19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मानव अधिकारको रक्षा

लघुकथा प्रा. डा. कपिल लामिछाने September 11, 2014, 1:04 pm
प्रा. डा. कपिल लामिछाने
प्रा. डा. कपिल लामिछाने

सडकमा मानिसहरू आउजाउ गरिरहेछन् । आउजाउ गर्न पाउनु पर्छ । जनताको हकहितको रक्षा हुनुपर्छ । सायद त्यसैले ठाउँठाउँमा सुरक्षाकर्मीहरू तैनाथ छन् । तिनीहरूका आँखा चनाखा छन् । फाल्तु कोही छिर्न नपाओस् । तिनीहरू हतियार र हाकिमका आदेशले नुहेका छन् । आन्दोलनकारीले जनताको हिँडडुल गर्ने, आउजाउ गर्ने, पढ्नेलेख्ने, आजीविका चलाउने काममा दखल दिन नपाऊन् भनी हाकिमले अराउँदा ‘हस साब !’ भनी स्यालुट ठोकेर आएका हुन् तिनीहरू । जनताको मानवअधिकारको रक्षा गर्ने रे ! दिक्क मान्दै थिए तिनीहरू । उ उताबाट मानिसहरू आइरहेछन् । आन्दोलनकारी हुन् कि ? बेला भएकै हो अब त । तिनीहरू सतर्क भए र हरेकलाई चेक गर्न थाले—

—एइ, तँ को होस् हँ ?

—म विद्यार्थी हुँ ।

—थुन यसलाई ।

—एइ, तँ को होस् नि ।

—म शिक्षक हुँ ।

—थुन यसलाई ।

—एइ, तँ को होस् ?

—म प्राध्यापक हुँ ।

—थुन यसलाई ।

—एइ, तँ को होस् ?

—म कर्मचारी हुँ ।

—थुन यसलाई ।

—एइ, तँ को होस् ?

—म किसान हुँ ।

—ए थुन यसलाई ।

—एइ, तँ को होस् ?

—म पत्रकार हुँ ।

—ल, थुन यसलाई ।

—एइ, तँ को होस् नि ?

—म वकिल हुँ ।

—लल, थुन यसलाई ।

—एइ, तँ को होस् ?

—म व्यापारी हुँ ।

—थुन यसलाई ।

—ए, तँ को होस् नि ?

—म उद्योगपति, उद्योगी हुँ ।

—थुन यसलाई ।

—एइ, तँ को होस् नि ?

—म मजदुर हुँ ।

—थुन यसलाई ।

—एइ, तँ को होस् नि ?

—म यातायात–व्यवसायी हुँ ।

—थुन यसलाई ।

—एइ, तँ को होस् नि ?

—म दुकानदार हुँ ।

—थुन यसलाई ।

—एइ, तँ को होस् नि ?

—म समाजसेवी हुँ ।

—थुन यसलाई ।

—अँ, तँ को होस् नि ?

—शब्दसारथि ! साहित्यकार हुँ म ।

—थुन यसलाई ।

—अनि, तँ को होस् नि ?

—म शिल्पी अर्थात् कलाकार हुँ ।

—थुन यसलाई ।

—तँ को होस् नि ?

—म ? म मगन्ते । केही देऊ न ।

—थुन यसलाई ।

—तँ को होस् नि ?

—म मानवअधिकारवादी हुँ ।

—हँ ! थुन यसलाई ।

.... .... .... ....

तिनीहरूले हरेकलाई सोध्दै गए, कसैले पनि आफूलाई जनता भनेन । कसैले आफूलाई आन्दोलनकारी भनेन । कसैले पनि आफूलाई ... कसैलाई पनि तिनीहरूले हतियार लिएको भेटेनन् । ...भए भरको खचाखच भिड चौकी, थाना र जेलमा भयो । सडक, बजार र बस्ती सुनसान, निर्जन भए । भित्र जनता, बाहिर सुरक्षाकर्मी । तिनीहरू जिल्ल परे कि अब कसको अधिकारको रक्षा गर्ने ?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।