14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

गण्डकी अञ्चलका साहित्यकार

विचार डा. यदु नन्दन उपाध्याय September 4, 2014, 3:38 pm

१. विषय प्रवेश

साहित्य सामान्य लेखन नभई सिर्जनात्मक, सौन्दर्यपरक, आनुभाविक, काल्पनिक, भावुक, कलात्मक, विचलनपरक लेखन भएकाले अरू सबै क्षेत्रमा क्रियाशील व्यक्तिका निम्ति पनि मनमोहक र आकर्षक हुन्छ । यही विशेषताले साहित्यप्रति मानिसको अनुराग प्रकट भएको पाइन्छ । यस्तो साहित्य रचनाकालीन सामाजिक चेतनाकै अभिव्यक्तिका रूपमा प्रकट हुन्छ । नेपाली भाषा सबभन्दा पहिला अभिलेखमा, त्यसपछि वाङ्मय ग्रन्थमा अनि बल्ल साहित्यमा प्रवेश गरेको हो र त्यसको प्रारम्भिक अवस्थादेखि नै गण्डकी अञ्चलका साहित्यकारको योगदान रहि आएको छ । गण्डकी अञ्चल अन्तर्गत कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा र मनाङ जिल्ला पर्दछन् । प्रस्तुत लेखमा गण्डकी अञ्चलमा जन्मेर यहीँ बसेका, यहाँ जन्मेर अन्यत्र गई बसेका तथा अन्यत्र जन्मेर यहाँ आई साहित्य सिर्जना र समालोचनामा केन्द्रित रहेका सबै स्रष्टा एवं द्रष्टाहरूलाई समावेश गरिएको छ । साथै लेखमा नेपाली भाषाका साहित्यको विकासमा गण्डकी अञ्चलका स्रष्टा एवं द्रष्टाहरूले दिएको योगदानलाई विवरणात्मक विहङ्गावलोकन मात्र गर्न सकिएको छ । शीर्षकले अपेक्षा गर्ने व्यापकता तर लेखकको समय, श्रम, साधन र साधनाको सीमितताका कमीहरू सहित यो लेख तयार गरिएको छ र तदनुसार नै सुझाव, सल्लाह र सूचनाको अपेक्षा पनि गरिएको छ ।

२. गण्डकी अञ्चलका साहित्यकारहरू

नेपाली साहित्य सिर्जनाको थालनी सुवानन्द दासको वि.स. १८२६ को पृथ्वी नारायण शाह कविताबाट भएको मानिएका (त्रिपाठी, २०५३ ः १०३) सन्दर्भमा त्यसकै एक वर्षपछि शक्ति वल्लभ अज्र्यालको महाभारत विराट पर्व कथाकृतिबाटै गण्डकी अञ्चलको साहित्य लेखनको पनि आरम्भ भएको देखिन्छ । यसरी हेर्दा गण्डकी अञ्चलको साहित्यिक इतिहास करिब २४५ वर्षको हुन आउँछ । उक्त अवधिलाई सजिलोका निम्ति यहाँ वि.स.२००० सालपूर्वका अर्थात् १९९९ सम्मका साहित्यकारलाई पहिलो चरण तथा पश्चात्् अर्थात् २००० सालपछिका साहित्यकारलाई दोस्रो चरणमा वर्गीकृत गरी अध्ययन गरिएको छ ।

२.१ पहिलो चरण १९९९ सालसम्मका गण्डकी अञ्चलका साहित्यकार

गण्डकी अञ्चलको १८२७ देखि १९९९ सम्मको १७२ वर्षको पहिलो चरणको साहित्यिक इतिहासलाई पनि पूर्वार्ध तथा उत्तरार्ध गरी दुई चरणमा छुट्याउन सकिन्छ । त्यस अनुसारका साहित्यकारका साहित्य लेखनको चर्चा तल गरिएको छ ।

२.१.१ पूर्वार्ध चरण १८२७ देखि १९३९ सम्म

गण्डकी अञ्चलमा सहित्य लेखनको थालनी शक्ति वल्लभ अज्र्यालले वि.सं. १८२७ बाट गरेको कुरो माथि उल्लेख गरि सकिएको छ । अज्र्याल गोरखामा जन्मेका साहित्यकार हुन् र उनले महाभारत विराट पर्व नामको कथा र १८३९ तिर तनहुँ भकुन्डो शीर्षकको नेपाली साहित्यकै सबैभन्दा पुरानो मुक्तक (पौडेल, २०६८ ः २१) कविता अनि १८५५ मा हास्यकदम्ब नाटक लेखेर नेपाली साहित्यमै आख्यान, कविता र नाटक समेतको प्रारम्भिक लेखन गरी ऐतिहासिक योगदान पु¥याएका छन् ।

गण्डकी अञ्चलका अर्का साहित्यकार र नेपाल एकीकरण अभियानका नायक गोरखाकै पृथ्वी नारायण शाहको राजनीतिक कूटनीतिक विषय समेटिएको १८३१ को दिव्योपदेश कृतिमा निबन्ध विधाको सङ्केत पाइन्छ । विचारको प्रस्तुति र आन्तरिक सङ्गठनका दृष्टिले यो कृति ऐतिहासिक महत्त्वको छ (शर्मा र श्रेष्ठ, २०४९ ः १२८) । यसपछि गोरखाकै उदयानन्द अज्र्याल, राधा वल्लभ अज्र्यालका साथै जन्म स्थानका सम्बन्धमा केही विवाद भए पनि तनहुँकै मानिएका रघुनाथ भट्ट (मिश्र, २०५७ ः १६१, ६२) लगायतका कविहरूले पनि नेपाली साहित्यको प्रारम्भिक स्थितिलाई समुन्नत तुल्याएका छन् । साथै तनहुँका भवानी दत्त पाण्डेका मुद्राराक्षस, हितोपदेश, महाभारत उद्योग पर्व, विराट पर्व र शान्तिपर्व, मार्कण्डेय पुराण जस्ता कृतिले नेपाली नाटक र आख्यानको गतिलाई अघि बढाएको पाइन्छ ।

नेपाली साहित्यको प्राथमिक कालकै सर्वोच्च कवि तथा आदिकवि विशेषणले परिचित भानुभक्त आचार्यको योगदान गण्डकी अञ्चलका साहित्यकारमा मात्र होइन नेपाली साहित्यको प्राथमिक कालमै सर्वोच्च छ । भानुभक्तको योगदान तत्कालीन जनभावना अनुसारको धार्मिक कृति रामायणलाई नेपाली परिवेशको मौलिकता सहित प्रस्तुत गरेर नेपाली भाषालाई गाउँ गाउँसम्म फैलाउनुुमा र सिर्जनात्मक क्षमता भएका नेपालीहरूमा त्यस्तै प्रकारका कृतिको सिर्जना गर्ने अभिप्रेरणा प्रदान गर्नुमा अझ बढी महत्त्वपूर्ण रहेको छ । उनका भक्तमाला, प्रश्नोत्तरमाला, बधूशिक्षा, रामगीता आदि कृति पनि विशिष्ट र मूल्यवान् छन् । यस क्रममा स्याङ्जा सतौँका गौरेश्वर अर्यालको १८८६ को बेताल पंचविंशति शीर्षकको गद्य ग्रन्थ र १९२७ को प्रह्लादको आत्मकथा कविता पनि ऐतिहासिक दृष्टिले उल्लेख्य मानिन्छन् (अर्याल, २०६३ ः१८–१९) ।

उपर्युक्त गतिविधिबाट नेपाली साहित्यको आरम्भिक प्रयत्न गण्डकी अञ्चलको गोरखा, तनहुँ र स्याङ्जाबाट हुनु, कविताका साथै आख्यान, निबन्ध र नाटक जस्ता प्रमुख साहित्यिक विधागत सिर्जनाको प्रारम्भिक सङ्केत यहीँबाट प्राप्त हुनु, तत्कालीन जन भावना अनुसारका धार्मिक, नैतिक तथा वीर भावनाका रचनाहरू रचिनु र गण्डकी अञ्चलले करिब करिब प्राथमिक नेपाली साहित्य सिर्जनाकै नेतृत्व लिनु यहाँका लागि ऐतिहासिक र गौरवपूर्ण कार्य बनेका छन् । पद्य कविताका साथै गद्य रचनाको अन्तर्वस्तुमा मानवको वास्तविक जीवनभन्दा अलौकिक पक्ष मात्र चित्रित हुनुलाई तत्कालीन सामाजिक परिवेशबाट उत्पन्न चेतनाको बाध्यता मान्न सकिन्छ ।

२.१.२ उत्तरार्ध चरण १९४० देखि १९९९ सम्म

मोतीराम भट्टका नेतृत्वमा थालिएको नेपाली साहित्यको माध्यमिक कालमा पनि गण्डकी अञ्चलका साहित्यकारले श्रृङ्गारिक तथा भक्तिपरक कविताका साथै गद्य लेखनतर्फ पनि केही क्रियाशीलता देखाएको पाइन्छ । यसै कालको कविता सिर्जनामा मोतीरामद्वारा सबैभन्दा बढी प्रशंसित तथा उनकै सहकर्मी लमजुङका पद्म विलास पन्तको योगदान महत्त्वपूर्ण रहेको छ । यिनी अहिलेसम्म प्राप्त तथ्यका आधारमा लमजुङका प्रथम साहित्यकार मानिन्छन् (तिमल्सेना, २०६५ ः ४४–५०) । त्यस्तै तनहुँका तीर्थराज पाण्डे पनि मोती मण्डलीका सक्रिय सदस्य र मोतीरामद्वारा कवि केशरी उपाधि प्रदान गरिएका (मिश्र, २०५७ ः१८७) प्रतिभाशाली कवि हुन् । यी दुबै तत्कालीन राणाहरूको विलासी र धर्मभीरु मानसिकतालाई सन्तुष्ट पार्ने श्रृङ्गारिक र भक्तिभावका कविता र समस्यापूर्ति रचना गर्ने प्रभावशाली स्रष्टाका रूपमा देखा पर्छन् ।

