोलाको नाम सोध्नु भयो इन्द्रवती र सुनकोशीको संगम भनेर सुनाए मेरो त जन्म घर आउने जाने बाटो नै यही हो त्यसैले म धेरै बर्षदेखि दोलालघाटतिरको ती सबै राजमार्ग देखि धूलो उडाउने गोरेटोहरुसंग चिरपरिचित नै छु । अविरल बग्दछ इन्द्रवती पुस्ततका लेखक श्री रमेश विकलका छोरा विजय चालिसे पनि एउटै यात्रामा थियौं । चौतारा र चीन जाने बाटो दोलालघाट भन्दा अलि माथि पुगेर छुट्टिन पथ्र्यो । चौताराको उकालो उक्लिदै गर्दा जय छाङछाले उदय भाईलाई गीत गाउन अनुरोध गर्नु भयो । मलाई त थाहा थिएन हामी सबैले अनुरोध गरेपछि उदयले पुरानो गीतहरु मीठो मीठो भाकामा गाए साह्रै मीठो स्वर रहेछ उदयको । आधुनिक पुरानो गीतहरुले सबैको मन जित्यो । वास्तवमा गीत संगीतले मानिसको इच्छा शक्तिलाई शसक्त मात्रै बनाउदैंन उत्साहित, भावुक, रोमान्चित बनाउछ ।

हाइस छिर्के बजारमा टक्क रोकियो सबैजना चियाको पिउन थाल्नु भयो । म भने पछाडिको टायरमाथिको सिटमा थचार्दै ओइलिएको साग झैं भैसकेको थियो । बाहिर निस्कदा फनन भैरह्यो रिगंटा लागिरहेको थियो । छेवैमा आएर छविजीले कस्तो लागिरहेछ यात्रा भनेर सोध्नुभयो, रिगंटा बाहेक अरु सबै ठीकै थियो । पक्कै पनि यस्तो साहित्यिक माहोल भनेको समाजकै सचेत एवम् चेतनशील नागरिक हो यस्तो अवसरमा मैले पनि उहाको सामिप्यले सामेल हुने मौका पाएको थिए । फूलमानबाटै छविजीसंग सम्बन्ध विस्तार नभएको भए शायद यो अवसरबाट म चुक्ने थिए होला । मैले मनमनै यी कुराहरु खेलाई रहेको थिए ।

चिया दुनोट खाइसकेपछि मधुजीले हामीहरु सबैको पालैपालो पहाडमाथिको रमणिय दृश्यलाई समेत पृष्ठ भागमा आउने गरी थुप्रै फोटोहरु खिचिदिनु भयो । सबैजना तङ्ग्रेको भान भयो मलाई हाइसभित्र बसेपछि श्रीओमसरले बर्माको सामाजिक परिवेशको प्रसंग बडो रोचक पूर्वक बनेपा नजिकैको भैंसेपाटीतिर गुड्दै गर्दाको क्षणको सम्झना आइरह्यो । वास्तवमै हाम्रो देश र बर्मा बीच आकाश जमिनको अन्तर रहेछ । जिन्दगी भर आफ्नो नाममा लालपूर्जा बिना नै त्यहाँको मान्छे सुखी र सम्पन्न हुँदोरहेछ । सबै नागरिकलाई गरिखाने जमिन करारमा दिने ब्यवस्था जसमा निश्चत अवधिसम्म सरकारले नै स्वामित्व व्याक्तिमा निहित हुने गरी करारनामा गर्दो रहेछ । वास्तवमा जिन्दगी भर गाँस बास कपास शिक्षा स्वास्थ्य रोजगारको पूर्ण व्यवस्था हुने हो भने आफ्नै नामको लालपूर्जाको आवश्यक पक्कै पनि पर्दैन ।

उज्यालोमै चौतारा बजारको लाङटाङ होटलमा रोकियो हाइस । होटलको लविमा आराम ग¥यौ हामीले केही समय ।ं एकैछिन पछि हामी आ–आफ्नै रुमतिर उक्लियौ । छविजी, मधुजी र म एउटै कोठामा बस्यौ । बजार घुम्ने सल्लाह भएकोले सबैजना होटलको गेटमै जम्मा भयौं । शंकर भारती पूरै ह्वाइट हाफ पेन्ट र टिसर्टमा भने मधुजी भने पूरै कालो हाफ पेन्ट र टिसर्टमा, हामीहरु चाहिँ उही ड्रेसमा थियौं । सबैजना चौताराको टुँडिखेल उकालोतिर लाग्यौं । सबैभन्दा अगाडि श्रीओमसर, छविजीले भोट माग्न हिंडेको नेताको पछि छौ, है हामी भनेर बेलाबेलामा ठट्टा पनि गरिरहे । चौतारा जिल्ला विकास समितिको गेट अगाडि पेट्टीमा बसेर सबैजनाले फोटो खिच्यौ । धेरैजनाको पहिलो यात्रा थियो चौताराको र, मेरो पनि पहिलो यात्रा सर्जकहरुसंग भएकोले निकै रमाइलो अनुभूति भैरहेको थियो ।

