14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

शैक्षिक सन्दर्भमा असामयिक नेपाली भाषाका उखानहरू

विचार डा. यदु नन्दन उपाध्याय October 8, 2014, 4:23 am

(प्रस्तुत लेखमा नेपाली समाजमा कथ्यका साथै लेख्य अभिव्यक्तिलाई समेत प्रभावकारी बनाउने उखानहरूमा रहेका सकारात्मक पक्षको महत्त्वलाई आत्मसात गरे पनि कतिपय सीमित उखानहरूले नकारात्मक पक्षलाई अभिव्यक्त गरेको यथार्थ कुरा केलाइएको छ । त्यस्ता उखानहरूले नेपाली जातीय विभेद, लैङ्गिक विभेद, क्षेत्रीय विभेद र अपाङ्गता भएका व्यक्तिमाथि अपमान भल्काउने हुनाले तिनलाई व्यावहारिक प्रयोग र प्रचलनबाट हटाउनु पर्ने अवधारणा प्रस्तुत गरिएको छ । विद्यालय तथा विश्व विद्यालय तहको नेपाली पाठ्यक्रममा समेत समाविष्ट त्यस्ता उखानहरूले नेपाली एकता र सद्भावमा समेत प्रतिकूल असर पार्ने हुनाले पनि हटाउनु जरुरी रहेको तर्क यहाँ प्रस्तुत गरिएको छ । यसको अध्ययनका निम्ति मौखिक रूपमा सुनेका र पुस्तकीय अध्ययनबाट प्राप्त गरेका केही उखानहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै ती उखानहरूलाई पठन पाठनबाट मात्र होइन सामाजिक प्रचलनबाट पनि हटाउनु पर्ने निष्कर्ष पनि प्रस्तुत गरिएको छ ।)

विषय प्रवेश

शिक्षाले मानव जीवनमा काम नलाग्ने गलत प्रचलन र मान्यतालाई परित्याग गर्न प्रेरित गर्दै सामाजिक सद्भाव र समृद्ध जीवनको यात्रालाई अघि बढाउन अभिप्रेरित गर्दछ । ढुङ्गे युगको अविकसित अवस्थाबाट विकसित र सुशिक्षित हुँदै आएको मानवले आफ्ना जीवनमा अनुपयोगी पक्षलाई छोड्दै र जीवनोपयोगी पक्षलाई आत्मसात गर्दै आएको हुनाले नै अहिलेको सभ्य अवस्था प्राप्त गरेको हो । यसैले गर्दा शिक्षाले प्रदान गर्ने धर्म, नीति लगायतका परम्परागत ज्ञान, सिप र अवधारणागत पक्षका साथै खरी र पाटीबाट थलिएको हाम्रो शिक्षाको शिक्षण विधिमा पनि ठुलो परिवर्तन देखा परेको छ । अझै पनि नेपाली समाजको परिवर्तित सन्दर्भसँग नमिल्ने खालका ज्ञान, सिप र अवधारणात्मक पक्षमा परिवर्तन ल्याउनु र सामयिक बनाउनु आवश्यक छ । यही सन्दर्भमा नेपाली शिक्षा अन्तर्गतको विद्यालयका साथै विश्व विद्यालयीय पठन पाठनमा समेत रहेका कतिपय उखानहरूले नेपाली जाति जातिबिचको विभेदलाई जोगाइ रहने, महिला र पुरुषबिचको असमानताको खाडललाई पुर्न नदिने, हिमाल, पहाड र मधेसका साथै सुगम र दुर्गमका बिच हेप्ने र हेपिने प्रवृत्तिलाई प्रोत्साहित गर्ने तथा विभिन्न कारणले अपाङ्गता भोगि रहेका मानिसहरूको पीडामा नुन छर्ने काम गरेका पाइन्छन् । यस्ता खालका उखानहरूलाई पाठ्यांश र व्यावहारिक प्रयोगबाट हटाउनुका साथै शिक्षक विद्यार्थी र त्यस मार्फत समग्र समाजमा जारी रहेको विभेदकारी प्रचलनलाई निरुत्साहित गर्नु आवश्यक भइ सकेको छ ।