नेपाली साहित्यको माध्यमिक कालको अन्ततिर आध्यात्मिक आडको व्यापक समाजबोध र समाज सुधारको भावना सहित बौद्धिकता र पूर्वीय दार्शनिक चिन्तनलाई परिष्कृत शिल्प सन्धानमा प्रस्तुत गर्न सिपालु कवि लेखनाथ पौड्याल (१९४१–२०२२) को उदय हुन्छ । पौड्यालले ऋतु विचार, सत्यकलि संवाद, बुद्धि विनोद, लालित्य, तरुण तपसी, कवि शिरोमणि लेखनाथका प्रतिनिधि कविता, लेखनाथका प्रमुख कविता आदि फुटकर कविता, खण्डकाव्य र महाकाव्यबाट यस अञ्चलको मात्रै होइन नेपाली साहित्यकै गौरव बढाई नवीन प्रवृत्तिको आमन्त्रण गरेका छन् ।

नेपाली काव्य सृजनामा आठ दशक लामो कीर्तिमानी क्रियाशीलता देखाइ सकेका माधव प्रसाद घिमिरे (१९७६) का सृजनाले पनि गण्डकी अञ्चलको साहित्य सिर्जनालाई गरिमामय उचाइ प्रदान गरेको छ । उनको सृजन १९९२ को ज्ञानपुष्प कविताबाट थालिएको हो र त्यसमा घिमिरेका नव मञ्चरी, घामपानी, पापिनी आमा, नयाँ नेपाल, गौरी, राजेश्वरी, राष्ट्र निर्माता, बाला लहरी, किन्नर किन्नरी, मालती मङ्गले, शकुन्तला, अश्वत्थामा लगायतका फुटकर कविता, गीत, खण्डकाव्य, गीतिकाव्य र गीति नाटकहरूले नेपाली साहित्यलाई समृद्ध तुल्याएका छन् । यिनमा राष्ट्रियता, जीवनशीलता, प्रकृति चित्रण, प्रकृतिको मानवीकरण, गाउँले जीवनप्रतिको मोह, पौराणिक, ऐतिहासिक विषयप्रतिको अभिरुचि र सामयिकता जस्ता विशेषता पाइन्छन् ।

गण्डकी अञ्चलका उपर्युक्त उल्लेख्य प्रतिभाका अतिरिक्त यसै चरणमा देखा परेका अन्य कवि प्रतिभामा गोपीनाथ उपाध्याय, श्रीकृष्ण सुवेदी, कालिदास पराजुली, देवीराम पौडेल, विश्वनाथ पौडेल, करुणा निधि कोइराला, कोमल नाथ अधिकारी, डिल्लीजङ गुरुङ, रामनाथ खनाल, केशव नाथ पौड्याल, हरिनाथ खनाल, कृष्ण बहादुर उदास, अग्निधर अधिकारी आदि महत्त्वपूर्ण छन् । यस क्रममा लेखनाथ पौड्यालको भर्तृहरि निर्वेद (राममणि आ.दी.सँगकै सहलेखनमा १९७४) नाटकले यस अञ्चलको नाटक लेखनको गतिलाई अघि बढाएको छ । निबन्ध सिर्जनामा पनि कोमल नाथ अधिकारी, डिल्लीजङ गुरुङ, टुकराज पद्मराज मिश्रकाथै हरिनाथ खनाल, यदुनाथ खनाल, बोध विक्रम अधिकारी जस्ता महत्त्वपूर्ण निबन्धकार देखा पर्दछन् । यिनका लेख र निबन्धले गम्भीर विचारका साथै हास्यव्यङ्ग्य लेखनलाई समेत अघि बढाएका छन् । उपन्यासतर्फ लमजुङका उपन्यासकार टुकराज पद्मराज मिश्रका ऐतिहासिक उपन्यासहरू रज बन्दकी (१९९६), र रामकृष्ण कुँवर राणा (१९९९) र पछि २०४८ सालको रिडी र राँची पनि महत्त्वपूर्ण छन् । कथा सिर्जनामा उल्लेख्य उपस्थिति देखा पर्दैन ।

उपर्युक्त साहित्यकारका फुटकर कविता, भजन, खण्डकाव्य र महाकाव्यले यस अवधिको गण्डकी अञ्चलको पद्य साहित्यको सम्पन्नतालाई देखाउँछन् । यी कविहरूमा धेरैमा श्रृङ्गार र नैतिक उपदेशको भाव पाइन्छ भने झिनो रूपमा समाज बोध र सामाजिक विसङ्गति र कुरीतिप्रतिको आलोचना पनि प्रकट भएको छ । गद्य साहित्यतिरका प्रतिभामा कवितातिरको जस्तो उल्लेख्य उपस्थिति पाइन्न । खास गरी संस्कृत शिक्षाप्राप्त लेखकहरूले धार्मिक विषयलाई पद्यबद्ध नै गर्ने, आदर्शवादी भावुकता र नैतिक उपदेशलाई बढी महत्त्व दिने, प्रकाशनको पहुँच नभएका कारण लेखनमा मात्र सीमित राख्ने र पछि प्रकाशित गर्ने जस्ता प्रतिकूलता यस अवधिमा देखिएका छन् ।

२.२ दोस्रो चरण २००० सालपछिका गण्डकी अञ्चलका साहित्यकार

वि.स. २००० पछि नेपाली समाजमा राजनीतिक स्वतन्त्रताको चेतना अघि बढेको, समाजभित्रका परम्परागत कुरीति र कुप्रथाका विरुद्धको चेतना पनि विकसित हुन थालेको, अन्तर्राष्ट्रिय समाज र साहित्यको सामीप्यले साहित्यिक विधागत मान्यतामा पनि पहुँच बढ्न थालेको, राजनीतिक र सामाजिक जागरणका क्षेत्रमा पनि २००४ को ‘जयतु संस्कृतम्’ र २००७ सालको परिवर्तनको जागरण देखा परेको अनि कवितामा पनि स्वच्छन्दतावादी चेतना घट्दै सामाजिक जागरण र विद्रोहको प्रगतिशील प्रगतिवादी चेतनाको तरखर बढि रहेको आदि सकारात्मक पक्ष देखा पर्दछन् । यस परिवेशले गण्डकी अञ्चलका साहित्यकारमा पनि आधुनिक र सामाजिक चेतनाले प्रवेश र महत्त्व पाउँछ । यस अवधिलाई पनि थालनीदेखि २०२९ सम्म पूर्वार्ध र २०३० देखि यता उत्तरार्ध गरी दुई चरणमा छुट्याई अध्ययन गर्न सकिन्छ ।

२.२.१ पूर्वार्ध चरण २००० देखि २०२९ सालसम्म

कविता

यस चरणको कविता सिर्जनामा भानुभक्त आचार्यले थालनी गरेको भक्तिपरक काव्य धरातल, परिष्कारवादी कवि शिरोमणि लेखनाथ पौड्यालको समाज सचेतता र कुशल काव्यशिल्प अनि स्वच्छन्दतावादी भाव तथा परिष्कारवादी शिल्प चेतनाका कवि माधव घिमिरे आदि प्रतिभाशाली स्रष्टाहरूले निर्माण गरेको काव्यपथलाई युगीन चेतनाका साथ अगाडि बढाउने काम भएको छ । यस चरणका यस अञ्चलका स्रष्टाहरूमा पौड्याल र घिमिरेका साथै अलि मियाँ, गोकुल प्रसाद जोशी, धर्मराज थापा, भूपि शेरचन, भेषज राज शर्मा, इश्वर वल्लभ, मुकुन्द शरण उपाध्याय, गोपाल वैद्य ‘किञ्जल्क’, भद्रकाली शर्मा, भोलानाथ पराजुली, तेजनाथ घिमिरे, रविलाल अधिकारी, इश्वरी प्रसाद उपाध्याय, देवी प्रसाद वनवासी, चोक बहादुर थापा, विश्वप्रेम अधिकारी, मोदनाथ शास्त्री, यमनाथ देवकोटा, प्रेम विनोद नन्दन, उपेन्द्र श्रेष्ठ, नारायण दत्त शास्त्री, मुक्तिनाथ आचार्य, मुक्तिनाथ तिमिल्सिना, तीर्थराज अधिकारी, डि.श्रीप्रसाद घिमिरे, शोभाकर अधिकारी, टिकाराम घिमिरे, अङ्ग्रेज बाबु श्रेष्ठ, पूर्ण प्रसाद ब्राह्मण, धर्मदत्त अधिकारी आदि रहेका छन् । यस अवधिका कवितामा स्वच्छन्दतावादी भावुकता, गहिरो राष्ट्रप्रेम, नेपालीको अस्तित्वहीनता र पराधीनताप्रतिको असन्तोष र व्यङ्ग्य, सामाजिक कुरीतिको विरोध, नेपालीको सामाजिक आर्थिक र श्रम शोषणको विरोध, समाज सुधारको आदर्शवादी चेतना आदि पक्षहरू प्रकट भएका छन् । कतिपय कवितामा धर्म, नैतिकता, अन्ध विश्वास र राजभक्तिका प्रतिगामी स्वरहरू मुखरित भए पनि अधिकांश स्रष्टाहरूले समकालीन सामयिक र व्यक्तिगत असन्तोषलाई वाणी दिने प्रयत्न गरेका छन् ।

