15 वर्ष देखी निरन्तर
समकालीन साहित्य

अारम्भ

कविता तेजविक्रम कार्की October 21, 2014, 3:12 am

मैले मानिसहरूलाई पहिले

यस्तो कहिल्यै देखेको थिईन

भिडमा एक्ला एक्लै सुस्ताइ रहेको

हिउँ झै चिसो

या घाट झै सुनसान

मानिसहरू

जस्तो कि रित्तो पाखो बारी पल्टिए झै

या तारा नउदाएको रात जस्तै

आँधीमा बाटो भुले झै

या तरेलीमा बगर पल्टिए झै

मानौ मुटु भित्र निदाएको लहरहरू जस्तै

मानौ गहिराईमा दबिएको अवशेष जस्तै

मैले मानिसहरूलाई पहिले

यस्तो कहिल्यै देखेको थिईन

निस्तब्ध जङ्गलमा निथ्रुक्क रूझे झै

या मध्य रातमा सुनसा...न चौतारी झै

जस्तै की पहिरोमा सबै आफन्त गुमाए झै

या जन्मने बित्तिकै प्लाष्टिकमा बेरी

फालिएको शिशु जस्तै वेवारिस

मानौ बादल भित्र हराएको उडान जस्तै

मानौ हरियो निचोरिएको जङ्गल जस्तै

या रहरहरूमा चिसो सिरेटो चले झै

मैले मानिसहरूलाई पहिले

यस्तो कहिल्यै देखेको थिईन

धुलो झै फुङ्ङ उडेर

या निभेर उडेको एक धर्को धुवा झै

जस्तै की कतै निभ्नुछ एक निमेष अब

या डुब्नु छ एक आकाश गहिराई

मानौ पारिजातको फुल झै पहिलो बिहानी मै

खुत्रुक्क झरेको सौन्दर्य जस्तै

मानौ मुस्कानमा कतै लेक लागे जस्तै

मैले मानिसहरूलाई

यस्तो कहिल्यै देखेको थिईन

तर

मलाई थाहा छ

यस्तै यस्तै केही नभई मानिसले

आगोको आविष्कार गरेन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।