वस्तुतः उखानहरू नेपाली भाषाका महत्त्वपूर्ण सम्पत्ति हुन् र तिनले मूलतः बर्सौँ पहिलेदेखिका मानवीय जीवनका अनुभव र अनुभूतिहरूलाई प्रकट गर्ने भए पनि कतिपय उखानहरूले विद्यमान सामाजिक बनोटमा आघात पु¥याइ रहेका पनि छन् । उखानहरूलाई नेपालीमा आहान, भनाइ, कहावत, कथन, किस्सा, उक्ति, लौकिक न्याय, शास्तर, वचन, आन, प्राज्ञोक्ति, चुट्किला, लोकोक्ति जस्ता पर्यायवाची शब्दले बुझाउने गरिए पनि उखान शब्दले नै बढी चिनिने गरिएको छ (पन्थी, २०६९ ः झ) । मूल रूपमा उखानहरूले पहिलेका सामाजिक यथार्थ र वास्तविक जीवनानुभवका परिपक्व भावहरूलाई व्यक्त गरेको कुरा निर्विवाद नै छ तर पनि प्रचलित कतिपय उखानहरूले विद्यमान सामाजिक सांस्कृतिक पक्षको परिवर्तित भावनालाई समेट्न सकेको देखिन्न । समाजको परिवर्तित र विकसित भावनालाई आत्मसात नगर्ने त्यस्ता उखानहरू समावेश भएका सामग्रीलाई पनि विद्यालय र विश्व विद्यालय तहको शिक्षणबाट तर्क सहित हटाउनु जरुरी छ । प्रस्तुत लेखमा तिनै असामयिक भएका उखान एवम् तिनका केही प्रवृत्ति र उदाहरण पनि प्रस्तुत गरी तिनलाई पठनपाठनका साथै सामाजिक प्रचलनबाट पनि हटाउनु पर्ने अभिमत प्रस्तुत गरिएको छ ।

लेखको सान्दर्भिकता र आवश्यकता

नेपाली समाजमा पञ्चायती अनुदारवादी राजको अवसानसँगै जातीय, लैङ्गिक एवं भाषिक जागरणका साथै २०६३÷६४ सालको मधेस आन्दोलनपछि क्षेत्रीय जागरण समेत सशक्त रूपमा अघि बढेको हो । यही सामाजिक जागरणलाई उचित तरिकाले सम्बोधन गर्ने राज्यको प्रतिबद्धता अनुरूप राजनीतिक दलहरूबाट २०६३ सालको अन्तरिम संविधान र संविधान सभा मार्फत निर्माणाधीन रहेको नयाँ संविधानमा पनि सो भावनालाई समानुपातिक समावेशी मोडलमा प्रस्तुत गरिने प्रतिबद्धता अभिव्यक्त भएको छ । त्यस अनुसार कसैले कसैलाई जातिका आधारमा हेप्न र अपमान गर्न नपाइने, नारी र पुरुषमा असमान व्यवहार गर्न नपाइने, हिमाल, पहाड र मधेसका साथै दुर्गम र सुगमको विभेद पनि हटाउनु पर्ने तथा अपाङ्गता भएकाहरूलाई पनि समान सुविधा उपलब्ध गराई अपाङ्गता मैत्रीको वातावरण निर्माण गर्नु पर्ने हुन्छ । यस सन्दर्भमा हाम्रा कतिपय पाठ्यक्रम र तिनमा समाविष्ट पाठ्यांश पनि पुरानै सोच र चिन्तन अनुरूपका पाइन्छन् । यसबारे शिक्षाको राष्ट्रिय उद्देश्यका सम्बन्धमा २०५५ सालमा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले पनि “राष्ट्रियता र विभिन्न जाति एवम् समुदायका बिच राष्ट्रिय ऐक्यबद्धताप्रति आस्थावान् नागरिक तयार गर्ने (नेप्रप्रासं, २०६६ ः८२०)” भनेको पाइन्छ । साथै नेपालको अन्तरिम संविधान २०६३ ले पनि नेपालमा जाति, लिङ्ग, क्षेत्र आदि आधारमा कसैले कसैप्रति भेदभाव गर्न नपाइने व्यवस्था गरेको छ । यस्ता कुरा भनाइमा मात्र होइन व्यावहारिक कार्यान्वयनमा पनि आउनु पर्छ । यसैले अबको नेपाल सङ्घीय एवं समावेशी मोडेलको गणतन्त्रात्मक नयाँ नेपाल हुने र त्यतिखेरको विद्यालय तथा विश्व विद्यालयस्तरीय पाठ्यक्रममा परिवर्तित समावेशी भावनालाई आत्मसात गर्नु पर्ने हुन्छ । प्रस्तुत लेख नेपाली शिक्षा अन्तर्गतका असामयिक भएका उखानहरूलाई शैक्षिक सन्दर्भबाट हटाउनु पर्ने कुरा उल्लेख गर्नमा केन्द्रित भए पनि यसले अन्य सबै विषयका असामयिक पक्षलाई शैक्षिक सन्दर्भबाट हटाउनु पर्ने कुराको सङ्केत समेत गरेको हुनाले पनि यसको सान्दर्भिकता र आवश्यकता अझ प्रस्ट हुन्छ ।