उपन्यास

गण्डकी अञ्चलको यस चरणको उपन्यास सिर्जनामा विधागत चेतना सशक्त हुन नसके पनि सामाजिक चेतनालाई महत्त्वका साथ प्रस्तुत गरिएको पाइन्छ । यसको थालनीमा देखा परेका गण्डकीका स्रष्टामा मुक्तिनाथ तिमिल्सिनाले तत्कालीन समाजको अन्धता र रुढिवादी संस्कारका बिचमा पनि बाहुनले हलो जोत्न नहुने भन्ने मान्यताको विरोध गर्दै आफै हलो जोत्ने तथा अन्तर्जातीय विवाहलाई समर्थन गरेर सामाजिक जागरणको नौलो र क्रान्तिकारी काम गरेका छन् । उनको को अछुत ? (२०११) लगायतका आत्मकथा, मातृत्व, धर्म पुस्तक, गफ कृतिहरू सामाजिक जागरणका दृष्टिले महत्त्वपूर्ण छन् । यसै अवधिका अन्य उपन्यासकारमा भुवनेश्वर कोइराला, डिल्लीजङ गुरुङको कुमारी (गद्य पद्य मिश्रित, २०१७), मुकुन्द शरण उपाध्याय, विनोद प्रसाद धिताल, चेतन कार्की रहेका छन् । यिनमध्ये धेरैमा व्यवस्थित तरिकाले यथार्थ जीवनको अभिव्यक्ति र उपन्यासका विधागत धर्मको निर्वाह भएको देखिन्न ।

कथा

कथा सिर्जनातर्फ गण्डकी अञ्चलको यस चरणमा ‘जयतु संस्कृतम्’ आन्दोलनमा सक्रिय भई लागेर राणा शासकहरूको कोपभाजनको सिकार भएका पूर्ण प्रसाद ब्राह्मणको योगदान सुरुतिर नै महत्त्वपूर्ण छ । उनी एक्काइस कथा लिएर २००३ सालमा एक्कासि देखा परेका हुन् र उनका कथामा आदर्शोन्मुख सांस्कारिक र उपदेशात्मक प्रवृत्तिको प्रशस्त परिदर्शन पाइन्छ (बराल, २०४३ ः ३५८) । उनका अगुल्टो, झिल्का, म लोग्ने हुँ, एघार कथा आदि कथा सङ्ग्रह प्रकाशित छन् र समग्र आधुनिक नेपाली कथा रचनालाई सशक्तता प्रदान गर्न सफल पनि छन् । त्यस्तै यस अवधिका अन्य कथाकारहरू केही पछि नै देखा परेका छन् र तिनमा सोमनाथ घिमिरेका साथै केशव राज पराजुलीले २०२२ चन्द्रकान्त अधिकारीले २०२७ र अविरल स्थापितले २०२८ सालबाट कथा रचनाको आरम्भ गरे पनि यिनीहरूको क्रियाशीलता २०३० पछिकै चरणमा देखिएको छ ।

निबन्ध

निबन्ध रचनाको यस चरणको क्रियाशीलता यदुनाथ खनाल, बोध विक्रम अधिकारी जस्ता प्रभावशाली र परिपक्व निबन्धकारबाट भए पनि आञ्चलिक तहमा केन्द्रित रहेका निबन्धकारको बलियो उपस्थिति पाइन्न । तर पनि यस चरणमा यहाँका महेश्वर शर्मा, ऋषिकेश शाह, कुल प्रसाद खनाल, श्रीकान्त अधिकारी, डि. श्रीप्रसाद घिमिरे, कृष्ण प्रसाद न्यौपाने, हर्क बहादुर गुरुङ, राजेश्वर देवकोटा, अङ्ग्रेज बाबु श्रेष्ठ, भेषज राज शर्मा आदिको सक्रियता महत्त्वपूर्ण छ ।

समालोचना

यस चरणमा पहिलो अवधिमा देखै नपरेको समालोचना परम्पराको थालनी यदुनाथ खनालबाट हुन्छ । उनले समालोचना के हो भन्ने सैद्धान्तिक पक्षका साथै व्यावहारिक रूपले पनि समालोचना लेखेर नेपाली साहित्यमै महत्त्वपूर्ण योगदान पु¥याएका छन् । उनी गण्डकी अञ्चलका सन्दर्भमा समालोचनाको आधार खडा गर्ने ऐतिहासिक व्यक्तित्व हुन् । यस क्रममा कोमल नाथ अधिकारी, बुद्धि सागर पराजुली, इन्द्र विलास अधिकारी, मुकुन्द शरण उपाध्याय, मुक्तिनाथ आचार्य आदिका समालोचना कार्यले पनि यस चरणमा योगदान पु¥याएका छन् । यही क्रममा सक्रियता दोस्रो चरणमा रहे पनि थालनी यसै चरणमा गरेका वासुदेव त्रिपाठी नेपाली समालोचना क्षेत्रका महत्त्वपूर्ण एवं प्रभावशाली व्यक्तित्व हुन् । लेखनाथ पौड्यालको कवित्वको विश्लेषण र मूल्याङ्कन शीर्षकमा विद्यावारिधि गरेका त्रिपाठीले दर्जनौँ समालोचना कृतिबाट पूर्वीय एवं पाश्चात्य समीक्षा प्रणालीसँग नेपालीलाई परिचित गराउँदै साहित्यका सबै विधाका कृतिको बहुदृष्टिका आधारमा गहिरो विश्लेषण र मूल्याङ्न गर्ने विशेष क्षमता प्रस्तुत गरेका छन् । उनको अद्वितीय समीक्षण क्षमता र गुरु गम्भीर ज्ञानले समग्र नेपाली समालोचनाले भिन्दै उचाइ छोएको छ ।

नाटक

शक्ति वल्लभबाट थालनी भई भवानी दत्त पाण्डेबाट अघि बढेको अनि लेखनाथ पौड्यालबाट गति प्राप्त गरेको यस अञ्चलको यस चरणको नाटक लेखनमा लमजुङका डि. श्रीप्रसाद घिमिरेका सुदामा (२००५) र विषय वासना (२०१७) दुई नाटक महत्त्वपूर्ण छन् । माधव घिमिरेका राजेश्वरी लगायतका खण्डकाव्यहरूले पनि कतिपय नाट्य तत्त्वको उपयोग गरेका छन् ।

२.२.२ उत्तरार्ध चरण २०३० सालदेखि हालसम्म

गण्डकी अञ्चलको साहित्य सिर्जनामा वैचारिक वैविध्य र सिर्जनात्मक सशक्तताको व्यापकता करिब २०३० यता नै देखा पर्छ । यो कुरो कविता बाहेकका प्रायः सबै विधाका यसपूर्वका रचनाको मन्दस्थिति हेरेरै बुझ्न सकिन्छ । कवितामै पनि राजभक्ति र स्तुतिपरक रचनाको निरन्तरता रहनुले पनि सिर्जनात्मक परिमाण मात्रमा नभई गुणात्मक गतिहीनताको पनि पुष्टि हुन्छ । २०३० सालपछि भने यस अञ्चलको साहित्यले निकै ठुलो फड्को मारी समग्र नेपाली साहित्यका सबै विधामा सशक्त उपस्थिति, अग्रणी भूमिका र प्रभावकारी नेतृत्व समेत गरेको छ । यस चरणका विधागत गतिविधिको स्थिति तल प्रस्तुत गरिएको छ ।

कविता

यस चरणमा फुटकर कविता, खण्डकाव्य र महाकाव्य समेतमा कलम चलाउने गण्डकी अञ्चलका प्रमुख कविहरूको ठुलो पङ्क्ति क्रियाशील छ । तिनमा माधव घिमिरे, वासुदेव त्रिपाठी, रविलाल अधिकारी, ईश्वर वल्लभ, क्षेत्र प्रताप अधिकारी, भेषज राज शर्मा, देवी प्रसाद वनवासी, तेजनाथ घिमिरे, प्रकट पंगेनी ‘शिव’, तीर्थ श्रेष्ठ, सरुभक्त, रमेश श्रेष्ठ, हरिदेवी कोइराला, मित्रलाल पंज्ञानी, नुमराज बराल, सरुविन्द, तारा पाखे, दुर्गा शाह ‘बाबा’, राम विनय, जगदीश चन्द्र भण्डारी, देवेन्द्र लम्साल, सुकुम शर्मा, कृष्ण भण्डारी ‘मुमुक्षु’, घनश्याम न्यौपाने, धन बहादुर नेपाली, नारायण परिश्रमी, घनश्याम ढकाल, कृष्ण प्रसाद बास्तोला, सूर्य खड्का ‘बिखर्ची’, लक्ष्मण गौतम ‘हिमाली’, विजय वजिमय, टेकनाथ ‘पीडित’, भानुभक्त अविरल, रेशम गिरी, होमनाथ पाठक, जनार्दन शरण त्रिपाठी, माधव वियोगी, मोदनाथ मरहट्ठा, नारायण पोखरेल, भूमिनन्द देवकोटा, यदु विलास भट्टराई, राम प्रसाद खनाल, मोदनाथ शास्त्री, रामबाबु सुवेदी, लाल गोपाल सुवेदी, चेतन कार्की, कमल मणि बराल, पद्मराज ढकाल, नारायण मरासिनी, सरस्वती प्रतीक्षा, ईश्वर मणि अधिकारी, रुपिन्द्र प्रभावी ‘कटु’, प्रकाश ज्ञवाली, शरण आँसु, लोकनाथ पुडासैनी, लक्ष्मण थापा, दिपक सोती, दिपक समिप, जीवन सागर भण्डारी, अल्पज्ञानी, जे. अस्मिता, इन्द्र राना प्रतीक, धन प्रसाद तामाङ, स्ट्रगल राना, नारायण बास्तोला, शोभाकान्त गौडेल, मदन भण्डारी ‘मुमुक्षु;, रामनाथ अधिकारी ‘सँगी’, अम्बिका भण्डारी, सुवास मल्ल आदि रहेका छन् ।