साँझले छोप्दै गयो हामीहरु पनि अघिकै बाटो हुँदै गोधुली साँझको दृश्यलाई क्यामरामा कैद गर्न पछि परेनौ । खुल्ला चौरको बीचमा बसेर कालो रंगिन बादल उदाउँदै गरेको जूनको बीचमा ठूलो रुख सहित आउँने गरी विभिन्न पोजमा शशी थापा फोटो खिच्दै थिइन् । सबैजना फेरी उही होटलमै जम्मा भयौ । खाना तयार हुन समय लाग्ने संकेत पाएपछि हामी घुम्दै जँदाा एउटा खाजा घरमा गएर नास्ता ग¥यौं । केही गिलासहरु पनि रि ित्तए, भोकले तिरमिराउन थालिसकेको थियो । खाजा खाँदै गर्दा होटलबाट खाना तयार भैसक्यो भन्ने संकेत आयो । लौ त होटलमैै लागौं भनेर हामी होटलतिरै लाग्यौं । खाना तयार भैसकेको रहेछ । खाजाले आराम नपाउंदै खाना खायौं बाँकी हामी मात्र रहेछौ । खाना खाइसकेपछि सबैजना एउटैे कोठामा गएर गफियौं । विगतमा गरेका साहित्यिक यात्राको संस्करणको पाना पल्टाउँदै गए । सबै स्रष्टाहरुले एक एक गर्दै सुन्दै रहँदा बडो आनन्द आइरह्यो मलाई ।

जसले साहित्यलाई माया गर्न सक्छ उसले जीवनलाई सार्थक बनाउंन पनि सक्छ साहित्य विनाको जीवन शायद कल्पना पनि गर्न सकिन्न । झण्डै साँढे एघार बज्दै थियो । लौ त भोलि बिहानको कार्यक्रम चांडै सिध्याएर भक्तपुरमा दिनको तीन बजे पुग्नु पर्छ भन्दै अंग्रेजीमा गुड नाइट शब्दद्धारा साहित्यिक मन्थन त्यही विसर्जन भयो । सबै जना आ–आफ्नो कोठातिर लागे हामी तीन भाई चांहि एउटै कोठामा आरामले निदायो तर रातको दुई बजेतिर मेरो बेडको छेउमै टाँसेको एल्मुनाई झ्यालको कापबाट मेरो निदाईरहेको अनुहार भरि पानीको छिटा बर्सिन थाले जुरुक्क उठेर झ्यालबाट चिहाईरहे मुसलधारे पानी आकाश पनि गर्जिरहेको थियो । आकाशे बिजुली पनि बेला बेलामा आँखै तिरमि¥याउने गरी चम्किरह्यो उता छविजी र मधुजी मस्त निन्द्रामा थिए । एकैछिन पछि म उठेको थाहा पाउनुभयो । मैले पानीको छिटालाई रोक्न झ्यालकै पर्दाले छोपी दिए ।

मलाई गान्धीको भनाई याद आयो । म सधैं रातमा मर्छु विहान फेरी नयाँ जीवन लिएर आउँछ । साँच्चै मानिस सधंै मरेर बाँच्ने भैरहन्छ । अस्थाइ जीवनलाई हत्केलामा लिएर जिउन पक्कै सजिलो छैन । साँच्चै भन्ने हो भने हामी जन्मेको अरुकै लागि हो आफ्नो लागि पटक्कै होइन । जिन्दगी जिउने त बाहना मात्र हो । मनभरि अनेक मन्थन गर्दा गर्दै निदाएछु । विहान गुड मर्निङ गर्दै बेडमै जिउ तन्काएर पल्टिरहे । हातमुख धोएर मधुजीले इन्टरकम दबाएर कालो चिया अर्डर गर्नुभयो । चिया पछि सबैजना सलबलाएर होटलकै लबीमा जम्मा भयौं । आयोजक संस्थाका एकजनाभित्र हामीसंगै थिए । कार्यक्रम पत्रकार महासंघको भवनमा भन्ने खबर पाएर हामीहरु सबैजना ओरालो तिर लाग्यौं । भवन भव्य र फराकिलो कोठाहरुले भित्र झन् सुन्दर देखिन्थे । भित्र पस्नसाथ श्रीओम सरले बडो राम्रो भवन रहेछ भनेर सबैलाई सुनाउंनु भयो । केही समय हामी पत्रकार महासंघको अध्यक्षको कार्य कक्षामै गफियौं ।