१. जातीय विभेद झल्काउने नेपाली उखान

नेपाली समाज बहुजातीय विशेषताले भरिपूर्ण छ । नेपालको जनगणना २०६८ का अनुसार यहाँ १२५ जातिका मानिसहरू बस्दछन् (के.त.वि., २०६९ ) । ती सबै जातजातिका आआफ्नै रहनसहन, संस्कृति, परम्परा, पहिचान र विशेषताहरू रहेका छन् र रहुनु नेपाली समाजको सुन्दर पक्ष पनि हो । समाजमा विभिन्न खाले दार्शनिक, धार्मिक, सामाजिक, सांस्कृतिक, जातीय र वर्गीय दृष्टिकोण आस्था, चालचलन, परम्परा र संस्कार हुने हुनाले हाम्रा उखानहरूले पनि ती सबै कुराको संक्षिप्त इतिहास बोकेका हुन्छन् (प्रश्रित, २०६२ १३) । यद्यपि यस्ता उखानहरूले आफ्ना विगतका गौरवलाई बहन गरेका हुन्छन् र सम्बद्ध समुदायबिच भावनात्मक सम्बन्धलाई प्रगाढ र एकताबद्ध पनि बनाएका हुन्छन् । तर पनि तिनै प्रचलनमा कतिपय पक्ष सामयिक जीवन र अग्रगामी समाजका लागि काम नलाग्ने मात्र होइन कसैमाथि आघात पु¥याउने किसिमका पनि हुन्छन् । त्यस्ता काम नलाग्ने र कसैको पहिचान र भावनामाथि आघात पु¥याउने सामग्रीलाई जोगाउने नभई प्रचलनबाट हटाउनु नै उपयुक्त हुन्छ । ठिक यही कुरा तलका उखानहरूमा पनि अभिव्यक्त भएको छ ।

क) अघाएको बाहुन र भोकाएको नेवार काम लाग्दैन

ख) अघाएको बाहुन र भोकाएको क्षत्रीलाई छुनु हुँदैन ।

ग) बाहुनको चित्त माखाको पित्त ।

घ) अर्ती भनेको घर्तीको पनि मान्नु पर्छ ।

ङ) मरेपछि डुमै राजा ।

च) सार्कीले मरोस् भन्दैमा गोरु मर्दैन ।

छ) बिरालो हेरे बाघ हेर्न पर्दैन, कामी हेरे चोर हेर्न पर्दैन ।

ज) दिनमा कमिनी कपाल कोर, रातमा कमिनी घोँचा जोर ।

झ) दमाई कामीलाई बोलाई नुनको खति ।

ञ) सानो जात मत्तिदैन, मात्तिएपछि बाँच्तैन ।

ट) टाढाको बाहुनभन्दा नजिकको कामी कामको ।

ठ) उसै त मियाँ भाङ खाएको थियाँ ।

ड) एक घर विष्ट दस घर कामी, जस्ता तिमी त्यस्तै हामी ।

ढ) कसाइका अगाडि राँगाको रोदन ।

ण) कामी दमाई माग्न जान्दैनन् पिलो, लुतो आउन जान्दैनन् ।

त) कुहिरे बाहुन, कैले खस, जुँगे मगर रस न बस ।

थ) खसको झेल, मगरको खेल, बाहुनको पेट, कहिल्यै नभेट ।

द) जहाँ गुलियो त्यहीँ बाहुन भुलियो ।

ध) जहाँ केरा त्यहीँ बाहुनको डेरा ।

न) ज्यालामा नमिलेको दमाई ।

प) डुमका घरमा रोटी पाक्या,े विष्टका घरमा हर्क बडाइँ ।

फ) नेवार इष्ट र बाबु दुष्ट कहिल्यै हुँदैन ।

ब) फर्सी कुहेको र नेवार बिग्रेको थाहा हुँदैन ।

भ) आरनमा बसेको कामी जस्तो ।

म) जस्तो आफू उस्तै ज्यापु ।

य) बाहुनले च्याउ खाओस् न च्याउको स्वाद जानोस् ।

र) मियाँको दौड मस्जिदसम्म ।

ल) बाहुनको श्राद्ध छाडी दमैको जन्त ।

व) बकुल्लो पस्यो गाछ नास्यो, झा पस्यो राज नास्यो ।

यहाँ प्रस्तुत गरिएका उखानहरू यद्यपि नेपाली समाजका र नेपाली भाषाका सम्पत्ति मानिन सक्छन् तर तिनले पुरानो जातीय विभेदको असमान परम्परालाई जोगाउने र ती जाति र जनजातिका समुदायबिच विद्वेष फैलाउने काम पनि गरेका छन् । तिनले समुदायभित्रका व्यक्ति सदस्यलाई नभई समुदायलाई नै अपमानित गरेका छन् । “अघाएको बाहुन र भोकाएको नेवार काम लाग्दैन” भन्ने उखानले बाहुन र नेवार जातका व्यक्तिलाई होइन समुदायलाई नै लाञ्छित र अपमानित गरेको छ । त्यसैले सबै अघाएका बाहुन र भोकाएका नेवार काम नलाग्ने हुन्छन् भन्ने कुरा गलत छ । त्यस्ता उखानले खास खास जातिमाथि लाञ्छना लगाउने, अपमानित गर्ने, जातीय विद्वेष बढाउनेसम्मका काम पनि गरेका छन् र गर्न सक्छन् । सामान्यतया यस्ता उखानहरू समाजमा प्रभुत्व जमाएर बसेको समुदायले अल्पसङ्ख्यक वा उत्पीडित समुदायलाई लान्छना लगाउने गरी निर्माण गरेको पाइन्छ । नेपालको पुरानो सामन्ती समाजका उच्च जातका भनिएका मानिसहरूबाट निर्मित त्यस्ता अनुभवहरू अहिलेको समाजका निम्ति उचित छैनन् र तिनलाई जोगाउने होइन प्रचलनबाट हटाउनु नै उचित हुन्छ ।