यस चरणमा कविता सिर्जनामै कलम चलाउने अन्य स्रष्टाहरूमा विश्वप्रेम अधिकारी, गंगा कर्माचार्य, गंगाधर शर्मा, जगन्नाथ न्यौपाने, जय प्रकाश रेग्मी, त्रिभुवन अर्याल, दयानाथ अर्याल, दुर्गा बहादुर रोकाहा, देवी प्रसाद ढकाल, नारायण दत्त पौडेल, नारायण प्रसाद अधिकारी, नारायण प्रसाद रेग्मी, नारायण लम्साल, परशु राम कोइराला, प्रेमराज लुइटेल, महानन्द ढकाल, मुकुन्द राज उपाध्याय, यज्ञमूर्ति पाण्डे, रमावल्लभ पौड्याल, राजेन्द्र लम्साल, राम विक्रम खाँण, लीलाम्बर ढुङ्गाना, लेखनाथ काफ्ले, शारदा शर्मा, शेषकान्त अर्याल, सुरेन्द्र थापा, हितकाजी गुरुङ, हेमराज पहारी, कुल बहादुर के.सी., विश्व शाक्य, विष्णु अल्प विराम, बम बहादुर थापा ‘जिताली’, भीम रानाभाट, राजेन्द्र पौडेल, विजया सुवेदी ‘विजयी’, जगन्नाथ रेग्मी, निष्प्रभ सजी, कृष्ण उदासी, क्षेत्र बहादुर कुँवर, उषा शेरचन, गायत्री परिरोशनी, जमुना शर्मा ‘वर्षा’, आनन्द सुन्दर श्रेष्ठ, सागर उदास, अनिल श्रेष्ठ, जनार्दन वियोगी, जनार्दन दाहाल, ठाकुर छाँगा, धर्मराज पौडेल ‘अल्पायु’, तिलक पौडेल, चैतन्य अधिकारी, वसन्त गौतम, पीताम्बर शर्मा नेपाली, रमेश चन्द्र घिमिरे, विजय राज न्यौपाने, मेदिनी प्रसाद सुवेदी, गोविन्द बहादुर कुँवर, तीर्थराज अधिकारी, नविन चन्द्र घिमिरे, सरस्वती श्रेष्ठ ‘सरु’, रह शर्मा, चिन्तु गिरी, वसन्त बराकोटी, डिल्लीजङ गुरुङ, रामचन्द्र शास्त्री, श्रीकृष्ण न्यौपाने, तीर्थराज कोइराला, शुभाकर अधिकारी, हरिहर ‘सविता’, छवि सुवेदी ‘विजयी’, अनिल पोखरेल, इन्द्र प्रसाद रेग्मी, केदार नाथ खनाल, खनाल रेवती रमण, अम्बिका प्रसाद भट्टराई, चूडा ढकाल, तीर्थराज अधिकारी, नमुना शर्मा, प्रभात कुमार जोशी, बी. पी. गोर्खाली, भिम राना ‘जिज्ञासु’, रमेश धिताल, राजुबाबु श्रेष्ठ, राजेश्वर रेग्मी, रेशम विरही घिमिरे, विद्यादेवी देवकोटा, विनोद प्रसाद धिताल, विष्णु प्रसाद धिताल, वेद कुमारी न्यौपाने, शिवहरि मरहट्ठा, नारायण प्रसाद खनाल, सीताराम अधिकारी जगत श्रेष्ठ, नेत्रमणि आचार्य, गोपाल बाबु मरहट्ठा, जगत राम बर्देवा, अनन्त मुस्कान, टिकाराम आले, राजिन पनेरु, हिरा शर्मा आदि उल्लेख्य छन् ।

गण्डकीको कविता सिर्जनामा योगदान पु¥याउने अनेकौँ कविहरूको नाम मात्र दिन पनि सानो लेखमा असम्भव छ । यस क्रममा पूर्वीय दर्शनलाई राष्ट्रप्रेमको गहिरो भावका साथ कवितामा प्रकट गर्ने वासुदेव त्रिपाठी, पञ्चायती अनुदार शासनको कठोरताभित्र साहित्य सिर्जनामा मन्दता र अमूर्तता प्रकट भइ रहेका बेला प्रगतिवादी विचार प्रवाह गरी नेपाली साहित्यमै महत्त्वपूर्ण योगदान पु¥याउने रविलाल अधिकारी, तरलवादी आन्दोलन मार्फत नेपाली कवितामा नयाँ मान्यता प्रस्तुत गर्ने र मर्म स्पर्शी कविता र मुक्तकको रचना गर्ने तीर्थ श्रेष्ठ, अरू सबै विधाका साथै कविता र मुक्तकमा पनि राम्रा रचना प्रस्तुत गरि रहेका सरुभक्त, यहीँ बसेर साहित्यको कविता साधनामा मात्र केन्द्रित रही एघार वटा कविता कृति मार्फत समकालीन नेपाली कविहरूका पङ्क्तिमा आफ्नो प्रभावकारी बिम्बकविको पहिचान बनाउन सफल रमेश श्रेष्ठ, छन्दोबद्ध कविता र मुक्तक मार्फत वर्गीय मुक्तिका भाव व्यक्त गर्दै पाठकको प्रशंसा बटुलि रहेका नुमराज बराल, आसलाग्दो प्रतिभा बनेर तिक्खर कविता पस्कि रहेकी सरस्वती प्रतीक्षा जस्ता स्थापित र उदीयमान प्रतिभाहरूको नाम मात्र टिपोट गर्नु परेको र कतिको छुटेको यथार्थ स्थिति पनि छ । यी सबै कवि कवयित्रीहरूले समकालीन जीवन भोगाइका आर्थिक, सामाजिक, सांस्कृतिक, व्यक्ति स्वभावगत अनेकौँ भावहरूलाई अनुभूतिमय बनाएर प्रस्तुत गरेका छन् । तिनमा खण्डकाव्य र महाकाव्य सिर्जनाको पनि उल्लेख्य उपस्थिति देखिएको छ ।

मुक्तकः

समसामयिक साहित्य रचनामा कविताभित्रै पनि निकै रुचिकर मानिएको र राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक क्षेत्रका विसङ्गतिमाथि चोटिलो अभिव्यक्ति दिन सक्षम मुक्तक रचनामा यस क्षेत्रका स्थापित प्रतिभाका साथै अनेकौँ आसलाग्दा नयाँ प्रतिभाहरू पनि देखा परेका छन् । तिनले समाजिक चेतना सहितका यथार्थता, प्रेम, जातीय एवं लैङ्गिक विभेद, देशभक्ति, मानवीय गलत आचरण, जीवन भोगाइका क्षण क्षणका विविध विषयलाई गद्य, शास्त्रीय तथा लोकलय समेतका ढाँचामा प्रस्तुत गरेका छन् । सङ्ग्रहकै रूपमा मुक्तक प्रकाशित गर्ने यस्ता मुक्तककारमा सरुभक्त, दिलिप श्रेष्ठ, हरिहर पोखरेल, सुकुम शर्मा, कृष्ण तामाङ ‘उदासी’, नारायण परिश्रमी, ज्यालादारी (भिम रानाभाट), रुद्र बहादुर थापा, विश्व शाक्य, नारायण मरासिनी, कृष्ण प्रसाद बास्तोला, तेजनाथ घिमिरे, विश्वराज रसाइली, उषा शेरचन, तीर्थ श्रेष्ठ, गोविन्द गिरी, कल्याण पन्त, कृष्ण भण्डारी ‘मुमुक्षु’, विष्णु ‘अल्प विराम’, रेशम गिरी, नुमराज बराल, कुल बहादुर के.सी., असफल गौतम, सुरज भिरखोइरे, नवराज पहाडी, तीर्थराज अधिकारी, दिपक समीप, रमेश श्रेष्ठ, आदि रहेका छन् । त्यस्तै विभिन्न पत्रिकाहरूले प्रकाशित गरेका मुक्तक सङ्ग्रह मार्फत पनि आफ्नो प्रतिभा प्रस्फुटित गर्ने काम यहाँका थुप्रै मुक्तककारहरूले गरेका छन् । त्यस्ता मुक्तक विशेषाङ्कहरूमा मुस्कान, प्रयोग, माछापुच्छ्रे, सौगात, मुक्ति सङ्घर्ष, मुक्तक वर्षा आदि प्रमुख छन् ।

