निबन्ध जस्तै कम लेखिने विधा हो लघुकथा । अझ लघुकथा रचनामै आख्यानशिल्प खर्चिई कलात्मक प्रस्तुतिसँगै परिचय बनाउने लघुकथाहरु सिला खोज्ने अवस्थामा नभए पनि औंलामा गन्न सकिने मात्र छन् । मुक्तकीय तीव्रता नाटकीय अन्त्य सघन आख्यान र लघु संरचनामा ब्यंग्यवाणले धतुरो झार्न सक्ने सामर्थ्य भएकै काराण लघुकथा लेखनमा रुचि र चासो राख्नेको संख्या भने बढोत्तरी हुँदैछ । कपिल लामिछाने, श्रीओम श्रेष्ठ रोदन, रवीन्द्र समीर, नवराज रिजाल, भरत भारद्धज, मुक्तिनाथ घिमिरे पथिक जस्ता स्रष्टाहरु लघुकथा रचनामा निरन्तर जुटिरहेका छन् । यसै सन्दर्भमा उम्दा चार दर्जन लघुकथाहरुको संग्रह यन्त्रवत् लिएर देखापरेका छन् लघुकथाकार कृष्ण बजगाईं ।
बजगाईंको प्रस्तुत कृति यन्त्रवत् मा ब्यंग्यको प्रचुरता सघन छ । राजनीति र यसबाट सिर्जित तथा निसृतः दुरावस्थाको दृष्टान्त लघुकथाहरुमा एकातिर छ भने अर्कोतिर कुर्सी हो मन्त्रीपदको लालसा बेईमानी राजनीति र प्रशासन संयन्त्रका यावत् बेथिति तथा कुरीतिलाई लघुकथाकारले चोटिलो पाराले प्रहार गरेका छन् । बिषयवस्तुको अन्वितिमा यान्त्रिकीकरण अनास्था, स्वार्थ, फुट र समग्र सामयिक आख्यानको बुनोटका अलावा लेखक बन्नुको पीडा, मानवविरोधि मानववृत्ति, संवेदना तुरिएको सन्दर्भ, प्रशासनको द्रव्यअगस्तिपन भीड र उग्रमनोवृत्तिको असुन्दर र कृतिमतालाई समेत बजगाईंले नंग्याएका छन् । जनताका दुःख र महादुःखको क्रम ननिख्रिने बरु नवीन रुपमा थपिदै जाने सत्यलाई लघुकथाकारले उद्भाषित गरेका छन् ।
राष्ट्र र राष्ट्रियताको मोह लघुकथाकारमा प्रगाढ र तीव्र छ । भ्रष्टाचार र प्रजातन्त्र क्रमशः कमिसन र लोकतन्त्रमा साटिएको सन्दर्भ अत्यन्त मर्मस्पर्शी लाग्दछ । वैदेशिक सहयोग हसुर्ने प्रवृति, परिवर्तनकामी बौलाहा ठहरिने अवस्था, इमान्दार र नैतिकवान् कर्मचारीलाई दिइने जडसूत्रवादीको पगरी, राजनीतिमा सक्रियताको लागि गराइने द्वंद्व जस्ता सवालहरुले पाठकलाई एकसाथ विचारमग्न र आगो ओकल्ने गराउँछन् । देश वास्तवमै बन्दुक र गोलीले नै चलाएको हो त प्रश्न अनुत्तरित रहन्छ ।
यन्त्रवत् लघुकथासंग्रहमा सूत्रपरक अनुशीलनका आख्यानहरु अब्बल रुपमा देखापरेका छन् । 'नांगो मान्छे' र 'मूकदर्शक ' दुई लघुकथा यसै कोटीमा पर्दछन् । वास्तवमै निर्लज्ज व्यवहारले मान्छे नांगो बन्छ । यो सर्वाग्राही चेतनाको प्रयोग लघुकथामा उत्कृष्ट छ ।
समीक्षात्मक विवेचनका चक्छु पर्गेल्दा यन्त्रवत् लघुकथा संग्रह आख्यानका दृष्टिले मात्र नभएर कला र प्रस्तुतिका दृष्टिले समेत उम्दा लाग्दछ । उखानटुक्काको प्रयोग प्रत्यक्ष कथनको सामेली बोलीचालीको ठेट भाषा प्रस्तुत पुस्तकमा उचित ठाउँमा प्रयोग भएको छ । काव्यात्मक झझल्को दिने उपमा बिम्ब र प्रतीकको अवलम्बनले अझ यो कृतिलाई सिँगारेको छ । सोह्र बर्षको समयावधिभित्र लेखिएका यी रचनाहरुमा आन्तरिक बिषयवस्तुका पुनरुक्ति झल्किए पनि अलग प्रस्तुतिले प्रत्येक कथा नयाँ झै लाग्दछन् । मानव सम्बन्धका क्रियान्वित चक्रभित्र मथिएका प्रस्तुत लघुकथाहरुमा प्रयोगका लागि प्रयोग र बौद्धिकताको लागि विचारको ठाडो आरोपण कतै देखिदैन । तर केही लघुकथाहरु भने अन्त्य भइसक्ता पनि लम्बिएका झै प्रतित हुन्छन् । साथै केही लघुकथाहरु कथाजस्ता लाग्दछन् ।
समग्रमा भाषिक मिठासता ब्यंग्यचेतको भरमार दबदबा कलात्मक र मिहिन प्रस्तुतिले यन्त्रवत्का लघुकथाहरुले पाठकलाई यन्त्रवत् बनाउँदैनन् बरु यी उम्दा रचनाले मस्तिष्क उद्धेलित गर्छन् र विचारमग्न बनाउँछन् । वास्तवमै यन्त्रवत् उम्दा लघुकथाहरुको मानक संग्रह हो ।
कृति: यन्त्रवत्
विधा: लघुकथा
लेखक: कृष्ण बजगाईं
प्रकाशक: अन्तर्राराष्ट्रि नेपाली साहित्य समाज, अमेरिका
संस्करण: प्रथम, सन् २००७
मूल्य: रु. ५०।- सार्क देशहरुमा
यु.एस. डलर ५।- (अन्य देशहरुमा)
पृष्ठ: ११०+ १४
साभार: गरिमा, चैत्र २०६४