माथिका उखानहरूले बाहुन, नेवार, कामी, दमाई, सार्की, क्षत्री, मिया, मगर, कसाई, खस, डुम, ज्यापु, झा आदि भिन्न जाति र थरका समुदायमाथि नै आक्षेप लगाएका छन् । यस्ता स्वभाव वा प्रवृत्तिहरू व्यक्ति व्यक्तिमा लागु हुने हुन् समुदायगत विशेषता हुन सक्तैनन् । यसको निर्माण पनि पहिले समाजमा हैकम जमाएर बसेका भिन्न समुदायका व्यक्तिहरूले आफ्नो र आफ्ना समुदायको इज्जत र प्रतिष्ठा बढाउन तथा कमजोर र हेपिन सक्ने समुदायको प्रतिष्ठा गिराउन निर्माण गरेका हुन् । बलियाले समाजका मान्यताको निर्माण गरेको हुन्छ र त्यही कुरो उखानको निर्माणमा पनि देखिने हुनाले यस्ता उखान प्रवृत्तिगत दृष्टिले पनि गलत नै छन् । चिया पसलमा, चौतारेमा, मेला र पर्वमा, यातायातका समयमा यस्ता उखानहरूको प्रयोग हुँदा सम्बद्ध समुदायका मानिसको भावनामाथि चोट पुग्छ र त्यसले आपसी मनमुटाव सिर्जना गरी सामाजिक विद्वेष बढाउने काम नै गरेको पनि पाइन्छ । यस्ता उखानहरूले समाजका प्रतिगामी प्रकारका चालचलन, रीति रिवाज आदिलाई मजबुत पार्नका लागि प्रशस्त भूमिका खेल्ने र बल पु¥याउने काम गर्दछन् (सिंह, २०६३ ः १६८) । यो कुरा सबै जातको फुलबारी नेपालीको भावनात्मक एकता मार्फत राष्ट्रिय एकतालाई मजबुत बनाउने काममा बाधक हुने भएकाले समाजबाट हटाउनु नै उचित देखिन्छ ।

लैङ्गिक विभेद र अपमान झल्काउने नेपाली उखान

नेपाली समाज पितृसत्तात्मक मान्यता र परम्पराले ग्रस्त छ । जनसङ्ख्यामा आधाभन्दा बढी महिला भए पनि समाजमाथिको वर्चस्व र प्रभुत्व पुरुषकै छ । समाजको शिक्षा, स्वास्थ्य, राजनीति, आर्थिक विकास र समाज सेवाका सबै क्षेत्रमा एउटा रथका दुई पाङ्ग्रा सरहका महिला र पुरुषको समान सहभागिता नहुने हो भने समग्र देश निर्माणको महान् अभियान अधुरो र अपुरो हुनु निश्चित छ । प्रत्येक घर, छिमेक, टोल समाज र देशभरिमा असमानताका व्यावहारिक पर्खालहरू संस्कारगत रूपमै बसेका छन् । नेपालमा बनेका हरेक पछिल्ला संविधानले समानताका मान्यतालाई लिखित रूपमा स्थापित गरे पनि व्यावहारिक कार्यान्वयनमा आउन सकेका छैनन् । छोरीलाई पनि समान आर्थिक अधिकार भन्ने कुरा आजकै समाजका लागि पनि सहज स्वीकार्य हुन सकि रहेको छैन । यस्ता नारी समानताका कुरालाई सामाजिक विद्वेष बढाउने कुरा भनेर नाक चेप्य्राउने र अस्वीकार गर्ने प्रवृत्ति हाम्रो समाजमा हावी छ । उखानहरू पनि यसै समाजका उपज भएकाले र पुराना परम्पराका अनुभवलाई सँगालेका हुनाले तिनमा यही पितृसत्तात्मक अभिव्यक्तिहरू पाइनु स्वाभाविक देखिन्छ । ठिक यही सामाजिक वास्तविकतामा उभिएर अहिलेको समाजले लैङ्गिक विभेदको पर्खाललाई बढाउने होइन घटाउने काममा सक्रिय भूमिक खेल्नु जरुरी छ । तलका उखानहरूले लैङ्गिक विभेदलाई झन् बढाउने भूमिका खेलि रहेका छन् ।