गजल

समसामयिक साहित्य रचनाको कविता अन्तर्गतकै गजल रचनाले पनि व्यापक लोकप्रियता प्राप्त गरेको छ । प्रेम वा प्रणय मुख्य विषय मानिएको गजलले नेपाली समाजमा राजनीति, अर्थतन्त्र, समाज, संस्कृति र मानवीय आचरणका विभिन्न पक्ष आर्थिक विभेद, जातीय असमानता, लैङ्गिक विभेद, प्रकृति प्रेम आदि विषयलाई मार्मिक रूपमा प्रस्तुत गरेको पाइन्छ । यस क्षेत्रमा पनि कतिपय गजलकार सङ्कलन सहित देखा परेका छन् भने कति सङ्कलन प्रकाशनका तरखरमा देखा पर्छन् । यस्ता प्रमुख गजलकारमा आर.बी. फ्लेम, माधव वियोगी, लक्ष्मण थापा, घनश्याम न्यौपाने ‘परिश्रमी’, अनुराग अधिकारी, कमल पौडेल ‘अथक’, दिपक समीप, कृष्ण उदासी, गुनपुन ‘गुञ्जन’, सरुभक्त, प्रकट पंगेनी ‘शिव’, सुरज उपाध्याय, जीवन पानी पोखरेल, छन्दमणि, नितेश राज रेग्मी, छन्दिका, शिवराम रेग्मी, ईश्वर मणि अधिकारी, महानन्द ढकाल, प्रकाश ज्ञवाली, पार्वती पहारी, विवेक, सोम थापा, जमुना अर्याल, सङ्गीता बराल, देवी त्रिपाठी, आवाज शर्मा केदार ‘कुशल’, विजय भक्त उपाध्याय, शीतल गुरुङ (श्रेष्ठ), बाबु त्रिपाठी, निरज भट्टराई, रूपक वनबासी, जय गौडेल, कपिल शर्मा ‘संजोग’, मिलन समिर, गणेश शर्मा, दिलिप दोषी, आरजु विष्ट सल्यानी, रूपीन्द्र प्रभावी ‘कटु’, मन क्षेत्री, सुमन लम्साल, जीवन सागर भण्डारी, राजिन पनेरु आदि पर्दछन् । यसका अतिरिक्त गजल उत्सव का विभिन्न अङ्कमा पनि पुराना तथा उदीयमान गजलकारका गजलहरू सङ्कलित भइ रहेका छन् । फुटकर गजल प्रकाशन गर्ने आसलाग्दा प्रतिभाको सङ्ख्या पनि समीक्षणका निम्ति असङ्ख्य जस्तै बन्दै छ ।

लोक साहित्य र गीत

गण्डकी अञ्चल लोक साहित्यका विविध विधा ः गाथा, नाटक, कथा आदिका साथै लोकगीतमा पनि निकै सम्पन्न मानिन्छ । लोक गीतको सङ्कलन र गायनमा पनि प्रसिद्धि प्राप्त यस अञ्चलका धर्मराज थापा, अलि मियाँ, ज्ञानु राणा आदिका साथै वर्तमान चरणमा हरिदेवी कोइराला, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, पशुपति शर्मा, विष्णु माझी, बिमा कुमारी दुरा, राजु परियार, लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ, पार्वती जी.सी., पद्मराज ढकाल, कोविद शरण उपाध्याय आदि अनेक लोकप्रिय र चर्चित प्रतिभा देखा परेका छन् । यस किसिमको लोक साहित्यिक सम्पन्नताको प्रत्यक्ष उपलब्धि त्यसका विविध विधाका रचनाको सङ्कलन, र सिर्जन समेत गरेर पाठकलाई प्रत्यक्ष मानोरञ्जन दिनुमा रहेको छ भने परोक्ष उपलब्धि शिष्ट वा लिखित साहित्यका कविता, नाटक, उपन्यास, कथा र निबन्ध विधाको सिर्जनात्मक उत्प्रेरणाको अन्तर्गर्भको काम गर्नुमा रहेको देखिन्छ ।

कथा

गण्डकीका कथाकारले आदर्शोन्मुख, मनोवैज्ञानिक, सामाजिक, प्रगतिवादी, नवचेतनापरक, विज्ञान विषयक आदि धारागत प्रवृत्ति अँगालेर कथा रचना गरेका छन् । परिवार, समाज र मानवीय जीवनका विविधतामय जीवनभित्रका विभिन्न पक्षलाई प्रतिनिधिमूलक रूपले छनौट गरी कथानक निर्माण गरेर प्रस्तुत गर्दा लाग्ने समय र साधनाको आवश्यकताका कारण कविताका तुलनामा गण्डकीमा कथाकारको सङ्ख्या त्यति नदेखिएको हुन सक्छ । यहाँका घनश्याम ढकाल, भाष्कर, सरुभक्त, अविरल स्थापित, देवी सुवेदी, हरिहर खनाल, चन्द्रकान्त अधिकारी, सुन्दर मानन्धर, कृष्ण प्रसाद बास्तोला, मदन भण्डारी, गेहेन्द्र भूषण पोखरेली, राम बहादुर बानिया क्षेत्री, कल्याण पन्त, नारायण मरासिनी, परशुराम कोइराला, क्षेत्र बहादुर कुँवर, झलक सुवेदी, अनन्त अर्याल, अर्जुन प्रसाद लम्साल, जलेश्वर पाण्डेय, जय प्रसाद पौडेल, मोहन कायस्थ, केयर सिंह गुरुङ, रोशन न्यौपाने, भाग्यशाली अधिकारी, बम बहादुर थापा ‘जिताली’, विजय राज न्यौपाने, जीवन राज बाग्ले, धनञ्जय भट्ट ‘यत्न’, वेद कुमारी न्यौपाने, अञ्जना विरही, होमनाथ पाठक, टिकाराम कोइराला, क्षेत्रलाल कायस्थ आदि प्रमुख कथाकार हुन् । समकालीन नेपाली समाजलाई वर्गीय धरातलमा बुझेर शोषण, दमन, उत्पीडन, पराधीनता आदि समस्याबाट मुक्ति दिलाउनु पर्छ भन्ने मान्यतामा आधारित प्रगतिशील र प्रगतिवादी कथा लेख्ने घनश्याम ढकाल, भाष्कर आदिका कथाले नेपाली सामाजिक यथार्थको विश्लेषण गर्न खोजेका छन् । विज्ञान विषय स्रोत अँगालेर सम्भावित भविष्यमाथि स्वैरकल्पनाका आडमा कथा रचना गरेर नेपाली साहित्यमै नवीन प्रयोगलाई उचाइ प्रदान गर्ने सरुभक्तका कथाको कथ्य र शिल्प सशक्त र प्रभावकारी छ । उनी गण्डकीले गर्व गर्न लायक कथाकार बनेका छन् । यसका साथै सामाजिक यथार्थ, आदर्श, यौन, मनोविज्ञान, आदि धारागत प्रवृत्ति मार्फत नेपाली समाजका विविध प्रवृत्तिको चित्रण गर्नु गण्डकीका यस चरणका कथाकारको मुख्य प्रवृत्ति देखिएको छ ।

निबन्ध ः

जीवनानुभवका महत्त्वपूृर्ण क्षणलाई आत्मपरक वा वस्तुपरक रूपमा प्रस्तुत गर्ने, स्वदेश तथा विदेशका यात्रा वृतान्तको मिठो वर्णन गरी पाठकलाई सँगसँगै यात्रा गराउने, समाजका विकृति र विसङ्गतिको चित्रण गर्दै तिनमाथि व्यङ्ग्य आक्रमण गर्ने जस्ता प्रवृत्ति गण्डकीका निबन्धमा पाइन्छन् । त्यस्ता प्रमुख निबन्धकारमा रविलाल अधिकारी, कुल प्रसाद खनाल, ऋषिकेश शाह, चूडामणि खनाल, हरिहर खनाल, रवि किरण ‘निर्जीव’, वासुदेव त्रिपाठी, इश्वर वल्लभ, केदार शर्मा ढकाल, शेषमणि आचार्य, नारायण परिश्रमी, कृष्णराज अधिकारी, हेमराज पहारी, देवी सुवेदी, यम बहादुर पौडेल क्षेत्री, पशुपति नाथ तिमल्सेना, मुक्तिनाथ शर्मा, मोहन कायस्थ, पुष्पलता आचार्य, कृष्णबाबु तिवारी, नवीन चन्द्र घिमिरे, बाबुराम भट्टराई, जयराज आचार्य, गोविन्द बहादुर थापा, रामचन्द्र पौडेल, रबिन्द्र अधिकारी, नरकान्त अधिकारी, श्रीकान्त अधिकारी, खगराज अधिकारी, पूर्ण बहादुर अधिकारी, राजेश्वर देवकोटा, महेश्वर शर्मा, मुकुन्द रेग्मी, शारदा शर्मा, युवराज घिमिरे, तिलक पराजुली, तिलक आचार्य, लोक बहादुर थापा, छवि सुवेदी ‘विजयी’, राजेन्द्र चापागाईँ, अच्युत शरण अर्याल, भूपति ढकाल, गायत्री परिरोशनी, शेषराज भट्टराई, बुद्धि सागर पोखरेल, त्रिलोचन ढकाल, रामराज रेग्मी, लेखनाथ न्यौपाने, अनिल श्रेष्ठ, मित्रलाल पंज्ञानी, नारायण वाग्ले, बुद्धि प्रसाद पोखरेल, झलक सुवेदी, सुरेन्द्र थापा मगर, तरुण तपसी, कमली कान्त घिमिरे, केदार नाथ खनाल, रामेश्वर मरहट्ठा, विजय भक्त उपाध्याय, जगत श्रेष्ठ, विष्णु काप्री, शुक्रराज अधिकारी, असफल गौतम आदि मुख्य छन् ।