उता साहित्यकार मोहन चापागांईसर सामसुङ सेट निकालेर लौ मधुजी एक दुई सर्ट खिचिदिनु प¥यो भन्दै मधुजीलाई मोबाइल दिनुभयो । त्यसै के गरी बसौं बसिबियालो भन्दै हाँस्नुभयो पवनसर पनि केही बेरपछि तल जानुप¥यो भन्दै आयोजक मित्रहरुले सुझाए । भव्य भवनको दुईतलामा छुट्टै गोलाकार मेच टेबलहरुले सजाएको मिटिङ हलभित्र प्रवेश ग¥यौं । भित्तामा जमघट साहित्यिक त्रैमासिक स्वर्णाङकको विमोचन र सम्मान कार्यक्रमको ब्यानर टाँसेको थियो । जमघट त्रैमासिका सह–सम्पादक प्रेम बानियाँले कार्याक्रम संचालन गरे । जमघट त्रैमासिककै सम्पादक प्रकाशक डम्बर रसिक भारतीजीको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो । प्रमुख अतिथि श्रीओमसर र विशेष अतिथि विजय चालिसेसर थिए । कार्यक्रम निर्धारित समय भन्दा अलि लामो समय सम्म चल्यो । सम्मान, बधाइ विमोचन कार्यक्रम पश्चात दोस्रो चरणको कार्यक्रमको नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय आदिकवि भानुभक्त आचार्य द्धिशतबार्षिकी समारोह समिति बाग्मती अञ्चलको एक जिल्ला सिन्धुपालचोकमा विशेष साहित्यिक कार्यक्रमका ब्यानर टाँस्नु भयो हाम्रा मित्रहरुले ।

आसन ग्रहण पछि कविता वाचन शुरु भयो । सिन्धुका कविहरु र हाम्रै कविहरुले भोक तिर्खालाई ख्यालै नगरी धेरै मुक्तक, गीत कविता वाचन गरे । वातावरण कवितामय भयो । सबै कविहरु एकसे एक थिए । म चांहि मुख दर्शक थिए दिउँसोको बार्ह बजिसकेको थियो । कालो चियाको भरमा शरीरले थेक्न मुस्किल हुंदै गयो । कार्यक्रम समापन पश्चात बाहिरिए विजयसर संगसंगै म निस्किहाले । कवि राधिका दाहाल र मैले एक एक वटा कविता र सोइनम पुस्तक पत्रकार महासंघ सिन्धुलाई उपहार दियौ । विजयसर र म अघि अघि लम्किरहे । हाम्रो होटल पुग्न उकालो सिध्याउनै पथ्र्यो । भोकले आक्रमण गर्दै थियो । होटल पुग्नासाथ खाना अर्डर ग¥यौं । खाना खाइसकेपछि आ–आफ्नो सामान लिएर पुनः हाइसमा प्रवेश ग¥यौं । रुपेश गुरु कालो रेवन लगाएर तयारीका साथ चालक सिटमा थिए । म एयरपोर्टमा साँढे तीन बजे बिदेशी लिन जानुपर्ने भयो भनेर मलाई सुनाए । ठीकै छ नि पुगौला भने मैले त्यस्तो केही भए म तेजजीलाई खबर गरौला भने ।

मैले हामा्रे साहित्यिक भ्रमणको लागि एक हप्ता अगाडि तेज जर्गाजीलाई हाइसको लागि भनेको थिए मेरो साहित्यिक भ्रमण पनि उनकै हाइसमा जुरेका रहेछ । पर्यटन व्यवसायमा म र तेजजीसंगसंगै प्रवेश गरेका हौं । उनी मेरो सहृदयी मित्र हुन शुभचिन्तक पनि मैले यो भ्रमणको बिषयमा सुनाउंदा उनले खुसी व्यक्त गर्दै भने तिमीले साह्रै राम्रो क्षेत्रमा प्रवेश ग¥यौ । धन र पैसा कमाउन मान्छेले जसरी पनि सकिन्छ, तर बौद्धिक ज्ञान प्राप्त गर्ने र इतिहासमा नाम लेखाउन सजिलो छैन । तिमी यो क्षेत्रमा लागेकोमा म एकदम खुसी छु तर निरन्तर लागिरहनु भनेर उनले मलाई शुभकामना व्यक्त गरे । उनी पनि साहित्य प्रेमी रहेछ मैले लेखेको सोइनम पढेर पनि उनले मलाई शुभकामना दिएको