क) अचार के को पिनाको, साली कसको भिनाको ।

ख) सिन्की पकाउनु पर्दैन, साली फकाउनु पर्दैन ।

ग) आइमाईको किलकिले हुँदैन ।

घ) मर्दका दसोटी हुन्छन् ।

ङ) कमारी र पित्ले भाँडा कहिल्यै बिटुला हुँदैनन् ।

च) कम्मरमा कसेको धन र नजरकी स्वास्नी मात्र काम लाग्छन् ।

छ) कान्छीको हेराइ नै प्यारो, जेठीको बोलाइ नै सारो ।

ज) जसको छोरो उसको धन, जसको भैँसी उसको वन ।

झ) छोरीले खाएको घर र भेँडाले खाएको वन कहिल्यै पलाउँदैन ।

ञ) आइमाईको बुद्धि कन्ना पछाडि ।

ट) आइमाई मनाउन र पिठो फिँजाउन कतिबेर ।

ठ) आइमाईलाई चैन र बाख्रालाई मैदान हुँदैन ।

ड) छोरीको जन्म हारेको कर्म ।

ढ) गुन्द्रकको झोल खाने कमारीको मोल खाने ।

ण) पानी खानु मूलको छोरी ल्याउनु कुलको ।

त) छोरा जन्मे हर्ष छोरी जन्मे तर्क कुतर्क ।

थ) आइमाईको मुख कहिल्यै खालि हुदैन ।

द) ढिलै होस् तर छोरै होस् ।

ध) भोटेलाई बन र स्वास्नीलाई मन नदिनु ।

न) दुई स्वास्नीको घर पक्का तिन गोरुको हल पक्का ।

प) दुध उम्लिए अगेनामा छोरी उम्लिए भङ्गालामा ।

फ) पोथी बासेको घर के को भर ।

ब) तीर्थ जानु काशी, स्वास्नी ल्याउनु जाँची ।

भ) सौताको छोरो मुटुको किलो ।

म) आइमाईको साथी र राँडीको कुम्लो काम लाग्दैन ।

य) स्वास्नीको सिंगार लोग्ने ।

र) आइमाईको हात खाली र बाख्राको मुख खााली हुनु हुँदैन ।

ल) छोरीले पढे अर्काको भलो छोराले पढे आफ्नो भलो ।

व) लोग्ने मान्छेले आँटे वर्ष दिन स्वास्नी मान्छेले आँटे एकै छिन ।

श) भाग्यमानीकी स्वास्नी मर्छे, अभागीको भैँसी मर्छ ।

ष) भाले बास्नु कहाँ छ कहाँ पोथी बास्ने तरखर ।

स) आइमाईको चाल दैवले जान्दैन ।

ह) छोरी पाए घरै नआए ।

क्ष) खट्टा भए जुत्ता कति कति ।

त्र) आइमाईको कोखमा दाँत हुन्छ ।

ज्ञ) छोरी पाई गुहु खाई ।

उपर्युक्त नेपाली उखानहरूले पितृसत्तात्मक नेपाली संस्कारमा नारीमाथि हेला, अपमान र विभेदपूर्ण रबैया देखाइने गरेका यथार्थ पक्षलाई उद्घाटित गरेका छन् । सभ्य परिवारका सदस्यबिच साली र भिनाजु पनि सँगै रहेछन् र त्यहीँ कुनै वक्ताले “सिन्की पकाउनु पर्दैन साली फकाउनु पर्दैन” भन्ने उखान भन्यो भने त्यहाँ उपस्थित साली र भिनाजुको परिस्थिति कस्तो होला । के कुनै जमानामा र भिन्न सांस्कृतिक परिवेशमा निर्मित उखानले भनेका कुरालाई परिवर्तित समाजमा पनि यथावत् प्रचलनमा ल्याउनु उचित हुन्छ र ? त्यस्तै माथिका उखानहरूले नारीहरूले जे पायो त्यही बोल्ने, पुरुषले दस वटीसम्म श्रीमती ल्याउन पाउने र नारीले एउटा पुरुषका ददस वटी श्रीमती बनेर केवल सेविका बनेर बसे पनि ठिकै हुने, नारीलाई पित्ले भाँडा सरह उपभोग गर्न सकिनेसम्मका निचतम आशयलाई पनि तिनले प्रकट गरेका छन् । नारीलाई सधैँ पुरुषले आफ्नो नजरको नियन्त्रणमा राखी स्वतन्त्रताबाट वञ्चित गर्नु पर्ने, बहु विवाहलाई प्रोत्साहन दिने तर नारीले एक पतिव्रता नै रहनु पर्ने, छोरो भएकाको धनमा अधिकार हुने छोरी भएकाको धनमा अधिकार नहुने, घर बिगार्ने काम नारीबाट नै हुने, नारीहरू बुद्धिहीन हुने, उनीहरूलाई कामबिना बस्न दिन नहुने, छोरीलाई पराजय र छोरालाई विजयका रूपमा व्याख्या गरी छोरीको जीवनलाई नै लाञ्छित गरी हारेको कर्मका रूपमा व्याख्या गर्ने जस्ता गलत प्रवृत्ति र आशय भएका उखानहरूले समाजमा नारी पुरुष विभेदलाई समाप्त पार्ने होइन झन् बढाउने काम नै गर्न सक्छन् ।