उपन्यास

यस चरणका गण्डकीका उपन्यासकारहरूमा वद्री विनोद प्रतीक, तीर्थ जङ्गली, भूपति ढकाल, सुवर्ण कोइराला, ईश्वर पर्देशी, भाष्कर, घनश्याम ढकाल, सरुभक्त, राजेश्वर देवकोटा, विनोद प्रसाद धिताल, महेश्वर शर्मा, रवि किरण निर्जीव, नारायण वाग्ले, शारदा शर्मा, कृष्णराज खनाल, पूर्ण प्रसाद ब्राह्मण, जस बहादुर गुरुङ, रामचन्द्र अधिकारी, कृष्ण उदासी, प्रमोद मुल्मी, सरुविन्द, कपिल लामिछाने, प्रभा कैनी, आनन्द घिमिरे, कमला के.सी., कृष्ण मुरारी पौडेल, शारदा ढुङ्गाना, हरिकृष्ण वञ्जारा, प्रतीक्षा बागी, क्षेत्र बहादुर कुँवर, भूमिराज वस्ताकोटी, सूर्य प्रसाद कोइराला, सुकुम शर्मा, नेपाल प्रकाश अधिकारी, रविन्द्र माकाजु, विद्या विमल बराल, प्रेमशाली घिमिरे, पुष्पलता आचार्य, रामचन्द्र अधिकारी, झलक सुवेदी, परशु राम कोइराला, एक नारायण सुवेदी, ज्ञानेश्वर पोखरेल, नारायण प्रसाद पथिक, नवराज ढकाल, दिपक पराजुली, रमेश शर्मा, दीपेन्द्र पौडेल, झपट बहादुर गुरुङ, सुरेन्द्र थापा मगर, बाल मुकुन्द तुलाचन, सूर्यमान श्रेष्ठ, सुशील चन्द्र श्रेष्ठ, होम कुमार श्रेष्ठ, सुनिल मास्के, केशरी अम्गाईँ, आनन्द ‘आँसु’ घिमिरे आदि पर्दछन् । यिनमा मुख्यतः प्रगतिवादी उपन्यासकार भाष्कर र घनश्याम ढकालका उपन्यासले नेपाली समाजका आर्थिक एवं सामाजिक शोषणका विविध पक्षमाथि गहिरो प्रकाश पारेका छ । घनश्यामको रातो आकाशले विगत दशकमा नेपाली समाजमा भएको युद्ध, त्यसको कारण र त्यसमा भएका राज्यका ज्यादती र छापामारहरूले गरेका कार्बाहीका विषयलाई प्रस्तुत गरेको छ । भाष्करको अमर बस्ती ले कम्युनिस्ट राजनीतिभित्रका विकृतिको उद्घाटन गरेको छ । सरुभक्तका पागल बस्ती, समय त्रासदी, चुली, नारायण वाग्लेका पल्पसा क्याफे, मयुर टाइम्स, शारदा शर्माको ताप आदिले उपन्यासको कथ्य र शिल्पमा पनि नयाँपन दिएका छन् र समग्र नेपाली उपन्यास परम्पराकै महत्त्व पनि बढाएका छन् ।

समालोचना

गण्डकी अञ्चल समग्र नेपाली समालोचनामै प्रभावकारी उपस्थिति जनाउन सफल रहेको छ । सैद्धान्तिक एवं व्यावहारिक क्षेत्रमा गहन एवं विश्लेषणात्मक समालोचना गर्ने वासुदेव त्रिपाठी यस चरणका अग्रणी समालोचक हुन् । यस चरणका अन्य प्रमुख समालोचकहरूमा रविलाल अधिकारी, पशुपति नाथ तिमल्सेना, घनश्याम ढकाल, विष्णु प्रसाद पौडेल, कपिल लामिछाने, इन्द्र विलास अधिकारी, जगदीश चन्द्र भण्डारी, भवानी प्रसाद पाण्डे (भाष्कर), मोतीलाल पराजुली, हंसपुरे सुवेदी, व्रतराज आचार्य, नरहरि आचार्य, कुल प्रसाद खनाल, रघुनाथ अधिकारी, गोपी रमण उपाध्याय, देवी सुवेदी, भूपति ढकाल, रामनाथ ओझा, शर्वराज आचार्य, चूडामणि खनाल, खुमलाल पौडेल, कुसुमाकर न्यौपाने, यदु नन्दन उपाध्याय, नरहरि गौतम, रामचन्द्र पोखरेल, बाबुराम अधिकारी, कृष्ण प्रसाद न्यौपाने, गोपाल प्रसाद न्यौपाने, यमनाथ तिमिल्सिना, कृष्णराज अधिकारी, टीकाराम बास्तोला, ईश्वर वाग्ले, सुकुम शर्मा, अच्युत शरण अर्याल, लक्ष्मी शरण अधिकारी, शेषमणि आचार्य, शिवराज आचार्य, डिल्लीराम मिश्र, फणीन्द्र राज काफ्ले, गार्गी शर्मा, हुमकान्त पाण्डेय, कृष्ण प्रसाद पौडेल, यादव राज उपाध्याय, नारायण प्रसाद अधिकारी, रजनी ढकाल, विजय राज न्यौपाने, कपिल अज्ञात, फणीन्द्र राज काफ्ले, यम बहादुर पौडेल, भूपनिधि पन्त, बम बहादुर थापा ‘जिताली’, मुक्तिनाथ शर्मा न्यौपाने, शालिक राम अधिकारी, धनञ्जय दवाडी, गोविन्द बहादुर कुँवर, जीवन अधिकारी, डी.डी. अधिकारी, रमेश शुभेच्छु, प्रेमराज लुइटेल, लाल गोपाल सुवेदी, हरि प्रसाद काफ्ले, विश्वप्रेम अधिकारी, नारायण प्रसाद खनाल, थानेश्वर अर्याल, गणेश न्यौपाने, गिर बहादुर खड्का, शोभाकान्त गौतम, बिन्दु पौड्याल, विरेन्द्र पुडासैनी, अर्जुन सुवेदी, विष्णु प्रसाद शर्मा, सुरज पौडेल, श्रीधर न्यौपाने, परशु राम कोइराला, बोधराज ढकाल, सुलोचना खनाल, डोलराज अर्याल, जमुना अर्याल, ईश्वर घिमिरे, असफल गौतम, लालमणि पोखरेल, निर्मल सापकोटा, ईश्वर मणि अधिकारी, ऋषिराम अधिकारी, भूमिराज वस्ताकोटी, पुण्य पौडेल, जीवनाथ सुवेदी, राजिन पनेरु, फणिन्द्र अकिञ्चन, रुपिन्द्र प्रभावी ‘कटु’, दिपक समिप आदि उल्लेख्य छन् ।

गण्डकीको समालोचनामा विशेषतः पठन पाठनसँग सम्बन्धित कृति केन्द्रित समीक्षा, कृतिभित्रका कथ्य पक्षको उद्घाटनमा जोड, प्रभाववादीभन्दा वस्तुवादी समालोचनाकै प्रबलता, कृतिभित्रका वैचारिक पक्ष र समाज रूपान्तरणमा साहित्यको भूमिकाको लेखाजोखा गर्ने प्रवृत्तिप्रतिको झुकाव, उत्तर आधुनिक समीक्षा वा नयाँ प्रयोगप्रति केही मात्रामा आकर्षण देखिए पनि कृतिलाई परम्परागत विधागत मानदण्डकै आधारमा मूल्य निरूपण गर्ने प्रवृत्ति, स्थानीय साहित्यिक इतिहास लेखनप्रतिको रुचि, सिर्जनाको उर्लँदो प्रवाह अनुसारको गहन समीक्षणको अपर्याप्तता आदि प्रवृत्ति प्रकट भएका छन् । साथै समालोचकले आफ्ना कृतिको प्रशंसा गरि देओस् भन्ने स्रष्टाको आग्रह तर सो अपेक्षालाई पुरा गर्न नसक्दा देखिने असामान्य व्यवहार पनि यहाँको समालोचनाले झेलि रहेको समस्या हो । त्यस्ता स्रष्टाले प्रभाववादी र गुण दर्शन परम्परालाई मन पराउने गरे पनि गण्डकीका समालोचनाको मूल प्रवृत्तिले वस्तुवादी विश्लेषणलाई नै मूल्य निरूपणको मापदण्ड बनाएको पाइन्छ ।

नाटक

गण्डकीको नाटक लेखनको परिमाण अन्य विधाका तुलनामा सीमित रहे पनि गुणात्मक दृष्टिले उल्लेख्य छ । यहाँका नाटककारमा सरुभक्त प्रमुख व्यक्तित्व बनेका छन् र उनले २०३९ सालदेखि विभिन्न नाटक र नाटक सङ्ग्रह प्रकाशित गरेका छन् । उनले विश्वव्यापी मानवीय जीवन भोगाइलाई नवीन कथ्य, शिल्प र रङ्गमञ्चमा प्रयोगपरकताका साथ प्रस्तुत गरेका छन् । कथ्यमा सामयिकता र भविष्यबोध, पात्र प्रयोगमा नवीनता, अभिव्यक्तिमा स्वैरकल्पना सहित विज्ञान नाटक रचना गर्ने उनी यस प्रवृत्तिका अग्रणी नेपाली नाटककार नै हुन् । कृष्ण उदासीले पनि दुई दर्जनभन्दा बढी नाटक लेखन र मञ्चनमा समेत विशेष भूमिका खेलेका छन् । यी बाहेक गण्डकीका यस चरणका अन्य नाटक एवं एकाङ्कीकारमा घनश्याम लामिछाने, मोहन सिंह खड्का, गेहेन्द्र भूषण पोखरेली, गोविन्द कोइरराला, माओत्से गुरुङ, दिनेश पाण्डे, मोदनाथ शास्त्री, देवी प्रसाद वनवासी, श्रीकान्त अधिकारी, केदार ‘कश्यप’, तेज नारायण अधिकारी, मोहन कायस्थ, पुष्पलता आचार्य, विजय राज न्यौपाने, जीवन राज वाग्ले, विद्यादेवी देवकोटा, वेद कुमारी न्यौपाने, भानुभक्त अविरल, खगराज शर्मा आचार्य आदि रहेका छन् । मूलतः सामाजिक, ऐतिहासिक, पौराणिक, वैज्ञानिक आदि विषयमा आधारित गण्डकीको नाट्य लेखनमा माधव घिमिरेका गीति नाटकहरूले पनि योगदान पु¥याएका छन् ।

