17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

फुल पार्ने श्रीमति

हास्यव्यङ्ग्य विश्व विनोद September 5, 2014, 3:42 am
विश्व विनोद
विश्व विनोद

अजब नेपालको गज्जब आईडिया हुन सक्छ तपाईंको श्रीमति फुल पार्ने भए । जमाना महंगिको छ । महंगिले पहाड बनाउँदा तपाईको हाड र ढाड दुबै देखिएको हुन सक्छ, कन्पारा सेकिएको हुन सक्छ, तर चिन्ता लिनु पर्दैन तपाईं सँग फुल पार्ने श्रीमति भए मज्जाले महंगीको जमानामा चल्न सकिन्छ । हुनत मैले यौटा प्रस्ताव न गरेको हुँ तपाई मेरो बिचार सँग सहमत हुनु पर्छ भन्ने त छैन तर फुल पार्ने श्रीमति भए कस्तो होला यसो कल्पना गर्नुहोस् त ?

तपाई हुतिहारा भएर के भो बैज्ञानिक बाजेहरुले मान्छे र कुखुराको क्लोनिङ्ग गर्ने हो भने यो सम्भव हुन्छ । चट्ट फुल पार्दियो भै गो । यत्रा बिधि प्रबिधि बनाउने , दिमाग बिज्ञानमा खन्याउनेहरुले कपाल कन्याएकै भरमा यस्ति श्रीमति बनाउन सके भने बिज्ञानले फड्को मार्ने हैन महंगिको सातो झार्न सकिन्थ्यो कि ?पोषणको कुराले दिमाग शोषण गरेको बेला दिन दिनै मान्छेले नै फुल पादिर्ने भए जीवनको मूल्य ब्रोईलर कुखुरा भन्दा अलिक महङ्गो पर्न जान्थ्यो कि ? यस्तो भएमा फाईदा मात्र हैन बकाईदा हुन्थ्यो । कुपोषणले ग्रसित र त्रसित समुदायलाई फुलको उच्च आपुर्तिले बिदेशि कुखुराका अण्डा स्वदेश झिकाउन पर्थेन । अनि बर्ड फ्लुको समस्या पनि देशले झेल्न पर्थेन ।

यहाँ जीवनको लागि लडाई चल्छ, भु्रण हत्याको कुरा चल्छ, यदि श्रीमतिहरुले फुल मार्फत बच्चा जन्माउने भए कति सजिलो हुन्थ्यो, त्यति बिधि ठूल्ठूला मेसिनको आवश्यकता पनि पर्थेन होला भिडियो एकसरे अनि दुईसरे गर्नलाई । नौ महिना सम्म बच्चा गर्भमा बोकेर गर्व गर्नुको झन्झट बाट छुटकरा पाउन पनि फुल पार्ने श्रीमतिको फाईदा हुनसक्छ । छिटो छरितोको यो जमानामा कहाँ पुटुक्क परेको घ्याम्पे पेट बोकेर हिड्नु भन्दा चुटुक्क परेको सुलुत्त परेको पेट लिएर हिड्दा कुन फरक र सहज होला लौ न भनिदिनुस् न । अझ यसो भैदिने भए महिलालाई महिनाबारीको समस्या पनि आउने थिएन । वाह यस्तो भएमा देशको अर्थतन्त्र उकालो लाग्थ्यो किन थाहा छ ? कुरा के भने नि महिलाले प्याड किनेर पुरुषको पैसाको ब्याड नै रित्याएका छन् । बिदेशी प्याड किन्न नपरे पछि पैसा त स्वदेशमै रहने भयो । यसरी अर्थतन्त्र उकालो लाग्थ्यो, गरिबी भाग्थ्यो ।

जमाना महिला अधिकारको, जमाना समान अधिकारको पनि हो । कति महिलाले पुरुषले बच्चा पाए पो मज्जा हुन्थ्यो भन्ने चाहना होला , तर नआत्तिनुस् यदि यो प्रबिधि आयो भने पुरुषले पनि महिलाको काम गरेर बच्चा कोरलेर बस्थे होलान् । समान अधिकारको प्रयोग हुँदा नारी समानताको देश भनेर देशमा दश थरि चेतनाका काम गर्न नै पर्थेन । अझ कर्मचारीले बच्चा कोरल्ने भए भने देशलाई पनि फाईदा पुग्थ्यो, कर्मचारीले सुत्केरी बिदा पाउँदा कार्य सुस्तता भएको बेला फुल पार्ने श्रीमतिको कारण चुस्तता आउथ्यो । कर्मचारीलाई सुत्केरी बिदा दिनु पर्ने सिधा कुरा हट्थ्यो । सुत्केरी भत्ता पनि दिनु पर्थेन ।

फुल भए अम्लेट पनि बनाउन मिल्ने, टोस्ट पनि बनाउन मिल्ने । बहुमुखी गुणको फुलले जिन्दगी सार्थक हुन्थ्यो । फुल पार्ने हो भने बिचरा प्रसब पिडा बाट महिलाले मुक्ति पनि पाउने थिए । नत अस्पतालका बेडमा जानु पथ्र्यो न त पाठेघर झर्ने समस्या बाट गुज्रिन पथ्र्यो । दिन दिनै फुल पार्ने श्रीमतीलाई कमसेकम पुरुषले आर्थिक उपार्जनको दृष्टिले हेर्थे होलान् अनि सँधै माया पाउने गर्थे होलान् । फुल पार्ने बेलामा केहि समय भए पनि ति महिलाले थकाई मार्ने मौका पाउने थिए । पुरुष ओथारो बस्ने थियो । पुरुषको पनि सन्तान उत्पादन प्रक्रियामा सक्रियता बढ्ने थियो । दैनिक श्रीमान्को कुटाई खाने महिलालाई अझ यो समस्या बाट मुक्ति मिल्ने जुक्ति हो । कुट्दा फुल फुट्ने डरले पनि श्रीमति नकुट्ने प्यारा श्रीमानको संख्या बढाउन पनि फुल पार्ने श्रीमति हुनुको काइदा छ । तपाईका छोरा नाती बैज्ञानिक बन्ने रहरमा छन् भने ब्रम्हालाई पनि चुनौति दिएर महिला मुक्तिको आन्दोलनमा सघाउ पुर्याउन सकिन्छ । हैन त ? जदौ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।