उपर्युक्त सबै उखानहरूले कहीँ नारीको स्वतन्त्रतामाथि बन्देज लगाउने, उनीहरूले नयाँ आँट र साहस देखाउन नहुने, नारीहरू सुसारे र सहयोगी हुन सक्ने तर भरपर्दा साथी हुन नसक्ने, नारीले लोग्नेलाई नै आफ्नो सर्वस्व र शृङ्गार सम्झनु पर्ने, चरित्रहीनताको सम्भावना नारीमा बढी हुने, नारीको चरित्रबारे मनिसले मात्र होइन देवताले पनि जान्न नसक्ने भनेर चरित्रभ«ष्टा प्रमाणित गर्ने तथा परिवारमा कुनै अनिष्ट भए त्यसको दोष पनि नारीलाई नै दिएर हेला र अपमानको विषय बनाउने सामाजिक प्रवृत्तिलाई प्रकट गरेका छन् । “तीर्थ जानु काशी, स्वास्नी ल्याउनु जाँची” जस्ता उखानले श्रीमती रोज्ने अधिकार केवल श्रीमान्लाई मात्र रहेको नारीलाई नरहेको भन्ने आशय व्यक्त गर्नुका साथै देशभित्रका स्थानको महत्त्व घटाएर विदेशतिर तीर्थ गर्न जाने गलत संस्कार र सन्देश पनि प्रकट गरेको छ । यी र यस्ता उखानहरूले नेपाली समाजमा व्याप्त लैङ्गिक विभेदलाई नै बढाएर परिवार, समाज र राष्ट्रकै विकासमा अवरोध सिर्जना गरेका र गर्न सक्ने हुनाले पनि तिनको प्रयोग र प्रचलनलाई अस्वीकार गर्नु आवश्यक देखिन्छ ।

सामन्ती संस्कार र क्षेत्रीय विभेद झल्काउने नेपाली उखान

नेपाली समाजमा अहिले पनि पहिलैदेखि चलि आएको चलन भनी कैयौँ सामन्ती संस्कारका साथै पहाडे, मधेसी, उपत्यकाली, पर्वते, पाखे आदि भनेर क्षेत्रीय विभेद खडा गर्ने गलत र राष्ट्रियता विरोधी भावनाको अवशेष पाइन्छ । आर्थिक रूपले सम्पन्नलाई मान गर्ने र विपन्नलाई हेला गर्ने प्रवृत्ति पनि सामन्ती संस्कारकै उपज मानिन्छ र यस खालको संस्कारले पनि नेपाली समाजलाई नराम्ररी गाँजेको छ । यस्तै सामन्ती संस्कारसँग सम्बद्ध पक्षलाई कतिपय नेपाली उखानबाट पनि संरक्षणको काम भएको हुनाले तिनको प्रयोग र प्रचलनलाई अस्वीकार गर्नु जरुरी छ । सामन्ती संस्कार र क्षेत्रीय विभेद झल्काउने केही उखानहरू तल प्रस्ुतत गरिएका छन् ।

क) कुरूप भए पनि उत्तम कुलकी कन्या माग्नु , सुन्दरी भए पनि निम्न कुलकी कन्या त्याग्नु ।