३. गण्डकीको साहित्यिक उपलब्धि

१. गण्डकी अञ्चलको समग्र साहित्यिक उपलब्धिलाई हेर्दा नेपाली साहित्यमा नै प्राथमिक कालको नेतृत्व गर्ने प्रतिभाहरू जन्माएको, माध्यमिक कालका साथै आधुनिकताको आमन्त्रणमा विशिष्ट योगदान गर्ने र त्यस आधुनिकतालाई विकसित र सम्पन्न तुल्याउन अहम् भूमिका खेल्ने स्रष्टा एवं द्रष्टाहरू जन्माएको,

२. वि.सं. २००० को थालनीपूर्व मुख्यतः सामाजिक जीवनभित्रका सुख दुख, आशा निराशा, उकाली ओराली आदि पक्षमा भन्दा धार्मिक आस्था, आदर्शवादी भावुकता र विधागत मान्यताको पालना नगर्ने कमजोरी देखिएको र पछिका दिनहरूमा भने क्रमशः आफूले बाँचेको जीवन र त्यस जीवनका सुखदुख, मानिसका गुण अवगुण, सकारात्मक नकारात्मक यथार्थ पक्षको उद्घाटन गर्ने, विधागत मान्यतालाई आत्मसात गर्ने प्रवृत्ति र साहित्यिक सौन्दर्यको पहिचान, उद्घाटन र प्रयोग गर्ने मान्यता विकसित हुँदै आएको,

३. नेपाली समाजमा रातदिन पसिना बगाएर पनि खाना, छाना र नानाका समस्यामा परेका किसान, मजदुर, भरिया, ज्यामीमाथिका उत्पीडनका समस्या, जातिगत विभेदको पर्खाल खडा गरेर उत्पन्न भएका हेला र अपमानका समस्या, नारी र पुरुषका बिचको पारिवारिक, सामाजिक आदि क्षेत्रमा देखिएका व्यावहारिक समस्या, राज्यका विभिन्न ओहदामा पुगेर गरिएका कर्तव्यहीनता, भ्रष्टाचार, अनैतिकता आदि जनताका यथार्थ पक्षहरूलाई गहिराइका साथ बुझ्न र तिनीहरूमाथि भइ रहेका दोहन र अपमानका विरुद्धको भावना विकसित गर्नमा पनि गण्डकीका साहित्यकारको प्रभावकारी उपस्थिति देखिएको,

४. धारागत दृष्टले गण्डकीका साहित्यकारहरू तत्तत्कालीन सामाजिक चेतनाको स्तर अनुसार प्रारम्भतिर वीरताका प्रशंसक, भक्तिपरक आदर्शवादी, शासक स्तुतिवादी र धार्मिक अन्धताका पक्षपाती देखिएका र पछि क्रमशः यथार्थवादी, जीवनवादी, प्रगतिवादी प्रवृत्तितर्फ उन्मुख हुँदै आएका अनि पछिल्लो चरणमा स्वैरकल्पनाका आडमा पनि यथार्थका गम्भीर सम्भावनाको उद्घाटन गर्ने, विज्ञान साहित्यको रचना मार्फत सिर्जनाको नयाँ क्षितिज उघार्ने र त्यसलाई निरन्तरता दिँदै नेपाली साहित्यलाई नै नयाँ दिशा प्रदान गर्ने प्रवृत्ति देखिएको,

५. द्वन्द्वग्रस्त नेपाली समाज र जीवन पद्धतिका विविध अनुभूतिहरूलाई सिर्जना मार्फत प्रस्तुत गरी त्यसका पक्ष र विपक्षका अभिमतलाई पनि जीवन यथार्थमै आधारित बनाएर प्रस्तुत गर्ने तथा यहाँको समाजले जस्तै प्रकारको पनि जनविरोधी मान्यता, प्रणाली र पराधीनतालाई अस्वीकार गर्दै स्वतन्त्रता र स्वाधीनताको पक्षपोषण गर्ने प्रवृत्तिलाई महत्त्व दिएर प्रस्तुत गरि रहेको,

६. कवितामा सामाजिक यथार्थ सहजै खुलस्त हुन नसक्ने सन्दर्भमा पनि यहाँका मुक्तक रचनाले सामयिक राजनीतिका दुराचार, प्रशासनिक भष्टाचार, आर्थिक दुर्दशा, लैङ्गिक विभेद, जातीय असमानता, राष्ट्रप्रेम, युवा सुलभ प्रणय आदिका विविध भावधारालाई महत्त्वका साथ प्रभावकारी बनाएर अभिव्यक्त गर्नुका साथै नेपाली फुटकर कविताका अतिरिक्त खण्डकाव्य र महाकाव्य रचनामा पनि गण्डकी अञ्चलका साहित्यकारको उल्लेख्य उपस्थिति देखिएको,

७. मुक्तक, गजल र कविता रचना तथा वाचन मार्फत यस क्षेत्रका साहित्यिक पाठक बढाउन र वाहवाही लुट्न पोखरेली युवा सांस्कृतिक परिवारले आयोजना गर्ने टिकटमा मुक्तक कार्यक्रमहरूका साथै एकल कविता वाचन कार्यक्रमको पनि उल्लेख्य भूमिका रहेको छ । साथै प्रलेस, साहित्य श्रृङ्खला, गण्डकी साहित्य सङ्गम, गीताञ्जली, हेमजा साहित्य प्रतिष्ठान, मुक्तक मञ्च, गजल सन्ध्या, अक्षर यात्रा, जन साहित्यिक मञ्च, नेपाली लेखक सङ्घ, शुक्ला साहित्य समिति, तनहुँ साहित्य समाज, लमजुङ साहित्य समाज, राजनीतिक र सामाजिक जागरणका विभिन्न अवसर आदि संस्था र कार्य मार्फत गरिने रचना वाचन कार्यक्रमले पनि गण्डकीका स्रष्टाहरू जागरूक र सृजनशील बनि रहेका छन् । यस्ता कार्यक्रमहरूले पनि गण्डकीको साहित्यिक अभिरुचि बढ्नुका साथै साहित्यकारको सहभागिता, सृजनशीलता बढि रहेको,

८. गण्डकीका साहित्यकारमा नारी स्रष्टाहरू, विमातृभाषी नेपाली स्रष्टाहरू, सीमान्तीकृत समुदायका स्रष्टाहरूको उपस्थिति बढि रहेको र बाल कविता, कथा, उपन्यास, गीत, नाटक रचना, विविध पत्रिका (बाल पत्रिका), संस्कृत, अङ्ग्रेजी आदि भाषाबाट अनुवाद आदि मार्फत पनि सिर्जनात्मक सक्षमता अभिव्यक्त भइ रहेको,

९. कविताका हाइकु, मुक्तक, गजल, गीत फुटकर रूप, खण्डकाव्य, महाकाव्यका साथै कथा र लघुकथा, उपन्यास, निबन्ध, प्रबन्ध, स्वदेश र विदेशमा भएका यात्रा संस्मरण, दर्शन, हास्यव्यङ्ग्य लेखन, आत्मकथा आदि परम्परागत र नवीन रूप मार्फत मानवीय जीवन यथार्थलाई अभिव्यक्त गरिएको,

१०. डायस्पोरा, वैदेशिक रोजगार, पर्यटन, जल विहार, जलवायु परिवर्तन, प्राकृतिक विपत्ति, जीवनमा जैविक विविधताको उपयोग, वातावरण प्रदूषण, प्रविधिको बहुआयामिक विकास आदि समाजका जल्दाबल्दा नयाँ विषय र प्रविधिमा गण्डकीका साहित्यकारले कलम चलाइ रहेका र विगतको यस यथार्थले आगामी सम्भावनाको बहुआयामिकतालाई पनि सङ्केत गरेको आदि ।

४. सीमा

गण्डकीका नवोदित र कतिपय अभ्यस्त साहित्यकारमा पनि साहित्य सिर्जनाको व्यापकतासँगै परिचित हुने हतार, कवितालाई पनि वर्णनात्मक रूपमै प्रस्तुत गर्न खोज्ने, आफूले रचना गर्ने विधाका विधागत आधारभूत पक्षको ज्ञान र दखलप्रतिको उदासीनता, रचनाको प्रभावकारिताका निम्ति अपेक्षित अनुभव भण्डारको कमी जस्ता सीमा देखिन्छन्् । त्यस्तै साहित्य सिर्जनाको आधार विचारमा स्पष्टता पनि हो र त्यस विचारलाई भाव, तर्क, कल्पना आदिले प्रभावकारी बनाउने सिपको दक्षता नरहेका कारण पनि कतिपय स्रष्टाका कमी फेला पर्छन् । त्यस्तै स्रष्टामा साधना गर्ने धैर्य, शब्द भण्डार र शब्द छनोटको कुशलता, अग्रज एवं समकालीन राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्रष्टाका कृतिको गहन अध्ययन आदि पक्षमा गण्डकीका स्रष्टा एवं द्रष्टाका पनि कमजोरीहरू देखा पर्छन् । साथै अझै पनि व्यक्ति स्तुति, राजभक्ति, र अन्धताप्रतिको आसक्ति जनाउने रचना देखिनु, आफ्ना कृतिमाथिको वस्तुवादी आलोचनालाई पनि स्वीकार नगरी प्रशंसा प्रियता दखाउनु आदि पनि सीमाहरू हुन् । यद्यपि गण्डकीका साहित्यकारले समग्र नेपाली साहित्यकै गरिमा अभिवृद्धिका निम्ति दिएका गरिमामय र विशिष्ट योगदानका सामु यी सीमा नगण्य हुन् ।

