19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अनिश्चित उदय

कविता मिलन लिम्बू October 8, 2014, 9:20 am

घमासान युद्धमा

सुरक्षा कवज

आन्जानमा

थाहा नपाई

फुट्नु पर्छ

अनि मात्र

तिम्रो उदय निश्चित छ ।

तर,

अभागी तिमी !

जहिले नियोजनको शिकार

कवज फुट्दैन

अब तिम्रो उदय

झनै अन्योलमा

बिना कवज

युद्ध हुनै छाड्यो

आधुनिक र सुरक्षित

युद्ध कवजहरु बन्न थाले

जव सम्म

कवज कमजोर हुँदैन

कसैले युद्ध जित्न सक्दैन

युद्धवाज दुवैले होस नगुमाएसम्म

तिम्रो उदय अनिश्चित ।

अब तिम्रो उदय

युद्ध कवजकै भरमा छ

दुवै युद्धवाज

तिम्रो उदय असुरक्षित ठान्छन्

त्यसैले

तिमीलाई सुरक्षा कवजसँगै

कुनामा

भित्तामा

अन्य

एकान्त स्थानहरुमा

मिल्काइराख्न चाहन्छन् युद्धवाजहरु

यो उद्देश्यका साथ कि

तिम्रो उदय नहोस !

तिमी

दुई युद्धवाज भन्दा के कम ?

फेरि अर्को स्वरुपमा

उनै युद्धवाजसम्म पुग्छौ

अर्को घमासन युद्ध कुर्छौ

अनि फेरि पुरानै चाल

त्यसैले

तिम्रो उदय अनिश्चित ।

तिम्रो उदयका लागि त

युद्धमा सुरक्षा कवज नै

प्रयोग हुनु हुँदैन

अञ्जानमा

युद्ध कवज ध्वस्त भएर

दुबै युद्धवाज हारे भने मात्रै

तिम्रो उदय सम्भव छ

तर,

तिमीलाई सुख छैन

वैधानिक हत्याराको

प्रयोगमा उनीहरुको

प्रेतआत्माले

तिम्रो हत्या गर्न

निर्देशन दिनेछन्

त्यसैले

तिम्रो उदय अनिश्ति !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।