ठीक दिउँसोको साढे एक बजे होटल लाङटाङ चौताराबाट हाम्रो फिर्ती यात्रा शुरु भयो । उही बाटो गर्मीले हप्पा थियो । चौतारा बजार समेत हाइसको पूरै झ्याल खोलेर आउँदा पनि गर्मी नै थियो । हुन त गर्मी याममा गर्मी नभएर जाडो हुने कुरै भएन । छाङछासरले उदय भाई गीत गाउन अनुरोध गरेको मेले सुने । असारै महिनामा भन्ने गीत शुरु गरे उदयले असार महिनामा असारकै गतिमा हामीले तालीले साथदिइरह्यौ । पचास मिनेटमा दोलालघाट आइपुगेको पत्तै भएन । कथाकार जलेश्वरी श्रेष्ठज्यूले बाटो कटाउन विभिन्न स्वादका किसमिस, सुपारी,छुर्पी बाँढिरहनुहुन्थ्यो । मुख र जिब्रोलाई पनि फुर्सद दिएन बाटोभरि चपाइरहें । सर्ट कमर्सियल ब्रेक समेत नगरीकनै झिल्के हाइसले तीन नबज्दै हामीलाई भक्तपुरको सुर्यबिनायक चोक ल्याईपु¥यायो । श्रीओमसरले तेजेश्वरबाबु ग्वङ्गज्यूलाई लिएर जानुपर्ने भो भनेपछि हाइस देब्रेतिर मोड्न लगायो अलि माथि सेतो दाउरा सुरुवालमा सजिरहेका फुर्तिला ग्वङ्गज्यू हामीलाई नै कुरिरहनु भएको थियो ।

कार्यक्रम स्थल भक्तपुरको रेडक्रस भवनभित्र रहेछ । ग्वङ्गज्यूले हामीलाई स्वागत गर्नुभयो । परिचयको क्रममा तपाईको उमेर मलाई सापटी दिनुप¥यो भन्दा म त एकछिन दंग परे । एकैछिनपछि सबैजना जम्मा भए भित्तामा हामीसंगै भएको ब्यानरले सबैभन्दा अगाडि स्थान पाए । सुटमा सजेकी एकजना मन्द मुस्कानमा स्टेज अगाडि प्रकट भइन् । कार्यक्रम संचालिकाको नाम रोशनी रहेछ । राम्रोसंग कार्यक्रम संचालन गर्न सक्ने खुबी रहेछ उनमा । पालैपालो भक्तपुरको कविता वाचन शुरु भए आसन ग्रहण पश्चात हाम्रो टिमका कविहरुको पनि कविताहरु बेजोड प्रस्तुती भयो । कवि जय छाङछाज्यूको बुख्यांचा नामको कविताको खुलेरै प्रशंसा गर्नुभयो ग्वङ्गज्यूले । कार्यक्रम छिटो मिठो अविस्मरणीय रह्यो । चिया र बिस्कुटको साथमा भक्तपुरका साहित्यकारहरुबाट हामी सिधै काठमाण्डौं तिर लाग्यौं । गुरु रुपेशले अर्को हाइसमा आउनुहोला भन्दै थए तर उनी नै हामीलाई कुरिरहेका रहेछ । उनलाई धन्यवाद पनि दिए । हाइसभित्र पस्ने क्रममा मेरो छेउमा लेखक राजेश खनालजी र लेखक अभय श्रेष्ठ पनि हामीसंगै भयौं लेखकज्यूलाई मैले पहिलो पटक त्यही भेटें । मलाई नयाँनयाँ लेखकहरुसंग भेट हुन भनेको ठूलो मौका ठानेको छु ।

छविजीलाई विशेष धन्यवाद दिदैं सबै स्रष्टाहरुलाई विदा माग्दै म र राजेश खनालजीसंगै ओल्र्यौ । खनालजीको घर मेरो भन्दा अलिमाथि पर्दोरहेछ । केही क्षणपछि हामी दुई पनि छुट्टीयौं । समयमै घर आइपुगेछु । साहित्यिक भ्रमण मेरा लागि शिक्षामूलक सम्बन्ध विस्तार अविस्मरणीय रह्यो । यदि मैले जानी नजानी सोइनम पुस्तक नलेखेको भए यस्तो मौकाबाट चुक्ने थिए त्यसमा दुईमतै छैन, छविरमण सिलवालजीले मलाई खबर नगरेको भए म यस अवसरबाट बन्चित हुने थिए । सोइनमले जुराएको यात्रा जीवनकै सार्थक यात्राका रुपमा ठान्छु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।