५. निष्कर्ष

गण्डकी अञ्चलका साहित्यकारहरूले नेपाली साहित्यको प्राथमिक कालदेखि नै गहकिलो योगदान दिँदै यहाँको प्रकृति, संस्कृति र जीवन पद्धतिका साथै समस्त मानव समाजका जीवन संस्कृतिलाई महत्त्वका साथ प्रस्तुत गरेका छन् । प्राथमिक र माध्यमिक कालका कतिपय कविता र गद्यले पनि तात्कालिक जीवनलाई अभिव्यक्त गर्न खोजे पनि ती कृतिमा मानवीय जीवनबाट टाढाका धेरै अलौकिक र अभौतिक पक्ष प्रकट भएका छन् । भानुभक्तको धार्मिक चेतना र माध्यमिक कालीन शृङ्गार चेतनाले गण्डकीको साहित्य सिर्जनालाई लामै समयसम्म उत्प्रेरित गरेको छ । समाज विकासको गति अनुसार नै लेखनाथ पौड्याल, माधव घिमिरे आदिबाट थालिएको सामाजिक सचेतता र जीवन यथार्थको पक्ष २००० सालपछि झन् झन् विकसित र यथार्थपरक बनेर मुखरित भएको छ । त्यसकै परिणाम स्वरूप मुक्तिनाथ शर्मा, गोकुल जोशी, भूपि शेरचन आदिबाट जीवन भोगाइका यथार्थ पक्ष र विसङ्गतिमाथिको अभिव्यक्ति अझ धारिलो र मूर्त बनेर प्रकट भएको देखिन्छ । यही क्रम अघि बढेर २०३० सालपछि त गण्डकीको साहित्यिक लेखन व्यापक र बहु आयामिक पनि बनि सकेको देखिन्छ ।

साहित्यिक विकासको उपर्युक्त सन्दर्भबाट यहाँको लेखनले निरन्तर यथार्थपरक, जीवनपरक, मानवतापरक र परिवर्तन पक्षधर यात्रालाई अघि बढाइ रहेको छ । अहिलेको र आजको युग प्रविधितिर उन्मुख छ, विश्वव्यापी मान्यता र नवीन आविष्कारबाट प्रभावित छ, वातावरण विनाशबाट आक्रान्त छ, मानव स्वास्थ्यका प्रतिकूल साधन र मानव जीवनलाई विनाशतिर लैजान सक्ने विचारबाट पनि प्रभावित छ । मानवीय जीवनलाई दीर्घकालसम्म प्रभावित पार्ने यस्ता पक्षलाई पनि गण्डकीका साहित्यकारले आफ्नो अभिव्यक्तिको विषय बनाइ रहेका छन् । आजको खुला समाजमा वैयक्तिक स्वतन्त्रताको नारा पनि गुन्जि रहेको छ र त्यसमा अभिव्यक्त बहुल विचारलाई साहित्य सिर्जनाले पनि आत्मसात गरि रहेको छ । त्यस सन्दर्भमा सामाजिक चेतनाको एउटा रूप मानिने साहित्यलाई निजी आनन्द र सन्तुष्टिको मात्र साधन ठान्ने, इतिहासको अन्त र भविष्यका अनिश्चयको अभिव्यक्तिको साधन मान्ने वा विधा भञ्जन, विचार भञ्जन र शृङ्खला भञ्जनको रूप मान्ने प्रवृत्तिभन्दा फरक गण्डकीका साहित्यकारले आफैले बाँचेको जीवनभित्रका यथार्थ पक्षहरूलाई व्यापक महत्त्व दिएर प्रकाशित गरेको पाइन्छ । यहाँका साहित्यकारले समयुगीन जीवन पद्धतिभित्रका अँध्यारा उज्याला क्षण, मायाप्रेम, जीवन भोगाइका उकाली ओराली, विद्यमान जीवनका विकृत, कुरूप र विसङ्गत पक्षको अन्त र सुखमय, समृद्धिमय र परिवर्तित जीवन प्राप्तिको दिशालाई सघाउने गरी कलात्मक अभिव्यक्ति प्रस्तुत गरेका छन् । यसरी जीवन सापेक्ष, परिवर्तन सापेक्ष धारमा यहाँका साहित्यकारले आफ्नो सामाजिक दायित्वलाई हृदयङ्गम गरेका छन् र यो यात्रा साहित्यलाई बौद्धिक एवं कलात्मक आनन्दको समेत साधन मान्दै सामाजिक समुन्नति र सुखमय मानव जीवनका निम्ति निरवच्छिन्न चलि रहेको देखिन्छ ।

हार्दिक आभार

(प्रस्तुत लेख तयार पार्ने कार्यमा विभिन्न तरिकाले सघाउने संस्था पृथ्वी नारायण क्याम्पसस्थित क्षेत्रीय पुस्तकालय तथा व्यक्तित्वहरूः रमेश श्रेष्ठ, प्रा.डा. रविलाल अधिकारी, प्रा.डा. पशुपति नाथ तिमल्सेना, प्रा. डा. विष्णु प्रसाद पौडेल, नारायण मरासिनी, मोदनाथ मरहट्ठा, अनिल श्रेष्ठ, यादव राज उपाध्याय, राजिन पनेरु, कृष्ण उदासी, ईश्वर मणि अधिकारी, कल्याण पन्त, श्याम ढुङ्गाना, प्रकाश ज्ञवाली लगायत सबैप्रति हार्दिक आभार एवं कृतज्ञता ।)

सन्दर्भ सूची

अधिकारी, ईश्वर मणि (साल उल्लेख नगरिएको), “नेपाली गजलको तथ्यपरक सिंहावलोकन र पोखरेली गजलका मूलभूत

प्रवृत्ति”, पोखरामा आयोजित कार्यक्रममा प्रस्तुत पत्र ।

अधिकारी, बाबुराम (सन् २०११), “कास्की जिल्लाको साहित्यिक सर्वेक्षण ः वि.सं. २००७ पूर्वका कवि र कविता”, पृथ्वी, अङ्क

४, जुलाई, पृ. ६५–८० ।

अधिकारी, लक्ष्मी शरण (साल उल्लेख नभएको), “ नेपाली कथाका सन्दर्भमा पोखरा”, पोखरामा प्रस्तुत गरिएको कार्यपत्र ।

अर्याल, अच्युत शरण (२०६३), “स्याङ्जाली साहित्य ः एक रेखाङ्कन”, सगुन, वर्ष ४, पूर्णाङ्क १० (स्याङ्जा विशेषाङ्क)

पृ १५–२२) ।

उपाध्याय, यदु नन्दन (२०५६), “समकालीन प्रगतिशील कथाका सन्दर्भमा पोखरा”, पृथ्वी नारायण क्याम्पसमा असोज १८ गते

प्रस्तुत गरिएको कार्यपत्र ।

खनाल, कुल प्रसाद (साल उल्लेख नगरिएको), “समसामयिक प्रगतिशील नेपाली कविताका सन्दर्भमा पोखरा”, पोखरामा प्रस्तुत

कार्यपत्र ।

खनाल, नारायण प्रसाद (२०६१), गोरखाको डायरी, गारखा ः हरि सांस्कृतिक केन्द्र ।

ढकाल, घनश्याम (२०५६), “समकालीन प्रगतिशील कथाका सन्दर्भमा पोखरा”, पृथ्वी नारायण क्याम्पसमा असोज १८ गते

प्रस्तुत गरिएको कार्यपत्र ।

तिमल्सेना, पशुपति नाथ (२०६५), नेपाली कविताको विवेचना, पोखरा ः श्रीमती सत्यदेवी तिमल्सेना ।

त्रिपाठी, वासुदेव र अरू, सम्पा.(२०५३), नेपाली कविता (भाग ४), ललितपुर ः साझा प्रकाशन ।

थापा, युक्ता (२०६२), “नेपाली साहित्यमा कास्की जिल्लाको योगदान”, (अप्रकाशित स्नातकोत्तर शोधपत्र, पृ.ना. क्याम्पस,

पोखरा ।

न्यौपाने, विजय राज (२०६८), लमजुङको साहित्यिक इतिहास, काठमाडौँ ः ईश्वरी देवी न्यौपाने ।

पौडेल, विष्णु प्रसाद (२०६१), “कस्केली नेपाली उपन्यासः प्रमुख प्रवृत्ति र उपलब्धि”, पोखरामा असार ५ मा प्रस्तुत कार्यपत्र ।

(२०६८), मुक्तक सिद्धान्त र पोखरेली मुक्तकका मूल प्रवृत्ति, पोखरा ः सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान ।

बराल, ईश्वर, सम्पा., (२०४३), झ्यालबाट, ललित पुर ः साझा प्रकाशन ।

मिश्र, डिल्लीराम (२०५७), नेपाल अधिराज्यमा तनहुँ, काठमाडौँ ः शर्मिला मिश्र ।

लुइटेल, प्रेमराज (२०६३), “स्याङ्जाली साहित्य ः एक संक्षिप्त सर्वेक्षण”, सगुन, वर्ष ४, पूर्णाङ्क १० (स्याङ्जा विशेषाङ्क)

पृ २६–५९) ।

(शमी सम साहित्य प्रतिष्ठानको आयोजना र कविता क्लब पोखराको स्थानीय संयोजनमा भएको गण्डकी अञ्चल स्तरीय साहित्यिक कार्यक्रम २०७१, भाद्र १४ मा प्रस्तुत अध्ययन पत्र )

सहप्राध्यापक

पृथ्वी नारायण क्याम्पस, पोखरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।