ख) दुुलाहालाई टपरी छैन दमाईलाई थाल ।

ग) नहुनेकी छोरी हुनेमा परी नुनको बुझो हाली भुतुक्कै मरी ।

घ) मालिकलाई मही छैन चाकरलाई दही ।

ङ) राजाको काम छोडी कामीको दिवाली ।

च) ठुलाको सँग गरे कहिल्यै मासिदैन ।

छ) ठुलाबडाको ठुलै चाल ।

ज) ठुलाले बिगारे भुल, सानाले बिगारे अपराध ।

झ) ठुला रुखको ओत लागे एक झर्को पानी टर्छ ।

ञ) गरिबलाई दिन्छु नभन्नु राँडी आइमाईलाई लान्छु नभन्नु ।

ट) ठुलो माछाले सानो माछा खान्छ ।

ठ) एउटा मधिसेले दस जना पहाडेलाई ठग्छ ।

ड) बकुल्लो बस्यो गाछ नास्यो, झा पस्यो राज नास्यो ।

ढ) मधिसेले सल्लाह गर्नु र पहाडेले हल्ला गर्नु एउटै हो ।

ण) मरेको धोतीले जिउँदो पहाडियालाई ठग्छ

त) गरिबलाई दिन्छु नभन्नु राँडी आइमाईलाई लान्छु नभन्नु ।

थ) ठुलो माछाले सानो माछा खान्छ ।

द) कङ्गालको जात छैन बोक्सीको गाउँ छैन ।

उपर्युक्त उखानहरूले नेपाली समाजको आर्थिक विभेद र त्यसले सिर्जना गरेको वर्गीय प्रभुत्वको यथार्थतालाई प्रकट गरेका छन् । कन्याको रूप, गुण र योग्यताभन्दा परिवारको सम्पन्नतालाई ध्यान दिने, विवाहित नारीले सानोतिनो गल्ती गरे पनि त्यस गल्तीलाई उसको परिवारको विपन्नतासँग जोड्ने, कामी, दमाई जस्ता जातिका मानिसलाई हेला गर्ने र सम्भ्रान्त वर्गका मानिसको मान बढाउने जस्ता कुराले समाजको सामन्ती मनोवृत्तिलाई नै प्रकट गर्दछ । समाजमा प्रचलित त्यस खालका उखानहरूले मानिसलाई सानैदेखि नै मनोवैज्ञानिक रूपले विद्यमान शोषण प्रथाको व्यवस्था श्रेष्ठ र न्यायपूर्ण छ भन्ने कुराको शिक्षा प्रदान गर्दछन् (सिंह, २०६३ ः१७१) । निसन्देह हाम्रो समाजका प्रत्येक मानिसका दिल दिमागमा सामन्ती मनोवृत्ति, संस्कार र मान्यताले आसन जमाएको छ । त्यो मनोवृति गलत छ र समाजको विकास र प्रगतिका निम्ति बाधक पनि छ भन्ने चिनेपछि त्यस खालको विषयलाई व्यक्त गर्ने उखान जोगाउने होइन हटाउनु नै उचित देखिन्छ ।

नेपाली समाजको सुन्दरता यहाँको हिमाली र पहाडी सौन्दर्यका साथै तराई वा मधेसको समथर जमिनबाट प्रदीप्त हुन्छ । यसको महत्त्वलाई दर्शाउँदै राष्ट्रकवि माधव घिमिरेले पनि “तराई हाम्रो पहेँलो सुन हिमाल हिराको (पराजुली, २०६८ ः २)” भनेका छन् । यही हिमाली, पहाडी र तराईको सुन्दरताको सकारात्मक उपयोग नगरी कतिपय दाजुभाइ तथा दिदी बहिनीहरूमा यिनै क्षेत्रमा विभेद पनि सिर्जना गरि रहेका छन् र एक ठाउँकाले अर्को ठाउँकालाई अपमानित गरि रहेका छन् । यस्तो कुरा सामाजिक विद्वेषको सम्भावित दुर्घटनालाई नबुझेकाले पनि प्रकट भइ रहेको छ । त्यसै सन्दर्भलाई माथिका अन्तिम दुई उखानले व्यक्त गरेका छन् र त्यस्ता गलत संस्कारलाई जोगाउन चाहने उखानरू सामाजिक प्रचलनबाट हटाउनु नै उचित देखिन्छ ।

अपाङ्गता भएकाप्रति अपमान झल्काउने नेपाली उखान

हाम्रो समाजमा विभिन्न खाले शारीरिक एवं मानसिक अपाङ्गता भएका मानिसहरूको ठुलै समुदाय छ । झट्ट हेर्दा शारीरिक अपाङ्गता देखिइ हाल्छ र त्यसका तुलनामा मानसिक अपाङ्गता केही लुकेको पाइन्छ । त्यस प्रकारको अपाङ्गतामा सम्बन्धित व्यक्ति वा परिवारको कुनै दोष हुँदैन बरु उपचार नपाई त्यही अवस्थामा रहनुमा परिवारको आर्थिक बाध्यता पनि हुने गर्छ । त्यस्तो अपाङ्गता भएका मानिसहरू आफै पनि प्रकृतिबाट ठगिएकोमा चिन्तित छन्, त्यसमाथि हाम्रो विवेकहीन हाँसो र खिसीट्युरीले झन् कति आघात पुग्छ भन्ने कुरा प्रायः हामी विचार गर्दैनौं (प्रश्रित, २०६२ ः १६३) । यस्तै नकारात्मक सन्दर्भलाई कतिपय उखानहरूले पनि बोकेका हुन्छन् र ती निम्न छन् ।

क) कानाको देशमा आँखा चिम्लनु, लङ्गडाको देशमा खुट्टा खुम्च्याउनु ।

ख) कानाले आँखा हेरे पो के चिम्ले पो के ।

ग) के खोज्छस् काना आँखो ।

घ) लाटा देशमा गाँडा तन्नेरी ।

ङ) अन्धाले हात्ती छामे जस्तो ।

च) लाटीले केरा हेरे जस्तो ।

माथिका उखानहरूले घुमाउरो सन्दर्भमा भिन्नै अर्थ बुझाए पनि सोझो वा अभिधा प्रयोगमा अपाङ्गता भएका समुदायमाथि ठेस पु¥याउने काम गरेका हुन्छन् । यस्ता उखानहरू त्यस्तै अपाङ्गताबाट पीडित व्यक्तिले सुन्नु पर्दा तिनको पीडाको घाउमा मलम होइन नुन छर्के झैँ हुनु स्वाभाविक छ । कानो, लङ्गडो, लाटो, बहिरो, गाँडा, अन्धो आदि अपाङ्गता हुनु प्राकृतिक वा अन्य प्रकारको दुर्घटना हो र ती शब्द समेतको अभिव्यक्तिले सो समुदायलाई नै मर्कामा पारि रहेको हुन्छ । अतः उक्त खालका खास समुदायका पीडालाई बढाउने खालका उखानहरूलाई पनि जोगाउने नभई प्रयोग र प्रचलनबाट हटाउनु नै उचित देखिन्छ ।

निष्कर्ष

उखानहरू सामाजिक जीवनका अनुभवद्वारा निसृत महत्त्वपूर्ण भाषिक सम्पदा भए पनि कतिपय उखानहरू सामाजिक सद्भाव र एकताका निम्ति बाधक पनि हुन सक्दा रहेछन् भन्ने कुरा माथिका उखानहरूले व्यक्त गरेका छन् । परिवर्तित सन्दर्भको हाम्रो शिक्षाले बहुजातीय नेपाली समाजका पहिचानगत विशिष्टतालाई जोगाए पनि जातीय भेदभावका कुपरम्परालाई जोगाउनु हुँदैन । त्यस्तै नेपाली समाजमा विद्यमान लैङ्गिक विभेदका घाउहरूलाई पनि बढाउने वा कुनै न कुनै रूपमा नारी उत्पीडनलाई प्रोत्साहित गर्ने उखानहरूलाई पठनपाठनको प्रचलनबाट हटाउनु नै उचित छ । यसै गरी नेपाली समाजमा पुराना सामन्ती संस्कार र संस्कृतिले पनि जरा गाडेका र ती संस्कारलाई पनि पटक पटक स्मरण गराउने र निम्न वर्गका मिहेनती समुदायलाई अपमानित गर्ने खालका उखानहरू पनि विद्यमान समाजका निम्ति उपयोगी मान्न सकिन्न । त्यसै गरी आफै प्राकृतिक दृष्टिले शारीरिक अपाङ्गता बेहोरि रहेका समुदायको पीडामाथि नुन छर्कने किसिमका उखानलाई पनि जोगाउनुको कुनै अर्थ छैन । यस्ता नकारात्मक उखानहरूलाई हटाई जातीय सद्भाव, लैङ्गिक समानता, क्षेत्रीय असन्तुलनको अन्त्यका साथै अपाङ्गता मैत्रीको वातावरणलाई आजको शिक्षामा प्रोत्साहन दिनु जरुरी छ । यहाँ खास विषय सन्दर्भका नकारात्मक उखानहरूको चर्चा गरिए पनि यस प्रवृत्तिका र समाजका निम्ति सबै अनुपयोगी उखानहरूलाई अस्वीकार गर्दै जानु आवश्यक छ । यसर्थ हाम्रो शिक्षाले अरू सबै पक्षका नकारात्मक कुरालाई छोड्दै सकारात्मक पक्षलाई ग्रहण गर्नु पर्ने भए झैँ उखानभित्रका नकारात्मक पक्षलाई पनि अस्वीकार गर्दै सामाजिक सद्भाव कायम गर्नमा प्रभावकारी चेतना छर्नु जरुरी भइ सकेको छ ।

सन्दर्भ सामग्री:-

उपाध्याय, जगत् र अरू (सम्पा., २०६६), गन्तव्य (अनुसन्धानात्मक पत्रिका), (वर्ष ३, अङ्क १, पूर्णाङ्क २)

पृ. ८१३–९६६) ।

केन्द्रीय तथ्याङ्क विभाग (२०६८), नेपालको राष्ट्रिय जनगणना २०६८, काठमाडौँ ः केन्द्रीय तथ्याङ्क

विभाग ।

घिमिरे, चण्डी प्रसाद (२०६८), नेपाली उखान, टुक्का र सिङ्गा शब्दहरूको सँगालो, काठमाडौँ ः दिव्य

देउराली प्रकाशन प्रालि. ।

नेपालको अन्तरिम संविधान, २०६३, (२०६५), काठमाडौँ ः कानुन किताब व्यवस्था समिति ।

पन्थी, टीकाराम (२०६९), “प्रस्तुत सङ्ग्रहमाथि विहङ्गम दृष्टि”, नेपाली उखान सङ्ग्रह, ललित पुर ः साझा

प्रकाशन ।

पराजुली, ठाकुर र अन्य (लेखन÷सम्पा., २०६८), सबैको नेपाली, दो. सं., ललित पुर ः साझा प्रकाशन ।

प्रश्रित, मोदनाथ (२०६२), विचार र अन्तर्सम्बन्ध, नेपाल ः बगर फाउन्डेसन ।

सिंह, मोहन विक्रम (२०६३), साहित्य र समालोचना, बुटवल ः जन प्रकाशन प्रालि. ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।